

असार ३१, वालिङ, स्याङजा । केही दशकअघिसम्म सामान्य ज्ञानमा सोधिने प्रश्न थियो, पिंक सिटी(गुलाबी सहर) कहाँ छ ? उत्तर हुन्थ्यो– भारतको जयपुर राजस्थानमा । हो, भारतकै पहिलो योजनवद्ध शहर मानिएको जयपुर सहर तत्कालीन मिर्जा राजा जयसिंहले सन् १७२७ मा बनाएका थिए । भारतको ३८ विश्व सम्पदा सूचीमा परेको ठाउँमध्ये आठवटा वल्र्ड हेरिटेज साइट (विश्व सम्पदा क्षेत्र)जयपुरमैं पर्दछ । तीन सय वर्ष पुरानो यो शहरको पुरातत्व, कलाजस्ता पक्षले गर्दा यो सहर पर्यटनको दृष्टिकोणबाट अब्बल क्षेत्र मानिएको छ । जन्तरमन्तर, हवामहल आदि यस क्षेत्रका महत्वपूर्ण निर्माण हुन् । पिंकसिटीको नामले परिचित यो शहर विश्वमा परिचित छ ।
तीन शताब्दीदेखि पिंक सिटीको नामले परिचित हुँदै आएको जयपुर मात्र हैन नेपालको वालिङ नगरिपालिका पनि अब पिंक सिटीको नामले परिचित हुन थालेको छ । हामीले गुगलमा खोज्दा पिंक सिटीको नाममा स्याङ्जा जिल्लाको वालिङको नाम पनि थपिएको छ ।

२०७४ असार ३० गतेको वालिङ नगरपरिषदको भेलाले वालिङलाई पिंक कलर (गुलाफी रङ) को शहरमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । यो योजना नगरपालिकाको १ र १० वडामा लागू भएको छ । १४ हजार घरधुरी रहेको वालिङमा करीव ७० प्रतिशत रंग लागिसकेको छ । यो निर्णय ग्रामिण भेगमा लागू भएको छैन । वालिङलाई पिंक सहर बनाउन नगरपालिकाले स्थानीय युवा क्लवका साथै तीन वटा अन्तर्राष्ट्रिय क्लवहरू लायन्स, जेसिज र रोटरीको अवधारणालाई पनि आत्मसाथ गरेको थियो ।
वालिङका घरहरू अहिले पिंक रङले सजिएका छन् । यही रंगको कारण अब वालिङ टाढैबाट चम्किलो देखिन्छ । वालिङ रंगले मात्र चम्किएको छैन, सरसफाइमा पनि अब्बल छ । यही कारण वालिङले सफा नगरपालिकाको रुपमा पुरस्कृतसमेत भएको छ ।

वालिङ नगरपालिकाको आडमैं घर भएकी स्वास्थ्य स्वयंसेवीका तारादेवी सुवेदीले पनि आफ्नो घर पिंक रंगले नै रंगाएकी छन् । उनलाई यो रंग मन पर्ने रंग पनि हो । पिंक रंग लगाउने घरधनीलाई नगरपालिकाले रङमा ५०% छुट दिने पनि निर्णय गरेसँगै नयाँ बनेका घरहरूले पिंक रंग लगाउँदा वालिङलाई टाढैबाट चिन्न सहज भएको छ । वालिङ नगरभित्र मात्र लागू भएको यो योजना कार्यान्वयन नगर्ने घरलाई घरसम्पन्नको प्रमाण पत्र नै दिइन्न । घरसम्पन्नको प्रमाण पत्र लिन आउँदा पिंक रंग लगाएको घरको फोटो पनि अनिवार्य पेश गर्नुपर्छ ।

वालिङ नगरपालिकाका निवर्तमान मेयर दिलिप खाँणको योजनाअनुसार ल्याइएको यो योजनाका सम्बन्धमा उनको भनाई छ– ‘पिंक रंग भनेको मायाको रंग हो, उर्जाको रंग हो र यो सद्भावको पनि रंग हो ।’ विभिन्न सात थरीका पिंक रंगमध्ये ‘वालिङ पिंक’को नाममा नयाँ रंग नै तयार पारेको छ, एक रंग कम्पनीले । स्थानीय रंग व्यापारी वालिङ नगरपालिकाको तर्फबाट आफूले कुनै सहुलियत प्राप्त नगरे पनि रंग बिक्री हुनु र आफ्नो व्यापार बढ्नु नै आफ्नो लागि ठूलो कुरा भएको बताउँछिन् ।
पूर्व मेयर दिलिप खाँणका अनुसार यो रंग मन नपर्नेले घरको बाहिरपट्टी पूरै नलगाए पनि कुनै एक ठाउँमा मात्र लगाए पनि हुन्छ । २०७४ सालमा दिलिप मेयर हुँदा ल्याइएको योजनाअनुसार ‘वालिङलाई १० वर्षमा शतप्रतिशत एउटै खाले रंगले रंगाउने हो, रंग लगाउन शुरू भएको चार वर्ष भयो । वालिङलाई २० वर्षमा स्मार्ट सिटी बनाउने हो । पर्वतसँग जोडिएको स्याङजा जिल्लामा पिंक कलर देख्ने वित्तिकै वालिङ आयो भनेर बुझ्दा भयो, हेलिकप्टरबाट आए पनि सहजै चिन्न सकिन्छ ।’
पूर्व मेयर दिलिपका अनुसार घरघरमा पिंक रंगको प्रयोग सम्बन्धमा निर्णयपछि कसैको गुनासो छ कि भनेर ३५ दिने सूचना पनि प्रकाशन भएको थियो तर कुनै प्रतिक्रिया नआएपछि निर्णय कार्यान्वयनमा गएको थियो ।
वालिङ नेपालको गण्डकी प्रदेशमा रहेको स्याङ्जा जिल्लाको मध्य क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने मुख्य वाणिज्य केन्द्र तथा नगरपालिका हो। वालिङ नगरपालिका, जिल्ला सदरमुकाम पुतलीबजारबाट २० किलोमिटर टाढा रहेको छ। साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट २०५३ साल माघ ११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा छाङछाङ्दीको (१,४-६) वडाहरू, मल्याङकोटको वडा नं. ४ तिनदोबाटेको (२-५) वडाहरू, कालिकाकोटको (१,२,९) वडाहरू, पेलाकोटको (५,६) वडाहरू स्वरेकको (२-४,८) वडाहरूलाई समेटिएको छ। वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ।
यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा पर्ने मुख्य व्यापारिक केन्द्र पनि हो ।त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ। वालिङ नगरपालिका, प्रदेश सदरमुकाम पोखराबाट ६५ कि.मि. तथा जिल्ला सदरमुकाम पुतलीबजारबाट २७ कि.मि. टाढा रहेको छ ।आकार हेर्दा चरा जस्तो देखिने वालिङ नगरपालिका समुन्द्र सतहबाट ७३१ मिटर देखि १५९६ मिटर उचाईसम्म रहेको छ । नेपाल सरकारबाट वालिङ नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरिने भनी घोषणा गरिएकोले स्थानीय सरकार पनि सो परिकल्पनालाई साकार बनाउन लागि परेको छ। नगरपालिकाको बजार क्षेत्रलाई स्मार्ट सिटी तथा गाँउहरुलाई स्मार्ट भिलेजहरु बनाई स्मार्ट वालिङ बनाउने योजना रहेको छ।
Thankyou very much hajur.