असार २१, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत वर्षभन्दा राम्राे नतिजा अाएकाे दावी गरिएकाे परीक्षामा २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन् ।
याे पटककाे परीक्षामा अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत प्रश्नपत्र प्रयाेग गरिएकाे कारण पनि राम्राे नतिजा अाएकाे राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले परीक्षा नतिजा सार्वजनिक गर्न अायाेजित पत्रकार सम्मेलनमा जानकारी गराए । नतिजा अनुसार ३.२० देखि ३.६० सम्म जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको पनि बोर्डले सार्वजनिक गरेको नतिजामा उल्लेख छ। यस्तै, २.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको बताइएको छ।
यस्तै, २.४० देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ । २.०० देखि २.४० सम्म जिपिए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको बोर्डले बताएको छ।
२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।

बाेर्डका अध्यक्ष डा. महाश्रम शर्माले अघिल्लाे वर्ष विद्यार्थीहरू काेविडका कारण अनलाइन पढ्नु पर्ने वाध्यता थियाे भने यस वर्षको नतिजा राम्रो हुनुमा विद्दालयमा भाैतिक उपस्थितिमैं अध्ययन गर्न पाउनु, तयारी बढी गर्ने माैका पाउनु, विद्यार्थीकाे मिहेनत बढी रहेको पत्रकार सम्मेलनमा जानकारी गराए । जानकारी गराइएअनुसार गत वर्ष कम अंक ल्याउने विद्यार्थीकाे अन्तराल बढी थियाे भने याे वर्ष माथिल्लाे जिपिए अन्तरालका विद्यार्थी बढी छन् । गत वर्ष ३.६०देखि ४.०० जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेको छ ।
बोर्डले २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेकाे हाे । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ ।
गत चैतमा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।