भदाै ४, काठमाडौं । बाल सुधारगृह सानोठिमीबाट अपराधमा मुछिएका डेढ सयभन्दा बढी थुनुवा भागेका छन्। सुधारगृहमा रहेका दुई सय ५६ जनामध्ये ३२ बालिका र केही बालक बाँकी रहेको बताइएको छ।
भाला, छुरी लिएर आएका केही व्यक्तिले डेढ सयजनाभन्दा बढी कैदीलाई पछाडिको ढोका फोडेर भगाएको प्रहरीले जनाएको छ। उक्त घटनामा केही प्रहरी घाइते भएका छन्।
विरोध प्रदर्शनको केही समयपछि बाल विज्याईं गरेका थुनुवाहरू पछाडिको ढोका फोडेर भागेका थिए। फरारमध्ये केहीलाई समातिएको छ। अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सानोठिमिस्थित बालसुधार गृहमा सजायँ भुक्तान गरिरहेका रामेछाप मन्थलीका १८ वर्षिय कमल बस्नेतको मृत्यु सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियाे ।
कमल बस्नेत बिरामी भई उपचारका लागि मध्यपुर थिमि ३, गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका स्थायी बासिन्दा बस्नेतको आइतबार मृत्युपछि बाल सुधार गृह तनावपूर्ण बनेको थियो । बाल सुधार गृहभित्र रहेका पुरुष थुनुवा र बाहिर रहेका आफन्तले नाराबाजी गर्नुका साथै तोडफोडको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियाे ।
१८ वर्षभन्दा मुनिका व्यक्तिलाई सजाय तोकिए उक्त सुधार केन्द्रमा राखिन्छ ।
