असार २४, काठमाडाैं – देशमा मनसुनकाे प्रवेश भइसकेकाेले गर्दा केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ भने आज तमाेर, अरूण र तामाकोसीमा उल्लेख्य बाढीकाे बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा माैसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेपनि जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराख्न सूचित गरेकाे छ ।
दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
यस्तै, भोलिदेखि पानी पर्ने क्रम झन् बढ्ने अनुमान गरिएको छ । मनसुन सक्रिय भइसकेकाे देखिएकाले भोलिदेखि केही दिन देशका धेरै ठाउँमा पानी पर्ने विभागले जारी गरेकाे सूचनामा जनाएकाे छ । पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेको छ । पानी परिहाले पनि लगातारजसो झरी परेको छैन ।
तर, भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै ठाउँमा मुसलधारे वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।
सूचनाअनुसार काेशी, वाग्मती , गण्डकी र लुम्बिनी प्रदेश भई बहने केही नदिहरूमा भाेलिदेखि उल्लेख बहाव बढ्नेछ । उल्लेख बहाव बढ्ने नदिहरूमा अरूण, सेती, मर्स्याङ्दी,कालीगण्डकी, वाग्मती, कन्काई रहेका छन् ।