
नेपालको गण्डकी र लुम्बिनी प्रदेशका दुई नगरपालिका वालिङ र तिलोत्तमा फोहरमैला व्यवस्थापनका राम्रा उदाहरणका रुपमा देखिएका छन् । यी नगरपालिकाहरूले आफ्नो नगरको फोहोर व्यवस्थापन मात्र गरेका छैनन्, रिसाइक्लिङ र हरित रोजगारीको माध्यमबाट अतिरिक्त आय पनि सिर्जना गरेका छन् ।
उनीहरूको कामको उपलब्धिले प्रशंसामात्र हैन, पुरस्कार नै प्राप्त गरेको छ । उनीहरूले फोहरमैलालाई हेय दृष्टिकोणबाट हेरिने फोहरभन्दा पनि आयआर्जन गर्ने स्रोतको रूपमा लिएका छन् भने फोहर व्यवस्थापन गर्ने ठाउँलाई सरसफाई केन्द्र र ज्ञान केन्द्रको रुपमा अगाडि बढाएका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को आयोजनामा (असार २६देखि २९ गतेसम्म) भएको पत्रकारहरूको अध्ययन भ्रमणका क्रममा दुबै नगरपालिकाका पदाधिकारीहरूको फोहरप्रतिको दृष्टिकोण नै फरक रहेको पाइयो ।
तीव्र गतिमा फैलिएको विना योजनाको शहरीकरणका कारण नेपालले फोहर मैला व्यवस्थापनमा महत्वपूर्ण चुनौतीको सामना गरिरहेको छ, चाहे त्यो सगरमाथामा होस् वा दक्षिणी मैदानी इलाकाका शहरहरूमा । सन् २०२० को नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को एक अध्ययनअनुसार, देशले दैनिक लगभग ३५० टन प्लास्टिक फोहोर (शहरी नगरपालिका फोहोर) उत्पन्न गर्दछ, जुन कुल शहरी फोहोरको लगभग ११ देखि १६ प्रतिशत हो । अध्ययनले ७५ प्रतिशत नगरपालिकाहरूले फोहोरलाई अलग नगर्ने र ५० प्रतिशतले खुला डम्पिंग गर्दा वातावरणीय÷स्वास्थ्य जोखिमहरू उत्पन्न गर्ने गरेको देखाएको छ ।
दुवै नगरपालिकाहरूले “हरित पुनर्प्राप्ति योजनाहरू“ अपनाएका छन्, जसले फोहोर संकलन र छुट्याउने, प्रशोधन एकाइहरूको स्थापना र कम्पोस्टिंग र व्यावसायिक जैविक खेतीको माध्यमबाट हरित रोजगारका अवसरहरूको सिर्जनाका साथै नगरपालिका फोहोर व्यवस्थापनको लागि उदाहरणीय बनेको छ । तिलोत्तमा र वालिङ नगरपालिकाले आफ्नो फोहरलाई दिगो रूपमा व्यवस्थापन गर्न तुलनात्मक रूपमा राम्रो मोडेल प्रदर्शन गरेका छन्, साथै थप आय पनि सिर्जना गरेका छन् ।
नेपालमा संयुक्त राष्ट्रसंघले “व्यापक फोहरमैला व्यवस्थापन योजना’’ (भीमदत्त, वीरेन्द्रनगर, तिलोत्तमा, वालिङ, दुहबी, भीमदत्त र अन्य) अवलम्बन गर्न र कार्यान्वयन गर्न ८ वटा नगरपालिकाहरूलाई सहयोग गरिरहेको छ । तथापि देखिने गरी तिलोत्तमा नगरपालिका र वालिङ नगरपालिका अगाडि आएको छ । प्रभावकारी फोहरमैला व्यवस्थापन गरेर तिलोत्तमाले उत्कृष्ट नगरपालिका पुरस्कार २०२३ प्राप्त ग¥यो भने वालिङ नगरपालिका पनि नगरपालिका संघबाट नगद तथा प्रमाणपत्रसहित सम्मानित भएको थियो ।
दुवै नगरपालिकाहरूले स्रोत (वा प्रशोधन केन्द्रमा) मा फोहोर छुट्याउँछन् र पुनः प्रयोग योग्य फोहोर सङ्कलन गर्छन् जुन सामग्री रिकभरी सुविधा (एमआरएफ) मा प्रशोधन गरिन्छ । एमआरएफमा पुनर्चक्रण योग्य फोहोरलाई छुट्याउन र प्रशोधन गर्न आधुनिक मेशिनहरू प्रयोग गरिन्छन् ।
फोहर देखेर मुख रसाउँछ
‘अरूतिर फोहर मैलालाई समस्याको रुपमा हेरिन्छ होला, नाक बन्द गर्ने, थुक्ने गर्छन होला तर हामी बाहिरतिर जाँदा फोहर देख्यो भने थुक निल्न मन लाग्छ । काठमाडौं जाँदा जुन फोहर देखिन्छ, त्यो देख्दा आहा, यति राम्रो फोहर वालिङमा भईदिए कति आम्दानी गर्न सकिन्थ्यो होला भन्ने सोच्छु । मीठो खानेकुरा, राम्रो कुरा देख्यो भने लोभ लागेजस्तै फोहर देख्दा हामीलाई पनि लोभ लाग्छ, मुखै रसाउँछ । फोहर देख्दा पैसा छरिएजस्तो लाग्छ ।’ यो भनाई हो, वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणको र फोहर व्यवस्थापनप्रतिको उहाँको दृष्टिकोण ।

हुन पनि वालिङको फोहर व्यवस्थापन गर्ने सरसफाई केन्द्र पुग्दा त्यहाँ न कुनै फोहरको गन्ध थियो, न त्यहाँको फोहर खानको लागि कुनै जनवार या चराचुरुड्गीको लुछाचुंडी थियो । फोहर व्यवस्थापनमा स्थानीय कामदारहरू आआफ्नो जिम्मेवारी अनुकुलका काम गर्दै थिए, फोहरको प्रकृतिअनुसार छुट्याउने, व्यवस्थापन गर्ने काम हुँदै थियो ।
वालिङ नगरपालिका र नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र वालिङ प्रडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गत ‘हरित पुनःउत्थान प्रवद्र्धन परियोजनाद्वारा व्यवस्थापन गरिएको सरसफाई केन्द्र पुग्दा कसैलाई पनि लाग्दैन कि यो फोहर व्यवस्थापन केन्द्र हो ।
टोलटोलबाट संकलित फोहर नगरपालिकाको टिपरले सरसफाई केन्द्रमा ल्याउँने गर्छ । स्रोतबाटै छुट्याएर सरसफाई केन्द्रमा ल्याएपछि प्लाष्टिकको क्वालिटीको आधारमा अलग अलग (शुद्ध प्लाष्टिक, मिसावट भएको प्लाष्टिक, रिसाइकल गर्न मिल्ने÷नमिल्ने)रुपमा छुट्याइन्छ । प्लाष्टिकको क्वालिटीअनुसार सरसफाई केन्द्रले बिक्री गर्दै आएको छ । छाटिएका प्लाष्टिकको रिसाइकल गरेर दाना बनाउने, विभिन्न सामग्री(कुर्सी, टेबल) बनाउने योजना नगरपालिकाको छ । बिस्कुट, चाउचाउ, पानपराग आदिका प्याकेट रिसाइकल नहुने तथा कामै नलाग्ने प्लाष्टिक अन्तर्गत जान्छ, यो पनि छुट्याएर ब्रिकेट, अलकत्रा बनाइन्छ । सरसफाई केन्द्रमा प्रशोधन भएको पानी खानको लागि प्रयोग गर्न सकिने गरि प्रशोधन गर्ने गरिन्छ ।
मेयर खाँणकाअनुसार वालिङ नगरपालिकाले गर्दै आएको उदाहरणीय सरसफाई कार्य जनताका लागि विशेष सुविधा होइन संविधानले सरसफाईलाई जनताको मौलिक हकको रुपमा लिएको छ, त्यसैलाई व्यवहारमा कार्यान्वयन गर्ने पक्षमा लागेको हो । देशभरनै वालिङको मोडलबाट काम अगाडि बढ्यो भने राम्रो हुने कुरामा विश्वस्त खाणकाअनुसार खानेपानी र सरसफाइसम्बन्धि विश्व महासम्मेलन थियो, आइभोरीकोष्टमा । त्यहाँ नेपालको तर्फबाट प्रस्तुति दिंदा वालिङको फोहर व्यवस्थापनको बारेमा नै प्रस्तुति दिइएको थियो । स्थानीय जनप्रतिनिधि अष्ट्रेलिया पनि गए त्यहाँको संघीयताको अवस्था के छ त भनेर बुझ्न । तर फोहर व्यवस्थापनको बारेमा अध्ययन गरेर सरसफाईको क्षेत्रमा विश्वमा नै चिनाउने किसिमले अगाडि बढेर काम गर्न चाहन्छौं भनेर फर्किए ।
डम्पिङ साइट होइन, फोहरमैला व्यवस्थापन तथा ज्ञान केन्द्र
उता, तिलोत्तमा नगरपालिकालाई ‘ग्रिन र क्लिन नगरपालिका’ बनाउने अभियानमा छन्, तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँण र स्थानीय वासिन्दा । मेयर खाँडका अनुसार तिलोत्तमा नगरपालिकालाई ‘ग्रिन र क्लिन नगरपालिका’ बनाउने अभियानमा वडाका प्रतिनिधि, मेयर, उपमेयर सबैजना हरेक महिनाको १ गते र १५ गते शेड्युल बनाएर वडा वडामा कुचो, डस्टविन लिएर जान्छन् । यसरी गएको १०५ श्रृंखला भइसकेको छ । मेयर रामकृष्ण भन्नुहुन्छ–‘जनप्रतिनिधि फोहर व्यवस्थापनमा घर अगाडि गएपछि नागरिकहरू पनि स्वतः निस्कन्छन् । यसले जनप्रतिनिधि र नागरिकको सम्बन्ध नङ र मासुको जस्तै हुन पुग्छ ।’

तिलोत्तमा नगरपालिकाले फोहर व्यवस्थापन केन्द्रलाई डम्पिङ साइट मानेको छैन । मेयर रामकृष्ण अगाडि भन्नुहुन्छ, ‘हाम्रो डम्पिङ साइट होइन, फोहरमैला व्यवस्थापन तथा ज्ञान केन्द्र हो । ज्ञान केन्द्रको रुपमा यसलाई विकास गरेका छौं । अरु स्थानीय तहकाहरू विदेश विदेशमा फोहर व्यवस्थापनको कुरा सिक्न जान्छन् । कतै जानै पर्देन, हामीले गरेको हेरेर नै गर्न सकिन्छ । तिलोत्तमालाई वातावरणमैत्री बनाउने चरणमा हामीले पनि अझै धेरै गर्नुपर्ने छ । जन्मदिन मनाउँदा पनि केक काटेर हैन, एउटा विरुवा रोप्ने हो भने त्यसले वातावरणलाई स्वच्छ बनाउन सहयोग हुन्छ, यसलाई जीवन पद्दती बनाउनुपर्छ ।’
मेयर रामकृष्णका अनुसार तिलोत्तमा नगरपालिकाले नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र जनसहभागिता वास स्वास्थ्य सहकारी संस्था लि.को सहकार्यमा सरसफाईको काम गर्दै आएको छ । ७५३ नगरपालिकामध्ये तिलोत्तमा अगाडि नै छ, फोहर व्यवस्थापनको मामिलामा । फोहरबाट मोहर कमाउने भनेरै लागिरहेको छ । फोहरलाई घरबाटै छुट्याएर कुहिने फोहर मल बनाउने र नकुहिने फोहर फोहर संकलन केन्द्रमा ल्याउने गरिन्छ । नकुहिने फोहरमध्ये पनि रिसाइकल हुने प्लाष्टिकलाई बिक्री गर्ने र रिसाइकल नहुने चाउचाउ, विस्कुट, चक्लेटआदिका प्लाष्टिकलाई पेलेर ब्रिकेट बनाएर नजिकका उद्योगहरूमा प्रयोगका लागि बिक्रि गरिन्छ । फोहर प्रशोधन तथा ज्ञान केन्द्रबाट हरित रोजगार सिर्जना भएको छ भने नगरपालिका तथा जनसहभागिता वास सहकारी संस्था लि.ले आय आर्जन पनि गर्दै आएको छ ।
तिलोत्तमा नगरपालिकाको भूगोल मिश्रित खालको छ, ७ वटा वडा मिलेर २०७३ सालमा बनेको नयाँ नगरपालिका हो यो । यहाँ करीव ३५ हजार घरधुरी छन् । यहाँको धेरै जनसंख्या कृषिमा आधारित छन्, कृषि क्षेत्रमा कम मात्र फोहर उत्पादन हुन्छ, कुहिने फोहर त उतै प्रयोग हुन्छ । गड्यौले मल पनि उत्पादन गर्ने हुँदा त्यसमा पनि रोजगार सिर्जना भएको छ । मेयरकाअनुसार बजार क्षेत्रमा मात्र हो अलि धेरै फोहर उत्पादन हुने, त्यसैले त्यति धेरै नाफा छैन अहिले । तर रोजगार धेरै सिर्जना भएको छ, झण्डै चालिस जनाले रोजगार प्रत्यक्ष रोजगार पाएका छन् भने अप्रत्यक्ष घरघरमा गरिने काममा पनि धेरै संलग्न छन् ।
जैविक तथा गड्यौले (वर्मीकम्पोस्ट) मललाई प्राथमिकता
रासायनिक मल र विषादिका कारण हाम्रो स्वास्थ्य, वातावरणमा धेरै असर परिरहेको छ । यसलाई न्यूनीकरण गर्न पनि जैविक तथा गड्यौले (वर्मीकम्पोस्ट) मललाई प्राथमिकता दिनुपर्ने अवस्था छ । यही सन्दर्भमा विद्यालयका बालबालिकालाई हप्ताको एक दिन किताब लग्नु नपर्ने दिनमा सिर्जनात्मक काम सिकाउने क्रममा गड्यौले मल उत्पादन गर्ने तरिका सिकाउने गरेको छ । जसको आम्दानी बालबालिकाले नै उपभोग गर्ने गरेका छन् ।
उता, वालिङ नगरपालिका र नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को आर्थिक तथा प्राविधिक सहयोगमा र वालिङ प्रडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले १६ वटा लामो लामो डुँडमा गड्यौले मल तथा गड्यौंला उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ । एउटा डुँडबाट तीन महिनामा आठ सयदेखि एक बजार किलोसम्मको मल उत्पादन हुन्छ । वालिङलाई अर्गानिक हब बनाउने उद्देश्यले दुई सय ६० जना कृषकलाई हरेक वडामा गएर सहकारीले तालिम दिएको थियो भने उनीहरूले प्रयोग गरेर बाँकी रहेको उत्पादित मल पनि सहकारीले खरिद गरेर बिक्री गर्दै आएको छ । यस्तै, सहकारीले स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिएर बजारिकरणमा सहयोग गर्दै आएको छ ।

वालिङ नगरपालिकाले गड्यौले मलमा सहुलियत दिने कुरा अहिलेको नीति तथा कार्यक्रमबाटै पारित गरेको छ । रासायनिक मलले वातावरण विगार्नुका साथै उत्पादनमा ह्रास ल्याएको, माटोको उत्पादकत्व क्षमता कमजोर पारेकोले रासायनिक मललाई प्रतिस्थापन गरी माटोको अवस्था सुधार गर्ने, उत्पादन बढाउने मुख्य उद्देश्य हो । मेयर कृष्ण खाँणका अनुसार यो नीति तथा कार्यक्रमले गड्यौले मल उत्पादन गर्ने व्यवसायलाई पनि प्रवद्र्धन गर्नेछ । साथै नगरपालिकाले ब्ल्याक सोल्जर्सभन्ने किराको बारेमा रिसर्च गरेको छ, जुन बंगुर, कुखुराको दानामा प्रोटिनको रुपमा राख्न मिल्ने, उत्पादन गर्ने योजना छ ।
गुट्खाजन्य पदार्थको बिक्री वितरण निषेध
मेयर रामकृष्णका अनुसार शतप्रतिशत फोहर रियुज हुँदैन, त्यसलाई अर्कै किसिमले व्यवस्थापन गर्ने गरिन्छ । रियुज नहुनेलाई बाटो बनाउँदा बाटोको तल्लो तहमा प्रयोग गरिन्छ । दैनिक २० टन फोहर उत्पादन हुने नगरपालिकामा घरबाटै फोहर कम उत्पादन गर्न प्रोत्साहन गरिन्छ । उत्पादन नै कम भएपछि व्यवस्थापन पनि सहज हुन्छ । अहिले तिलोत्तमामा गुट्खाजन्य पदार्थको बिक्री वितरण निषेध छ, खान पनि पाईदैन । यसले पनि प्लाष्टिकको प्रयोग कम भयो । प्लाष्टिकको झोला पनि प्रयोग नगर्ने हो भने फोहरको उत्पादन नै कम हुन्छ ।
जनसहभागिता वास सहकारी संस्था लि.का अध्यक्ष खेमप्रसाद गौतमका अनुसारस्वास्थ्य र सरसफाईमा ध्यान जाओस् भनेर त्यही क्षेत्रमा काम गर्न सहकारी स्थापना गरेको थियो । बोलत, प्लाष्टिकको झोला, धातुजन्य सबैखाले फोहरलाई छुट्याएर बेच्दा ३५ थरीका फोहरलाई प्रतिकेजी रू.दुई देखि पाँच सय रूपैयाँसम्म बेचबिखन गर्ने गरिन्छ । रिसाइकल भने गर्दैन । लगभग कामै नलाग्ने भनिएको प्लाष्टिक पनि ब्रिकेट बनाएर ईटा भट्टालाई बेचिन्छ । हरेक कुरा बिक्छ, अर्थापार्जन हुन्छ ।
फोहरमा अवसर र आम्दानी
सरसफाई केन्द्र वालिङ र ज्ञान केन्द्र तिलोत्तमालाई संरचना निर्माण तथा व्यवस्थापनमा युएनडीपी, विल गेट्स एण्ड मेलिन्डा फाउण्डेशन तथा एन्फो भन्ने संस्थाले पनि सहयोग ग¥यो । वालिङले फोहर बिक्री गरेर नगरपालिकाले अहिले पनि वार्षिक २०–२५ लाख वार्षिक रुपमा आम्दानी गर्दै आएको छ । पूर्व मेयर दिलिप प्रताप खाँणबाट शुरु भएको फोहरलाई मोहरमा बदल्ने सपनालाई अगाडि बढाइरहेकोको वालिङ नगरपालिकाले छिमेकी नगरपालिकाले फोहर व्यवस्थापनमा काम गर्न सकेन भने त्यहाँको फोहर ल्याएर भए पनि काम गर्ने मानसिकतामा काम अगाडि बढाएको छ । ७५३ नगरपालिका मात्र होइन, अन्तर्राष्ट्रिय रुपमा पनि यो मोडेल प्रचार गर्न वालिङ नगरपालिका तत्पर रहेको र धेरै नगरपालिकाको लागि सिकाई केन्द्र पनि बन्दै आएको छ ।
यस्तै, करीव १० लाखको लगानीमा शुरु गरेको तिलोत्तमा नगरपालिकाको फोहर व्यवस्थापन तथा ज्ञान केन्द्रलाई भौतिक संरचना र गाडी अपुग भएपछि पछिल्लो समय तिलोत्तमा नगरपालिका र नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले सहयोग ग¥यो । यसको लागि युएनडीपीले एक करोड ६१ लाख, तिलोत्तमा नगरपालिकाले एक करोड ७१ लाख र ५७ लाख ५० हजार सहकारीको गरेर तीन करोड ९८ लाखमा थप भौतिक संरचना, गाडी तथा केही रकम गाउँमा कृषकहरूलाई कृषि तालिम, फोहरमैला ब्यवस्थापन, बगैंचा निर्माणजस्ता क्षेत्रमा पनि खर्च भए । अध्यक्ष गौतम भन्नुहुन्छ– ‘देशका सबै नगरपालिकामा यस्तै फोहर व्यवस्थापन होस् भन्ने चाहन्छौं । साढे छ विगामा फैलिएको जग्गा भए पनि अझै विस्तार गर्ने सोचमा छौं ।’ तिलोत्तमा नगरपालिकाले रिसाइकल गर्न सकिने फोहर बिक्रीबाट मासिक रू दुई लाख ५० हजार आम्दानी गर्दै आएको छ भने फोहोर मैला व्यवस्थापनबाट तिलोत्तमामा सयभन्दा बढी लाई “हरित रोजगारी“ सिर्जना गरेको छ ।
वालिङका मेयर कृष्ण खाँण भन्नुहुन्छ, ‘फोहरबाट आम्दानी गरेर प्रत्यक्ष फाइदा त लिएका छौं नै, अप्रत्यक्ष फाइदा पनि कति छ कति । स्वास्थ्य, वातावरणीय रुपमा गर्ने सकारात्मक फाइदा पनि धेरै छन् ।’ नगरपालिकाले आन्तरिक स्रोत बढाउने योजनासहित यो आर्थिक वर्षमा घाटा बजेट ल्याएको छ । फोहरलाई पनि आम्दानीको एउटा स्रोतका रुपमा लिएको छ । अहिलेको बजेट एक अरब, आठ करोड ९९ लाखमा छ करोड आन्तरिक आम्दानी छ तर यसलाई ३१ करोड पु¥याउने नगरपालिकाको लक्ष्य छ, ‘त्यो ३१ करोड पु¥याउने हाम्रो बलियो आधार भनेको फोहर नै हो भने अरु खनिज, खानी, ढुंगागिट्टी बालुवा, आन्तरिक राजश्व आदि छन् ।’ मेयर कृष्ण फोहरबाट हुने आम्दानीप्रति विश्वस्त हुँदै भन्नुहुन्छ ।
फोहरसम्बन्धि अन्तर्राष्ट्रिय सन्धि
युएनडीपी, संचार विभाग प्रमुख कमल राज सिग्देलका अनुसार फोहरका सम्बन्धमा अन्तर्राष्ट्रिय सन्धि हुँदैछ । एक वर्षमा अन्तिम हुनेछ । त्यो सबै देशलाई लागू हुन्छ, नेपालमा पनि लागू हुन्छ र बाध्यकारी नै हुन्छ । इतिहासमा पहिलोपटक यस्तो सन्धि हुँदैछ । विशेष गरी गरीब देशले त्यसमा लवी गरिरहेको छ । त्यसमा अन्तर्राष्ट्रिय कर, बाध्यताका कुरा हुन्छ, आयात निर्यातका कुरा हुन्छ । कस्तो प्लाष्टिक निर्यात गर्न मिल्ने, कस्तो नमिल्ने, कस्तो पठायो भने कम्पनीले फिर्ता लिनु बाध्य हुने जस्ता कुरा त्यसमा हुनेछन् ।
उक्त सन्धिमा राख्नुपर्ने बुँदाका सन्दर्भमा वालिङ नगरिपालिकाका पूर्व मेयर दिलिप खाँण भन्नुहुन्छ– ‘धनी र उत्पादक देशबाट आयातमा कर लगाइनुपर्छ । विश्व व्यापार संगठन (डब्लुटिओ)को नियमको आधारमा सबैलाई समान कर प्रणाली गर्दा गरीब मुलुकलाई असर गर्ने हुँदा सामग्री आयात गर्दा फोहर व्यवस्थापनको लागि कर लगाउने व्यवस्था गरिनुपर्छ । नेपालको राजश्वले रिसाइकलनै गर्न नमिल्ने खाल (ई वेस्ट)का फोहर व्यवस्थापन गर्न सकिन्न ।’
नेपालको प्रतिबद्धता
नेपालले सन् २०३० सम्ममा रोकथाम, न्यूनीकरण, रिसाइक्लिङ र पुनःप्रयोग ( सहश्राब्दी विकास लक्ष्य –एसडीजी १२) मार्फत फोहरमैला उत्पादनमा उल्लेखनीय कमी ल्याउने लक्ष्य राखेको छ । सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने अपेक्षा गरिएको छ । सन् २०४५ सम्ममा नेपालले नेट–जिरो उत्सर्जन लक्ष्य (जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअन्तर्गत संयुक्त राष्ट्रसंघमा प्रस्तुत नेपालको जलवायु महत्वाकांक्षा) हासिल गर्ने लक्ष्य राखेको छ । पेरिस सम्झौताअन्तर्गत प्रस्तुत गरिएको नेपाल दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी, २०२०) ले फोहरमैला व्यवस्थापनका लागि विशेष लक्ष्य निर्धारण गरेको छ ।
विकासोन्मुख मुलुकका रुपमा नेपालले हरित वित्तपोषणको पहुँच प्राप्त गर्ने अवसर छ । यस्तै नेपालले व्यावसायिक क्षेत्रमा लगानी÷व्यवसायको विशाल अवसरको सदुपयोग गर्न सकेको छैन भने फोहरमैला क्षेत्रबाट अर्बौं रूपैयाँ कमाउन सक्ने सम्भावना पनि छ ।.
दशकौंदेखि काठमाडौंको फोहर व्यवस्थापनमा समस्या देखिंदै आएकोमा अहिले फेरि बञ्चरे डाँडामा फोहर डम्पिङ गर्न समस्या सिर्जना भएको अवस्था छ । काठमाडौंको फोहर काठमाडौंबासीको मात्र समस्या नभएर राष्ट्रिय समस्या भएको अवस्थामा काठमाडौं महानगरपालिकाले वालिङ र तिलोत्तमा नगरपालिकाबाट सिक्ने कि ?