Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

आदिबुद्ध बज्रधरलाई इन्द्र भनेर बुझेपछि

बसन्त महर्जन
June 27, 2023June 27, 2023
FacebookTweetLinkedIn
बसन्त महर्जन

अठाइस वर्षअघि अर्थात् १४ भाद्र, २०५२ का दिन दोलखाबाट चोरिएको बज्रयानी बौद्ध धर्मसँग सम्बन्धित देवता बज्रधरको एउटा आकर्षक मूर्तिलाई दोलखालीहरुले १९ जेठ, २०८० मा भव्यताका साथ स्वागत गरे । यो मूर्ति सिंगापुरको म्यूजियममा फेला परेको थियो । र, चोरिएको सम्पदा सम्बन्धित ठाउँमा फिर्ता गर्नुपर्ने प्रावधानअनुार दोलखामा फिर्ता आएको हो । चोरिएको यस मूतिलाई अनेकौ. दृष्टिकोणबाट पर्गेल्न सकिन्छ । मूर्तिका सम्बन्धमा केही यस्ता कुरा पनि निस्क्यो जसले हाम्रो सांस्कृतिक ज्ञान वा चेतमाथि नै प्रश्न गर्यो । यस सम्बन्धमा छलफल गरिनु नितान्त आवश्यक छ ।

मूर्तिलाई दोलखामा भित्र्याउने क्रममा प्रयुक्त व्यानरमा ‘श्री जय इन्द्रसिंहदेव भनिएको बज्रधर’ र ‘पुनः वैदिक प्रतिष्ठान समारोह’ शब्दले यथेष्ट मात्रामा भ्रम सिर्जना गर्दछ । सम्बन्धित पक्ष यो मूर्तिका सम्बन्धमा धेरै नै अलमलिएको पनि देखियो ।

‘श्री जयइन्द्रसिंह देव’ एक ऐतिहासिक पात्र हुन् । थालनीमा स्थानीय शासकका रुपमा रहेका यिनले पछि केन्द्रसँग विद्रोह गरी दोलखालाई एक स्वतन्त्र राज्यका रुपमा स्थापना गरेका थिए । त्यस बेला दोलखा तत्कालिन कान्तिपुर राज्यअन्तर्गत थियो । उनले आफूलाई एक स्वतन्त्र शासकका रुपमा घोषणा मात्रै गरेनन्, एक स्वतन्त्र राज्यलाई चाहिने हरेक कुराको बन्दोबस्त पनि गरे । भनिन्छ, सुनको सिक्का निकाल्ने पहिलो राजा यिनै हुन् । दोलखा एउटा व्यापारिक केन्द्र पनि भएका कारण यसको सम्बृद्धि र सशक्ततालाई अन्य राज्यले अँठ्याउन सकेन । शेषपछि उनका उत्तराधिकारी राजाहरुले पनि जयइन्द्रसिंह देवलाई मानसम्मान नै गर्ने गरेको पाइन्छ भने दोलखाको पहिलो राजा भनेर अझै पनि दोलखामा यिनको नाम लिने गरिन्छ । तर यी राजाको व्यक्तिगत जानकारी दिने सामग्रीहरु प्राप्य छैनन् । उनको मुहारचित्र कस्तो हुँदो रहेछ भन्ने जानकारी दिने चित्रकला तथा मूर्तिकला पनि पाइएको छैन ।

बज्रयानी बौद्ध धर्ममा बज्रधरको उच्च स्थान हुन्छ । बुद्धहरुलाई बुद्धत्व दिलाउने पात्रका रुपमा बज्रधरलाई लिइन्छ । यही भएर कतिपय सन्दर्भमा यिनलाई बुद्धहरुका माता अथवा आदिबुद्ध भनेर पनि सम्बोधन गरिएको पाइन्छ । यिनको मूर्ति काठमाडौं उपत्यकाको बौद्ध समाजमा ज्यादै लोकप्रिय रहेको पाइन्छ । यस मूर्ति वा चित्रकलामा दाहिने हातले बज्र र देब्रे हातमा घण्टा समाएर दुबै हात आपसमा खप्ट्याइएको हुन्छ । कतिपय बज्रधर र बज्रसत्वको मूर्तिमा अलमलिने गरेको पनि पाइन्छ । बज्रसत्व पनि बज्रयान बौद्ध धर्मकै एक महत्वपूर्ण पात्र हुन् । यिनले पनि दायाँ हातले बज्र नै समाइरहेको हुन्छ तर अन्य कुरामा फरक हुन्छ ।

बज्रधरको मूर्ति दोलखामा पाइनुले ऐतिहासिक महत्व राख्दछ । यसले बज्रयानी बौद्ध धर्म काठमाडौं उपत्यकामा मात्रै नभएर दोलखामा पनि रहेको जानकारी दिन्छ । यसबाहेक यहाँ प्राप्त प्राचीन पाषण चैत्य तथा अन्य कुराले पनि बज्रयान बौद्ध धर्मसम्बन्धी धेरै कुराको जानकारी दिन्छ । यहाँ प्रत्येक वर्ष पाटनमा जस्तै पद्मपाणी लोकेश्वरको मूर्तिलाई रथमा विराजमान गरी रथयात्रा गर्ने चलन छ । यस रथयात्राले पाटनको नेवार बौद्ध समाजसँग सम्बन्ध राख्दछ ।

बज्रधरको मूर्तिका सम्बन्धमा रहेको अर्को भ्रम हो, यसलाई वैदिक देवता इन्द्रका रुपमा बुझ्नु । वैदिक देवता इन्द्रको एउटा आयुध बज्र हुने गर्दछ, सही हो तर यही एउटा आयुधको आधारमा यसलाई इन्द्र भनिहाल्नु हचुवाको ज्ञान मात्रै हो । बज्रधरको यस मूर्तिलाई कहिलेदेखि हो खुल्दैन तर लामो समयदेखि वैदिक देवता इन्द्रका रुपमा व्यवहार गर्दै आएको बुझिन्छ । काठमाडौंमा इन्द्रजात्रा मनाउने क्रममा इन्द्रको भनिएको एक मूर्तिलाई काष्ठमण्डपको दक्षिण खुल्ला ठाउँमा अग्लो खट बनाएर तथा पश्चिम फर्काएर राख्ने चलन छ । इन्द्रले फूल चोर्न आएको र चोर भनेर समाती डोरीले बाँधेर सार्वजनिक प्रदर्शनीमा राखेको भन्ने अचम्मको कहावत छ । यही कहावतबाट प्रभावित भएर दोलखामा मनाइने इन्द्रजात्राको बेला इन्द्र भनेर बज्रधरको यस मूर्तिलाई जात्राअवधीभर झ्यालमा राख्ने चलन चल्यो । मूर्ति चोरिएपछि टुटुेको परम्परालाई अब फेरि इन्द्रजात्रामा निरन्तरता दिने बुझिएको छ । स्पष्ट छ, यो मूर्ति इन्द्रको होइन तर इन्द्रको मूर्ति भनेर व्यवहार गरिंदो रहेछ । वैदिक देवता इन्द्रको एउटा आयुध बज्र पनि हुने अर्ध जानकारीको आधारमा बज्रधरको मूर्तिलाई इन्द्र मान्नु वास्तवमा इन्द्र र बज्रधर दुबैको प्रतिमा विज्ञानबारे अनभिज्ञ हुनु हो । आदिबुद्ध बज्रधरको हातमा बज्र भएकै आधारमा यसलाई इन्द्र मान्नु र ‘श्री जयइन्द्रसिंहदेव’ नाममा इन्द्र शब्द आएकै आधारमा सो मूर्तिलाई राजाकै मूर्ति मान्नु हदैसम्मको हेलचेक्र्याइँ हो ।

वैदिक देवता इन्द्रकै मूर्ति हुँदो हो, वैदिक विधिबाट पुनः जीवन्यास गरी पूजा चलाउनु स्वाभाविक प्रकृया हो । मूर्तिलाई स्वागत गर्नेहरुले यहाँ ‘वैदिक प्रतिष्ठान’ भनेका छन् । वैदिक देवता नै मानियो । तर यो मूर्ति इन्द्रको नभएर बज्रयानी बौद्ध धर्मसँग सम्बन्धित बज्रधरको भएका कारण वैदिक मन्त्र तथा पूजापद्दति केही मिलेन । यस प्रकरणमा हाम्रो धार्मिक तथा सांस्कृतिक ज्ञान कति धेरै हचुवाको भरमा चल्न थालिसकेछ भन्ने जनाउँछ । बज्रधर अज्ञात वा गोप्य देवता होइनन् । बज्रधरका मूर्ति तथा चित्रकला ज्यादै प्रचलित भएको र सिंगापुरको म्युजियममा पनि बज्रधर नै भनेर प्रदर्शनमा राखिएबाट केही त सिक्नु पर्ने हो तर यतातर्फ वास्ता नै नहुनु ताज्जुबको कुरा हो ।

लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes