भदौ ४, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक सञ्चालन गर्ने भएको छ।
महानगरपालिकाले सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन तथा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सम्बन्ध सेतु बनाउने श्रम बैङ्कको मुख्य उद्देश्य रहेकाे जनाएको छ ।
महानगरपालिकाका अनुसार यसले वेरोजगार तथा रोजगारीमा रहेका श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउँछ । श्रम संस्कृतिको विकास गर्छ । यस्तै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्छ ।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा स्वीकृत दर रेटका आधारमा पारिश्रमिक पाउने गरी काठमाडौं महानगरपालिकावासीलाई विशेष प्राथमिकतामा राखी श्रमशक्तिको उपयोग गर्ने याेजना बनाएकाे छ । आ व ०८०/०८१ मा महानगरका लागि आवश्यक श्रमशक्ति दैनिक ज्यालादारी वा पटकेमा लिंदा साेही सूचीकरण बमोजिम मात्र लिइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
