
सामाजिक संजालहरूमा हुने-नहुने, अनेक खालका कुराहरू पाेस्ट भइरहेकाे पाइन्छन् । ती अनधिकृत र आपत्तीजनक पनि हुन्छन् । यस्तै एउटा पाेस्ट हाे, नेपालकाे कुनै गुफामा ३४० वर्ष उमेरकाे जिउँदाे बाैद्ध भिक्षु भेटिएकाे भन्ने हावादारी कुरा। याे पाेस्टले कतिपय मान्छे अलमल्लमा परेका छन् । कतिपयले जानकारीका लागि भनेर मलाई पठाइरहेका छन् भने कतिपयले यस्ताे हुन्छ र ? भन्दै साेधनी गरिरहेका छन् । यस्ता बकम्फुसे कुरालाई वास्तै नगर्दा नि हुन्थ्याे तर फेरि फेरि यस्ता कुराहरूकाे पुनरावृत्ति नहाेस भन्नका लागि केही लेख्नुु पर्ने अाैचित्य देखें ।
यिनी भिक्षुलाई नेपालको पहाडि गुफामा भेट्टाएकाे रे तर कुन पहाडकाे कुन गुफामा भेटिएकाे जवाफ छैन । नेपालमा भेटाएर चीन र थाइल्यान्ड हुँदै अमेरिकाको नासामा पुर्याएको रहेछ भन्न चाहिँ भ्याए । “सुरुमा कंकाल भनेछन् पछि चेक जाँचगर्दै जाँदा उनी जिउदै रहेछन् र उनको उमेर ३४० बर्ष पुगिसकेको बैज्ञानिकले समेत प्रमाणित गरिसकेको रहेछ” भन्न पनि भ्याए । याे कुरा पाेस्ट गर्नेले निर्धक्कसँग “यो समाचारले सारा बुद्ध धर्मलम्वि र बैज्ञानिकलाई समेत चकित पारेकोछ” पनि भने तर यस्ताे कुरामा वैज्ञानिकजस्तै बाैद्ध धर्मावलम्वीहरू पनि चकित पर्नु त के वास्तै गर्दैनन् भन्ने कुरा हेक्कामा राखेकै पाइएनन् । विभिन्न व्यक्तिले आआफ्नै ढङ्गकाे कुरा राखेकाे पनि पाइन्छ तर सबैकाे प्रकृति अनर्गल कुरा हालेर एक क्षण रमाउने खालकाे छ ।
तस्बीर मात्रै हाेइन, यसकाे भिडियाे नै पाइन्छ । याे बेग्लै प्रयाेजन वा सन्दर्भकाे सामग्री हाे। लुअाङ फाेर पिअान नाम गरेका एक थाई भिक्षु ९२ वर्षकाे उमेरमा गत वर्षकाे १६ नाेभेम्बरमा मृत्यु भएकाे थियाे । शवलाई विहारभित्रै गाडिएकाे थियाे । त्यहाँ प्रचलित परम्पराअनुसार उनका चेलाहरूले शबकाे पूजा गर्न झिक्दा शवमा खासै क्षति नभएकाे बरू हँसिलाे अनुहार पाइएकाे थियाे । हँसिलाे अनुहारले नै मान्छेहरूकाे ध्यानाकर्षण गरेकाे थियाे । भिक्षुकाे उक्त शवलाई समाएर निर्दिष्ट ठाउँमा पुर्याउन खाेजिराख्ने सहयाेगीहरू थाई रेस्क्यू हुन् । थाई रेस्क्यू प्रहरी नभएर विपद वा त्यस्तै बेलामा सक्रिय हुने उद्धार टाेली हाे। भिक्षुकाे चीवर थेरवादी बाैद्ध सम्प्रदायसँग सम्बन्धित छ । थाइल्यान्ड थेरवादी बाैद्ध सम्प्रदायकै बाहुल्य भएकाे देश हाे । याे बाैद्ध सम्प्रदायकाे बर्चश्व भएका अन्य मुलुकहरूमा श्रीलंका, म्यानमार, कम्बाेडिया, लाअाेस, भियतनाम अादि हुन् । नेपाल र भारतमा याे सम्प्रदायकाे चहलपहल भएकाे एक सय चानचुन वर्ष मात्रै भयाे । नेपालकाे कुनै पहाडकाे गुफामा ३४० वर्षका बाैद्ध भिक्षु पाइनु हावादारी गफ मात्रै हाे । नेपालमा थेरवादी बाैद्ध धर्म सम्प्रदाय स्थापनादेखि सबै भिक्षुहरूकाे जानकारी यस समाजमा राम्रैसँग पाइन्छ । यसबाट बुझिन्छ, उक्त हावादारी गफलाई सामाजिक संजालमा पाेष्ट गर्ने व्यक्तिलाई बाैद्ध विषयवस्तुकाे जानकारी नै रहेनछ ।
बाैद्ध भिक्षुहरू ध्यानमा जाेड दिन्छन्, सही कुरा हाे । तिब्बती बाैद्ध परम्परामा पनि ध्यानलाई विशेष जाेड दिइन्छ र लामाे समयसम्म ध्यान बस्ने गरेकाे पाइन्छ । तर निकै लामाे र समाजसँग बिलकुलै सम्पर्क विहिन भएर ध्यान गर्ने गरेकाे पाइँदैन । यस्ता विवरण वा कथाहरू अन्य धर्म सम्प्रदाय वा समाजमा प्रचलित मिथकहरूमा मात्रै पाइन्छ । यसलाई यिनै मिथकहरूबाट प्रभावित कल्पना पनि भन्न सकिन्छ । जुनसँग बाैद्ध समाज वा परम्परासँग कुनै सम्बन्ध हुँदैन ।
अन्य समाजमा फलाना देवताकाे आराधना गर्याे भने फलाना लाभ हुन्छ, हाेइन भने काेपभाजनमा परिन्छ, अनिष्ट हुन्छ भनेर तर्साउने वा धम्क्याउने र त्यसैकाे बलमा अन्धविश्वास फैलाएर धार्मिक प्रभाव जमाउने गरेकाे पनि पाइन्छ । यस्ता मिथकहरू ती धर्म सम्प्रदायकाे पहिचान हाे वा यी कुराहरूले धर्म सम्प्रदायलाई बलियाे बनाउँछ भन्ने भ्रम कतिपय धर्मगुरूहरूमा हुन्छन् पनि हाेला तर वास्तविकता त के हाे भने याे धर्म सम्प्रदायकाे बदनाम र कमजाेर यस्तै अन्धविश्वासहरूले गर्दा भइरहेकाे पाइन्छ ।
मानव जातिकाे आयु कतिसम्म हुन्छ भन्ने सम्बन्धमा ठाेस जवाफ पाइँदैन । पुरापाषाण कालिन मानवकाे सरदर अायु तीस चालीस वर्ष रहेकाे पाइन्छ भने अाजभाेलि नब्बे सय वर्षसम्म बाँच्नेलाई चीरन्जिवी भन्ने गरेकाे पाइन्छ । कुनै खालकाे वाधाव्यवधान नअाउने हाे भने मान्छे २०० वर्षसम्म बाँच्न सक्छ भन्ने अनुमान गरिएकाे पाइन्छ । गाैतम बुद्ध ८० वर्षसम्म बाँचेका थिए । उनकाे सानीअामा प्रजापति गाैतमी र भाइ अानन्द १२० वर्षसम्म वाँचेकाे पाइन्छ । यस्तै दीर्घजीवीहरूकाे अरू विवरण पनि पाइन्छन् तर यी सबै विशिष्ट र अपवादका कुरा हुन् ।
मानव शरीर विज्ञानअनुसार काेही ३०० वा त्याे भन्दा वढी बाँच्नु गफाडी गफ मात्रै हाे । तर विज्ञानलाई चुनाैति दिने खालका मिथकहरूकाे कमी हाम्राे समाजमा छैन । नेपालकाे पहाडी गुफामा पाइएका ३४० वर्षिय बाैद्ध भिक्षुकाे प्रसङ्ग पनि त्यस्तै मिथकबाट प्रभावित व्यक्तिकाे मनगढन्ते कुरा मात्रै भन्न सकिन्छ ।