0 1 min 3 weeks

नेकपा एमालेका उपाध्यक्ष तथा वागमती प्रदेशका संयोजक अष्टलक्ष्मी शाक्य गत भदौ २ गते बागमती प्रदेशमा मुख्यमन्त्रीका रुपमा चयन हुनुभयो । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीका रुपमा चयन हुँदा देशभर खैलावैला भएको छ । नेता माधव नेपालको पक्षधर मानिंदै आउनुभएकी शाक्य राजनीतिक धार परिवर्तन गरेर मुख्यमन्त्री बन्नु भयो भन्ने नै अहिलेको मुख्य एजेण्डा हो । लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायतका अन्य प्रदेशमा पनि राजनीतिक उथलपुथलका साथ सरकार परिवर्तन भईरहेका छन् तर अरु प्रदेशले भन्दा वागमती प्रदेशको मुख्यमन्त्री चयनले देशको राजनीतिमै विशेष अर्थ राख्ने गर्दछ । ढीलै भए पनि देशकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसँग नेवाः टाइम्सका लागि भएको कुराकानी यहाँ प्रस्तुत छः

अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री, बागमती प्रदेश

मुख्यमन्त्री बन्नु केही समय अगाडि नेकपा एमाले विभाजनका कुरा व्यापक थियो तर तपाई त्यतिबेला कुनै प्रतिक्रिया नदिई शान्त देखिनु भयो र एकाएक मुख्यमन्त्रीका रुपमा अगाडि आउँनु भयो । त्यो शान्ति भनेको मुख्यमन्त्री बन्नकै लागि थियो कि अरु नै केही थियो ?
मुख्यमन्त्री बन्ने चाहना हिजोको दिनमा थियो, अब आजका दिनमा भन्नुपर्दा मैले मुख्यमन्त्री बन्ने चाहना नराखेकै हो । पार्टीमा, वागमती प्रदेशमा सांसदकै रुपमा बसेर पनि राम्रो, जनमुखी, सेवामुखी काम गरौंला भन्ने थियो, गर्दै पनि थिएँ । तपाईंले भन्नु भएजस्तै यो मुख्यमन्त्रीको कुरा अचानकै भएको हो ।
पार्टीमा पनि उथपपुथल आयो, विभाजनको स्थितिसम्म पुग्यो । पार्टीमा द्वन्द्व व्यापक रुपमा सिर्जना भयो । राजनीतिक अस्थिरताले गर्दा एक्कैचोटी नेकपाको सरकार ढल्ने स्थितिमा पुग्यो । केपी ओलीले प्रतिगमनको काम गरेको कारणले नै यो सबै भएको हो नि । लोकतन्त्र, गणतन्त्र, संविधान सबै धरापमा पर्दै गयो । प्रधानमन्त्री भएर पनि नियमकानुन मिच्दै गए । यसले गर्दा देशमा खतराको अप्ठ्यारो स्थिति देखापर्‍यो । राजनीतिक दलहरु, त्यसमा पनि नेकपा एमालेको एकदमै असक्षमताले गर्दा जनविरोधी चरित्र देखा पर्‍यो । यसले गर्दा सिंगै मुलुकलाई अप्ठेरो पर्दा एमाले फुट्ने स्थिति आयो । हामी पनि नेपाल कम्युनिष्ट पार्टी, माक्र्सवादी लेनिनवादी(नेकपा माले), नेकपा एमाले हुँदै नेकपासम्म पनि बन्यौं । तर नेकपा भइसकेपछि सर्वोच्चको फैसलालाई मान्दै आफ्नै घर फर्किनुपर्छ भनेर आइरहँदा सोचेको ठाउँमा आउँन सकेनौं, अलपत्र भयौं, हामी घर बाहिर पर्‍यौं । यसले गर्दा झनझन द्वन्द्व सिर्जना भयो, अप्ठेरो भयो ।

खासगरी पार्टी अध्यक्षसँग तनाव सिर्जना भयो । विभेदले छुट्टै जानेजस्तो स्थिति सिर्जना भयो । हामीलाई धेरै अप्ठेरो भयो, सामना गर्दै अगाडि बढ्यौं । केन्द्रीय सरकार फेरबदल भयो । हिजोको सरकार नेकपा एमालेकैं भए पनि ढल्न पुग्यो । यसले गर्दा जनमानसमा कस्तो मानसिकता बनायो, त्यो आफ्नै ठाउँमा छ । यसको असर चुनावमा अवश्यै देखिन्छ । यही क्रममा प्रदेश सरकारहरु पनि ढल्न पुगे । गण्डकी, लुम्बिनीमा आफ्नै सरकार पनि ढाल्ने काम भयो ।

यही क्रममा वगमतीमा के गर्ने भन्ने कुरा भयो । हामीले भन्यौं, बागमतीमा नेकपा एमालेका वहुमत छ त्यसैले बहुमतलाई नछोडौं । शुरुमा त अविश्वासको प्रस्ताव पनि मिलेरै राखेका थियौं नि । तर पछि नछोडौं, बागमतीमा एमालेकै सरकार हुनु पर्छ भनेर हामीले मिल्ने कदम चाल्यौं । हिजोको सबै कटुता बिर्सेर मिल्ने वाचा गर्‍यौं । यही आधारमा मिल्दै, नीति तथा बजेट पास गर्दै अगाडि बढ्यौं ।
यसले गर्दा मलाई के लाग्यो भने मिल्न खोज्दा त हुँदो रहेछ नि । एउटै एजेण्डा, पार्टीको चाहना राख्दा त हुने रहेछ भन्ने लागेपछि हामीले दुवै नेताहरु केपी ओली र माधव नेपालसँग कुरा गर्‍यौं, ल के गर्ने ? गण्डकी जस्तो हुने कि, लुम्बिनी जस्तो हुने कि अन्त प्रदेशजस्तै हुने भनेर । बागमतीमा त पार्टी एकता बलियो हुँदाहुँदै अरुलाई हावी हुन दिनु हुन्न भनेपछि दुवै जनाले तपाईहरु अगाडि बढ्नुस् भन्नुभयो । तपाईंहरु मिलेर अगाडि बढ्नुस्, हामी साथ दिन्छौं भनेपछि मुख्यमन्त्री फेरवदल भएको हो । परिस्थिति जटील भएकोले हामीले एक सेकेण्ड पनि खेर फालेनौं भनौंन । तुरुन्तातुरुन्तै आफ्नो बहुमतलाई सदुपयोग गरेर मुख्यमन्त्री फेरबदल गर्ने काम भयो ।

तपाईंलगायत थुप्रै नेताहरु भिन्न मत राख्दा राख्दै नेकपा एमालेमैं हुनुहुन्छ, जबकी मावध नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ताको प्रकृयामा गईसक्नु भएको छ । तपाईहरु नजानु र उहाँहरु पार्टी दर्ताको प्रकृयामा जानु अनि फेरि एकताका कुरा पनि भई नै रहनु भनेको तपाईहरुको आन्तरिक रणनीति हो ?
होइन । यसलाई आन्तरिक रणनीति भन्न मिल्दैन । अब हाम्रो कुरा मिलेन । माधवसँग भईरहँदा, केपीसँग नमिल्दा हामीले केसम्म भनेका थियौं भने- ‘केपी ओलीसँग मिल्न गाह्रो भयो । हाम्रो छुट्टै भेला गर्नुपर्छ, छुट्ै ढंगले अगाडि बढ्नु पर्छ’सम्म पनि भनेका थियौं तर परिस्थितिले कहाँ पुर्‍यायो भने हामी बिस्तारै मिल्नु पर्ने अवस्थामा पुर्‍यायो । यद्यपि केपी ओली यति कट्टर अनि निर्मम भईदिए नि कुनै पनि हालतमा मिल्न नदिने । माधव नेपाललाई छिर्नै नदिने । झलनाथ खनाललाई स्वीकार्दै नस्वीकार्ने । यो स्थितिमा पुगेपछि जटिलता पैदा भयो, जटिलताको कारण नै यही भईदियो । दुबै नेताहरु मिलिदिएको भए यो समस्या नै आउने थिएन ।

माधव नेपाललाई हामीले के भन्यौं भने, हिजोको परिस्थितिमा भेला गरेको बेलामा ड्याङ्गै फुटेर अलग्गै भईदिएको भए हामी कहाँ पुग्थ्यांै, जे जे परिस्थिति सामाना गरेर भए पनि । अहिलेको आम जनताको मनस्थिति हेर्दा पार्टी फुटोस् भन्ने छैन । यसैले पनि अब हामी फुटको दिशामा जान हुँदैन । मेलमिलापको दिशामा जानुपर्छभन्दा नमानेपछि हामी एक खालको अलग भयौं, उहाँ अर्को खालबाट अगाडि बढ्नुभयो । अब हामी एकताको समूह बन्यौं । पार्टी बलियो बनाउँनै पर्छ, मिल्नै पर्छ भन्ने लाग्छ । पार्टी एकतामा हामी सफल हुन्छौं, यसमा म ढुक्क छु । चुनौति आईरहन्छन् तर हौसला दिनेहरु पनि छन् । त्यसैले एकता हुन्छ भन्ने मलाई विश्वास छ ।स्थायी कमिटीमा रहेका मध्ये तीन जनाको समूह माधव नेपाललगायत अरु दुई नेता अलग्गिनु भएको छ अरु सबै एकताको समूहमा एक ठाउँमा छौं ।

माधव नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी पार्टीको दर्ता प्रकृया र बागमती प्रदेशको मुख्यमन्त्री घोषणा एकै दिनमा भयो । यो संयोग हो ?
पार्टी दर्ता कुनै पनि बेला हुन्छ भन्ने त लागेको हो तर बागमतीको सवालमा हामी छुट्टै नै आफ्नै ढंगले अगाडि बढेका थियौं । त्यसैले पनि केन्द्रीय गतिविधिमा त्यति ध्यान दिन पाएका थिएनौं । माधव नेपालसँग कुरा गरिरहँदा पनि ‘ठीक छ नि तपाईंहरु आफ्नो ढंगले अगाडि बढ्नू’ भन्नुभएको र निणर्य हुँदा एकै दिन पर्न गयो, जुधेजस्तो भयो । त्यो चाहिं चित्त नबुझेको कुरा, मलाई । तर भई त हाल्यो नि भनेर यसलाई सकारात्मक तरिकाले अगाडि बढ्ने हो भन्ने लाग्यो ।

यहाँ मुख्यमन्त्री बन्नुहुँदा यहाँकै पक्षका कतिपय नेता तथा कार्यकर्ताहरु पनि अवाक् बने, अलपत्र परेको महसुस गरे । पदका लागि विचार साट्नुभयो भन्ने आरोप पनि छ नि ?
म अष्टलक्ष्मी, आरोप लगाउनुअघि अष्टलक्ष्मीलाई बुझ्नु पर्‍यो नि । अष्टलक्ष्मी कस्तो हो भन्ने कुरा नबुझ्ने मान्छेले भन्छन् । जिन्दगीभर राजनीतिमा मैले त्याग गरेको छु, समर्पण गरेको छु । त्यागको कुरा गर्ने हो भने कसैको भन्दा कम छैन मेरो । यस्तो मान्छेले त्यस्तो आरोप खेप्नु पर्दा दुःख लाग्छ के मलाई, धेरै दुःख लाग्छ । कस्ता कस्ता स्वार्थ लिनेहरु उम्किन्छन् । तर, मलाई पीर छैन । पहिला आफैं इमान्दारितापूर्वक काम गर्ने हो ।

प्रदेश सभाको लागि चुनाव हुँदा यहाँले मुख्यमन्त्रीकै तयारी सहित लाग्नुभयो । ती कुरा आफ्नो ठाउँमा भए, तर अहिले छोटो समयका लागि मुख्यमन्त्री हुनुभएको छ । यो वर्षको नीति तथा कार्यक्रम र बजेट पनि पारित भईसकेको अवस्थामा केही परिवर्तन हुन्छ कि पारित भएअनुसार नै हुन्छ ?
मेरो प्रष्ट मान्यता के हो भने हाम्रो संस्कार राम्रो छैन । केन्द्रीय सरकारमा पनि देखेको- एउटा सरकार आउँछ, त्यसले बजेट बनाउँछ, भिजन बनाउँछ । अर्को सरकार आउने वित्तिकै त्यो सबै कुरा सकिन्छ, खारेज गरिदिन्छ । स्वीकार्दै स्वीकार्दैन । योजनामा यस्तो गर्नु हुँदैन भन्छु म । नराम्रोलाई नगर्दा भयो तर राम्रो त लागू गरे भो नि । त्यसैले मैले भनिसकेको छु, डोरमणि पौडेल मुख्यमन्त्री हुँदा ल्याएको बजेट हाम्रै सल्लाहमा ल्याइएको हो, त्यो बजेटका राम्रो पाटोलाई हामी कार्यान्वयन गर्छौ । आवश्यक नभएकोलाई हामी कार्यान्वयन गर्दैनौं । यसैले जे बजेट, नीति तथा कार्यक्रमको राम्रो पाटोले निरन्तता पाउँछ । हामी सांसदको हिसावले पाउने कोषको कुरा पनि छ, त्यो व्यवस्थित ढंगले नै अगाडि बढ्छ, कार्यान्वयन हुन्छ । समस्या नहोलाजस्तो लाग्छ मलाई । जम्मा १६ महिना छ, जे जति काम गर्न सकिन्छ, गर्नै पर्छ ।

कोविडको महामारी र बाढी पहिरोको विपदको संघारमा मुख्यमन्त्री बन्नुभएको छ । यी विपद व्यवस्थापनका लागि तपाईको योजना के छ ?
बागमती प्रदेशमा कोविड महामारी अरु ठाउँमा भन्दा अधिक छ, यो मेरो पहिलो प्राथमिकता हो । बागमती प्रदेशका नागरिकलाई कोविडबाट बचाउनै पर्छ, अनुगमन, उपचार पद्दतीलाई प्रभावकारी बनाउनै पर्छ । यो कुरालाई मैले सोचेको छु ।
दोस्रो, आजै पनि मेलम्चीको चुनौतीदेखि जुगल गाउँबाट थुप्रै साथीहरु आउँनुभयो । सिन्धुपाल्चोकको धेरै क्षेत्र अस्तव्यस्त छ । विज्ञहरुले त कति ठाउँ बस्नै हुन्न भनिएको ठाउँमा पनि बसिरहेका छन् । थुप्रै पुल बगाएको कारणले वारीका वारी पारिका परि नै बस्नु पर्ने अवस्था छ । उहाँहरुले कमसेकम पुल त बनाइदिनुस् भन्नु भयो, हुन्छ विचार गरौंला भनेको छु । जनताका लागि तत्काल गर्नुपर्ने यस्तायस्ता कुरामा ध्यान दिनै पर्छ भन्ने लाग्छ मलाई । यी कामका लागि सबैको साथ सहयोग पाउँछु भन्ने विश्वास लिएको छु ।

बनाउने कुरा त गर्नुभयो, कत्तिको तदारुकता हुन सक्छ ?
अब प्रदेश कार्यालयमा गएपछि यसको विज्ञहरु छन्, निकाय छन्, सबैसँग छलफल गरेर यसलाई नै पहिलो प्राथमिकता दिएर म कामलाई अगाडि बढाउँछु ।

यहाँले केन्द्रीय राजनीति गरिसक्नु भएको छ । संघीय राज्यकै उद्योगमन्त्री तथा महिला मन्त्री भईसक्नु भएको मान्छे बागमती प्रदेशलाई नै महत्व दिएर लाग्न खोज्नुमा त्यस्तो विशेष कारण के छ ? यहाँ नगरी नहुने के देख्नुभएको थियो यहाँले ? अहिले गर्ने अवस्था छ कि छैन ?
पहिलो कुरा त, एउटै व्यक्ति धेरै पटक सुविधाको पदमा जानु हुँदैन, अवसर सबैले पाउँनुपर्छ । एउटै मान्छे, एउटै पदमा चार पाँच पटक जाँदा अरु अवसरबाट बञ्चित हुनुपर्ने हुन्छ भन्ने मेरो मान्यता हो । दुई पटक मन्त्री भएपछि तेस्रो पटक मैले नाईं भनेरै पन्छिएको हो । बागमतीको सवालमा पनि म पन्छिई नै सकेको थिएँ, अब म राजनीतिक पार्टीको काम गर्छु, सुविधाको पदमा जान्न भनेर बसेको थिएँ ।
साथीहरुकै दवावका कारण प्रदेशसभामा गएँ । जनताले माया गरे, जितें । तर, मुख्यमन्त्री हुने बेलामा समस्या आयो, पछि हट्नु पर्‍यो पहिला । चाहना नहुँदा नहुँदै त किन भन्ने जनताले माया गरेका छन् । अब मसँग १६ महिनाको समय छ, जनताको मायालाई जसरी सदुपयोग गर्न सक्छु, गर्छु ।
साथै, म बागमती प्रदेशको पार्टी संयोजक पनि भएकोले १३ वटा जिल्लाको समस्यालाई मैले हेर्नुपर्छ । आफ्नो क्षेत्रमात्र हेरेर पुग्दैन, सबैठाउँमा गर्नुपर्छ । थोरै समयमा जति सकिन्छ त्यति काम गर्ने मेरो विचार छ । फेरि, बागमती प्रदेश भनेको केन्द्रको राजधानी पनि हो । संभावना बोकेको प्रदेश भएकोले यसलाई राम्रो, प्रभावकारी, नमूना बनाउन सकिन्छ भन्ने लाग्छ ।

बागमती प्रदेशको अस्थायी राजधानी हेटौंडामा छ । यो सार्नेसम्बन्धमा केही सोचाई छ ?
यो कुरा अहिले गरिहाल्ने स्थिति छैन । यो राजधानीको कुरा प्रदेशको मत लिएर नै निणर्य भएको हो । सबैको फेरि मत लिएर, यहाँ (हेटौंडा) हुँदैन भने भने बेग्लै कुरा, नभए अहिलेलाई यहीं कायम हुन्छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउन नेवार संस्कृतिले महत्वपूणर् भूमिका निर्वाह गरेको छ । नेवार संस्कृति मास्नको लागि सरकार उद्दत रहेको व्यापक जनगुनासो छ । यो अवस्थामा नेवार संस्कृति प्रवद्र्धनका लागि बागमती प्रदेशले के गर्छ, संघीय सरकारसँग कसरी समन्वय गर्छ ?
पहिलो कुरा त हाम्रो नेवार संस्कृति, भाषा, भेषभुषाजस्ता तमाम कुराबाट नेपालको पहिचान विश्वमा भइरहेको छ । हामी आफैं गर्व गरिरहेका छौ । यस्तो बेलामा हाम्रो जातिलाई नै बचाउने हो भने नेवारको संस्कृति परम्परा बचाउनु पर्छ । संविधानले पनि यो कुरा बोलेको छ । संस्कृति बचाउन त्यसभित्रको विकृति हटाउनु पर्छ । विसंगति हटाउँदै संस्कारलाई अगाडि बढाउनुपर्छ । यसमा हामी सबै सचेत हुनु जरुरी छ । यसको लागि मानिसलाई बुझाउने, सम्झाउँने गर्नुपर्छ । यो त्यति भएको देख्दिन ।
हाम्रो परम्परागत कला, सीप बचाउन पनि हामीले योजनावद्ध रुपमा अगाडि बढ्नुपर्छ । यद्यपि अहिले पहिलाको तुलनामा बढी प्राथमिकता पाएको जस्तो लाग्छ । यो कुरा नेवारको सवालमा मात्र होइन सबै जातजातिले गर्नुपर्छ । यसको संस्कृति प्रवद्र्धनका लागि केन्दीय सरकारले के गर्दैछ, बुझ्नै बाँकी छ ।

मैले कुन सन्दर्भमा कुरा गर्न खोजेको हो भने, संघीय सरकारले गुठी विधेयक ल्यायो, काठमाडौं उपत्यकामा बाह्य चक्रपथको योजना छ, तीन चार वटा स्मार्ट सिटीको योजना छ । यी काठमाडौंलाई कंक्रिटको जंगज बनाउने योजनाले नेवार संस्कृतिमा कस्तो प्रभाव पार्ला ? यी सबै योजना काठमाडौंमैं जरुरी छ ? यसमा वागमती प्रदेशले कसरी समन्वय गर्न सक्छौं ?
हेरौं न, कति व्यवस्थापन गर्न सकिन्छ । केन्द्रीय सरकार पनि भर्रखर बनेको छ । मुख्यमन्त्रीहरु बोलाएर केन्द्रीय सरकारले कामको प्राथमिकिकरण तथा संयोजन गर्नुपर्छ भन्छु म । कतिपय बेमेलका कुरा गर्नुहुँदैन । गुठी विधेयकको सवालमा त मेरो आपत्ती नै हो । गुठी संचालन गर्ने नेवारहरुलाई अलग राखेर विधेयक ल्याउने भनेको व्यवहारिक हुन सक्दैन । स्थानीय वासिन्दासँग छलफल नगरी काम गर्दा समस्या हुन्छ, फास्ट ट्र्‍याक कै कुरा गरौं न । यसैले कम्तिमा पनि स्थानीयसँग छलफल गरेर जनसरोकारका काम गर्दा गल्ती कम हुन्छ ।

रोजगारउन्मुख युवालाई विदेश देखाउने गर्नाले नै देशले उद्यमशीलतामा आगाडि बढ्न सकेको छैन । यो अवस्थामा वागमती प्रदेशमा उद्यमशीलता विकासका लागि नयाँ खालको के योजना छ ?
अहिलेसम्म विशेषखाले सोच बनेको छैन, के के नीति बनेको छ, हेरौं पहिला । मैले भनें नि धेरै सम्भावना बोकेको बागमती प्रदेश हो । बनेको नीतिमा आधारित भएर, विज्ञहरुसँग सल्लाह गरेर मात्र हामी तय गर्छौं, अहिले तत्कालै तय हुन सक्दैन ।

गुरुङ, थारु समुदायले आफ्नो जातियतालाई प्रवद्र्धन गर्दै पर्यटन व्यवसायलाई अंगाल्दै आएको सन्दर्भमा बागमती प्रदेशका विभिन्न जनसमुदायले पनि आफ्ना संस्कृति प्रवद्र्धन गर्दै अर्थोपार्जनमा जानसक्ने संभावना कत्तिको देख्नुहुन्छ ?
संभावना पनि छ र योजना पनि बनाउन सकिन्छ । यो प्रदेशमा अल्पसंख्यक जातिमा चेपाङ, थामी, जिरेल छन् । यस्तै, नेवार र तामाङ जाति त अझ सक्षम छन् । तुलतान्मक रुपमा विकास भएको छ र पनि चेपाङ, थामी, जिरेलकाबारे सोच्नैपर्छ ।

महिला सशक्तिकरणको लागि पनि पक्कै सोच्नु भएको होला ।
अँ, बिस्तारै । भरखर जिम्मेवारी लिएको छु, छलफल गरेर अगाडि बढ्छौं ।

अन्तमा थप केही छ कि ?
भरखर जिम्मेवारी लिएको भएर पनि यसै भन्न नसकिने अवस्था छ । चुनौतिहरुलाई सामना गरेर अगाडि कसरी बढ्ने भन्ने नै मुख्य कुरा हो । राजनीतिमा स्थिरता कायम गर्ने र पार्टीलाई विभाजनबाट रोकेर एकजुट बनाउन सक्यो भने सबै चान्स हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *