अनार रत्न बज्राचार्य
पद्मरत्न तुलाधर बहुआयामिक र बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । उहाँ सामाजिक न्याय र निरंकुशताविरुद्ध राजनीतिक परिवर्तनको लागि लडेका एक स्वतन्त्र, प्रगतिशील, वामपन्थी सेनानी हुनुहुन्थ्यो । उहाँ अत्यन्त भद्र, शालीन, सरल, इमान्दार एवं निडर व्यक्ति हुनुहुन्थ्यो ।
पद्मरत्नतुलाधरमा देशभक्तिको भावना उच्च थियो । २०३५/३६देखि नै भूमिगत रुपमा उहाँसँग नेकपा (माले)को सम्पर्क हुन्थ्यो, सम्बन्ध थियो ।उहाँसँग रघुजी पन्तले सम्पर्क हुन्थ्यो । असनमा उहाँको प्रेस थियो, त्यही प्रेस सम्पर्क सेतु बनेको थियो, धेरै राजनीतिकर्मीहरूको लागि । पञ्चायत शासनको भूमिगत कालमैं उहाँसँग अमृत बोहरा, माधव नेपाल र मदन भण्डारीले पनि पटक पटक भेट्नु हुन्थ्यो । २०४३ सालमा नेकपा (एमाले)ले पञ्चायतलाई ध्वस्त पार्ने कार्यनीति अन्तर्गत ‘जनपक्षीय हस्तक्षेप’को नीति लियो । पञ्चायतको राजनीति र निर्दलीय निरंकुश व्यवस्थालाई अस्वीकार गर्दै त्यसलाई भित्रैबाट पनि कमजोर पार्न त्यहाँ पनि अघोषित रुपमा प्रतिनिधि पठाउने नीति थियो । पद्मरत्न वामपन्थी र परिवर्तनकारी पनि हुनुहुन्थ्यो । रघुजी पन्त, अमृत वोहरा, माधव नेपाल र मदन भण्डारीले उहाँलाई राष्ट्रिय पञ्चायत सदस्य (रापस)को ‘जनपक्षीय उम्मेदवार’ बन्न प्रस्ताव गर्दा उहाँले मान्नुभयो ।
उहाँको काठमाडौंका शम्भुराम, माणिक लाल, दुर्गालाल, विष्णु बहादुर मानन्धरलगायत धेरै वामपन्थीसँग राम्रो सम्बन्ध थियो । नेपाली कम्युनिष्ट आन्दोलन विभाजित भएकोले नेकपा (माले)प्रति साथ-समर्थन भए पनि उहाँ पार्टीको सदस्य बन्नुभएन । स्वतन्त्र वाम भएर एकताको पहल गर्ने, पञ्चायतको अन्त्य र वहुदलीय प्रजातन्त्र ल्याउन सहयोग गर्ने प्रतिवद्धता उहाँको थियो । पार्टीले उहाँलाई स्वतन्त्र रुपमै काम गर्ने स्वीकृति दियो । निरंकुश व्यवस्था भएकोले पार्टीसँगको सम्बन्ध गोप्य थियो । चुनावमा व्यक्तिगत रुपमा उठ्नु पर्दथ्यो, चुनाव चिन्ह सूर्य थियो, स्वतन्त्र उम्मेदवार भनिन्थ्यो । २०४३ साल र वहुदल आएपछि दुई पटक २०४८ र २०५१ सालमा उहाँले संसदको निर्वाचन लडेको सूर्य चिन्हमा भए पनि उहाँको स्वतन्त्र हैषियत थियो । सबै सल्लाह पार्टीमा हुन्थ्यो । तत्कालीन नेकपा (माले)को पहलमा बनेको राजवन्दी विमोचन समितिको अध्यक्ष पद्मरत्न हुनुहुन्थ्यो भने सचिव अशोक श्रेष्ठ हुनुहुन्थ्यो ।‘लो प्रोफाइल’मा बसेर काम गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने श्रेष्ठको पृष्ठभूमि पहिला नेपाल भाषाको पत्रकारिता भए पनि पछिल्लो समय नेपाली भाषाको पत्रकारितामा हुनुहुन्थ्यो ।
जन्म, परिवार र शिक्षा
पद्मरत्न तुलाधरको जन्म आमा दिब्यलानी तुलाधर र बुबा ग्यानरत्न तुलाधरबाट न्हैकन्तला, काठमाडौंमा १९९७ साल माघ २९ गते(ने.सं. १०६२ सिपुन्ही / ११ फरवरी १९४१)मा भएको थियो । उहाँको नीलशोभा तुलाधरसँग विवाह भएपछि दुई छोरा र दुई छोरीको जन्म भयो । उहाँले औपचारिक रुपमा स्नात्तकोतर तहसम्मको अध्ययन तथा अमेरिकाबाट मानार्थ विद्यावारिधीको उपाधी हासिल गर्नुभएको थियो । यस्तै, सरकारले प्रदान गरेको उज्ज्वल कीर्तिमय राष्ट्रदीप भने उहाँले अस्वीकार गर्नुभएको थियो ।
२०३६ सालको जनमत संग्रह
२०३६ सालको विद्यार्थी आन्दोलनको परिणाम स्वरुप निर्दलीय व्यवस्थामा साधारण वैचारिक विचलन आउन थाल्यो । एकदलीय पंचायती शासनमा सुधारिएको निर्दलीय ब्यवस्था कि वहुदलीय ब्यवस्था भनेर जनमत संग्रह भयो ।
तत्कालीन शासकहरूले रातारात त्रास, लोभ देखाई भूमिगत गिरोहको सहयोगमा निर्दलीय ब्यवस्थालाई जिताए । निर्दलीय ब्यवस्थाले जितेपछि प्रजातन्त्रवादीहरू चुप लागेर बस्नुपर्ने बाध्यात्मक अवस्था आयो । उक्त जनमत संग्रहमा प्रजातन्त्रवादीहरूले बहुदलबारे वकालत गरेको कारण बहुदल पक्षमा करिव २० लाख मत खसेको थियो । निर्दलीय ब्यवस्थाले जितेको कारण जनताका कतिपय मागहरू सम्बोधन हुन पाएनन् । निर्दलीय निरंकुश ब्यवस्था भएकोले बहुदलीय ब्यवस्थामा आस्था राख्ने नेताहरू बाहिर आउन सक्ने अवस्था थिएन ।
सांस्कृतिक आन्दोलन
जनमत संग्रहले गर्दा नेपालको राजनीतिक क्षेत्रमा थोरै वैचारिक बहस गर्ने वातावरण सिर्जना भइसकेको थियो । यस अवस्थामा पद्मरत्नले सांस्कृतिक आन्दोलनमार्फत काठमाडौंका जनतालाई संगठित बनाउनका लागि ने.सं. ११०० अर्थात बि.सं. २०३७ मा ‘नेपाल भाषा मंकाः खलः’ स्थापना गर्नु भएको थियो । “नेपाल संवत राष्ट्रिय संवत, राष्ट्रिय मान्यता दये हेमाः, भिन्तुना दु भिन्तुना, न्हूदँया भिन्तुना” (नेपाल संवत राष्ट्रिय संवत, राष्ट्रिय मान्यता हुनै पर्छ, शुभकामना छ शुभकामना, नयाँ वर्षको शुभकामना)को नारा दिएर काठमाडौंवासीलाई गोलबद्ध गर्दै एउटा सांगठनिक सांस्कृतिक आन्दोलनको शुरुवात गर्नुभएको थियो ।
नेपाल संवत्, राष्ट्रिय संवत्
ने.सं.११०० मा सांगठनिक सांस्कृतिक आन्दोलनको रुपमा शुरु भएको यस ‘भिन्तुना आन्दोलन’ बर्षैपिच्छे बृहत हुँदै एउटा अभियानको रुप लिंदैगयो । यस आन्दोलनको फलस्वरुप २०५६ साल मंसिर २ गते प्रधानमन्त्री कृष्णप्रसाद भटृराईको मन्त्रीपरिषदले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्न बाध्य भयो ।
निरन्तर फराकिलो बन्दै गएको यस आन्दोलनलाई कदर गर्दै आर्थिक वर्ष २०६२/०६३ मा दोश्रो जनआन्दोलनपश्चात गठन भएको गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्री परिषदले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दियो । काठमाडौंबाट शुरु भएको यो भिन्तुना आन्दोलन सांस्कृतिक अभियानको रुपमा प्रतिस्थापित हुंदैं नेपालभर फैलिंदै आजको अवस्थासम्म पुग्दा नेपालीहरू बसोबास गरेको विश्वका धेरै देशहरूमा पुगेको छ । यो भिन्तुना आन्दोलन पद्मरत्नको दूरदर्शी परिकल्पना थियो ।
जनजाति आन्दोलन
यो भिन्तुना अभियानले गर्दा नेपालका सबै जनजातिमा आ-आफनो भाषा संवत्प्रति चेतना जाग्न थाल्यो । चेतना विकास हँुदै आदिवासी जनजाति आन्दोलनको सुरुवात भयो । हरेक आन्दोलनमा पद्मरत्नको अग्रपंक्ति नेतृत्वदायी भूमिका हुने गर्दथ्यो । त्यसकारण उहाँ आदिवासी जनजातिहरूको सर्वमान्य साझा नेता हुनुभयो । पद्मरत्नको विभिन्न आन्दोलनको नेतृत्वदायी भूमिकाको उपलब्धिस्वरुप अहिले आएर समावेशी समानुपातिक सिद्धान्त नेपालको संविधानको महत्वपूणर् अंग बनेको छ । नेपालका सबै मातृभाषामा शिक्षा प्राप्त गर्न सक्ने मौलिक हकको रुपमा मान्यताप्राप्त भएको छ । त्यसैले पद्मरत्नको नेतृत्वमा नेपालका जाति, भाषा, संस्कृतिको क्षेत्रमा प्राप्त यो महत्वपूणर् उपलब्धि मान्न सकिन्छ ।
देशमा २०४६ सालको जनआन्दोलनको बलमा प्रजातन्त्र आउनुअघि निर्दलीय पंचायतबाट बहुदलवादीहरूलाई निषेधित गरिरहेको राजनैतिक संक्रमणको अवस्था थियो । पार्टीहरू चाहेर पनि खुल्लारुपमा बाहिर निस्केर राजनैतीक बहस गर्ने अवस्था थिएन ।
राष्ट्रिय पंचायत चुनावमा जनपक्षीय उम्मेदवारी
राजाको सक्रिय शासन ब्यवस्था थियो । प्रजातन्त्रको नाममा सार्वभौम संसदको नाम दिएको राष्ट्रिय पंचायतका सदस्यहरूले निर्दलको रुपमा चुनाव लड्थे । आफूलाई प्रजातन्त्रवादी भन्नेहरूपनि त्यो चुनावमा भाग लिएर संसदमा प्रवेश गर्दथे । तर प्रजातन्त्रको पक्षमा पंचायतविरुद्ध बोल्ने कसैले हिम्मत गर्दैनथे । प्रजातन्त्रको लागि पंचायतविरुद्ध बोल्दा जिउ ज्यानै जाने हो कि भनी डर मान्दथे । पद्मरत्नले भिन्तुना सांस्कृतिक आन्दोलनमार्फत काठमाडौंका जनतालाई सुसूचित गर्न सफल भइसक्नुभएको थियो ।
निरंकुश पंचायती ब्यवस्थाभित्र छिरेर निर्दलीय ब्यवस्थालाई परिवर्तन गरी प्रजातान्त्रिक बहुदलीय राजनैतिक ब्यवस्था कायम गर्ने उहाँले लक्ष्य लिनु भएको थियो । त्यसैले बहुदलवादी जनताका मागहरू राज्यबाट सम्बोधन गराउनको लागि २०३८ सालको राष्ट्रिय पंचायतको निर्वाचनमा उहाँले स्वतन्त्र उम्मेदवारी दिनु भयो । तर त्यसबेला भर्खरै जनमत संग्रहबाट सुधारिएको पंचायतले जितेको अवस्था भएकोले जनता तुरुन्तै बहुदलको पक्षमा आउँने वातावरण नदेखेकोले बुद्धिमतापूर्वक उहाँले आफनो मनोनयन फिर्ता लिनुभयो ।
समय बित्दैैगयो, बहुदलवादीहरू पनि गोलबद्ध हुँदैगए । जनता भ्रष्ट पंचबाट मुक्ति चाहिरहेका थिए । जनताले ईमान्दार, संघर्षशील जनपक्षीय व्यक्तिहरूले चुनावमा भाग लिऊन् भनी चाहिरहेका थिए । यसप्रकार जनताको चाहाना र प्रजातन्त्रवादी नेताहरूको आग्रहमा पद्मरत्नले २०४३ साल वैशाखमा भएको राष्ट्रिय पंचायत चुनावमा सुर्य चिन्ह लिएर काठमाडौं जिल्लाबाट जनपक्षीय उम्मेदवारको रुपमा भागलिनु भयो ।
भाषणको हंगामा
पद्मरत्न बढी बोल्नु नपर्ने, सोझो मान्छेले कसरी भाषण गर्लान् भन्ने मानिसमा भ्रम थियो । जब चुनावको क्रममा पद्मरत्नले भाषण गर्नु भयो, त्यो भाषण त एटम बम पड्केजस्तै पड्कन थाल्यो । काठमाडौंको बसन्तपुरमा दिएको भाषण देशव्यापि बन्नगयो । अहिलेको जस्तो इन्टरनेटको सुविधा तथा प्रत्यक्ष प्रसारण हुन नसके पनि उहाँको भाषणको हजारौं हजार क्यासेट चक्काहरू बिक्री भयो । हुँदा हुँदा त्यो क्यासेट चक्का विदेशमा बसेका नेपालीहरूले समेत मगाएर सुन्न थाले ।
देशभर हंगामा भयो । “सूर्य कस्को पद्मको, पद्म कस्को जनताको” यो नारा देशभरी गुंजायमान भयो । “सूर्य चिन्ह र पद्मरत्न” यो पर्यायवाची वाक्यले जनतामा विश्वास जाग्न थाल्यो कि सूर्य चिन्हमा भोट हालेपछि पद्मरत्नले जित्नेछन्, देशमा परिवर्तन आउनेछ । यस चुनावमा पद्मरत्न काठमाडौंबाट अत्यधिक मत ल्याएर निर्वाचित हुनभयो । पद्मरत्नको त्यो भाषणको क्यासेटले गर्दा देशभरिको जनताको मुखमा सूर्य चिन्हले स्थान पायो । धेरै जिल्लाहरूमा सूर्य चिन्ह लिएर जनपक्षीय उम्मेदवारहरू प्रायः सबै निर्वाचित भए । नेपालको संसदीय चुनावको ईतिहासमा सूर्य चिन्हलाई प्रतिस्थापन गर्ने व्यक्ति पद्मरत्न हुनुहुन्थ्यो । त्यसैले उहाँलाई नेपालको राजनैतिक क्षेत्रमा एउटा दार्शनिक व्यति हो भन्नु उपर्युत हुन्छ ।
निर्दलीय पंचायती संसदमा बहुदलको माग
चुनावको समयमा भोट माग्ने बेलामा पद्मरत्नले जनतासामु वाचा गर्नुभएको थियो, जनतालाई विश्वास दिलाउनु भएको थियो, ‘म राष्ट्रिय पञ्चायत (तत्कालीन संसद)मा गएर बहुदलको पक्षमा आवाज उठाउँछु, एक पैसा भ्रष्टाचार गर्दिन ।’ यही वाचा पूरा गर्ने क्रममा राष्ट्रिय पंचायत सदस्यको रुपमा संसदमा सरकारको नीति तथा कार्यक्रममा भागलिदैं २०४३ साल असार १४ गतेको शुन्य समयमा “म काठमाडौंलगायत देशका सम्पूणर् वहुदलवादी मतदाताको तर्फबाट राजनीतिक दलहरूमाथिको प्रतिबन्ध हटाइयोस् भन्ने माग गर्दछु” भनेर मन्तव्य राख्नु भयो । निर्दलीय पंचायती ब्यवस्थाकोसंसदमा बहुदलीय ब्यवस्थाको प्रष्ट शब्दमा माग गरिएको नेपालको इतिहासमा यो पहिलो पटक थियो । त्यसैले, पद्मरत्न नेपालको प्रजातान्त्रिक बहुदलीय ब्यवस्थाका सुत्रधार हुनुहुन्छ, प्रजातन्त्रका सेनानी हुनुहुन्छ ।
नियमापत्तीबीच बहुदलीय मतको कदर गर्न माग
२०४३ साल असार १७ गते शाही सम्बोधनमाथि आफ्नो विचार व्यक्त गर्दै पद्मरत्नले भन्नुभएको थियो-“म एउटा स्वाभिमानी नागरिकको हैसियतले र एक जनप्रतिनिधिको हैसियतले पहिलो पल्ट रोस्टममा उभिएको छु, यहाँ के बोल्नु हुन्छ र के हुँदैन भन्नेबारे म अन्यौलमा छु । मेरा वरिपरि यस्ता व्यक्तिहरू छन्, जसको राजनीतिसँग म सहमत छैन । त्यसकारण पनि मलाई बोल्न अप्ठयारो भै राखेकोछ । यहाँ कांगे्रसका नेता छन्, कम्युनिष्ट छन्, तर सबैलाई यहाँ पंच भनिएको सुन्छु । यस स्थितिमा के बोलुं ? म आफूलाई के सम्झुँ ? त्यसकारण मलाई बोल्न साँच्चै अप्ठयारो भै रहेछ ।
मैले बोलिंन भने जनताले मलाई अयोग्य भन्नेछन् । संविधान अनुसार मैले सत्य बोल्ने शपथ पनि खाईसकेको छु । मैले असत्य बोल्नु हुँदैन । संविधानले असत्य बोल्न बाध्य गर्छ भने त्यो संविधान प्रजातान्त्रिक होईन । यहाँ सत्य बोल्न पाईन्छ कि पाइँदैन ?” उहाँले थप्दै भन्नुभयो- “काठमाडौंका अधिकांस जनताले बहुदलको पक्षमा मत दिएका थिए र तिनै बहुदलबादी जनताले जिताएर आफ्नो प्रतिनिधिको रुपमा यहाँ पठाएका हुन् । मैले संविधान अनुसार चुनाव लडेको हुँ । संविधानको विरोध मैले गरेको छैन । संविधानप्रति मेरोआस्था छ । तर संविधानमा केहि त्रुटि देखेको छु । म जनतालाई धोखा दिन चाहान्न । त्यसैले मैले यहाँ माग गर्नु पर्छ कि जनताका बहुदलीय मतको कदर होस्” ।
उहाँले बोल्नुभएपछि त्यहाँ नियमापत्तिको ओइरो लाग्न थाल्यो । वादविवाद, विरोध, प्रतिकारको बीचमा अध्यक्षले रुलिंग दिई साम्य पारेपछि पद्मरत्नले फेरी बोल्नु भयो-“मैले आफ्नो आस्था बदलेको छैन । म हिजो जे थिएँ, आज पनि त्यही छु । संविधानप्रति आस्था राख्ने कुनै व्यक्ति संविधानको त्रुटि हटाउनेतिर नलागि त्रुटि जोगाउनेतिर लाग्छ भने त्यो व्यक्ति संविधानविरोधी हो । कुनै सदस्य प्रधानमन्त्रीमा उठ्न चाहेर पनि उठ्न सक्दो रहेनछ । यो त्रुटि हटाउन श्री ५ मा जाहेर गर्नुपर्छ । जनताका पक्षधरहरू उग्रवाद र आतंकवादमा हैन नियममा विश्वास गर्छन, तर त्यो नियम जनताको पक्षमा हुनु पर्छ ।” फेरि नियमापत्ति हुनथाल्यो,-यहाँ संविधानबारे छलफल गर्न वा विरोध गर्न पाईंदैन । यसै बीच पद्मरत्नले,‘म संविधानमाथि छलफल गरिरहेको छैन, श्री ५ मा जाहेर गर्नु पर्ने केही त्रुटिहरू औंल्याई रहेको छु’ भन्नुभयो ।
होहल्ला मच्चिन थाल्यो । अध्यक्षले फेरी बोल्न अनुमति दिएपछि पद्मरत्न फेरि बोल्नु भयो- “मैले सत्य बोल्नु पर्छ । म कांग्रेस पनि होइन, कम्युनिस्ट पनि होइन, म पंच पनि होइन । राष्ट्रिय पंचायत सदस्य (रापस)हुं ।” उहाँले आफूलाई ‘पंच पनि होइन’ भनेको शब्दलाई लिएर फेरि नियमापत्तिको स्वरहरू उठ्न थाल्यो ।
निकै बेरको ब्यावधानपछि पद्मरत्नले फेरि बोल्नु भयो “मलाई मत दिने जनताले आफ्नो आस्था, विश्वास र सिद्धान्तअनुसार राजनीतिक रुपले संगठित हुन पाउनु पर्छ भन्ने माग गरेका थिए । बहुदल चाहिन्छ भनेका थिए । उनीहरूको तर्फबाट म यो माग यहाँ राख्छु ।” फेरि नियमापत्ति हुनथाल्यो । पद्मरत्नले अगाडि बोल्नुभयो,“हिजो ठूला ठूला पदमा बसेका व्यक्तिहरू पनि आज देशमा ठूलो संकट आइरहेको छ भन्दैछन्, यो संकटका निम्ति व्यक्ति दोषी हो कि पंचायत व्यवस्था ? देश बनाउने जिम्मा सरकारको मात्र होइन, जनप्रतिनिधिको पनि हो । देशमा संकट छ भन्दैमा संकट हट्ने छैन । हामी सबै इमान्दार हुन चाहान्छौं भने किरिया खाउं कि हामी भ्रष्टाचार गर्दैनौं । हामी एक पैसा पनि घूस खांदैनौं ।” अगाडि नियमापत्ती गर्दै खैलाबैला गर्ने नेताहरू सबै यो पटक लाचार बनेर चुप बसे ।
वहुदलीय ब्यवस्थाको घोषणा र आमसभा
पद्मरत्न जनताले अधिक विश्वास गर्ने नेता हुनुहुन्थ्यो । पद्मरत्नको कुरागर्दा हामी सबैले देखेको, थाहा भएको एउटा अविस्मरणीय घटना स्मरण गर्नु आवश्यक हुन्छ । २०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रबाट २०४६ चैत्र २६ गते राती बहुदलीय ब्यवस्था स्वीकार गर्ने घोषणाभयो । घोषणा भएको भोलिपल्ट काठमाडौंको टुंडिखेलको खुल्ला मंचमा विशाल आमसभा भएको थियो । जनआन्दोलनका नेताहरूले पालैपालो भाषण गर्दै थिए । गडगडाहट ताली बजिरहेको थियो ।
नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोइरालाको बोल्ने पालो आयो । उहाँले बोल्नेक्रममा ‘यो जित सबैको हो, पंचहरूको पनि जित हो’मात्र के भन्नुभएको थियो, आम जनता आक्रोशित बने । उहाँमाथि हुटिंग भयो, मंचमा जुत्ता, ढुंगाले हान्न थाले । मञ्चमा रहेका राजनैतिक दलका नेताहरूले जनसमुदायलाई शान्त रहन आग्रह गर्दैथिए, तर शान्त पार्न सकेनन् । भीड सम्हाल्न सक्ने स्थिति भएन । नेता गिरिजा प्रसादलाई जोगाउन गाह्रो भयो । यस अवस्थामा नेता गणेशमानले पद्मरत्नलाई नेपाल भाषामा “का पद्मरत्न, थन मखुगु जुइत्यन छिसं न्ववाना दिसं, जिमिसं धयां जनतां खं मन्यन ।” अर्थात “लौ न पद्मरत्न यहाँ हुन नहुने कुरा हुन थाल्यो, तपार्इं बोल्नुस्, हामीले भनेको कुरा जनताले मानेनन् ।”
नेता गणेशमानको आग्रहमा पद्मरत्न मंचमा उठेर बोल्न थाल्नु भयो “म पद्मरत्न बोल्दैछु, तपाईहरू आ-आफ्नो ठाउंमा बसिदिनु होला । यो हाम्रो जनआन्दोलन सफलताको सभा होे, कृपया शान्त भएर बसिदिनुस् ।” पद्मरत्नको यो अनुरोधमा त्यो अनियन्त्रित भीड तुरुन्तै शान्त भएर आ-आफनो स्थानमा बस्नथाले, सभा फेरि सुचारु भयो । उक्त समयमा पद्मरत्न त्यहाँ नहुनु भएको भए त्यो भेला रणभूमिमा परिणत हुन बेर लाग्दैनथ्यो ।
तत्कालीन समयमा पद्मरत्न सर्वाधिक लोकप्रिय नेता भएको कारण उक्त भेलामा नराम्रो हुन पाएन । उहाँको दूरदर्शीता, ब्यवहार प्रजातान्त्रिक राजनीतिको लागि महत्वपूणर् योगदान थियो ।
२०४७ सालको खोस्टे संविधान
२०४६ सालको जनआन्दोलको परिणाम स्वरुप २०४७ सालमा संविधान घोषणा भयो । तर संविधानको कार्यान्वयन सोचेअनुरुप भएन । भन्न त यो संविधानलाई दक्षिण एशियाकै उत्कृष्ट संविधान भनिएको थियो तर खोस्टा बराबर । जनताले केही पाएनन् । काम सबै पंचायती शैलीमैं हुन्थ्यो । निरंकुशता हटेको थिएन ।
सरकार माओवादीबीच सशस्त्रयुद्धका मध्यस्थकर्ता
धार्मिक स्वतन्त्रता, जातीय समानता, भाषिक समानता, मातृभाषा शिक्षा आदि कहिंकतै परिवर्तन हुन नसकेकोमा पद्मरत्न धेरै चिन्तित हुने गर्नु हुन्थ्यो । २०५१ सालमा तत्कालीन विद्रोही माओवादीे पार्टी गठनपश्चात जनताका हक अधिकारका विभिन्न मागहरू राखी भूमिगत भए । सरकार माओवादीबीच सशस्त्र युध्द चल्न थाल्यो । देशको वातावरण अशान्तमय भयो । मान्छेहरू मर्न थाले, जनताहरू त्रसित भए । सरकार आक्रामक बन्दै गयो । विद्रोहीले पनि गाउँहरू कब्जा गर्दे अगाडि बढ्दै गए । यो विद्रोहको युद्ध कहाँ गएर अन्त हुने पत्तो थिएन ।
देश संत्रासमय वातावरणमा गुज्रिरहेको थियो । देशका बुद्धिजीवीहरू चिन्तित थिए । विद्रोही माओवादीहरू पनि जनयुद्ध शान्तिपूर्वक जनताको पक्षमा विसर्जन गर्न चाहिरहेका थिए । त्यसैले होला, माओवादी अध्यक्ष क. प्रचण्ड बुद्धिजीवीहरूसँग भेटघाट गरी सरसल्लाहको वातावरण बनाउन २०५४ साल फागुणमा पहिलो पल्ट पद्मरत्नलाई भेट्न घरमा आउनु भएको थियो । क.प्रचण्डसँग भेटपछि पद्मरत्नले पनि देशमा आमूल परिवर्तन हुने आशा गर्नु भयो र आफूले सक्दो सहयोग गर्ने वचन दिनुभयो ।
विद्रोही माओवादीको जनयुद्धले उग्ररुप लिदैं गयो । विद्रोही माओवादी र सरकार आ-आफनै अडानमा थिए । देशमा हताहत, काटाकाट, मारामार बढ्दै गयो । माओवादीको जनयुद्ध राष्ट्रको चिन्ताको विषय बन्यो । सच्चा प्रजातन्त्रवादीहरू प्रत्यक्ष अप्रत्यक्ष रुपमा माओवादीहरूलाई समर्थन गर्न थाले । सरकार अप्ठयारोमा पर्दै गयो । सरकारले माओवादी नेताहरूको जिउँदो वा मुर्दा टाउको ल्याउनेलाई पुरस्कार दिने घोषणा गर्यो । समस्या झन जटिल बन्दैगयो ।
पद्मरत्नलाई प्रचण्डदेखेपछि…
तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले ‘प्रचण्ड भन्ने अरु कुनै व्यक्ति छैन, पद्मरत्न नै प्रचण्ड हो’ भन्न थाले । यही समय नेपालको जनयुद्धबारे समाचार लेख्दै भारतको राष्ट्रिय दैनिकी स्टेटम्यानले पद्मरत्नको फोटो राखेर क्याप्सनमा क. प्रचण्ड भनेर छाप्यो । यसले पद्मरत्नको दैनिकी अतिनै खतरापूर्ण हुन पुग्यो । किनकि त्यतिबेला क.प्रचण्डको जिउँदो वा मरेको टाउको ल्याउनेलाई सरकारले ईनाम दिने घोषणा गरिराखेको थियो । यता देशका प्रधानमन्त्रीले पद्मरत्नलाई प्रचण्ड देख्ने, उता अन्तर्राष्ट्रिय पत्रिकाले प्रचण्ड भनेर पद्मरत्नको फोटो छाप्ने । त्यो झूटो कुरा खण्डन गराउन दिल्लीबाट पत्रिका झिकाएर भारतीय राजदुतावासमा विरोध जनाएपछि पत्रिकामा संशोधन छापियो ।
विस्तृत शान्ति सम्झौताका मध्यस्थकर्ता
देशको वातावरण झन बिग्रंदै गैरहेको थियो । यस्तो बेला शान्ति प्रेमी देशी विदेशी नेताहरूको चासो बढ्नु स्वाभाविक थियो । नेपालका लोकप्रिय नेता हुनुको कारण सबैको ध्यान पद्मरत्नतिर केन्द्रित हुनथाल्यो । विभिन्न पश्चिमा देशका राजदूतहरूले पद्मरत्नलाई भेट्न आउन थाले ।
पद्मरत्नले आप्mनो कामहरू गोप्य रुपमा सावधानी पूर्वक गर्नु हुन्थ्यो । उहाँ पटक पटक दिल्ली जानु हुन्थ्यो । तर कसैलाई थाहा हुँदैनथ्यो । किनभने उहाँ दिल्ली जाँदा कहिले श्रीलंका भएर जानुहुन्थ्यो त कहिले बैंकक भएर जानुहुन्थ्यो । कहिल्यै काठमाडौंबाट सिधा दिल्ली जानु हुँदैन्थ्यो । कहिलेकाहिं फर्केर आउनु भएपछि हाँसेर कुरा सुनाउनु हुन्थ्यो कि ‘काठमाडौं एअरपोर्टमा दिल्ली जाने साथी भेट भएको, कहाँ जाने भन्दैथियो, मैले श्रीलंका भने साँझ त त्यहि साथी दिल्लीमा भेट भयो !’
२०५६/०५७मा पद्मरत्नले स्वीटजरल्याण्डस्थित ह्यूमन डाइलगको सहकार्यमा विद्रोही माओवादीका नेताहरू तथा पार्लियामेन्टका सांसदहरूलाई स्वीजरल्याण्ड लगेर त्यहाँको रेडक्रस तथा अन्य शान्तिका पक्षधर संस्थाका नेता, कार्यकर्ताबीच शान्तिका विभिन्न मोडेलहरूमा वार्ता र छलफल गराउनु भएको थियो । यसै प्रकार नेदरल्याण्ड एवं बेलायत स्थित एमनेष्टि ईन्टरनेशन र अन्य विभिन्न संस्थाहरूसँग नेपालको जनयुद्ध र शान्ति प्रकृयाबारे छलफल गराएर एउटा मोड्यूल बनाउन सफल हुनुभयो । सोही मोड्यूलको आधारमा त्यतिबेलाका सात राजनैतिक दल तथा विद्रोही माओवादीबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गराउन सफल हुनु भयो ।
यसरी, पद्मरत्नले अाफ्नाे जिउ ज्यानको समेत परवाह नगरी, अनगिन्ति जोखिम मोलेर विद्रोही माओवादी र सरकारबीचमा विश्वासको वातावरण बनाउनुभयो । विद्रोही माओवादीलाई हतियार बिसाउन लगाई, युद्ध विराम गराएर, सोही विद्रोहीलाई विस्तृत शान्ति सम्झौताका ल्याउन उहाँको नेतृत्वमा बनेको यो शान्ति सम्झौताको मोड्यूल विश्व इतिहास मै एउटा नमूना सावित भयो ।
नेपालको जनयुद्ध र शान्ति प्रकृयाका लागि पद्मरत्नले आफ्नो स्वतन्त्र वामपन्थी नेताको हैसियतलाई दाउमा राखेरअगाडि बढ्नुभयो । मुलुकप्रति चिन्तित भै एउटा सच्चा देशभक्त क्रान्तिकारी नेताको हिसाबले विद्रोही माओवादीहरूलाई शान्ति वार्तामा ल्याउन गरेका कामहरूलाई हामीले कहिल्यै बिर्सन सक्दैनौं ।
उहाँको यो उल्लेखनीय योगदानका कारण नेपाली जनताले शान्तिको श्वास फेर्न पाए । देशमा शान्ति बहालिमा अहं भूमिका निभाउने ऐतिहासिक व्यतिm पद्मरत्नलार्ई शान्तिका अग्रदूत हो भन्दा फरक नपर्ला ।
पद्मरत्न मन्त्री हुँदाको योगदान
२०५१ सालको मध्यावधि निर्वाचनपछि नेकपा (एमाले) ठूलो दल बनेको थियो । कमरेड मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पद्मरत्न तुलाधर स्वास्थ्य र श्रम मन्त्री हुनुभएको थियो । त्यो अल्पमतको सरकार थियो । यद्यपि ‘आफ्नो गाउँ, आफैं बनाऊँ’, ‘सामाजिक सुरक्षा भत्ता’ जस्ता कार्यक्रमले तत्कालीन सरकार अत्यन्त लोकप्रिय थियो ।
पद्मरत्न स्वास्थ्य तथा श्रममन्त्री हुनुहुन्थ्यो । बाँसबारी छाला जुत्ता कारखाना बन्द हुने स्थितिमा थियो । त्यतिबेला पद्मरत्नले प्रधानमन्त्रीलाई कारखाना भएको स्थानमा अस्पताल बनाउने योजना प्रस्तुत गर्नु भयो । यस कुरामा प्रधानमन्त्री मनमोहन अधिकारी सहमत हुनुभयो । बाँसबारी छाला जुत्ता कारखानाको करिव ९० रोपनी जग्गा थियो । यो जग्गालाई २०५२ साल श्रावण १५ गतेको मन्त्रिपरिषदको बैंठकले स्वास्थ्य मन्त्रालयको नाममा नामसारी गर्ने निणर्य गर्यो ।
त्यतिबेला पद्मरत्न नेपालमा ठुल्ठुला होटेलहरू भएको तर जनताको सेवाको लागि राम्रो सुविधा सम्पन्न अस्पताल नभएकोमा चिन्ता लिनु हुन्थ्यो । यहि सरकारको समयमा स्तरयुक्त अस्पतालहरू निर्माण गर्नु पर्छ भनेर उहाँ दिनरात लाग्नु भयो । बाँसबारी छाला जुत्ता कारखाना रहेका स्थानलाई “सहिद स्मारक क्षेत्र” नामाकरण गरेर त्यहाँभित्र सहिदहरूको नाममा हृदयरोग केन्द्र, राष्ट्रिय स्नायु केन्द्र र स्वास्थ्य प्रयोगशाला बनाउने योजना बनाउनु भयो । त्यही आधारमा राष्ट्रिय हृदय रोग उपचार केन्द्रको लागि ५१ रोपनी, राष्ट्रिय स्नायु विज्ञान संस्थानलाई ३२ रोपनी र राष्ट्रिय स्वास्थ्य प्रयोगशाला विज्ञान संस्थानलाई ७ रोपनी जग्गा दिने प्रस्तावलाई मन्त्रिपरिषदको बैठकबाट पारित गराउनु भयो ।
यी कामहरू सम्पन्न गर्नको लागि राष्ट्रिय हृदय रोग उपचार केन्दको अध्यक्षमा डा. अरुण सायमि र सदस्य सचिवमा अवनि भूषण उपाध्याय, राष्ट्रिय स्नायु विज्ञान संस्थानको अध्यक्षमा डा. भेष बहादुर थापा र सदस्य सचिवमा डा. उपेन्द्र देवकोटा र राष्ट्रिय स्वास्थ्य प्रयोगशाला विज्ञान अध्ययन संस्थानको अध्यक्षमा डा. हरि गोविन्द श्रेष्ठ र सदस्य सचिवमा डा. विदुर वस्तीलाई नियुक्त गरी काम संचालन गर्न जिम्मा दिनु भयो । तर,राष्ट्रिय स्नायु विज्ञान संस्थान र राष्ट्रिय स्वास्थ्य प्रयोगशाला विज्ञान अध्ययन संस्थानको काम विविध कारणले अगाडि बढ्न सकेन ।
तत्कालीन तथ्यांक अनुसार नेपालको कूल जनसंख्याको ४६.९ प्रतिशत १६ बर्ष मुनिका बच्चाहरू रहेको र यति ठूलो संख्यामा रहेका बच्चाहरूको स्वास्थ्य सेवा हेर्नेको लागि बाल स्वास्थ्य र स्त्री तथा प्रसुति रोगसम्वन्धि शिक्षा दिने निकाय नभएकोले २०५२ साल भाद्रमा राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थान र स्त्री रोग तथा प्रसुति रोग अध्ययन संस्थान स्थापना गर्ने निणर्य गर्नु भयो ।
बाल स्वास्थ्य अध्ययन संस्थानको अध्यक्षमा डा. मणिन्द्र रन्जन बराललाई र स्त्री तथा प्रसुति रोग अध्ययन संस्थानको अध्यक्षमा डा. सानु मैया दलीलाई नियुक्त गरी बाल स्वास्थ्य र स्त्री तथा प्रसुति रोग सम्वन्धि शिक्षाको विकासको काम शुरु गर्नु भयो । त्यसरी नै भरतपुरमा हाल संचालनमा रहेको वि.पी. कोइराला क्यान्सर अस्पताल पनि सोही बेला निर्माण गर्न थाल्नु भयो ।
चिकित्साशास्त्र अध्ययन संस्थानको परिकल्पनाका साथ नेपाल मैं डाक्टरहरू उत्पादन गर्ने र काम गरी रहेको डाक्टरहरूको निम्ति विषेश प्रकारका उच्च तालिमहरू दिएर स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन वीर अस्पताल अन्तर्गत अन्डर ग्राजुयट मेडिकल एजुकेशनको लागि “नेशनल इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज” स्थापना गर्न वीर अस्पताल विकास समितिलाई आवश्यक कार्य योजना तयार गर्न लगाउने सम्बन्धमा २०५२ साल भाद्रमा मन्त्रिपरिषदको बैठकबाट निणर्य गराएर शुरुवात योजनाले आज राष्ट्रिय चिकित्शा विज्ञान अध्ययन प्रतिस्थान -नाम्स)को नाममा संचालन भैरहेको छ । यो पद्मरत्नको स्वास्थ्य क्षेत्रमा गर्नु भएको अति महत्वपूणर् योगदान हो ।
श्रम मन्त्रीका रुपमा पद्मरत्नको योगदान
पहिलो कम्युनिस्ट सरकार भएकोले श्रमको सम्मान गर्नुपर्ने सरकारको दायित्व थियो । श्रम भन्नाले मजदुरहरूसँग सम्वन्धित हुने भएको मजदुरहरूको हक अधिकार संरक्षण गर्नु यो मन्त्रालयको कर्तव्य भयो । त्यतिबेलासम्म मजदुर अधिकार केहो भन्ने कसैले चासो राख्दैनथे । मजदुरहरू आफ्नै ढंगले विभिन्न माग राखी हडतालको सूचना जारी गर्थे, रोजगारदाताले कुनै मतलव राख्दैनथे । रोजगारदाताले सोच्दथे, मजदुरहरूलाई त हामीले पो पालेको, उनीहरू हामीले भने अनुसार मात्र काम गर्नुपर्छ । मजदुरहरू हडतालको सूचना जारी गर्र्र्थे, रोजगारदाताहरू मजदुरको कुरा नै नसुनि जागिरबाट निकाल्ने गर्दथे । मजदुर र रोजगारदाताहरूबीच कहिल्यै कुरा हुँदैनथ्यो ।
त्यसबखत श्रम मन्त्रालयमा श्रोत साधन न्यून मात्रामा थियो । श्रम निरीक्षकहरू थिए तर काममा जान प्रयोग गर्ने कुनै साधन थिएन । मन्त्रालय संचालनको लागि आवश्यक बजेट थिएन । श्रम मन्त्रालय भनेको एउटा मन्त्रीलाई जागीर ख्वाउन बनाएको थलो जस्तो थियो ।
श्रमिकहरूको हक अधिकार सुरक्षित गरी रोजगारदाताहरूलाई संरक्षण गर्दै राष्ट्रमा औद्योगिक कल काराखानाहरू स्थापना गर्ने वातावरण श्रृजना गर्नुपर्ने थियो । तर त्यस्तो अवस्था थिएन । पद्मरत्न श्रम मन्त्री भएर मन्त्रालय जाँनुहुँदा सबैभन्दा पहिले उहाँको ध्यान मन्त्रालयमा रहेको जनशक्ति, श्रोत साधनमा केन्द्रित भयो ।
राष्ट्रिय योजना आयोगको बजेट बैठकमा कम्युनिष्ट सरकारले श्रम मन्त्रालयमा गर्नुपर्ने फेहरिस्तअनुसार जनशक्ति, भौतिक संरचना, साधनहरू थप्नुपर्ने, रोजगारदाता र मजदुरबीच मैैत्रीपूणर् वातावरण बनाउन चाहिने आवश्यक कार्यक्रमहरूमा पर्याप्त बजेटको ब्यवस्था गर्न उहाँले प्रस्ताव राख्नु भयो । उहाँले प्रस्ताव गर्नु भएको कार्यक्रम हुबहु पास भयो । अघिल्लो बर्षको तुलनामा झण्डै दोब्वर बजेट विनियोजन गराउन सफल हुनुभयो ।
त्यसताका श्रम मन्त्रालयमा थोत्रो २ वटा गाडी मात्र थियो । एउटा सचिवले चढ्ने अर्को अफिसको काममा प्रयोग गर्ने । श्रम निरीक्षकको पद थियो । उनीहरूले प्रयोग गर्नको लागि साधन थिएन । कारखानाका मजदुरहरूले हडताल गर्थे, श्रम निरीक्षकहरू त्यो ठाउंमा निरीक्षण, अनुगमन गर्न जान सक्दैनथे । यो अवस्था आउन नदिन श्रोत साधन थप्नु आवश्यक थियो । त्यसैले स्वीकृत बजेटबाट श्रम निरीक्षकहरूको लागि पहिलो पल्ट २५ वटा मोटर साईकल र ४ वटा गाडी किनियो । श्रम मन्त्रालयको इतिहासमा मन्त्रालयलाई विकासको गतिमा लाने अविस्मरणीय पहिलो घटना थियो । श्रम अधिकारीको पदस्थापना भएको सबै जिल्लामा मोटर साइकलको व्यवस्था भयो । जसलेगर्दा, श्रम मन्त्रालयका मातहतका निकायहरूले अनुगमन, निरीक्षणका कामहरू प्रभावकारी भएर गयो ।
श्रम मन्त्रालयको आयोजनामा रोजगारदाता, मजदुर र सरकारका प्रतिनिधिहरूलाई एकैस्थानमा भेलागरी एउटा बृहत कार्यशालागोष्ठीको आयोजना भयो । यस कार्यशाला गोष्ठीमा मजदुरको हक अधिकार भनेको के हो ? कस्तो अवस्थामा मजदुरहरूले हडताल गर्न हुन्छ, श्रम कार्यालयका पदाधिकारीहरूले हडताल नगराउन रोजगारदातासँग कस्तो प्रकारको समन्वयकारी भूमिका निभाउनु पर्छ ? रोजगारदाताले मजदुरहरूलाई कस्तो प्रकारका सुबिधाहरू दिनुपर्छ ? रोजगारदाता र मजदुरवीचको सम्वन्ध कस्तो हुनुपर्छ ?यस्को मापदण्ड मापन गर्ने तरीकाहरू के के हुन ? आदि बिषयमा छलफल गराएर निष्कर्ष निकाल्ने कामको शुरुवात भयो ।
यस प्रकारको कार्यशाला गोष्ठी पनि श्रम मन्त्रालयको इतिहांसमा पहिलो घटना थियो । यो गोष्ठीपश्चात रोजगारदाता र मजदुरहरूको सम्वन्ध विकासित भएर गयो । मजदुरहरूले गर्ने हडतालमा पनि धेरै कमी आउन थाल्यो । मजदुरहरू अनुशासित भएर कामगर्ने वातावरण श्रृजना हुँदै गयो । उत्पादनमा वृद्धि भयो । रोजगारदाताहरूले मजदुरहरूलाई दिने पारिश्रमिक पनि बढाउदै लगे । कम्युनिष्ट सरकारको पालामा पद्मरत्नले मानवअधिकार संरक्षणमा गर्नु भएको यो अर्को महत्वपूणर् काम थियो ।
तत्कालीन अवस्थामा नेपालमा बैदेशिक रोजगारको ब्यवस्था राम्रो थिएन । तर वैदेशिक रोजगारलाई व्यवस्थित गरेर विदेशी मुद्रा नेपाल भित्राउने योजना बनाएर लागू गर्नुपर्ने मन्त्रालय भनेको श्रम मन्त्रालय नै हो । त्यो बेला वैदेशिक रोजगारमा पठाउने नेपालमा एउटै मात्र कम्पनी थियो । त्यो कंम्पनीले कोरियामा पठाउनेमात्र काम गर्दथ्यो । एउटै मात्र कम्पनी, पठाउने देश एउटै मात्र ।
प्रतिस्पर्धा गर्नको लागि अरु कम्पनीहरूलाई स्वीकृती दिएको थिएन । अर्को तिर नेपाली जनताले चाहेर पनि अर्को मुलुकमा काम गर्न जान सक्दैनथे । त्यस बेलाको सरकार पनि विदेशी मुद्रा आर्जनको लागि बढी भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीमा जान सकून् भन्ने चाहान्थे । त्यसैले, धेरै मेहनतसाथ योजना, कार्यक्रमहरू बनाएर पद्मरत्नको ९ महिनाको कार्यकालमा वैदेशिक रोजगारी व्यवस्थापन गर्न झण्डै १२ वटा कम्पनीलाई स्वीकृती दिनु भयो ।
पद्मरत्न श्रममन्त्री हुँदा व्यवस्थित गरेको वैदेशिक रोजगारीबाट आज नेपालको विदेशी मुद्रा आर्जन गर्ने मुख्य श्रोत बन्न पुगेको छ । यो पनि पद्मरत्नको विवेकशीलता हो भन्न सकिन्छ । साँच्चै, ईमान्दारीपूर्वक श्रम मन्त्रालयलाई त्यो बेला फर्केरहेर्ने हो भने पद्मरत्न श्रममन्त्री हुनुभएको त्यो समय श्रम मन्त्रालयको लागि सुवणर्काल हो भन्न सकिन्छ ।
संघसंस्थामा संलग्नता
वहुआयामिक व्यक्तित्वका धनी पद्मरत्न तुलाधर जति क्षेत्रमा लाग्नु भयो छाप नमेटिने गरी छोड्नुभयो । उहाँ थुप्रै संस्थाहरूमा हुनुहुन्थ्यो । ती मध्ये, नेपाल सरकारद्वारा गठित संवत् अध्ययन तथा सुधार कार्यदलको संयोजक, साहित्य गुथि, विश्व नेवार संगठनको संरक्षक हुनुहुन्थ्यो । यस्तै, नेवाः देय् दवू तथा जगत सुन्दर ब्वने कुथीका सल्लाहकार हुनुहुन्थ्यो भने मानवअधिकार आन्दोलन तर्फका संघसंस्थाहरू मानव अधिकार संरक्षण मञ्च तथा सभापति, मानव अधिकार प्रवद्र्धन केन्द्रका सभापति हुनुभएको थियो । यस्तै, जनजाति आन्दोलन तर्फ आदिवासी जनजाति महासंघको सभापति हुनुभयो, नेपाली जनजाति महासंघको वरिष्ठ सल्लाहकार तथा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको संयोजक रहनुभयो ।
यस्तै राजनीति तर्फ, राजवन्दी विमोचन समितिको अध्यक्ष,प्रजातन्त्र जोगाऔं अभियानका संयोजक रहनुभयो ।शान्ति प्रक्रिया/द्वन्द व्यवस्थापन तर्फ इन्टरनेशनल एडभाइजरी वोर्ड अफ पिस अपिल फाउण्डेशनको सदस्य, नेपाल ट्रान्जिशन टू पिस इनिसियटिभको सहजकर्ता, शान्तिवार्ता टोली (२००१)का सह संयोजक, श्री ५ को सरकार र नेकपा माओवादीबीचको वार्ता (२००१-२००३) का सहजकर्ता, उच्चस्तरिय ७ राजनीतिक पार्टी संयन्त्र र नेकपा माओवादी वार्ता (२००६-२००७) का पर्यवेक्षक, शान्ति तथा पुननिर्माण मन्त्रालय, सल्लाहकार समितिका सदस्य तथा शान्ति तथा द्वन्द्व ब्यवस्थापन समिति (२००७-२००८) का सहआयोजक रहनुभएको थियो ।
कामका सिलसिलामा विश्वका ३५ भन्दा बढी देश भ्रमण गर्नुभएका पद्मरत्न तुलाधरले नेपाल र नेपालीलाई गणतान्त्रिक देशका नागरिक बनाउँन योगदान पुर्याउँदै २०७५ साल कार्तिक १८ गते देह त्याग गर्नुभयो ।
(लेखक अनार रत्न वज्राचार्य पद्मरत्न तुलाधरको स्वकीय सचिव हुनुहुन्थ्यो । पद्मरत्न तुलाधरकाे हुलाक टिकट नेपाल सरकारका तर्फबाट प्रकाशित भएकाे सन्दर्भमा यो प्रोफाइल मोतिदेवी स्मृती केन्द्रद्वारा प्रकाशित पुस्तक ‘संघर्षशील योद्धाहरू’बाट साभार गरिएको हो । सं.)