पछिल्लो समय चेपाङ समुदायमा धर्म परिवर्तन व्यापक बन्दै गएपछि स्थानीय संस्कृति घर परिवारबाट विदा हुन थालेका छन् । यद्यपि संस्कृतिलाई बचाउनु पर्छ भन्ने मनसुवा भएका युवा जमातले घरमैं नभए पनि संस्कृति जोगाउँन चेपाङ संस्कृति झल्काउने संग्रहालय स्थानीय राक्सिराङ गाउँपालिका परिसरमा ठड्याएका छन् । यस्तै चेपाङको महत्वपूर्ण चाड मानिने नुवाङगी (नुवागी) पनि राक्सिराङ गाउँपालिका परिसरमा स्थानीय चेपाङलाई देखाउन, सिकाउँन आयोजना गर्यो ।

घरघरमा जिवित रहनुपर्ने संस्कृति राक्सिराङ गाउँपालिका परिसरमा पुगेपछि बुझ्न सकिन्छ, चेपाङ समुदायको सांस्कृतिक अवस्था । संस्कृति बचाउनको लागि तथा स्थानीय पान्देहरूको सशक्तिकरणका लागि गाउँपालिकाको सहकार्यमा राष्ट्रिय जनवकालत मञ्च (नाफान)ले पनि सहयोग गर्दै आएको छ ।
चेपाङ समुदाय तथा भदौ २२ गते मनाइने नुवाङ्गीको बारेमा स्थानीय बोटबारी, राक्सिराङ गाउँपालिका–५ का पान्दे अकिलमान चेपाङसँग नेवाः टाइम्स.कमले उनकै घरमा गएर गरेको कुराकानी यहाँ प्रस्तुत छः
चेपाङहरूको बारेमा थोरै भनिदिनुस् न ।
म बोटबारी, राक्सिराङ गाउँपालिका–५ मा जन्मेदेखि बसेको, बराजुहरू पहिला हाकाडाँडामा बस्थे । हाकाडाँडामा पनि गुफामा बसिन्नथ्यो, घरै थियो । तर हाम्रो देउकुलचाहीं गुफामैं छ, अहिले पनि मन्दिर छ, महादेव नै मान्छौं हामी । ठूलै गुफा छ, ठूलै मन्दिर छ । मेरो बाजेले राखेको सानो घण्टी पनि छ । त्यहाँ भित्र पस्दा हाम्रो पाँचभाई सन्तानको महादेवको मन्दिर छ । अहिले त्यहाँ पुज्ने कोही दाजुभाई छैन, म एक्लैले पुज्दै आएको छु, सबै दाजुभाई ‘विश्वासी’ (इसाई) भए । तर म गएपछि चाहिं दुबै छोराहरुले गर्छ गर्दैन थाहा भएन । छोराछोरीले पनि हाम्रो परम्परागत पूजाआजा गर्छन् तर दाजुभाइले गर्दैनन् ।
चेपाङ भनेको गुफामैं बस्ने जाति हो ?
पुख्र्यौली हिसाबबाट भन्नु पर्दा बेग्लै हुन्छ, हामी पन्यौ राना हो । चेपाङभित्र पनि विभिन्न थर हुन्छन् । ठ्याक्कै होइन भन्न म सक्दिन तर मेरो पुख्र्यौली गुफामा बस्दैन तर अरु चेपाङको पुख्र्याैली त गुफाबाटै आएका पनि छन् । जस्तै, वनकरिया र राउटे ।
राउटे पनि चेपाङ नै हो र ?
राउटे चेपाङबाटै त हो नि । राजनीतिक दलले बिगारीदिएको मात्र हो । उनीहरू पनि जंगलमैं बस्ने हो । ओडारमैं बस्ने त हो । हाम्रै पुख्र्यौली पनि छ ओडारमा बस्ने, मेरो काका बाजे ओडारमैं बस्थे । उनी दुंगु खोलाको ओडारमा बस्थे । अब ओडारमा बस्ने पुख्र्यौली सिद्धिइ सके । अहिले घरमैं बस्छन् ।
तपाईको खेतबारी कति छ ?
खेत छैन, बारी दश रोपनी छ । यो मैले किनेको होइन, बाजेबाट आएको पुख्र्यौली जमिन हो । चेपाङको पुख्र्यौली जग्गाजमिन हुँदै नभएको छैनन्, कम्तीमा एकदुई कठ्ठा त हुन्छ नै । जग्गा जमिन उनीहरूकै नाममा भएपछि छैन भन्न मिल्दैन । तर कतिपय गाउँमा जमिन हुँदै नभएका पनि छन् । उनका बाबुबाजे ओडारबाट आएकाको जमिन छैन, त्यस्तो दुईतीन परिवार चिनेको छु मैले । तर त्यस्ताले पनि अधिया कमाएर खाएका छन् ।
प्रसङ्ग बदलौं, चेपाङले मनाउने नुवागी पर्व भनेको के हो ? यो भदौ २२ गते नै किन मनाइन्छ? यो चाड मनाउँदा के के गरिन्छ ?
नुवाङगी मनाउने भनेको हामीले पित्र पुर्खालाई नै बोलाउने हो । हामी धामी झाँक्री हो, दुबै हो । जोख हेर्न चाहिं जान्दैन तर धामी झाँक्री चाहिं गरिन्छ । हामीले नचाहिने काम गर्दैनौं, तर पित्र पूजा चाहिं हामीले गर्नुपर्छ । नुवाङगीमा हाम्रो बितेका पित्रको सम्झनामा श्राद्ध मनाएको हो । त्यो दिन पित्रपुत्रहरूलाई बोलाउने हो । नुवाङगीमा नचढाई हामीले नयाँ उत्पादन भएको केही कुरा खाँदैनौं । मुख्य गरी पिंडालु, घैया धान नचढाई खाईंदैन । पिंडालु, घैया धानलगायतका अन्नपात राखेर ढ्याङ्ग्रो बजाउँदै फलाकिन्छ, पित्रलाई आव्हान गरिन्छ ।
धामी झाँक्रीको बाघसँगको सम्बन्ध हुन्छ भन्छन्, त्यो के हो ?
चेपाङको बाघ हुन्छ नि त । हाम्रो बाघ सयारी हुन्छ । नुवाङगी मनाउँदा उनीहरूलाई विस्तारै विस्तारै मनाएर ल्याउनुपर्ने हुन्छ । हामीले नखाई तिमीलाई पहिला दियौं, तिम्रो पुख्र्याैली कहाँ कहाँ बस्नुपर्ने हो यथास्थानमा हाम्रो विगार नगरी यथास्थानमा बस्नू भनेर सम्झाई बुझाई गर्नुपर्ने हुन्छ । धामी झाँक्रीको क्षमताअनुसारको उनीहरूको सयारीको संख्या बढ्दै जान्छ ।
नुवाङ्गी चेपाङहरूको नयाँ वर्ष पनि हो ?
हाम्रो तर्फबाट पित्रलाई पहिलो पटक चित्त बुझाएर, नयाँ उत्पादन चढाएर नयाँ बर्ष मनाउने गरिन्छ । खासमा क्षेत्री ब्राम्हणको हिसाबबाट भन्नुपर्दा यो पितृप्रति गरिने श्राद्ध हो । देउकूल बुझाउँदा नयाँ घैया धानको जाँड बनाएर, पिंडालु बुझाउने गरिन्छ । नुवाङ्गीमा चढाएपछि बल्ल नयाँ उत्पादन खाइन्छ । पित्र बुझाउनलाई खासमा नुवाङ्गी चाड मनाइन्छ ।
भदौ २२ गते मनाइने नुवाङगी चाडको चलन कहिलेदेखि भयो त ?
यो त पुख्र्यौली हो । नुवागी होइन, नुवाङ्गी भन्छौं हामी । हुन त नुवाङ्गी पछि भनिएको हो, पुख्र्याैली रुपमा त कुम्ती भन्छौं । नेपाली परिभाषा मिसिएर मात्र नुवाङ्गी भएको हो । ‘कुम्ती झानाइदा’ (कुम्ती फलाक्ने) भन्छौं हाम्रो भाषामा । कुम्ती चेपाङ भाषा हो भने नुवाङ्गी खसान्त भाषा हो ।
यो चाड मनाउन के के चाहिन्छ ?
घैया, वन केरा, पिंडालु, चारथरी फूल (एकाङ्ग्रो, नागाङ्ग्रो, तुलसी, सुनकेउरा) अनिवार्य चाहिन्छ ।
नुवाङ्गी मनाएन भने के हुन्छ ?
अरुले त थाहा भएन, धामी झाँक्रीले अनिवार्य मनाउनुपर्छ । जुठो नै परेको अवस्थामा पनि मनाउनुपर्छ ।
नुवाङ्गीमा ढ्याङग्रो बजाउनुको मतलब के हो ?
ढ्याङग्रो त नबजाई हुँदैन त्यतिबेला । हामी धामी झाँक्री (पान्दे)को त पुख्र्यौली बाजा नै त्यही हो । ढ्याङग्रो बजाउँदै हामी पत्ताल जानुपर्छ, पत्ताल छल्नुपर्छ । हामी त ढ्वाङ्ग्राे बजाउँदै माथि नौ तल्ला तल सात तल्ला जान्छौं । नुवाङ्गी फलाकेपछि हामीले बिरामी, हंसको गुनासो गर्दै जाँदा माथि नौ तल्ला तल सात तल्ला जान्छौं । ढ्याङ्ग्रो नभई तलमाथि गर्न सकिन्न । थाल मात्र बजाएर पत्ताल जान सकिन्न । साङनाङको घेरो पनि हो त्यो । साङनाङको घेरामा झाँक्रीहरुसँग छलफल गर्दै अगाडि बढ्छौं । पहिला तल गइन्छ र पछि माथि नौ तला गएर फर्किन्छौं ।
पान्दे बन्न के के योग्ता हुनुपर्छ ?
यो सिकाएर हुने होइन । सपनामा नै बाजेबज्यैबाट ज्ञान पाउँनुपर्छ, पित्रहरूले दिनै पर्यो । सपनामा बाजेबज्यैले तिमी पान्दे बन्नु पर्यो, फलाक्नु पर्यो, यो ठाउँमा आउनू, यहाँबाट यहाँसम्म पुग्नू भनेर निर्देशन हुन्छ । मेरो बाजे पनि पान्दे हुनुहुन्थ्यो ।
अनि सपनामैं जाने कि विपनामा ?
सपनामैं जाने हो हामी । चेपाङहरूको बाघ (सयारी) हुन्छ । थानी, देवीको बाघ हुन्छ, तिनीहरूसँगै हामी बाचा मार्न पुगेका हुन्छौं । सपनामैं हाम्रो लडन्त पर्छ । लडन्तपछि बाचा मारिन्छ, बाचा मार्दा कालीले आमा भनेर आऊ भन्ने गर्छ । बाचा मारेपछि मात्र पान्देले फलाक्न सक्छ । जो कोही पान्दे बन्न सक्दैन, निश्चित हुन्न ।
झाँक्री महिला पनि हुन्छ कि पुरुष मात्र ?
महिला पनि हुन्छ, अहिले पनि छन् ।
महिला पुरुषमा को शक्तिशाली हुन्छ ?
शक्तिशाली त बराबर नै हो तर उनीहरूलाई लगान फाल्न गाह्रो हुन्छ, मारकाट गर्दैनन् । फलाक्न त फलाक्छन् । महिलालाई सपनामैं काटमार गर्न दिइन्न, वाचा नै त्यही हुन्छ । ग्रहदशा लाग्दा काटमार गर्नुपर्ने बाध्यता हुन्छ, त्यो काम पुरुष झाँक्रीले मात्र गर्न सक्छ ।
धामी झाँक्रीले ग्रहदशा हेर्ने नाममा बली माग्दा इशाई बन्नेको संख्या बढेको भन्छन् नि ?
हैन, हैन । आ–आफ्नो विश्वास हो तर त्यो चाहिं होइन । त्यसरी मागेर खाने चलन हामी झाँक्रीको छैन ।
सपनामा कुन भाषामा मन्त्र दिन्छ ?अरुलाई सुनाउन मिल्छ कि मिल्दैन ?
चेपाङ भाषामैं मन्त्र दिन्छ । मिल्छ तर सुनाएर उसलाई काम लाग्दैन, काँचो मन्त्र लाग्छ । काँचो मन्त्रले झस्को फुक्ने, पिनास फुक्नेजस्तो काम गर्न मात्र मिल्छ ।
मन्त्र लेखेर राख्नुभएको छ ?
छैन, म आफ्नो लागि आई हाल्छ । लेखेर अरुलाई सिकाइन्न, अरुलाई दिएपछि मेरो मन्त्र लाग्दैन, कुरा त्यस्तो छ । काँचो मन्त्रमा झस्केको, मर्केको मैले गर्न सक्ने जडिबुटीको औषधि गर्छु नि म पनि । तर आफूले नसक्ने काम म गर्दिन, मैले गरेर हुँदैन भनेर मेडिकलतिर पठाउँछु, एकछिन पनि रोक्दिन । लगान छ भने झाँक्रीले पन्छाउँछ, असाध्य रोग नै लागेको छ भने त सक्दैन ।
कुन जडिबुटी कुन रोगमा दिने भनेर कसरी थाहा हुन्छ ?
त्यो त हाम्रो परम्परागत ज्ञान पनि हो, ठ्याक्कै थाहा हुन्छ । सलाईन पानी दिनु पर्नेलाई जडिबुटीले छुँदैन ।
यो चाड विक्रम सम्बतको भदौ २२ मैं किन मनाइन्छ ?
भदौ २२ त अन्तिम हो । भदौ पूर्णिमा अगाडि गर्नै हुँदैन । पूर्णिमापछि भदौ २२ सम्म सक्काउनै पर्छ । यो तिथी अनुसार नै मनाउने हो ।
यो पारिवारिक चाड हो कि सामुदायिक चाड हो ?
यो चाडमा एकास्थानमा बस्ने चेलिबेटी, दाजुभाई, दिदीबहिनी मिलेर मनाइन्छ । क्रिश्चियन बनेकाहरू आउँदैनन् ।
तपाईले फलाक्न थालेको कहिलेदेखि ?
म १६ वर्षको भएदेखि गर्न थालेको । त्यो भन्दा अघि बुबाले गर्नुहुन्थ्यो । अहिले त म एक्लै हो यहाँ झाँक्री । बाजेबज्यै झाँक्री छ भने उनको छोरा पनि झाँक्री हुन सक्छ तर सपनामा सिकाउनु पर्यो । मेरो माइलो छोरा पनि झाँक्री छ, उसले पनि फलाक्छ ।
धर्म परिवर्तन गरेर झाँक्री कम हुँदै गएको हो ?
यो ठाउँमा त पहिल्यै कम थिए, कम भएका पनि बिते पछि मेरो गाउँमा छ जना मात्र छ फलाक्ने झाँक्री, धुपअक्षता गर्ने महिलाहरू पनि केही छन् । झाँक्रीको क्षमताअनुसारको स्तर निर्धारण गरिएको हुन्छ । यो गाउँपालिका भरि तामाङहरू त धेरै छन् तर चेपाङमा धेरै छैन ।
नुवाङ्गीलाई निरन्तरता दिन के गर्नुपर्छ ?
हामीले निरन्तरता दिनुपर्ने बाध्यता छ । कि छोडेर क्रिश्चियन बन्नु प¥यो, यो संसार (आफ्नो धर्म)मा बस्ने हो भने मनाउनुपर्छ । मेरो छोराले गर्न थालेकोले मेरो परिवारमा निरन्तरता रहन्छ ।
नुवाङगी मनाउन यहाँ संघसंस्थाको सहयोगलाई कुन रुपमा लिनु हुन्छ ? जरुरी थियो ?
खै थाहा भएन, त्यो चाहिं मलाई ।
गाउँपालिकामैं मनाउन पनि सहयोग गरिएको थियो नि ।
खै मलाई थाहा भएन । म त्यतातिर छैन । म लापरवाह फलाकेर हिंड्दिन ।
नुवाङ्गी घरमा मनाउने चाड हो कि गाउँपालिकाको आँगनमा ? गाउँपालिकामा मनाएर संस्कृति बाँच्छ ?
त्यो राम्रो होइन, त्यो म मान्दै मान्दिन । म त्यस्तोमा जाँदिन पनि, बोलाएको थियो मलाई पनि । नुवाङ्गी भनेको आफ्नो पित्रलाई बोलाएर सिमित घेरामा बसेर गरिने पूजा हो । पित्रलाई आफ्नो उत्पादन चढाउने हो, जहाँ पायो त्यहाँ गएर फलाकेर पैसा खाने निहु गर्नु हुँदैन । बेलुका घरमा बसेर फलाक्नु पर्ने झाँक्री गाउँपालिकाको आँगनमा गएर दिउँसो फलाकेर के गर्नु ? साँच्चै मनाउने हो भने घरमै मनाउनुपर्छ ।