Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

शिलुकाे साङ्केतिक भाषा माेह

नेवाः टाइम्स
June 6, 2023June 6, 2023
FacebookTweetLinkedIn

साङ्केतिक भाषा विज्ञका रुपमा सक्रिय शिलु शर्मा नेपाल टेलिभिजनकाे पर्दामार्फत साङ्केतिक भाषाका माध्यमबाट बहिरा जगतलाई समाचार बुझाइरहेकी देखिन्छिन् । स्नातक तहको परीक्षा पछिको खाली भएको समयको सदुपयोग गर्नका लागि सिकेकाे नेपाली सांकेतिक भाषा शिलुकाे दैनिक काम तथा विशेष सीप बनेकाे छ ।

भैरहवामा लुम्बिनी बहिरा संघमा समयको सदुपयोग गर्न मात्र सिकेको भएता पनि पछि यही क्षेत्र उनकाे कर्म थलो बन्याे । जति जति बहिरा साथीहरुसंग हेलमेल बढ्दै गयो उति उति उनीहरूसँग काम गर्ने, सांकेतिक भाषाको माध्यमबाट सहयोग गर्ने हुटहुटि बढ्दै जान थाल्यो । यही कारणले यस पेशालाई छोडेर अन्य पेशा अपनाउन शिलुलाइ मन लागेन ।

विभिन्न सम्मेलन, गोष्ठी होस् वा बहिरा व्यक्तिलाई आवश्यकता परेको खण्डमा अस्पताल, प्रहरी कार्यालय, अदालत आदि ठाउँमा बहिरा व्यक्तिहरूका लागि दोभासे सेवा दिन पुग्छिन् । बहिराहरुलाई समाजको मूलधारसँग जोड्ने कर्ममा रहेकी शर्मा बहिराहरुसँग जोडिएका विषयमा अध्ययन र अनुसन्धान गर्न पनि उत्तिकै रुचि राख्छिन् । उनी भन्छिन्- म नेपाली सांकेतिक भाषा दोभासे भएको नाताले नेपाली सांकेतिक भाषासँग मोह त हुने नै भयो, नेपाली भाषा र साहित्यको विद्ध्यार्थी भएको हुनाले नेपाली सांकेतिक भाषाको अनुसन्धान तर्फ म मोडिएँ । फलस्वरूप नेपाली विषयमा र भाषा विज्ञानमा स्नातकोत्तर तहमा नेपाली सांकेतिक भाषाको अनुसन्धान गरी शोधकार्य गरें ।

अनन्त लगावबीच गत दुई दशकदेखि शर्माले साङ्केतिक भाषाको क्षेत्रमा प्राज्ञिक कर्म गर्दै आइरहेकी छिन् । २०६० सालमा नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका लागि ‘नेपाली साङ्केतिक भाषाको उद्भव, विकास र स्वरूप’ शीर्षकमा शोध कार्य गरेर त्यसलाई पुस्तकको आकार दिएकी थिइन् । 

शर्माले २०७४ मा राष्ट्रिय बहिरा महासंघ नेपालबाट प्रकाशित ‘नेपाली साङ्केतिक भाषाको शब्दकोश’ मा सह–लेखन समेत गरेकी थिइन् । २०७६ मा भाषाविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका लागि शर्माले ‘नेपाली साङ्केतिक भाषाको समास’ शीर्षकमा शोध कार्य पनि गरेकी थिइन् । 

२०७८ मा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित जर्नल ‘मातृभाषाको रुपरेखा भाग–२’ मा शर्माको ‘नेपाली साङ्केतिक भाषाको रुपरेखा’ शीर्षकमा लेख समेत प्रकाशित  छ । साङ्केतिक भाषाप्रतिको यही लगाव र निरन्तरको कर्मले जगाएको हुटहुटीले होला, शर्माले गरेको अनुसन्धानमा आधारित पुस्तक ‘नेपाली साङ्केतिक भाषाको स्वरूप’ पुस्तकलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले पाठकसमक्ष ल्याएको छ ।

पहिलाको तुलनामा अहिले बहिरा क्षेत्रमा धेरै कार्य भैरहेको र बहिरा नागरिकहरुले आफ्नो मौलिक हक नेपाली सांकेतिक भाषाको माध्यमबाट हरेक सूचना पाइरहन्छन् भन्ने कुरामा आशावादी शिलु दोभासेकाे काम गर्दा चुनौतीहरु पनि धेरै रहेकाे बताउँछिन् । शिलुकै शब्दमा भन्नुपर्दा- पर्याप्त शब्दहरु छैनन्, तालिमहरु पनि पर्याप्त संचालन गर्न सकिएको छैन, दोभासेहरुले अनुमति पत्र प्राप्त गर्न सकेको छैन, राज्यले दिन सकेको छैन । वर्षाै याे क्षेत्रमा लाग्दा पनि सरकारी तवरमा केही हुन नसक्दा दिक्क मान्दै उनी भन्छिन्र- नेपाली सांकेतिक भाषाबारे राज्यले महत्व बुझ्न नसकेको हो कि हामीले बुझाउन नसकेको हो, म यो बारे अलि अलमलमा छु ।

नेपाली साङ्केतिक भाषाको आफ्नै पहिचान छ । यस भाषाले आफ्नै मौलिकता बोकेको छ । नेपाली साङ्केतिक भाषाको विकास क्रमशः  अगाडि पनि बढिरहेको छ । नेपालमा बोलिने १२५ भाषामध्ये साङ्केतिक भाषा पनि एउटा हो । यो भाषालाई बहिरा व्यक्तिहरूको संचारको माध्यमको एक महत्वपूर्ण हिस्साका रुपमा नेपालको संविधानले स्वीकार गरेको छ । 

प्रज्ञा–प्रतिष्ठानको भाषा (मातृभाषा, कोश र व्याकरण)विभागको परियोजनाअन्तर्गत शर्माले सम्पन्न गरेको यस कृतिबाट नेपाली साङ्केतिक भाषाका विभिन्न पक्षहरुबारे जानकारी पाउन सकिन्छ । 

नेपाली साङ्केतिक भाषा एउटा पृथक भाषा हो । २०६८ को जनगणना अनुसार बहिरा तथा सुस्तश्रवण व्यक्तिहरूको संख्या ७९,३०७ थियो भने २०७८ को जनगणना अनुसार बहिरा व्यक्तिको संख्या ५१३७३ तथा सुस्तश्रवण व्यक्तिको संख्या ५१५२० छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाल अनुसार यस भाषाको प्रयोग गर्ने नेपाली बहिरा समुदायका व्यक्ति वा यस भाषाको वक्ता संख्या झण्डै ३ लाखदेखि ५ लाखको हाराहारीमा रहेको छ । यस्तै, २०७८ को जनगणनाअनुसार साङ्केतिक भाषा प्रयाेग गर्नेकाे संख्या एक हजार सात सय ८४ मात्र उल्लेख छ ।

पुस्तकमा साङ्केतिक भाषामा स्टोकेइ–मोडेल, लिडेल–जोन्सन मोडेल, औँला हिज्जेदेखि यस भाषामा आएका परिवर्तन लगायतका विषयहरू समेटिएका छन् । यतिमात्र होइन, पुस्तकमा युवा बहिराहरुले चलनचल्तीमा ल्याएका साङ्केतिक शब्दहरूलाई पनि स्थान दिइएको छ ।

पुस्तकमा मुख्यत नेपाली साङ्केतिक भाषाको पृष्ठभूमिका साथै वर्ण व्यवस्था र व्याकरणिक संरचनाको विश्लेषण गरिएको छ । साङ्केतिक भाषाको पृष्ठभूमि, इतिहासका साथै यो भाषाको व्याकरणीय पक्षबारे जानकारी गराइएको छ । 
‘नेपाली साङ्केतिक भाषाको व्याकरणबारे चर्चा गरिए तापनि सम्पूर्ण व्याकरण भने होइन, नेपाली साङ्केतिक भाषाको व्याकरणको थप अनुसन्धान गर्न बाँकी नै रहेको’ लेखक शर्मा बताउँछिन् । पुस्तक विद्यालय स्तरमा नेपाली साङ्केतिक भाषाको शिक्षणका साथै यस क्षेत्रका अनुसन्धाता तथा अध्येताका लागि ठूलो आधार र उत्तिकै सहयोगी हुनसक्छ ।

हालै तथ्यांक विभागले प्रकाशन गरेकाे साङ्केतिक भाषा प्रयाेग गर्नेकाे संख्याप्रति असहमति जनाउँदै शिलु भन्छिन्र- काठमाडाैं बहिरा संघको मात्र कुरा गर्दा सदस्य मात्र नै तीन सयको हाराहारीमा छन् । बहिरा संस्थामा सदस्यता नलिएका, उमेर नपुगेका, असक्त, काठमाडौ जिल्लामा केन्द्रभन्दा टाढा बस्ने बहिरा व्यक्तिहरू पनि धेरै छन् । केन्द्रीय बहिरा विद्यालय नक्सालमा स्कुल र क्याम्पसमा पनि पाँच सय २५ जना बहिरा विद्यार्थी अध्ययनरत छन् । यसैगरी नेपालभरी कति जनाले नेपाली सांकेतिक भाषालाई मातृभाषाको रूपमा प्रयोग गर्छन् होला त ?

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes