२००४ सालको सत्याग्रह आन्दोलनदेखि २०६२–६३ सम्मको राजनीतिक आन्दोलनमा एकैनासले सक्रिय सहभागिता जनाउने थोरै महिला नेतृमध्ये एक हुनुहुन्छ– स्नेहलता ओनं श्रेष्ठ । २००४ सालदेखि देशले महत्वपूर्ण मोड लिएका कुनै पनि राजनीतिक आन्दोलन छैन जसमा स्नेहतलाको सहभागिता नभएको होस् । उहाँ भन्नुहुन्छ– ‘‘०४६ सालको आन्दोलनमा दिनहुँ सडकमा जान्थें तर पक्राउ परिंन । २०६३ सालको आन्दोलनमा घर अगाडि जुलुस आउँदा केही परसम्म जान्थें, टाढा जान सकिंन ।’’
स्नेहलता ओनं श्रेष्ठ १९९१ श्रावण शुक्लपक्ष द्वादशीका दिन आमा मिश्रीनानी गुरूवाचार्य र बुबा रामगोपाल गुरूवाचार्यबाट असन, काठमाडौंमा जन्मिनुभएको थियो । ९२ वर्षीया श्रेष्ठले राजनीतिलाई आफ्नो अन्तस्करणमैं राखेर २००३ सालदेखि अनवर रुपमा लाग्नुभयो । नेपाल महिला संघको २००४सालमैं सचिव हुनुभएकी स्नेहलता नाम जत्तिकै स्नेही हुनुहुन्छ ।
स्नेहलताले २००४ सालको सत्याग्रहमा सक्रिय भएर लाग्नुभयो । सो आन्दोलनका क्रममा गोप्य रुपमा पम्प्लेट लेख्ने–टांस्ने–छर्नेदेखि लिएर जेलको कोठरीसम्म पुग्नुभयो । तत्कालीन अवस्थामा ‘इन्क्लाव जिन्दावाद’ भनेको के भन्नेसम्म पनि बुभिंmदैनथ्यो । तर पनि राणाहरूले जनतामाथि गरेको थिचोमिचो भने बुझिन्थ्यो । यही कारण उहाँमा राजनीति गर्नुपर्छ भन्ने भावना थियो । यो भावना पैदा हुनुमा उहाँको घरकै वातावरणले पनि भूमिका खेलेको थियो । तत्कालीन अवस्थामा उहाँका काका दिवाकर प्रसाद पनि राजनीतिमा लाग्नुभएको थियो तर यो कुरा घर परिवारमा कसैलाई थाहा थिएन । काकाको कोठामा थुप्रै पत्रपत्रिका हुन्थ्यो, जसमा राजनीतिक समाचार हुने गर्दथ्यो । यिनै पत्रपत्रिका हेर्नेक्रममा स्नेहलतालाई पनि राजनीतिमा लाग्न मन लाग्यो ।
२००३ सालमा पशुपतिमा भएको राजनीतिक जमघट हेर्न मन लागेर घरबाट थाहा नपाउने गरी उहाँ जानुभएको थियो तर काका आईपुग्नुभयो । काकालाई देखेपछि उहाँले भागेर मन्दिरमा धूप बाल्न थाल्नुभयो । तर राजनीतिमा अगाडि बढेको पाइला कहिल्यै रोकिएन । आज हिंड्न नसक्ने हुँदासम्म पनि स्नेहलतालाई राजनीतिका कुराले जुरुकजुरुक बनाउने गर्छ ।
२००४ साल वैशाख १७ गते काठमाडौं, ललितपुर र भक्तपुरमा सत्याग्रह आन्दोलन भयो । तत्कालीन अवस्थामा पद्मोदय हाईस्कूलमा पढ्दै गर्नुभएकी स्नेहलता पनि सत्याग्रहको जुलुसमा सहभागी हुनुभयो ।
काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट आएका सबै जुलुसको गन्तव्य बालुवाटारस्थित पद्म शमशेरको दरबार थियो । त्यहाँ जानको लागि ललितपुरको नेतृत्व राजारामले गर्नुभएको थियो । यस्तै, काठमाडौं, त्रिचन्द्र कलेजको जिम्मा शंभुराम र साधना प्रधानको थियो भने दरवार स्कूल पुष्पलाल श्रेष्ठ र सहाना प्रधानको जिम्मामा थियो । यस्तै असनबाट टंक विलास बज्राचार्य र प्रमिलाको नेतृत्वमा थियो । यो सबै समुह मिलेर अगाडि बढ्ने क्रममा नक्सालमा कर्णेल चन्द्र बहादुरको नेतृत्वमा आएको सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भयो । यो झडपमा स्नेहलता लगायत महिलाहरू समातिए ।
पक्राउ परेका महिलाहरूलाई मोहन शम्शेरको दरबार, महाराजगंजको एउटा टहरामा लगेर राखियो । ओढ्ने ओछ्याउने केही थिएन । यसको विरोध गर्दै महिलाहरूले अनशन बसे । पक्राउ परेको सात दिनपछि छोडियो । सत्याग्रहको आन्दोलनमा (वैशाख १७,१९र २१) दशौं हजार मानिस तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । २००४ साल जेष्ठ ४ गते पद्म शमशेरद्वारा संवैधानिक सुधार लागू गर्दै प्रशासनमा परिवर्तन ल्याई नगरपालिकाको चुनाव छिट्टै गर्ने घोषणा भयो ।
घोषणामा महिलालाई मतदानको अधिकार थिएन । यो कुरा नेता प्रेमबहादुर कसाःले थाहा पाएर महिालहरूको एउटा ‘डेलिगेशन’ पद्म शमशेर कहाँ लैजाने सोच बनाउनुभयो र विष्णु सुन्दरलाई सबै व्यवस्था मिलाउन आग्रह गरियो । सत्याग्रहमा सहभागी युवतीहरू सबै कलिला भएकाले मताधिकारको कुरा उठाउन सकेनन् भने राम्रो हुँदैन भन्ने सोचेर न्हयःखा त्यंगकी श्रीमायालाई नेतृत्व गर्न दिइयो । श्रीमाया दरबारमा धाई बसेर आईसकेको हुँदा त्यहाँ भित्रको चालचलन, बोलीचाली पनि बुझेकोले सजिलो हुने ठानियो । श्रीमायासँगै डेलिगेशनमा साधना, साहना, कनकलता, स्नेहलता, चम्पादेवी (टंक विलासकी श्रीमती), राजारामकी बहिनी आदि मिलेर पद्म शमशेरकहाँ गए । पद्म शमशेर कहाँ पुगेपछि श्रीमायाले– ‘‘सुधार भएको संविधानमा नारी अधिकारका केही कुरा छैनन्, हामी पनि मानिस हौं त्यसैले हामीलाई पनि अधिकार दिनुहोस् ’’ भन्नुभयो । पद्म शमशेरको प्रत्युत्तर थियो ‘‘धर्ममा नभएको, कानुनमा नभएको कसरी दिने ? अहिले जानू, पछि व्यवस्था गरौंला ’’।
यस्तो प्रत्युत्तरमा स्नेहलताले, ‘‘कुनै अधिकार नभएका महिलाले जन्माएको पुरुषले जन्मिनेवित्तिकै पाउँने तर महिलाले किन नपाउँने ?’’ भन्दा पद्म शमशेर नाजवाफ भएको उहाँ बताउनुहुन्छ ।
२००४ सालमा आन्दोलनमा लागेका सबैलाई राजद्रोहीको रुपमा लिइन्थ्यो । राजनीतिमा लाग्नेलाई सर्वसाधारणले फरक व्यवहार गर्दथे, बोल्न पनि डराउँथे । आन्दोलनमा लाग्दा भएको धरपकड, दमनले स्नेहलतामा राणाहरूप्रति अझै तिब्र घृणा र आक्रोश बढेको थियो भने आन्दोलनमा लाग्ने चाहना अझै मजबुत बनेको थियो ।
स्नेहतलाले सत्याग्रहमा सहभागि हुनुभन्दा अगाडि नै प्रदिप्त पुस्तकालय स्थापनामा सामेल भएर सार्वजनिक जीवनको शुरुवात गरिसक्नु भएको थियो । सामाजिक कृयाकलापमा पनि सानैदेखि संलग्न स्नेहलताले प्रौढ शिक्षा संचालनका लागि एक व्यक्तिलाई आग्रह गर्न जाँदा उनकी भाउजुले क्षयरोग लागेको मान्छेको खकारले हिर्काएर पठाएको क्षणलाई पनि विर्सनुहुन्न ।
सत्याग्रह तथा सो भन्दा अगाडि महिलाहरू व्यक्तिगत रुपमा भेट्ने गर्दथे । पद्म शमशेरसँगको भेटपछि महिलाहरूको एकतालाई संगठित रुपमा अगाडि बढाउने उद्देश्यले म्हेपिमा वनभोज कार्यक्रम २००४ साउन २२ गते आयोजना गरियो । उक्त भोजमा २५।३० जना महिलाको सहभागिता रहेको थियो । बनभोज कार्यक्रममा महिला अधिकार सुरक्षित गर्नका लागि महिला संघ खोल्ने कुरा भयो । त्यस बनभोजमा शान्ति निकुञ्ज विद्यालय र कन्या मन्दिर स्कूलका छात्राहरूलाई पनि सम्मिलित गराइएको थियो ।
वनभोज कार्यक्रममा श्रीमाया श्रेष्ठ, साधना प्रधान, सहाना प्रधान, स्नेहलता गुरुवाचार्य, मिठ्ठुदेवी (शारदा, कामाक्षाकी बहिनी) राणा, कलकलता नकर्मी, प्रेमलता कंसाकार, प्रतिभा कर्माचार्य, गुलवदन ताम्रकार, कोकिला तुलाधर, शान्ता श्रेष्ठ, सरोजिनी मानन्धर, नानीमैया श्रेष्ठ, मिठाई महर्जन, भानुदेवी, सुवर्णमैया जोशी रहनुभएको थियो । यस्तै अन्य महिलाहरूमा उमादेवी महर्जन, हीरादेवी तुलाधर, मानुदेवी तुलाधर, मैनु प्रधान, कृष्णकुमारी मानन्धर, केशरीदेवी मानन्धर, तारा मानन्धर, हसिनादेवी श्रेष्ठ, मोहनी अमात्य र नानु प्रधान रहनुभएको थियो ।
उक्त अवसरमा उपस्थित महिलाहरूको भेलाले सर्वसम्मतिबाट ‘नेपाल महिला संघ’को नामले एउटा महिला संगठन गठन गर्ने र त्यसका लागि सदस्य बनाउने अभियान चलाउने ठहर ग¥यो । पर्याप्त संख्यामा सदस्यहरू बनाइसकेपछि कार्यकारिणी सदस्यहरूको निर्वाचन गर्न अर्को सभा छिटो आयोजना गर्ने निर्णय पनि उक्त सभामा गरिएको थियो । सदस्यता अभियान जोडतोडले चलाउँदा थोरै समयमा नै सदस्य संख्या एक सयभन्दा बढी भयो ।
केही दिनपछि नै शहीद चिनियाँलाल सिंहको खिलंस्थित घरमा महिलाहरूको अर्को भेला भयो, भेलाले मंगला सिंहको अध्यक्षतामा कार्यसमिति चयन ग¥यो । मंगला सिंह काजीकी बुहारी भएको कारण उहाँलाई संघमा ल्याउँदा संघको प्रभाव राम्रो हुन्छ भनेर उहाँलाई अध्यक्षमा प्रस्ताव गरिएको थियो । संघको गोप्य कार्यालय टेंगलस्थित एउटा घरमा राखियो । त्यहाँ दिनदिनै हुने महिला जमघटबारे सम्भावित शंका, चियोचर्चा हटाउन त्यो घर भाडामा लिइयो । त्यही भवनमा स्वास्थ्य जाँच र चुरा पसल पनि संचालन गरिएको हुँदा महिलाहरू त्यहाँ जानुको कारणप्रति कसैलाई शंका हुँदैनथ्यो । संघको विधान र आवश्यक नियमहरूको मस्यौदा तयार गर्ने काम तत्कालीन नेता देवीलाल श्रेष्ठले गर्नुभयो ।
कुनै आर्थिक स्रोतविना संस्था चलाउन मुश्किल हुनु स्वभाविक थियो । यही कारण हजुर आमाले पैसा राखिरहेको ठाउँबाट पैसा चोरेर लगेको, फरिया बेचेर संस्थाको लागि खर्च जटाएको कुरालाई पनि स्नेहलता विर्सनुहुन्न । उहाँ भन्नुहुन्छ– ‘‘हजुर आमालाई पैसा गन्न नआउँने हुँदा पैसा कति राखिएको थियो भन्ने कुरा उहाँलाई थाहै हुन्नथ्यो । चाहिएजति मात्र चोर्थे, धेरै होइन ।’’
आमा मिश्रीनानीको मृत्यु स्नेहलता १४ वर्ष हुँदा भएको थियो भने बुबा राम गोपालको ८ वर्षको हुँदा । आमा बुवाको मृत्युपछि पनि घरमा हजुरआमा केशरी कुमारी गुरुवाचार्यलेको सहयोगले उहाँ राजनीतिक आन्दोलनहरूमा अनवरत रुपमा लाग्दै जानु भयो । तर हजुरआमा अति नै नसक्ने भएपछि भने उहाँको राजनीतिक सक्रियतामा केही शिथिलता आएको पाइन्छ । उहाँ २००८ सालमा जवाहरलाल नेहरु नेपाल आउँदा विरोध गर्ने खेमाको महिला संघ अर्थात कामाक्षा पट्टी हुनुहुन्थ्यो तर घरायसी अप्ठ्यारोका कारण सहभागी हुन पाउनु भएन । उहाँ भन्नुहुन्छ– ‘घर व्यवहार हेर्नको लागि राजनीति छोडें ।’ २००९को असारतिर हजुरआमा वित्नुभएपछि त झन स्नेहलतालाई पारिवारिक झमेलाले अप्ठेरो पा¥यो ।
२००७ मा कामाक्षाकै नेतृत्वमा २००७ सालको प्रजातन्त्र पछि महिला संघका तर्फबाट राजा त्रिभुवनकहाँ ‘डेलिगेशन’ गएको थियो । यो ‘डेलिगेशन’मा गएका महिलाहरू नेतृहरू (कामाक्षा, स्नेहलता, मिठ्ठु, शिलवन्दी, श्रीमाया, चम्पादेवी बज्राचार्य)ले राजा त्रिभुवनलाई देशमा फिर्ता हुन पाएकोमा बधाईपत्र दिंदै राणाहरूबाट देश बाहिर जाँदै गरेको देशको सम्पत्ति सुरक्षित गर्न आग्रह गरेका थिए ।
राजा त्रिभुवनकहाँ जानुभन्दा अगाडि स्नेहलताले राणाहरूले देशको धनसम्पत्ति विदेश गएको हुँदा सो काम बन्द गरी उक्त सम्पत्ती राष्ट्रियकरण गरी देशको लागि उद्यममा खर्च गर्न तत्कालीन गृहमन्त्री वी.पी. कोइरालालाई अनुरोध गर्नुभएको थियो । तर वीपी कोइरालाले उक्त कुरालाई मनन गर्नुको साटो ‘‘तिमी पनि कम्युनिष्ट भयौ कि के हो स्नेहलता ?’’ भन्ने प्रश्नले स्नेहलता साँच्चै कम्युनिष्ट विचारधारतिर आकर्षित हुनुभयो ।
स्नेहलतालाई पंचायत कालमा तत्कालीन राजा महेन्द्रबाट स्नेहलतालाई संसदको सदस्य तथा राजपरिषदको सदस्य बन्नको लागि आग्रह भयो तर उहाँले ‘मनोनयनका लागि आफू योग्य छैन, राष्ट्रको बेइज्ज्जत गराउँन चाहन्न’ भनेर पन्छिनु भयो । उहाँ थप्नुहुन्छ– ‘मेरो उद्देश्य नै पंचायती सरकार ढाल्नु थियो भने म किन त्यो पंचायती सरकारमा जाउँ ?’
२०३६ सालको जनमत संग्रहका समयमा विभिन्न राजनीतिक दल (भूमिगत)लाई मिलाएर लग्ने चाहना स्नेहलताको थियो । यही अनुसार उहाँले गणेशमान सिंह, तुलसीलाल, मनमोहन अधिकारी जस्ता नेताहरूसँग कुरा पनि गर्नु भयो तर कुरा मिलेन । पुष्पलालको कम्युनिष्ट र कांग्रेस मिलेर नगएसम्म देशमा प्रजातन्त्र आउँदैन भन्ने कुरालाई मनन गरेर जानुभएकी स्नेहलताले हार भने मान्नु भएन । २०३६ सालको जनमत संग्रहमा निर्दल नै जितेपनि उहाँको कुरा भुवनलाल प्रधान, भाईरत्नसँग मिल्यो, एउटै मोर्चामा बस्न । र, बनेपामा पुर्नमिलन वनभोज कार्यक्रमको आयोजना भयो । सोही वनभोज कार्यक्रममा भविष्यमा कसरी संयुक्त रुपमा जाने भन्ने कुराको खाका तयार भयो । यो पुर्नमिलन कार्यक्रमले २०४६ सालको आन्दोलनका लागि पृष्ठभूमि तयार गर्न सजिलो भयो । कार्यक्रममा आउँदा एक अर्काको अनुहार नहेर्ने गणेशमान सिंह र तुलसी लाल फर्किदा राम्ररी बोलचाल भएको स्नेहलता सम्झनुहुन्छ ।
राजनीतिमा लाग्नु भनेको केही पाउने स्वार्थले भन्दा पनि देशको लागि हो भन्ने मान्यता छ, स्नेहलताको । राजनीति, अर्थनीति, उद्योगनीतिमा महिला पुरुषमा समानता नभएसम्म देश आगडि नबढ्ने उहाँको धारणा छ । लामो समयदेखि लड्दा पनि देशमा समानता नभएकोमा उहाँ असन्तोष व्यक्त गर्नुहु्न्छ । उहाँ भन्नुहुन्छ– ‘पैसा र पदको लागि राजनीति गरेको होइन, देश धनी बनाउन राजनीति गरेको हो तर देश त खाली मागेर खान मै व्यस्त छ ।’
स्नेहलताले २०३० सालमा तत्कालीन राजनीतिक पीडित सहायता समितिले उपलब्ध गराएको ३ विघा जग्गा सर्लाहीको मूर्तियामा पाउनु भएको थियो, जुन जग्गा बेचेर उहाँले अहिले पाटनमा घर बनाउनुभएको छ ।
फाेटाेः नेवाः टाइम्स