असार २९, काठमाडौं । गृह मन्त्रालयअन्तर्गत नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन समेत हेर्ने नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रुद्रादेवी शर्मासँग महिला, कानुन र विकास मञ्च (FWLD) का प्रतिनिधिहरूले भेट गरी नेपाल नागरिकता नियमावलीसँग सम्बन्धित विषयहरूमा छलफल गरेको छ ।
हालको नेपाल नागरिकता नियमावली, २०६३ को दोस्रो संशोधनले जन्मसिद्धको सन्तानहरूले र बाबु पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता प्राप्त गर्ने विषय सम्बोधन गरिसकेको परिप्रेक्ष्यमा बाबु पहिचान नभएका नेपाली आमाको सन्तानले नागरिकता पाउने विषयमा जिल्ला प्रशासन कार्यालयबाट सहज ढंगबाट नागरिकता वितरण हुन नसकेको विषयमा मन्त्रालयबाट आवश्यक पहल गर्नका लागि अनुरोध गरेको छ ।
त्यस्तै नेपाल नागरिकता नियमावली, २०६३ को आगामी संशोधनमा समावेश गरिनु पर्ने विषयहरु; गैर आवासीय नागरिकता प्रमाण पत्र, लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको आत्मसम्मानसहित नागरिकता प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा नाम र लिङ्ग परिवर्तन, विदेशी बाबु नेपाली आमाका सन्तानले नागरिकता प्रमाणपत्रको प्राप्ति, परिवारका सदस्यहरुलाई उत्तरदायी बनाउने प्रावधानको कार्यान्वयन, नेपाली आमा बाबुको सन्तानको रुपमा रहेका विवाहित महिलाको नागरिकता लगायतका विषयहरूमा ध्यानाकर्षण गरेको छ ।