
साधारणतया निश्चित उमेरको हद पार गरी शारीरिक तथा मानसिक रुपमा कमजोर हुँदै जाने अवस्थालाई बृद्ध अवस्था भनिन्छ । नेपालको सन्दर्भमा भने ’जेष्ठनागरिक सम्बन्धी ऐन २०६३’ ले ६० बर्ष उमेर पुरा भएका मानिसहरूलाई जेष्ठ नागरिकका रुपमा परिभाषित गरेको छ ।
आज विश्व ज्ञान बिज्ञान र प्रबिधिको शिखरमा पुगेको छ । विश्वसामु थुप्रै चुनौतीहरु छन् जस मध्य अग्रजप्रति गरिने दुर्व्यवहार पनि एउटा जटिल समस्या बन्दै गएको छ ।यस समस्याबाट हाम्रो समाज पनि अछुतो रहन सकेको छैन ।त्यसैले यस तर्फ हामी सबैले ध्यान दिनु आजको आवश्यकता देखिन्छ ।
उमेरको दौडानमा उमेर सङ्गै आउने शारीरिक, मानसिक , संबेगात्मक परिवर्तन भएको एउटा पाको र पुरानो उमेर नै बृद्ध अवस्था हो । यस अवस्था हामी सबैले नचाहेर पनि स्विकार्नु पर्दछ, यो एक प्राकृतिक प्रक्रिया हो।
आफ्ना परिवार समाज र राष्ट्रका लागि जीवन अर्पण गरेका हाम्रा अग्रजहरुप्रति नेपाललगायत विश्वका सबै घरपरिवार छरछिमेक र समाजमा पनि दुर्व्यवहार हुने गरेको पाईन्छ । जेष्ठ नागरिकले प्राप्त गर्नुपर्ने सम्मानित व्यबहारको अभावमा विभिन्न माध्यमबाट शारीरिक ,आर्थिक र मनोबैज्ञानिक रुपमा क्षति पुर्याउने कार्य नै दुर्व्यवहार हो ।
देशमा भएका विभिन्न राजनैतिक उथलपुथल तथा विभिन्न शासन व्यवस्थाहरू र मानवीय जीवनको अनन्त कालमा भोगेका विभिन्न दुःख, कष्ट र संघर्षका पाटाहरूलाई ब्यवहारिक रुपमा भोग्दै र अनुभवहरु बटुलेका अग्रजका लागि यस्ता दिवसले केहि सजिलो बनाईदिन सक्छ। भनिन्छ नि,’आगो ताप्नु मूढाको,कुरा सुन्नु बूढाको’ । हाम्रा अग्रज अनुभवबाट प्राप्त विभिन्न ज्ञानको खानी नै हुन् । अग्रजलाई कतिपयले पुस्तकालय’ संग दाँजेको पनि पाइन्छ जो संग अथाह ज्ञानको खानी छ।
अग्रज भनेका देशका अमूल्य वास्तविक सम्पत्ति हुन । समयको दौरानसँगै विभिन्न उकाली–ओेराली, घाँस–दाउरा, गर्दै कहिले घाम र कहिले पानी छेल्दै फूलेका ती सेता कपाल र चाउरिएका छालाहरु हाम्रा जिउँदा इतिहास हुन ।
नेपालको संविधानमा मौलिक हक अन्तर्गत धारा ४१ मा जेष्ठ नागरिकको हक सम्बन्धी “ जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ “ भनि सम्बोधन गरिएको छ भने जेष्ठ नागरिकको हक हितको लागि जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ तथा जेष्ठ नागरिक नियमावली २०६४ जारि गरिएको छ । सरकारको नीति तथा कार्यक्रम २०८०/२०८१ मा पनि जेष्ठ नागरिकको जीवन सम्मानित , सुरक्षित र व्यवस्थित बनाई उनीहरुको ज्ञान सीप र अनुभवलाई मुलुकको समृद्धिका लागि उपयोग गरिनेछ भनि उल्लेख गरिएको छ। जेष्ठ नागरिकलाई स्वास्थ तथा अन्य सेवा सुविधामा छुट र सहुलियत प्रदान गरि प्रदेश तथा स्थानीय तहको समन्वयमा प्रदेश तथा पालिकाहरुमा सुविधायुक्त जेष्ठ नागरिक आवास गृह सेवा तथा मिलन केन्द्र र आरोग्य आश्रम निर्माण गरेर जेष्ठ नागरिक स्वास्थ सेवा संचालन भएका अस्पताललाई थप सुदृढ गरिनेछ भनी उल्लेख गरिएको छ।
ज्येष्ठ नागरिक सम्बन्धी ऐन–२०६३ मा प्रचलित कानुन बमोजिम आफ्नो अंशभागको चल, अचल र सोबाट बढे/बढाएको सम्पत्ति ज्येष्ठ नागरिकले आफूखुसी गर्न पाउने उल्लेख छ । तथापि ज्येष्ठ नागरिकको चल, अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले मनोमानी गर्ने प्रवृत्ति बढेको छ।
बदलिदो समाज आधुनिकतातिर ढल्किँदै जाँदा जेष्ठ नागरिकहरुलाई हामीले हेर्ने दृष्टिकोण समेत बदलिदै गइरहेको अवस्थामा छ । विभिन्न प्रविधिको विकाससँगै घरमा भएका हाम्रा अग्रजहरुसँग नजिकिने, उहाँहरुसँग कुराकानीहरु गर्ने, उहाँहरुको अनुभवहरु सुन्ने र ती अनुभवहरुद्वारा आफूले असङ्ख्य ज्ञान प्राप्त गर्ने तथा हाम्रा धर्म, परम्परा, रीतिरिवाज के हुन् र कस्ता थिए भन्ने कुराको चासो राख्ने फुर्सद अपवादमा बाहेक बाँकी हामी कसैलाई भएको देखिदैन। हाम्रो युवा समाजले नै आफ्नो अग्रजहरूको भावनाको कदर नगर्ने,समाजमा घुलमिल हुन नदिने, उनीहरुलाई विभिन्न शारीरिक तथा मानसिक यातना दिइ दुस्सहfसपूर्ण ब्यवहार गर्ने गरेको पाइन्छ ।
हाम्रो नेपाली संस्कारमा हाम्रो आफ्ना आफन्तहरू बाहेकका अग्रजहरुलाई पनि आफ्नो र अग्रजहरुको उमेरको हद अनुसार सुहाउँदो जस्तैः– दाजु– दिदी, काका–काकी, हजुरबुबा–हजुरआमा, ठुलो बुवा – ठूलीआमा आदि जस्ता सम्वोधक शब्दहरूले साइनो लगाएर बोल्न सिकाइने भएता पनि आजभोलि आधुनिकीकरणको नाममा मात्तिएर सुड्डा–सुड्डी÷ सुड्डो जस्ता अपमानजनक शब्दहरु प्रयोग गरिरहेको देखिन्छ। त्यसैगरी हाम्रा अग्रजहरुले भड्किन लागेका आफ्ना कनिष्ठ सन्तानहरूलाई सहि दीशा तर्फ अग्रसर गराउने प्रयत्न गर्दा – ’हे! सुड्डो÷ सुड्डी अहिले तिम्रो जस्तो ढुङ्गेयुगको जमाना होइन अहिले, दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तिमीहरु हामीलाई नसिकाउ, तिमीहरु भन्दा हामी कयौँ गुणा बाठा छौँ, पढेलेखेका छौँ ’ जस्ता कुराहरु गरिरहेको पाइन्छ ।
बढ्दो उमेरसँगै मानसिक चेतना पनि बालकको जस्तो कोमल बन्दै जाने गर्दछ। आमाबुबाका काखमा हिजो सबै छोराछोरी अटाएका थिए । आज छोराछोरीको काखमा दुई आमाबुबालाई अटाउन धौ धौ परेको परेको समाजमा कैयौ उदाहरण छन्।
सामान्यतया जेष्ठ नागरिकप्रति शारीरिक , मानसिक , आर्थिक , सामाजिक , यौन शोषण जस्ता लिऊँ हुने गर्दछ । यस्ता किसिमका दुर्व्यवहार घरपरिवार भित्रबाट धेरै भैरहेको पाईन्छ । जेष्ठनागरिकले सार्वजनिक स्थान, यातायात सवारीका साधनमा समेत दुर्व्यवहार खेपिरहेका हुन्छन् ।नेपालको कुल जनसंख्याको ८.१३प्रतिशत ओगटेको जेष्ठ नागरिकले आफ्नो दैनिक काम गर्दाखेरी नै दुर्व्यवहार भोगिरहेका छन् । उमेरसङ्गै देखा पर्ने दीर्घ रोगका कारण जेष्ठ नागरिकले थप पीडा भोग्नुपरेको पाईन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने जेष्ठ नागरिकको मृत्यु दर अन्य उमेर समुहको भन्दा धेरै रहेको पाईन्छ । जेष्ठ नागरिकको समस्या थाहा नपाउने गरि भित्र भित्रै भुसको आगो जस्तो सल्किरहेको छ। भन्न त हामी देखाउनकै लागि मातृदेवाे भवः पित्री देवाे भवः भन्छौ मातापिताको मुख हेर्ने दिन गोडा ढोग्ने / मिठामिठा परिकार ल्याउने खुवाउने सामाजिक संजालमा दुनियाँलाई देखाएर महान बन्ने गर्छौ तर ३सय ६४ दिन चाहिँ कुनै न कुनै रुपमा जेष्ठनागरिकमाथि दुर्व्यवहार गरिरहेकै हुन्छौ।
नेपालमा जेष्ठ नागरिकको स्वास्थ उपचारको लागि स्वास्थकर्मिहरुको पनि अभाव रहेको छ । जेष्ठ नागरिकमा देखा पर्ने अल्जाईमरको उपचारको लागि विशेषज्ञ डाक्टर नै अत्यन्तै न्यून संख्यामा रहेका छन् । जुन जेष्ठ नागरिकको पहुँचसम्म पुग्न सकेको छैन । कतिपयको त अल्जाईमर रोग हो भन्ने पनि थाहा नपाई मृत्यु हुने अवस्था छ ।
आधुनिकताको हावाले छोएका कतिपय घर परिवारको संकीर्ण सोच र रुखो स्वभावका कारण यी बूढाबूढीहरू कतै गए हुन्थ्यो या आश्रममा बसिदिए हुन्थ्यो , छिटै मरे हुन्थ्यो , कुचोले बढार्ने कसिंगर हुरी बतासले उडाइ दिए हुन्थ्यो, भन्ने भित्री चाहना लुकेर बसेको पाइन्छ । तर सामाजिक लोकलज्जा, डर र संकोचले आफ्ना आमाबाबु या हजुरबुबा आमालाई बृद्धाश्रमा राख्ने आँट जुटाउन भने सकेका हुदैनन् ।घरमा कुकुर पाल्दा इज्जत सान सम्झिने आधुनिक भनिएका छोराछोरीहरुलाई आफुलाई जन्मदिने आफ्ना आमाबुबालाई सडक, पेटि बृद्धआश्रममा छाड्दा अलिकति पनि लाज सरम नहुने लज्जास्पद कुरा हो ।
आमाबुबाको इच्छा एक मुट्ठी तातो भात , फुर्सदमा सङ्गै बस्ने , घरका खास निर्णयहरुमा सल्लाह लिने , आफ्नो सन्तानको प्रगती उसैको मुख बाट सुन्ने इच्छा , बिरामी पर्दा औषधिउपचार , धार्मिक कार्यमा सहभागी , मिठो बोलीचाली जस्ता साधारण चाहना हुन्छ । बुढेसकाल लागेपछि धेरै जसो जेष्ठ नागरिकहरु घरबाटै निकालिनु पर्ने अवस्था दिनानुदिन बढ्दै गएको पाइन्छ ।
धेरै जस्तो परिवारमा बाबुको मृत्यु हुने बित्तिकै आमालाइ हेला हुने गरेको पाईन्छ । हिजोसम्म राम्रो कोठामा सुतेकी आमा श्रीमानको मृत्यु को कृयाक्रम सकिने बित्तिकै एक अँध्यारो कोठामा बासस्थान नै परिवर्तन हुन्छ । बिस्तारै सम्पत्ती नामसारी सुरुहुन्छ आमाको नाममा राखेको सम्पत्ति विभिन्न बहानामा बाँडफाँड , बेचबिखन चल्छ र त्यो बिक्री गरेको पैसा आमाको हातमा पर्दा पनि पर्दैन र घरको निर्णयकर्ताको रुपमा अब आमाको स्थान एकाएक हराएर जान्छ र यस्तो अवस्था आउँछ कि आमाले घर छाडेर जान बाध्य पारिन्छ । आधुनिकताको नाममा नयाँ पुस्ता पुरानो पुस्तासङ्ग बस्न , भलाकुसारी गर्न उनीहरुको कुरा सुन्न चाहदैनन् ।
आमाबुबाको भौतिक सम्पत्तिमा भने गिद्दे नजर गाडी रहेका हुन्छन् सम्पती आफ्नो नाममा नगर्दासम्म राम्रोसँग हेरचाह नगर्ने औषधि उपचार गर्न नखोज्ने यस्ता स्वार्थी सन्तानको साथमा बस्न बाध्य छन् आजका बुढा बाआमा । आफुले जन्माएर हुर्केका सन्तानको तीता वचन सहनु जस्तो पीडादायी के होला आमाबुबालाई ।
सरकारले ६० बर्ष पुगेको भनेर आरामको जिन्दगी जिउनलाई अवकाश दिएको हुन्छ भने घरमा आमाबुबालाई ६० वर्ष पुगेपछि झन् धेरै दबाबमुलक नातिनातिनाको स्याहार सुसार , गाईबस्तुकाे स्यहारसुसार , लुगाधुने, सरसफाइ ,खानापकाउने घरकुरुवा कार्य गराईएको हुन्छ ।
श्रीमानले श्रीमतीलाई घरबाट निकाल्यो भने आधा अंश दिन पर्छ तर छोराछोरीले आमाबुबा घरबाट निकाले भने सबै आफ्नो हुने भयो यस्ता सोचले ग्रसित सन्तानको अनेकौ दुर्व्यवहार सहेर बसेका छन् धेरै अग्रज ।
संयुक्त परिवारको अवधारणा हराउदै जानु र एकल परिवार मुखी बन्दै गएर आमाबुबा बोझ बन्दै गएको पाईन्छ । छोराबुहारी काम गर्ने, आमाबुबा गाउँमा बस्ने, छोराबुहारी गाउँ जान नमिल्ने, आमाबुबाको समाज शहरमा नमिल्ने यस्ता समस्याले गर्दा पारिवारिक कलह बढ्दै गएको पाईन्छ । एक अध्यनका अनुसार सन २०५० सम्ममा विश्वमा १४ वर्ष उमेरका बालबालिका भन्दा बढी जेष्ठनागरिकको जनसंख्या धेरै हुने बताईएको छ ।
हरेक वर्ष जुन १५ तारिखमा अग्रजहरुकमैत्री समाज, राष्ट्र अनि नीतिको वकालत गर्दै विश्व अग्रज दुर्व्यवहार विरुद्धको जागरुकता दिवस मनाइने चलन छ र राष्ट्रिय स्तरमा ज्येष्ठ नागरिक दिवस मनाउनुको मुख्य उद्देश्य जनमानसमा ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि गर्नु हो।
बृद्ध हुनु एक प्राकृतिक नियम हो। आजका युवा भोलि हाम्रा अग्रजहरुको स्थापनामा पुग्नेछौँ यो ध्रुवसत्य कुरा हो। विज्ञान र प्रविधिले जतिसुकै चमत्कार गरेतापनि प्रकृतिको नियमको अघि सबैले घुँडा टेक्नै पर्छ यो कुरा आजका पुस्ताले बुझेर जेष्ठ नागरिकहरुप्रति हेर्ने नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्न नसके भोलिको दिनहरू झनै भयावह नआउला भन्न सकिन्न। आज हामीले जेष्ठ नागरिकलाई गरेको व्यवहारहरू भोलिका हाम्रा सन्तानहरुले अनुसरण गर्नेछन्।
जेष्ठ नागरिकहरु देशका अमूल्य सम्पत्ति हुन् । उनीहरु आफ्नो पुस्ताको ज्ञान, अनुभव, कौशलता आउने पुस्तामा सार्न चाहन्छन् । अग्रजको भावनाको सधैँ कदर गर्नुपर्छ । आफ्नो अमूल्य समयको केही हिस्सा दिउँ र आफ्ना अग्रजलाई दिने गरौं । आफ्नो जीवन भोगाइका क्रममा बटुलेका अनुभव र ज्ञानहरुलाई आफूले पनि लिने गर्नु नै बुद्दिमानी हुनेछ।
शारीरिक तथा मानसिक रूपमा कमजोर तथा उमेरको हिसाबले पाको स्थित नै वृद्ध अवस्था हो । वृद्ध अवस्था मानिसको जीवनचक्रको एक अवस्था हो । शारीरिक रुपमा आँखा कमजोर , सुन्ने शक्ति कमजोर हुने , हातखुट्टा कमजोर भएर राम्रोसँग हिडडुल गर्न गाह्रो हुनु, दात झर्नु, कपाल फुल्नु , छाला चाउरी पर्नु , सम्झने शक्ति हराउँदै जानु, निन्द्रा नपर्नु , यौन क्षमतामा कमि हुनु आदि वृद्ध अवस्थाका लक्षण हुन् ।
रोग, तनाव, चिन्ता, खानापिन , हावापानी आदि कुराले मानिसलाई छिटो बूढो गराउँछ. । वृद्ध वृद्दाहरु शारीरिक तथा मानसिक रूपमा कमजोर हुने गर्छन् । यस्तो अवस्थाका आफ्ना अभिभावकको सहयोग गर्नु परिवार तथा सन्तानको कर्तव्य हो ।
जेष्ठ नागरिकहरूलाई राज्यले दिने सामाजिक सुरक्षा भत्ता एउटा प्रतिकात्मक पाटो मात्र हो र त्यसलाई पनि जीवन उपयोगी रूपमा विस्तारित गर्दै लैजान पर्छ भने अबका दिनहरुमा वृद्धवृद्धाहरूका सुख–दुःखलाई सामाजिक मुद्दाको रुपमा सरकारबाट सम्बोधन र कार्यान्वयन हुनुपर्छ।
ज्येष्ठ नागरिकलाइ सामर्थ्यको आधारमा रोजगार सिर्जना गर्ने, योगदानमा आधारित सेवासुविधा राज्यले उपलब्ध गराउने, सीप र दक्षतालाई मध्यनजर गरेर सोहीअनुसार अवसर निरन्तर कायम गर्ने कार्य राज्यबाट हुनेहो भने ज्येष्ठ नागरिकहरू हेलाँका पात्र बन्ने थिएनन् र जिविकोपर्जन लागि कसैसंग हात फैलाउनु पर्ने थिएन।
आफ्ना परिवारका अग्रज सदस्यलाई सम्मान गरौं, सम्मान लिऊँ ।