साउन ९, काठमाडौं । सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारि अवैधानिक बाटो हुदै अमेरिका लगिदिने भनी धेरै जना नेपालीहरुलाई अन्यत्र देशमा लगी अलपत्र पार्ने ,बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्य गर्ने, गरेको आरोपमा कास्की जिल्ला, पोखरा महानगरपालिका-२७ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला -८ गुह्रेश्वरी पन्चकन्या मार्गमा डेरा लिई बस्ने वर्ष ३४ को कमल तामाङलाई पक्राउ गरिएकाे छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूराेबाट खटिई गएको प्रहरी टोलीले साउन ७ गते तामाङलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ व्यक्ति कमल तामाङविरुद्दमा अमेरिका लैजाने भनि मानव बेचबिखन तथा ओसारपसार अपराध गरेको कसुरमा ४ वटा जाहेरी दरखास्त परेको अनुसन्धानका क्रममा खुलेकाे छ ।
प्रहरीकाअनुसार कमल तामाङले हवाई मार्ग हुदै अमेरिका लैजाने प्रलोभन देखाई जनही एघार लाख तिस हजार रूपैयाँदेखि साठी लाख रूपैयाँसम्म रकम लिएकाे र हालसम्म पीडितहरुबाट दुई करोड छब्बिस लाख तेईस हजार आठसय नब्बे रूपैयाँ लिएको देखिएको छ।
उनले नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरूमा पुर्याई अलपत्र पारि थप रकम माग गर्ने गरेका थिए ।
अमेरिका लैजाने भनी नेपाली नागरिकलाई अवैध रुपमा ओसारपसार गर्ने कार्यमा संलग्न अधिकांश प्रतिवादीहरू नेपालीनै भएको र निजहरु नेपाल तथा अन्य देशहरूमा बसी आ-आफ्नो जिम्मेवारी वाँडफाड गरी संगठित रुपमा परिचालित हुने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अमेरिका लैजाने वहानामा हुने मानव बेचबिखन ओसारपसार अपराधको जोखिममा १६ वर्ष उमेरदेखि ५० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।
अमेरिका जाने भनी मानव ओसारपसारमा परेका पीडितहरुले नै राहदानी, भिसा, हवाई टिकट, होटल बुकिङ लगाएतको खर्च आफैंले गर्ने गरेको छ । यस्तै, अमेरिका लैजाने भनी हुने गरेको मानव ओसारपसारमा भिजिट भिसाको दुरुपयोग हुने गरेको प्रहरीकाे अनुसन्धानले देखाएको छ ।
घटनामा अन्य व्यक्तिहरूको संलग्नता रहेको बुझिन आएकोले उनीहरूको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
