Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • समाज
  • महिला
  • स्वास्थ्य
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • विश्व
Menu

भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि

बसन्त महर्जन
May 23, 2023May 23, 2023
FacebookTweetLinkedIn
बसन्त महर्जन

कवि भानुभक्त आचार्यभन्दा धरान उपमहानगरपालिकाका मेयर हर्क राज साम्पाङ १६८ वर्षले कान्छा छन् । कवि आचार्यकाे जन्म सन् १८१४ मा भएकाे थियाे भने मेयर साम्पाङ सन् १९८२ मा जन्मेका हुन् । यी दुई बीच कम्तीमा पनि पाँच पुस्तान्तरणको फरक छ । बेग्लै विषय क्षेत्रका यी व्यक्तित्वहरू हुन् र सामाजिक, सांस्कृतिक, धार्मिकलगायत कुनै कुरामा पनि सामाञ्जस्यता छैन । तर काठमाडौंको सन्दर्भमा, विशेष गरी समयको अन्तरालमा आएको परिवर्तन र त्यसले पारेको प्रभावलाई तुलनात्मक रूपमा चर्चा गर्न यी दुई पात्र यहाँ उपयुक्त देखियो । यो तुलनाले काठमाडौंको चित्रण गर्न धेरै सघाउने पनि देखिन्छ ।

तनहुँको चुम्दीरम्घा गाउँमा जन्मेका भानुभक्तको बाल्यकाल उतै गाउँघरमा बित्यो । शिक्षादीक्षा पनि उतै पाए । सरकारी सेवामा लागेका कर्मचारी उनी बही बुझाउन पहिलो पल्ट काठमाडौं आउँदा उनले काठमाडौंलाई अत्यन्तै सुन्दर नगरका रूपमा पाए । काठमाडौंको वर्णन गर्दै कवि हृदयले यसलाई स्वर्गको अलकापुरीसँग तुलना गरे ।

तर खोटाङको गार्तम्छा (कपिलासगढी गाउँपालिका)मा जन्मे हुर्केर धरान उपमहानगरपालिकाको मेयर पदमा पदवहाली गरेर काठमाडौं आएका हर्क साम्पाङले भने काठमाडौंलाई अलकापुरीका रूपमा देख्न पाएनन् । काठमाडौंको रूप फेरिसकेको थियो । जताततै अस्तव्यस्त देखिन्छ । उनी काठमाडौं आएको बेला फोहर फाल्ने डम्पिङ साइटको विवादले फोहर उठ्न नसकेर ठाउँ ठाउँमा थुप्रिरहेको थियो । यसले दुर्गन्ध पनि फैलिएर बटुवाहरूलाई हैरान पारिराखेको थियो । हर्क साम्पाङ काठमाडौंमा आउनु र फोहरको यो समस्या हुनु काकताली होइन, काठमाडौंको यो नियमित समस्या हो । दशकौं अघिदेखि फोहरको राजनीति चल्दै आइरहेको छ । काठमाडौं देखेर दिक्क लाग्नु स्वाभाविक हो र यो दिकदारीलाई उनले सामाजिक संजालमा लेखिदिए ।

काठमाडौंको प्रशंसा गरेर अनेक शब्दश्रृङ्गार गर्नेहरूमा कवि भानुभक्त एक्लै थिएनन् । उनीअघि काठमाडौं आएका अनेकौं लेखक तथा विद्वानहरूले काठमाडौंको भरपूर मात्रामा गुणगान गरेका पाइन्छन् । यहाँको कलाकौशल तथा सुन्दरताको प्रशंसा सातौ शताब्दीमा चीनबाट आएका राजदूत वाङ हुयन्चेले जुन रूपमा गरेका पाइन्छ, यस्तै प्रशंसा सयौं वर्षपछि आएका अन्य पश्चिमा यात्रीहरूले पनि गरेको पाइन्छ । गोरखाका राजा पृथ्वीनारायण शाह नै पनि काठमाडौंको सुन्दरतादेखि मन्त्रमुग्ध भएका थिए र राज्य विस्तारको क्रममा उनले राजधानी नै काठमाडौंमा सारे । उनको भनिएको दिव्योपदेश ग्रन्थमा काठमाडौंको प्रशंसा मात्रै पाइँदेन, यसको संरक्षण र प्रवद्र्धन गर्ने उपायहरू पनि सुझाएका छन् । मनोरञ्जनका लागि बाहिरबाट नाच्न गाउनेहरू ल्याउनु नपर्ने, काठमाडौंकै राम्रो भएको र मनोरञ्जनका लागि काठमाडौंकै कलाकारहरूलाई प्रयोग गरे देशको धन बाहिर नजाने र भित्री कुरा पनि गोप्य नै रहने भनेका थिए । जमिनको उपयोग जमिनअनुसार गर्नुपर्दछ अर्थात् खेती लाग्ने जमिनमा बस्ती नबसाल्ने बस्ती बसिसकेको रहेछ भने पनि बस्ती अन्यत्र सारेर खेती लगाउने उपदेशले काठमाडौंको दीगो विकासलाई जोड दिएको पाइन्छ । भानुभक्तभन्दा पछि पनि काठमाडौं खासै बिग्रेको भन्न मिल्दैन तर २००७ सालपछि विस्तारै बिग्रन थालेर २०५० सालपछि भने द्रूतत्तर गतिमा नै बिग्रन थाल्यो ।

अवसरको खोजीमा रहेकाहरूका लागि काठमाडौं करीव दुई हजार वर्षअघिदेखि एक प्रकारले गन्तव्य रहँदै आएको कुरा अनेक ऐतिहासिक श्रोतबाट बुझिन्छ । काठमाडौंको विकास यहीँका रैथाने र अवसरको खोजीमा आएकाहरूको मेहनतबाट भएको हो । ती मेहनतीहरू कठमाडौंलाई यति माया गर्दथे कि, काठमाडौंलाई नै आत्मसात गरेर रैथाने नै भएर गए । आफ्नो गाउँ ठाउँ फर्केकाहरू पनि काठमाडौंको कला शिल्प तथा वैभवलाई साथमा लिएर गए । काठमाडौंकै रैथानेहरू पनि यताउता जाने क्रममा यहाँको कलाकौशल तथा वाणिज्य व्यापारलाई अन्यत्र फैलाए । इतिहासको यो सुन्दरतम् पक्षलाई निरन्तरता दिन नसक्नु नेपालको इतिहासमा एउटा ठुलै दुर्घटना हो ।

नेपालले विकास निर्माणका कामहरू सन्तुलित ढंगले गर्न नसक्दाको परिणाम हो, देशैभरबाट नेपालीहरू काठमाडौंमा ओइरिनु । नीति निर्माण तहमा पुग्नेहरू दूरदृष्टिका भएनन्, राजधानी काठमाडौंभन्दा बाहिर पनि नेपाल छ भन्ने कुरा बुझ्न सकेनन् वा बुझ्न चाहेनन् । यद्यपि नीति निर्माण तहमा पुगेकाहरू काठमाडौंबाहिरबाटै आएका हुन् । काठमाडौं पुगेर काठमाडौंमा नै भाँसिएकाहरूले आफ्नो गाउँठाउँलाई चटक्कै बिर्सिदिँदा विकास निर्माणका गतिविधिहरू काठमाडौं बाहिर हुनसकेन । सानो सानो कामका लागि पनि काठमाडौं नै धाउनु पर्ने भयो । शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय सबै क्षेत्रका लागि काठमाडौं पहिल्यैदेखि केन्द्र त थियो नै, यस्तै विकास आफ्नो ठाउँमा पनि हुनुपर्छ भन्नेभन्दा आफ्नो गाउँठाउँमा जस्तो सुकै भएपनि आफू काठमाडौंमै रमाउने र यहीँ भाँसिने सोच विकास हुन थाल्यो । तर काठमाडौंको वस्तुस्थितिलाई बुझ्न सकेन । जथाभावी कामकारवाही हुनथाल्दा अव्यवस्था सिर्जना हुनपुग्यो । यसले पहिल्यैदेखिको बनिबनाऊ प्रणालीमा पनि असर पर्न गयो ।

यी नीति निर्माणको तहमा पुगेकाहरूमा प्रमुख रूपमा दुई कमजोरी देखियो, पहिलो, काठमाडौं बाहेक आफ्नै गाउँठाउँको विकासमा पनि ध्यान नजानेहरूले अन्य दूरदराजको भूभागमा ध्यान दिने त कुरै भएर । दोस्रो, काठमाडौंलाई देख्ने आँखाले पनि काठमाडौंको स्थानियता, यहाँको मौलिकता तथा परम्परालाई पनि आत्मसात गर्न सकेनन् । काठमाडौंको रैथाने ज्ञान पूर्णतः उपेक्षित बन्न गयो ।

संघीय गणतन्त्रको स्थापनापछिकै कुरा गरौं, नेपालको जुनसुकै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएको जनप्रतिनिधि नै किन नहोस्, उसको ध्यान काठमाडौंको स्थानिय समस्यामा रहेको हुन्छ । स्थानिय समस्यमा नै अधिकांशको ध्यान जाँदा त्यसैको राजनीति हुनु पनि स्वाभाविक हो जसले गर्दा काठमाडौंकै विकास निर्माणका कामहरू प्रभावित हुन पुगेको छ । नेपाललाई सात प्रदेशमा बाँडेर नगर तथा गाउँ पालिकाहरूको व्यवस्था गरेपछि आआफ्नै ठाउँमा अवसरको सिर्जना हुन्छ र काठमाडौंमा बढेको अस्वाभाविक चाप घट्छ भन्ने मनसाय थियो तर असन्तुलित विकास र उचित व्यवस्थापनको कमीले गर्दा काठमाडौंको चाप घट्न सकेको छैन । अन्यत्र जनशक्तिको अभाव छ भने काठमाडौंमा प्रतिस्पर्धा बढी नै हुन्छ । यसरी नै काठमाडौंबाट विदेश पलायन हुने दर पनि बढ्दो छ ।

काठमाडौंको विकास निर्माणको काम पहिलाको तुलनामा बढेको त हो तर सन्तुलित र दीगो विकास भएन । कवि भानु्भक्तले अलकापुरी नगरी देखेको काठमाडौंलाई धरानका मेयर हर्क साम्पाङले नर्कतुल्य देख्नुले समग्रमा काठमाडौं उपत्यका विकासतिर नभएर विनाशतिर लम्किरहेको देखाउनु हो ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • शिलुकाे साङ्केतिक भाषा माेह
  • वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक
  • वातावरण र विपद एक सिक्काकाे दुई पाटाेः ‘डिजास्टर डाइलग’
  • जनगणनामा हराएका कम्युनिष्टहरू
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
  • इ–जस्टिस प्रणाली लागू गरिनु पर्छः न्यायाधीश सपना प्रधान मल्ल
  • टुँडिखेलमा गणतन्त्र दिवस
  • रेशम चाैधरीकाे रिहाइमा समर्थन र विराेध
  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?
  • समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड
  • सूचनाको हकको दृष्टिकोणबाट श्रीलंका सशक्त
  • सडक बालबालिकालाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्न परमादेश जारी
  • सिति नखःको वातावरणीय कुरा
  • हावाहुरीका कारण सुर्खेतको चौकुनेमा क्षति
  • लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने
  • भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि
  • माैसममा पश्चिमी वायुकाे प्रभाव
  • जलवायु परिवर्तनको न्यूनीकरणका लागि जैविक विविधता संरक्षण
  • सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न बजेटमा प्राथमिकता दिन सुझाव
  • गिद्ध चिनौं बुद्ध बुझौं

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes