
चेपाङ समुदायकाे परम्परागत धार्मिक तथा सांस्कृतिक जीवनमा नुवाङ्गीकाे महत्व त्यही हुन्छ, जुन महत्व ब्राह्मण-क्षेत्रीका लागि दशै, नेवारका लागि माेहनी, थारूका लागि माघी, राई-लिम्बु का लागि साकेला र तामाङ, गुरूङ, शेर्पा आदिका लागि ल्हाेसार । चेपाङकाे नुवाङ्गीमा सहभागी हुने माैका मिल्दा एक खालकाे जुन उत्साह मनमा जागेकाे थियाे, जाने ठाउँका चेपाङहरूले सर्लक्कै क्रिश्चियन धर्म अपनाइसकेकाे तर संस्कृति जाेगाउनका लागि भएपनि नुवाङ्गी मनाउन लागेकाे भनेपछि थप जिज्ञासा भयाे । गन्तव्य हाे, मकवानपुर जिल्लाकाे राक्सिराङ गाउँपालिकाकाे राक्सिराङ गाउँ नै । प्रत्येक भदाै २२गते नुवाङ्गी मनाउने परम्परा छ ।
क्रिश्चियन धर्म अपनाइसकेपछि गाउँमा परिवर्तन आएकाे अनुभव धेरै जसाेले सुनाए । परिवर्तनकाे तात्पर्य शिक्षा, स्वास्थ्य र रहनसहन हाे । मैले साेधें, “नुवाङ्गी र अरू पनि संस्कार र संस्कृतिमा परिवर्तन आयाे र चाैपट भयाे नि, हाेइन र ?”
मैंले यस्ताे प्रश्न गर्दा गाउँमा काेही चेपाङ टाउकाे कन्याउँदै हाँसे भने काेही जवाफ दिनुकाे साटाे भाग्न खाेजे । काेहीले यस्ताे जवाफ दिए, “उता गएपछि यस्ताे यस्ताे गर्नु हुँदैन भन्छ, पहिला त नुवाङ्गी मानेकै हाैं त । अब के गराैं के गराैं ।” अनि अलि टाठाेबाठाेले यस्ताे जवाफ दिए, “संस्कृति बचाउनु पर्छ । हामी चेपाङकाे पनि आफ्नै इतिहास, संस्कृति र संस्कार छन् । यी कुराहरूलाइ बचाउनु पर्छ । यसैकाे लागि भनेर पनि हामीले म्युजियम बनाएका छाैं, नुवाङ्गी यस्ताे हुन्छ भनेर देखाउनका लागि सांस्कृतिक कार्यक्रमकाे याेजना गर्न थालेका हाैं ।
राक्सिराङ गाउँ पालिका भवन परिसरमा ठूलाे मञ्च बनाएर आयाेजना गरेकाे सांस्कृतिक कार्यक्रम राति अबेरसम्मै चल्याे । नुवाङ्गीकाे मुख्य पाटाे भनेकाे नयाँ अन्नलाई घरमा भित्र्याएर खानु अघि पान्दे (झाँक्री) द्वारा ढ्वाङ्ग्राे ठटाउँदै विधिपूर्वक पूजा गरेर पित्रलाइ चढाउने हाे । त्यही गाउँमा पान्देहरू नभएपनि अन्यत्रबाट ल्याएर नुवाङ्गीकाे पूजा विधि प्रदर्शन गरियाे, साथै अन्य कार्यक्रमहरू पनि ।
क्रिश्चयन धर्म अपनाइ नसकेकाे घरमा हुने नुवाङ्गी कस्ताे हुन्छ त ? रात भर चलेर भाेलि विहानभरसम्म रहने भएका कारण अर्काे दिनमा अर्कै गाउँमा हेर्न जाने कार्यक्रम बन्याे ।
अर्काे दिन पनि नुवाङ्गीमा सहभागी भइयाे । संस्कृति अध्ययनका एक अध्येताका लागि सांस्कृतिक जीवनमा आएकाे परिवर्तन अवलाेकन गर्न पाउनु ठुलाे अवसर भयाे।









