भदौ २, काठमाडौं । हिजोआज घरघरमा आँखा पाक्ने रोग अर्थात भाइरल कन्जंक्टिभाइटिसका बिरामी बढ्दाे छ । गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ । आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु आँखा पाक्ने संकेत हुन् । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जंक्टिभाइटिस’ भनिन्छ ।
लक्षण
आँखा पाक्दा आँखाको सेतो भागको बाहिरी तह र ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ । संक्रमणका कारण हुने भएकाले रुघाखोकी जस्तै आँखा पाक्ने रोग पनि अरुलाई सजलै सर्छ । ब्याक्टेरियाका कारण आँखा पाक्दा अवस्था अलि जटिल बन्न सक्छ । आँखामा पहेंलो खालको कचेरा आउने, आँखा धेरै सुन्निने, धेरै रातो हुने जस्ता लक्षण ब्याक्टेरियाका कारण आँखा पाक्दा देखिन्छन् । आँखा रातो हुनु, आँसु आइरहनु, आँखा पोल्नु, आँखा भारी हुनु, कचेरा आउनु, आँखा बिझाएजस्तो हुनु आँखा पाक्दा देखिने लक्षण हुन् । यस्तै घाममा हिंड्न गाह्रो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखा सुख्खा भएर चिलाउनु, दृष्टि धमिलो हुँदै जानु, आँखा तथा आँखा वरपर को भाग सुन्निनु आँखा पाक्दा देखिने समस्या हुन् । बिहान उठ्दा आँखाको ढकनी पूरै टाँसिनु, आँखा खोल्न गाह्रो हुनु, घाममा हेर्न वा बस्न गाह्रो हुनु पनि आँखा पाक्दा देखिने लक्षण हुन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगर्न भनेकाे छ तर बिरामीहरूले चेक जाँच नगराई पसलमा गएर आैषधि किनेर लगाउने प्रवृत्ति बढ्दाे छ । यस्तै, केन्द्रले दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारको लागि तुरुन्त स्वास्थ्यसंस्था जान भनेकाे छ।
दीर्घकालीन समस्या होइन
आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यसले लामो समयसम्म सताउँदैन । गर्मी मौसममा आँखा पाक्ने रोग लागेका धेरै मानिस भेटिने भएपनि दीर्घकालीन समस्या भने होइन । एकबाट अर्कोमा सर्छ आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्कोमा सर्छ । संक्रमित व्यक्तिले आँखा मिच्दा उसको हातमा कीटाणु टाँसिन्छन् र त्यही हात अर्को व्यक्तिसँग मिलाउँदा रोग सर्छ । आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, लुगाकपडा, कम्प्युटर, ल्यापटप, मोबाइल अर्को व्यक्तिले चलाउँदा यो रोग सर्ने सम्भावना हुन्छ ।
बच्ने उपाय
आँखा पाक्ने रोगबाट बच्न धुलो–धुवाँबाट बच्ने, केमिकेलको काम गर्दा चश्मा लगाउने, घरबाहिर जाँदा सनग्लासको प्रयोग गर्ने गर्नुपर्छ । मोटरसाइकल, स्कुटर चलाउँदा सनग्लासको प्रयोग गर्नु राम्रो हुन्छ । घरबाहिरबाट बेलुका घर फर्किएपछि एक पटक आँखालाई चिसोपानीले धुनुपर्छ । यसले आँखालाई धुलो, धुवाँ, केमिकल र संक्रमण हुनबाट जोगाउँछ । आँखा पाक्ने रोग लागिसकेको खण्डमा आँखालाई दिनको दुई–तीन पटक मनतातो पानीले सफा गर्ने, आँखा बन्द गरेर बस्ने, आराम दिने, आपूmले प्रयोग गरेको रुमाल, चश्मा, मोबाइल अरुलाई प्रयोग गर्न नदिने, घरबाहिर कम हिंड्ने गर्नुपर्छ ।
आँखा पाक्ने रोग अर्थात भाइरल कन्जंक्टिभाइटिस लागेमा घरमा स्याहार गर्दा ध्यान दिनुपर्ने कुराहरूः
– बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने
– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने
– आँखा छोइसकेपछि साबुनपानीले मिचिमिचि राम्रोसँग हात धुने
– प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने
– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने
– संक्रमित व्यक्त्तिले प्रयोग गरेका रुमाल, टावल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने
– संक्रमित व्यक्त्तिले प्रयोग गरेको सामान अन्य व्यक्त्तिलाई प्रयोग गर्न नदिने
