
असार १२, काठमाडौं । रोल्पाकी चार वर्षीया बालिका ‘बाबा आमा’ मात्र बोल्न सक्छिन् । उनी कुनै कुरामा ध्यान केन्द्रित गर्न सक्दिनन् । कसैसँग बोल्न नखोज्ने यी बालिकालाई आफै सरहका साना बालबालिकाले पनि ध्यानाकर्षण गर्न सक्दैन । उनी एकसुरले घुमिरहन्छिन् । यसरी घुम्दा पनि उनी रिंगटा लागेर लड्न भने लड्दिनन् । उनका बाबा भन्छन्– ‘ उनी खेल्ने भनेकै एक्लै घुमेर हो, अरु अगाडि आए पनि कसैलाई वास्ता गर्दिनन् । घुमेर खेल्दा लडेको पनि छैन । यो उमेरको अरु बच्चा स्कूल गईसके तर उनलाई स्कूल पठाउन पनि सकिएको छैन ।’ सामान्य बालबालिका नौ÷दश महिनामा नै हिंड्छन् तर उनी हिंड्न पनि ढीला भयो, २२–२३ महिनामा मात्र हिंडिन् ।
तीन वर्ष वैदेशिक रोजगारमा गएर फर्किएका ती बालिकाका पिता फेरि वैदेशिक रोजगारमा जाने प्रकृयामा छन् । उनी फेरि जानु अघि छोरीको उपचार होस् भन्ने चाहन्छन् र कान्ति बाल अस्पतालको बालबालिका तथा किशोर किशोरी मनोरोग विभागमा उपचारका लागि आएका छन् । अस्पतालमा आउन थालेको एक हप्तामा नै छोरीको व्यवहार फरक हुन थालेकोमा उनी खुशी छन् । अस्पतालले सिकाएअनुसारको थेरापी र उपचार गरेपछि छोरीको ध्यानाकर्षण हुन थालेको छ । पहिला बोलाउँदा वास्तै नगर्ने बालिकाले अब ध्यान दिन थालेकी छिन् । डाक्टरले बोल्न पनि बिस्तारै थाल्नेछिन् भन्ने कुराले उनी छोरीको उपचार प्रति आशावादी हुन थालेका छन् ।
बालबालिकामा मनोरोग…

कान्ति बाल अस्पतालको बालबालिका तथा किशोर किशोरी मनोरोग विभागकी मनोचिकित्सक (साइक्याट्रिस्ट) डा. ज्यास्मिन माका अनुसार नेपाली समाजमा बालबालिकाको व्यवहारलाई लिएर खासै वास्ता नगरिने प्रवृत्तिमा सुधार आउन थालेको छ । सामान्यतया बालबालिका चञ्चले, चकचके भै हाल्छ भन्ने सामाजिक मान्यता छ तर मनोचिकित्सक डा. ज्यास्मिनका अनुसार यो एउटा व्यवहारिक समस्या हो । यो व्यवहारले बालबालिकाको सामाजिक सम्बन्ध, विद्यालयको गतिविधि, दैनिक कृयाकलापमा नकारात्मक असर पर्दछ । यो समस्या प्रायः व्यवहार तथा सिकाइ समस्यासँग सम्बन्धित हुन्छ । यो समस्या केटीहरूमा भन्दा केटाहरूमा दुईदेखि नौ गुणासम्म बढी भएको पाइएको छ ।
ध्यान केन्द्रित गर्न नसक्ने तथा ज्यादा चञ्चले स्वभाव (अटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिस्अर्डर, एडिएचडि)भएका बालबालिकाहरूमा गम्भीर मानसिक समस्या हुने, शंका गर्ने, अरूले नसुनेको आवाज सुन्ने, अरुले जे कुरा गरे पनि मेरै कुरा गरेको हो कि भन्ने लाग्ने, धेरै डराउने, आत्महत्या गर्न मन लाग्ने जस्ता समस्या तथा लक्षणहुने गर्दछ ।
डा. ज्यास्मिनका अनुसार बच्चाहरू यस्तै हो भनेर हेलचेक्¥याईं गरेर बस्दा तथा बालबालिकाको मनोसामाजिक उपचार समयमैं नगर्दा, उनीहरूले तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्यासम्मको प्रयास गर्छन्, यो पनि एउटा समस्या नै हो । डा. ज्यास्मिनको अनुभवमा कुनै सेलिब्रेटीले आत्महत्या गरेको खबर मिडियामा आएको थाहा पाएपछि धेरै नै किशोर किशोरी तथा अधवैंशेहरूले पनि आत्महत्या गर्ने गरेका छन् । यसलाई उहाँ गलत मिडिया कभरेज भन्नुहुन्छ । समाज तथा घर परिवारका अनेक समस्यामा परेका बालबालिकाको तनाव व्यवस्थापन तथा उपचार हुन सक्ने हुँदा अभिभावकले समयमैं स्वास्थ्य केन्द्रमा लैजानुपर्ने डा. ज्यास्मिन बताउनुहुन्छ ।
मानसिक तनावका एउटै मात्र कारण नहुनसक्छ । कसैको घरमा, कसैको बाहिर समस्या, वंशाणुगत समस्या, साथीहरूले गर्ने ‘बुली’, मादक तथा लागूपदार्थ सेवन जस्ता कारणले मानसिक समस्या निम्त्याउन सक्छ । त्यसैले माथि भनिएका जस्ता समस्या आफ्नो बालबच्चामा छ भने प्रत्येक अभिभावकले एकपटक सोच्नुपर्छ, कतै मेरो बच्चामा मानसिक समस्या त छैन ?
अटिजम रोग होइन, अवस्था हो
यस्तै, अटिजम यही कारणले हुन्छ भनेर निश्चित कारण पत्ता नलागे पनि विभिन्न अध्ययन र अनुसन्धानहरूले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या हुन सक्ने औंल्याएका छन् । कान्ति बाल अस्पतालको बालबालिका तथा किशोर किशोरी मनोरोग विभागमा उपचारका लागि सन् २०२२ मा आएका सात हजार तीन सय ८२ मध्ये अटिजम डिस्अर्डरमा मात्रै एक हजार दुई सय २२ जना आएको तथ्यांक छ । यो सानो तथ्यांक होइन । वंशाणुगत कारण, वातावरणीय कारण (औद्योगिकरण, शहरीकरण, स्टिमुलेसन सक्रियताको अभाव, बालबालिकाको शारीरिक गतिविधिको अभाव) जस्ता कारक तत्वले अटिजमको जोखिम बढाएको पाईएअनुसार उल्लेखित प्रकारका बालबालिकाको उपचार विभागमा हुन थालेको पाइन्छ ।
स्नायुको विकासमा हुने समस्याका कारण हुने अटिजम भएका बालबालिकाहरूमा दोहोरो सम्वाद नगर्ने, आफ्नो भावना व्यक्त गर्न नसक्ने वा अरुको भावना नबुझ्ने, आँखामा आँखा जधाएर कुरा गर्न नसक्ने, अरुसँग घुलमिल नहुने वा एक्लै खेल्न रुचाउने, भाषा विकासमा कठिनाई, आत्मविश्वास नहुने, घाउ चोट वा दुखाईमा असामान्य प्रतिक्रिया तथा बेवास्ता गर्ने जस्ता लक्षण देखिन्छन् । डा. ज्यास्मिनका अनुसार अटिजम रोग होइन, अवस्था हो । अटिजमको लक्षण प्रायः दुई वर्षको उमेर सम्ममा देखा परिसक्ने हुँदा यस्ता बालबालिकाको उपचार पनि विभागले गर्ने गरेको छ । डा. ज्यास्मिनका अनुसार सानै उमेरमा उपचार तथा तालिम दिने हो भने अटिजम भएका बालबालिकाको अवस्थामा धेरै नै सुधार हुन सक्छ तर समय लाग्छ । अटिजम भएका बालबालिकाले आफूले भनेको कुरा नजिकका व्यक्ति तथा अभिभावकले बुझेन भने धेरै रिसाउने, तोडफोड गर्नेसम्मको पनि प्रयास गर्छन् । त्यसैले उनीहरुको अवस्था सुधारको लागि अभिभावकलाई १५ हप्तासम्मको सीप तालिम तथा बच्चालाई गर्ने व्यवहारको सम्बन्धमा तालिम दिने गरिन्छ । यसमा चरणबद्ध रुपमा बच्चालाई बोल्न पनि सिकाउने गरिन्छ । औषधिमात्र होइन, साइकोलोजिकल थेरापि गराइन्छ ।
विपदमा बालबालिकामा मानसिक तनाव
युनिसेफ, सिविन, फोरुट तथा कान्ति बाल अस्पतालले संयुक्त रुपमा संचालन गरेको बालबालिका तथा किशोर किशोरी मनोरोग विभागकी मनोचिकित्सक डा. ज्यास्मिनका अनुसार विभागले सन् २०१५देखि १४ वर्षसम्मका बालबालिकालाई उपचार गराउँदै आएको छ । सन् २०१५ मा देशमा महाभूकम्पले बालबालिकामा पनि धेरै तनाव भएकोले यो सेवा सुरु गरेको थियो । तत्कालीन समयमा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाले बालबालिकामा समस्या आयो भनेपछि यो विभागले विद्यालय–विद्यालय गएर बालबालिकाको उपचार गरेको थियो । ज्यादा तनावले बालबालिकामा पनि मानसिक समस्या भएको महसुस भएपछि सिविनले विभिन्न जिल्लामा गएर विद्यालय, पालिका, स्वास्थ्य केन्द्र, स्वास्थ्य स्वयंसेविकालगायतलाई चेतनामूलक तालिम दिन थालेको थियो । साथै आम सञ्चार माध्यमबाट पनि जनचेतना फैलाउने सूचना सामग्री प्रकाशन तथा प्रसारण गर्न थालेको थियो । यस्तै सबै बालक्लबका बालबालिकालाई पनि तालिम दिइएको छ ।


आमसञ्चारका माध्यम तथा चेतनामूलक तालिमका कारण अहिले देशभरबाट कान्ति अस्पतालको बालबालिका तथा किशोर किशोरी मनोरोग विभागमा उपचारका लागि आउने गरेका छन् भने बालबालिकाको लागि एउटैमात्र उपचार केन्द्र भएकोले अरु चिकित्सकहरुले पनि रिफर गर्ने गरेका छन् । डा. ज्यास्मिनका अनुसार कोविड १९ को समयमा पनि थुप्रै बालबालिकामा मानसिक समस्या देखिएको थियो । त्यति बेला पनि शिक्षक, स्वास्थ्य स्वयंसेवीलगायतलाई भर्चुअल्ली तालिम दिइएको थियो तर अस्पतालमैं आउँनेको संख्या भने कम थियो । विभागले अनलाईनबाट स्कूल स्कूलमा तालिम दिएको थियो । मनोरोग विभागले कोविडको समयमा आइसोलेशन सेन्टरमा गएर पनि बालबालिकाहरूको लागि तालिम दिएको थियो । साथै, टेलिभिडियो, हटलाईन टेलिफोनबाट पनि सेवा दिएको थियो । कतिपयलाई टिभी, मिडिया आदिले गर्दा बालबच्चाले धेरै सिकेर चकचकेपन र डिप्रेसनजस्ता समस्या बढेको लाग्ने गरे पनि मिडियाको मानसिक समस्या बढ्नुमा थोरैमात्र भूमिका रहेको डा. ज्यास्मिनको कथन छ ।
चुनौति
बालबालिका तथा किशोर किशोरी मनोरोग विभाग देशभरमा एउटै मात्र हुनु पनि चुनौति हो । वर्षायाममा काठमाडौं बाहिरबाट काठमाडौं आउँन धेरै गाह्रो हुन्छ । हुनत टेलिभिडियो उपचार सेवा पनि छ तर कतिपय अवस्थामा बच्चाहरु विद्यालय जानुपर्ने, बत्तीको समस्या, इन्टरनेट, डेटा नहुने जस्ता समस्या, कतिपय अवस्थामा अभिभावकले नै पनि गम्भीर रुपमा नलिने हुँदा बालबालिकाको उपचारमा समस्या आउने गरेको अनुभव छ डा. ज्यास्मिनको । तथापि विभागले फोनबाट, पैसा नलाग्ने फोन १६६००११०६६६ तथा सिविन बाल हेल्पलाइन नेपालको १०९८बाट पनि सेवा दिने गरेको छ । साथै ९८५१३१०९९८ नंम्बरको मोबाइल विभागका चिकित्सकहरूले पालैपालो मिलाएर बोक्ने गर्दछन् ताकि बालबालिका उपचारमा कुनै किसिमबाट पनि नछुटून् ।
अहिलेको जनगणनाअनुसार ३६ प्रतिशत बालबालिका छन्, त्यत्ति धेरै जनसंख्याको लागि काठमाडौंमा एउटा मात्र उपचार केन्द्र हुनु भनेको चुनौति नै हो । देशले बालबालिकाको रुपमा १८ वर्षसम्मकोलाई लिए पनि कान्ति अस्पतालले १४ वर्षसम्मको मात्र हेर्ने हुँदा उक्त विभागमा पनि १४ वर्षसम्मका बालबालिकाको मात्र उपचार गरिन्छ । डा. ज्यास्मिनका अनुसार १८ वर्षसम्मका बालबालिकाले उपचार पाऊन् भन्ने उद्देश्यले सिविनले लगनखेलको मानसिक अस्पतालमा पनि एउटा केन्द्र संचालनमा ल्याउन लागेको छ । विभागमा १० जना साइक्याट्रिस्ट र ९ जना क्लिनिकल साइकोलोजिस्टले सेवा दिंदै आएका छन् ।

अहिले आउट पेसियन्ट सेवा मात्र दिंदै आएको विभागले २० वेडको इनपेसियन्ट वार्ड पनि सञ्चालनका लागि तयारी पूरा गरेको छ र छिट्टै संचालन हुने आशा गरिएको छ । विभागले दैनिक ६५ जना भन्दा बढी बालबालिकाको उपचार गर्दै आएको छ । बालबालिकामा पनि मानसिक समस्या हुन्छ भन्ने बुझेर विभागलाई सरकारले टेकओभर गर्नुपर्ने तथा दीगो रुपमा संचालनका लागि अघि बढ्नुपर्ने डा. ज्यास्मिन बताउनुहुन्छ ।
तथ्यांकमा मानसिक स्वास्थ्य समस्या भएका बालबालिका
कान्ति अस्पतालको बालबालिका तथा किशोर किशोरी मनोरोग विभागको तथ्यांकअनुसार शुरु गरेको वर्ष सन् २०१५मा छ सय मात्र बालबालिकाले मानसिक स्वास्थ्य समस्यामा उपचार गराएका थिए भने सन् २०२२मा वर्षभरमा सात हजार तीन सय ८२ बालबालिकाले उपचार गराएका थिए । यो संख्या बढ्नुभनेको जनचेतना फैलिनु तथा उपचार गराउँदा निको हुन्छ भन्ने भावनामा विकास हुनु हो । यो वर्ष उपचार गराउन आएका मध्ये धेरै संख्या अटिजम डिस्अर्डरमा एक हजार दुई सय २२ जना, इन्टेलेक्चुअल डिस्अर्डर आठ सय ४६जना, बोल्न ढिला हुने आठ सय ४२ जना, एडिएचडि चार सय ७३जना, एनजाइटी डिस्अर्डर एक हजार ३४जना, डिप्रेसिभ डिस्अर्डर पाँच सय ७८ जना, बाल यौन विज्याईं ३२ जना, ट्रमा र स्ट्रेस डिस्अर्डरमा तीन सय १८ जना रहेका छन् ।
