

काठमाडौं, २४ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी हिन्दु महिलाहरूले मनाउँँदैछन् । हिन्दु ब्राम्हण क्षेत्री समुदायका महिलाहरूले मनाउने चाड भए पनि पछिल्लो समय अन्य समुदायका महिला पनि यो चाड मनाउन तथा चाडमा रमाउन थालेका छन् ।
परम्परागत रुपमा भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस चाडको आज विशेष दिन मानिन्छ । आजको दिन महिलाहरू व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास गर्दछन् ।
धार्मिक विश्वास अनुसार पार्वतीले तपस्या गरेपछि महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।
पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको मानिन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव श्रीमान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
आजको दिन पानी पनि नखाई ब्रतबस्नु पर्छ भन्ने मान्यताले यसलाई कठिनतम ब्रत मध्येको मानिन्छ । ब्रत बसेर महिलाहरू नजिकैको शिवालयमा पूजाआजाका लागि जाने गर्दछन् । अघिल्लो वर्ष कोविड १९को संक्रमणका कारण पशुपति तथा मन्दिरहरू खुलेनन् भने आज पनि पशुपति नखुले पनि महिलाहरू बाहिरै पूजा गरेर फर्किदै आएका छन् । पशुपतिनाथ लगायत मुख्य मन्दिर बैशाख १५ यता बन्द छन् । पूजा गरेपछि मन्दिर परिसरमैं नाच गान गरेर रमाएर बस्ने महिलाहरू तथा पुरुष जमात पनि यो वर्ष छैनन् ।
स्वास्थ्य समस्यालाई ध्यानमा राखेर आजकल कतिपय महिलाहरू जलाहार, फलाहार गरी ब्रतबस्ने गरेका छन् । पछिल्लो समय चिकित्सकले आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्न आग्रह गर्दै आएका छन् ।

यसैबीच, वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीजको शुभकामना दिँदै कोभिड १९ संक्रमण जोखिमबाट जोगिनका लागि सरकारले निर्धारण गरेको जनस्वास्थ्य मापदण्ड पालना गर्दै मौलिक संस्कृति तथा परम्परालाई संरक्षण र प्रवद्र्धन गर्न अपील गरेकी छन् ।
मुख्यमन्त्री शाक्यबाट तीजको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, ‘तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उतप्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’
शुभकामना सन्देशमा अगाडि भनिएको छ, ‘यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धामिक सहिष्णुता, पारिवारिक मिलन तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका हुन्छन् भन्ने मेरो विश्वास छ । तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको छ ।’
गत वर्ष घर तथा घरको आंगनीमा मात्र सीमित भएको तीज यो वर्ष भने केही महिलाहरूले सामुहिक रुपमा दर खानुकासाथै थोरै संख्यामा भए पनि मन्दिर गएको देख्न सकिन्छ ।