भदाै १३, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो जनैपूर्णिमा वा रक्षाबन्धन पर्व बिहीबार नै भएको प्रष्ट पारेको छ। बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो।
२०८० सालको भाद्र १४ गते विहिवारको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व सम्बन्धमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विज्ञप्ति जारी गर्दै बिहीबार पूर्णिमा तिथि थोरै मात्र रहेको भन्दै कतिपयले अघिल्लै दिन बुधबार मनाउनुपर्ने बताएपछि समितिले जनमानसमा भ्रम परेको भन्दै विज्ञप्ति निकालेर यसबारे प्रष्ट पारेको हो।

हिन्दु धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको छ।
बुधबार ११।२८ घडी अर्थात् १०:१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ। बिहीबार ५।१८ घडी मात्रै पूर्णिमा रहेको बताइएको छ। यसैकारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका छन्।
यो वर्षको जस्तो अवस्था १९९४, २०२४, २०३१, २०५५, २०६१, २०७१ र २०७९ मा पनि परेको समितिले जनाएको छ। उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ।
‘भदौ १४ गते बिहीबारपर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हाम्रो धर्म संस्कृति र परम्परा अनुकुल रहेको छ। अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न मिल्दैन’, समितिले भनेको छ, ‘रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नुपर्ने देखिन्छ। हालसम्म रक्षाबन्धन र जनैपूर्णिमालाई अलग–अलग गर्ने परम्परा छैन।’
यद्यपि काठमाडौंका नेवारहरूले पर्सि शुक्रबार गाईजात्रा मनाउने तयारी गरेका छन् भने ललितपुर र भक्तपुरमा भने भाेलि विहीबार नै मनाउने तयारी रहेकाे बताईन्छ । भक्तपुरका कतिपय नेवारहरूले आज जनैपूर्णिमाकाे दिनमा नेवारहरूले मनाउने क्वाति खाने तथा ब्याँ जा नकेेेगु (भ्यागुतालाई भात खुवाउने ) मनाएका छन् ।
