Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

कस्ता छन् नेवार समाजका गहना ?

नेवाः टाइम्स
August 4, 2023
FacebookTweetLinkedIn

नेवार समाजमा जन्मदेखि मृत्युपर्यन्त गहनाको महत्त्व रहन्छ। बच्चा जन्मेपछि हुने कुनैपनि कर्मकाण्डमा छोरा वा छोरी जो भएपनि बच्चालाई कुनै न कुनै प्रकारको गहना लगाइदिएको हुन्छ।

मृत्यु हुनलाग्दा समेत सुन एकटुक्रा मुखमा राखीदिनु पर्ने चलन छ। त्यस्तै मानिस मरिसकेपछि गर्ने संस्कारहरूमा पनि गहनाको महत्त्व छ। नवरत्न र अष्टधातुलाई नेवार समाजमा हुन लागेको अनिष्टलाई रोक्ने, ग्रहदशाले जीवनमा हुने नराम्रा कार्यबाट बच्न प्रयोग गरेको देखिन्छ।

नेवार समाजमा गहनाको इतिहास कतिसम्म प्राचीन छ भन्ने कुरालाई गहिरिएर हेर्ने हो भने लिच्छवीकालसम्म पुग्न सकिन्छ। लिच्छविकालका मूर्तिकलामा पनि विभिन्न गहनाकाे प्रयाेग भएको पाइएबाट तत्कालीन समाजकाे गहनाप्रतिकाे रूझानलाई बुझाउँछ । यस्तै, लिच्छवीकालमा प्रयोगमा आइसकेको श्रृंगारको साधनको विकास मल्लकालमा व्यापक रूपमा भएको देखिन्छ। स्वर्णकाल पनि भनिने मल्लकालीन मूर्तिकलामा अझै बढी गहनाकाे प्रयाेग पाईन्छ ।

नेवार संस्कार अनुसार गहनाको स्वरूप पुरूष र स्त्री जातीमा फरक छ। पुरूष र स्त्रीको रूपमा मात्र होइन उमेर, अवस्था अनुसारपनि गहनाको प्रयोगमा फरक छ। जति पनि गहनाहरू छन् ती गहनाहरू पुरूष वा स्त्रीले लगाउने, बच्चा वा बुढाहरूले लगाउने भन्ने निश्चित हुन्छ। कुनैकुनै गहना जंकाे (बुढा पास्नी) सकेको तथा उमेर पुगेकाले मात्र लगाउँछन्। जस्तो: पुनाय्चा भन्ने गहना।

नेवार समाजमा गहनाको धार्मिक, ज्योतिष शास्त्र अनुसार महत्त्व भएको साथै सामाजिक, सांस्कृतिक, आर्थिक रूपले पनि ठूलो महत्त्व छ। कुनकुन गहना कसले कहाँ कहाँ प्रयोग गर्ने भन्ने नेवार समाजभित्र आफ्नै प्रकारको मान्यता रहीआएको छ। संस्कारदेखि जीवन शैली चल्ने नेवार समाजभित्र प्रयोग हुने गहनाको प्रकारलाई उल्लेख गर्नेबेलामा हरेक गहनाको प्रयोगमा आफ्नै प्रकारको अर्थ भएको कुरा यहाँ स्मरणीय छ।

नेवारकाे जीवनचक्र संगसंगै परम्परागत गहनाको प्रकारमा पनि परिवर्तन हुन्छ। सुन तथा चाँदीका गहना व्यवसायीहरूका अनुसार सुनका गहनाको ९० प्रतिशत डिजाइन अहिले भारतबाटै आउँछन् । त्यहीअनुसार, नेपालका कालीगढले गहना बनाउँछन् । एक समय थियो, काठमाडौं उपत्यकामा सुन व्यापारी नेवार समुदायकै हुन्थे । अहिले त्यो ट्रेन्ड पनि परिवर्तन भएको छ ।

उपत्यकामा गहना बनाउने ठाउँलाई ज्यासल भनिन्थ्यो । अहिले काठमाडौं बाहिर सुनका गहना बनाउने सुनारहरू पनि काठमाडौंमा भित्रिएका छन् । अन्य समुदायका कालीगढ पनि बढेका छन् । र, भारतीय कालीगढ पनि उत्तिकै संख्यामा छन् । प्रायः नेपालीले बनाउने गहनाहरू भारतीय कालीगढले तयार गर्न सक्दैनन् भने भारतीयले बनाउने नेपालीले सक्दैनन् । किनकि, उनीहरूको आ–आफ्नै शैली छ, गहना बनाउने ।

यद्यपि आज पनि नेवार समुदायले परम्परागत अवसरमा परम्परागत गहना नै रूचाउने गरेका छन् । यहाँ गहनाको प्रकार उल्लेख गर्ने क्रममा कुन गहना कसले, कहाँ, किन प्रयोग गर्छन् भन्ने कुरालाई उल्लेख गरिएकाे छ ।

टाउकाेमा लगाउने गहना

सिन्चा : “सिन्चा” काे शाब्दिक अर्थ नेपाल भाषामा सिउँदाे हाे । यही सिउँदाेमा लगाउने गहना सिन्चा हाे । सुनको सिक्रीमा छेउमा चन्द्रमाको वा फूलको बुट्टा भएको, सिउँदोमा लगाउने, इहि -बेलसित विवाह), बाह्राः -गुफा राखेर निकाल्ने दिनमा) राख्ने बालिकाहरूलाई लगाइदिने गरिन्छ ।

शिरबन्दी : याे सुनकाे हुन्छ । सौभाग्यको प्रतीकको रूपमा सधुवा महिलाले लगाउने, राम्रा साइतका कार्यहरूमा लगाउने, इहि, बाह्राः राखेका बालिकाहरूलाई साथै दुलहीलाई पनि लगाइदिने तीन पट्टा वा पाँच पट्टा भएको फूलको बुट्टा भएको गहना हाे शिरबन्दी।

बुलिन : सिउँदोको बिचमा लगाउने, दायाँबायाँ अण्डा आकारको बुट्टा अलि लाम्चो खालको भएको शृङ्गारकलाले परिपूर्ण एकखाले गहना हाे बुलिन।

लुँस्वां : १२ इन्ची वृत्ताकार भएको यो गहनाको चक्कामा कलात्मक पंक्षीको जोडी भएको बहुमूल्य पत्थर, पन्ना, पुष्पराज, माणिक र भिम्पुले सिंगारिएको कलात्मक र मौलिक गहना हाे लुँस्वां। यो गहना अक्सर गरेर नवविवाहिता नारीले लगाउने चलन छ।

मोतासा-सतफली: चाँदीको चिटिक्क परेको कलात्मक बुट्टाले भरेको रातो वा कालो रिबन वा केशमा प्रयोग गर्ने गहना हाे याे।

न्यापुसिखः : विशेष गरेर विवाह हुनेबेलामा दुलहीलाई शिरको केशलाई छोप्नेगरी लगाइदिने सुनको न्यापुसिख (पाँचसिक्रि)को दार्शनिक रूपले पञ्चतत्वको प्रतीक हो। कसैकसैले च्यापुसिख (आठसिक्रि) पनि प्रयोग गर्छन्, यसलाई अष्टधातुको प्रतीकको रूपमा लिइन्छ।

सप्वःतिसा : सुन वा चाँदीमा विभिन्न किसिमको रत्न जडित गहना, विशेष गरेर दुलहीलाई केशको जुडो बाँध्नेबेलामा लगाइने गरिन्छ ।

निधारका गहना
लुँसिन्हः (सुनको टीका) : इहि, बाह्राः र विवाहमा लगाइ दिने विभिन्न बान्कीको सुनका टीका नेवार समुदायमा प्रचलित अर्को गहना हाे।

लुँचिं : विवाह, बुढापास्नी बेलामा प्रयोग गर्ने सुनका गहना।

दृष्टि : याे चाँदीको हुन्छ।

कानमा लगाउने गहना

न्हातिका : छोरा जातलाई दीर्घायुको कामना गरेर लगाइदिने एक प्रकारको गहना हो। मुन्द्रा जस्तै गहना हो। मुन्द्रा दायाँ बायाँ दुइटै कानमा लगाइदिने गहना हो भने न्हातिका दायाँ कानमा मात्र लगाइदिने गहना हो। पहिले पहिले न्हातिकामा सुनको तीनपल्ट घुमाइएको हुन्छ भने पछि त्यसकमा भिंपु र मोति पनि राख्ने गरेको छ।

पँय्ति : सुनको कलात्मक चारकुने भएको यो गहना केटालाई संस्कार पर्वमा मात्र लगाइदिनु पर्ने परम्परा छ।

मारवलिचा : सुनको गोलो आकारको यो गहना बच्चा पास्नीबेलामा लगाइदिने गर्छ। यो गहनालाई सत्यको प्रतीकको रूपमा मानेको छ।

पुनाय्चा : बुढापास्नी सकीसकेका बुढाबुढीहरूलाई मात्र लगाइदिने सुनको मुन्द्रा हो। नेवार समाजमा आयुको हिसाबले पाँचपटकसम्म बुढा पास्नी गर्ने चलन छ। यो पुनाय्चा जति पटक पास्नी सकेको हो त्यति वटानै लगाएको हुन्छ। यो गहना लगाएबाट नै कतिपटक पास्नी सकीसकेको हो भन्ने कुरा थाहा पाउन सकिन्छ।

ढुङ्ग्री : अधँबैसे आइमाइले लगाउने दाफस्वाँ -दुबो राख्ने सेतो फूल) आकारको, प्रत्येक ६ वटा वा त्यो भन्दा बढी पातमा माणिक, पन्ना, मोति र हिरा जस्ता बहुमूल्य पत्थर जडेर बनाइराखेको गहना हाे भने पछिल्लो समय सुनकाे मात्र पनि बनाएर लगाएकाे पाईन्छ । याे कानकाे भित्रतिर बीचमा लगाइन्छ ।

माकःसि : कटहरको आकारमा बनाइराखेको चाँदीको एक प्रकारको गहना हो।

तुकि: कुनै जात्रापर्व, संस्कार आदि नभएपनि सँधैं जस्तै लगाइराख्ने सादा वा बुट्टा भएको गहना हाे याे।

तायोतुकि : केटाहरूले दायाँ कानको माथिल्लो भागमा लगाउने आधा तायोतुकि लगाउँछ भने केटीहरूले दुवै कानमा लगाउने सुनको गहना हो याे।

विजकनि : नेपालभाषाको पुराना गीत राजमतिमा उल्लेख भइराखेको गहना विजकनि खास कहाँ प्रयोग गर्ने बारे यकिन छैन। कसैले शिरमा लगाउने गहना भन्छ त कसैले गलामा लगाउने गहना भनेको छ।

गसि सिखः : कानको प्वाल ठूलो भएर गहनालाई अडकाउन बनाइराखेको सुनको मसिनो सिक्रि, जुन कानकाे पछाडिबाट अड्काइन्छ।

घाँटीमा लगाउने

कंथी : घाँटीतलसम्म आउने गरी लगाउने सुन चाँदीको गहना हाे। लिच्छवीकालमा राजारानीले प्रयोग गर्ने प्रतिष्ठापूर्ण गहना मानिन्छ यसलाई ।

तायो : मच्छिन्द्रनाथ र जिउँदो देवीको रूपमा मानी आएको कुमारीको गलामा लगाइदिने सुनको गहना तायोको दायाँबायाँ विशेष गरी पंक्षी, फूल आदिको कलात्मक बुट्टा कुँदेर सुनको पातामा जोडीराखेको एक प्रकारको गहना हाे । तायाे गहनामा ५ वटादेखि ७ वटा सम्म नागहरु अनिवार्य रुपमा भएकाे हुनुपर्छ।

तिख : नेवार समुदायमा प्राचीन कालदेखिनै सुनका पातामा फूल, गरूड वा अन्य चिटिक्क परेको बुट्टा कुँदिराखेको १२ टुक्रा जति जोडेर तल मखमल राखी दुरूष्त लाफःचा (बच्चाहरूलाई खाना ख्वाउने बेला राख्ने कपडा – र्याले जस्तो) जस्तै देखिने गरी बनाइराखेको गहना हाे याे।

चन्द्रहार : पूर्ण चन्द्रको आकृति सुनको चक्का चक्का जोडेर दायाँबायाँ तीनदेखि पाँच, सात र नौ वटा जोडेर पछाडिपट्टी माथितिर जोड्ने तीनकुने पातामा दुइटा र सुनका कलात्मक पुतलीको जोडी राखी बनाउने पुरानो चलन हो।

तायोमाः : सुन, निलो रत्न, भिम्पु आदिको गहना हो। यो गहनाको बनावटअनुसार बिचमा दमोखिं -एक प्रकारको बाजा) जस्तो तायोमा नागले ओढाइराखेको दायाँबायाँ सुनको बुट्टा भएको पाता कपडामा जोडिराखेको यो गहना विवाहको बेलामा दुलहीले लगाउने गहना हाे । याे श्रृंगारको दृष्टिकोणले मात्र होइन उपत्यका र पञ्चबुद्धको प्रतीकको रूपमा पनि लिने गरेको छ।

भिम्पुमाः : बच्चाको पास्नी बेलामा, इहि, बाह्रा र चाडपर्वमा पनि केटा केटी दुवैले श्रृंगारको रूपमा लगाउने गहनाकाे रूपमा भिम्पुमाःलाई लिइन्छ ।

हातमा लगाउने गहना

त्व : सुन, चाँदीको बाला पाखुरामा लगाउने गहना हाे

सिंहख्वाः चुल्या : याे सुन, चाँदी र पञ्चधातुको बाला हाे।

पञ्चरत्नको चुल्या (पञ्चधातुको) : पास्नी, इहि, बाह्राः, विवाहको बेलामा श्रृंगारको रूपमा प्रयोग हुने गहना हाे याे।

कल्या : चाँदीमा सुनको जलप लगाएको सादा फराकिलो बान्किको गहना। यो गहना विवाह अगाडि कल्यां न्हृयाकीगु संस्कारमा दुलही हुनलाई वचनको प्रतीकको रूपमा लगाइदिने गरिन्छ।

बाइ : सुन वा चाँदीको, फराकिलो दायाँबायाँ माथि उठेको ख्वाःस्वय् (दुलही भएर गइसकेको छोरीलाई मुख हेर्न जानें) दिनमा दुलहीलाई भावनात्मक अभिव्यक्तिको रूपमा लगाइदिने गहना हाे याे।

प्यूचा : सुन, भिम्पु, मोति आदिको चुरा बान्किको सानो खालको गहना जुन गहना मचाबू लहिगु ( माइतीघरमा सुत्केरी बस्न जाँदा) संस्कारको समयमा केटा बच्चालाई सुरक्षात्मक दृष्टिले लगाइदिने गहना हाे याे ।

क्वँय् चुरा : रक्षात्मक हिसाबले लगाउन वा लगाइदिनको लागि बनाइराखेको जनावरको हाडको गहना हाे याे।

आैंलामा लगाउने गहना: अंगू 


प्याखं अंगू : चाँदीको पातामा अण्डा आकार आउने गरी बनाइराखेको औंठी। यो औंठी इहि, बाह्राः, विवाह, बुडापास्नी आदि राम्रा संस्कारमा लगाइदिने परम्परा भएको गहना हो।

अरू औंठीको प्रकारमा विभिन्न किसिमका औंठीहरू छन्। जस्तै : हिना औंठी, नाम लेखिएको औंठी, तुसिपु औंठी (काक्रोको बियाँ), असरफी औंठी, हिरा, नवरत्न जडित औंठी आदि।

माथि उल्लेखित विभिन्न औंठीहरू, विभिन्न संस्कारमा, जात्रापर्व आदिमा केटाकेटी दुवैले लगाउने गर्छन्।

खुट्टामा लगाइने गहना

त्याकं: कल्ली : चाँदीको।

सिंहख्वाः कल्ली :चाँदीको जसमा सिंहको मुख उत्कीर्ण गरेको हुन्छ।

जंगी सेलया कल्ली : चाँदीको भित्र खाली भएको ठूलो खालको गहना।

तुती बग्गी : चाँदी वा अन्य धातुको, विवाहको बेलामा विशेष गरेर ससुराले बुहारी हुने दुलहीलाई लगाइदिने एक प्रकारको गहनाकाे रूपमा लिइन्छ तुती बग्गीलाई।

माथि उल्लेखित गहनाहरू बाहेक अरूपनि अनेक परम्परागत गहनाहरू पनि छन् । आजकल आधुनिक गहना लगाउने चलन आएपनि समय विशेषमा भने परम्परागत गहना लगाउने चलन पनि व्यापक बन्दै गएकाे छ ।

फाेटाे स्राेत: विभिन्न वेभसाइटहरू

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes