Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

गाइजात्राः नेवारको मौलिक पर्व

बसन्त महर्जन
August 21, 2021August 23, 2021
FacebookTweetLinkedIn

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको भोलिपल्ट नेवार समुदायले स्थानीय बोलीचालीमा ‘सायाः’ भनिने गाईजात्रा पर्व मनाउँछन् । यो पर्व कसरी शुरू भयो भन्ने बारेमा कान्तिपुरका राजा प्रताप मल्ललाई जोडिन्छ ।

राजकुमारको मृत्यु भएपछि रानीले विलाप गरेपछि अरूका पनि छोराछोरी मरेका छन् भनेर बुझाउन मृतकको नाममा गाईको भेष धारण गरी दरबार परिक्रमा गर्नुपर्ने उर्दी जारी भएको र त्यसपछि गाईजात्राको चलन बसेको किंवदन्ती छ ।

गाइजात्रा । तस्वीरः बसन्त महर्जन

यी राजाका एक राजकुमारको मृत्यु भएको घटना सत्य हो । तर यस सांस्कृतिक पर्वसँग त्यो घटनाको सम्बन्ध देखाउने कथा इतिहाससम्मत भने होइन ।

समाजमा प्रचलित सांस्कृतिक गतिविधि एवं पर्व–जात्रालाई अर्थ्याउने तथ्यगत र प्रासंगिक कुरा नभेटेपछि लोकलाई विश्वस्त पार्न कुनै पुराणसँग जोड्ने वा नयाँ कथाको सिर्जना गर्ने प्रवृत्ति हुन्छ । जिज्ञासु सर्वसाधारणलाई तत्कालका लागि चुप लगाउने यो एउटा काइदा होला, तर यसले वास्तविकतालाई बिर्साउने मात्र नभई समाज विकासको इतिहासलाई नै ओझेलमा पार्छ ।

इतिहास र संस्कृति विषयमा लेख्नेहरूले पनि सत्य–तथ्यमा शंका र अनुसन्धान गर्नुपर्ने दायित्वबाट पन्छिएर जनश्रुति, किंवदन्ती आदि रहेको भन्दै तिनै कुरा हुबहु उतार्ने गरेका छन् । कुनै एक ठाउँ वा समाजविशेषलाई सामान्यीकरण गर्दा सांस्कृतिक चिन्तन नराम्रोसँग प्रभावित हुनपुग्छ भन्नेतर्फ हेक्का राख्नुपर्छ ।

गाईजात्राकै प्रसङ्गमा चर्चा गरौं । राजा प्रताप मल्ल विस्तृत भूभागको प्रतापी राजा थिएनन्, सानो उपत्यका (काठमाडौं) भित्रको तीनमध्ये एक राज्यको मात्रै राजा थिए । छिमेकी राज्यहरूसँग पनि खासै राम्रो सम्बन्ध नभएका उनको प्रभाव पूरै उपत्यकाको सांस्कृतिक जीवनमा परेको अनुमान कसरी गर्ने ? बरु यस विपरीत काठमाडौंमा मनाइने गाईजात्रा अन्यत्रको तुलनामा कम विकसित देखिन्छ ।

भक्तपुर, पनौती लगायत ठाउँमा मनाइने गाईजात्रामा प्राचीनता झल्किन्छ। तर काठमाडौंको गाईजात्रामा यसको अभाव देखिनुले यो पर्वको थालनी प्रताप मल्लसँग नजोडिने कुरामा बल पुर्‍याउँछ ।

गाईजात्रा सम्बन्धी प्रायः लेखोटमा मृतकको घरबाट गाईको भेषमा कुनै बालकलाई शहर परिक्रमा गराइने उल्लेख पाइन्छ, जुन सही भएर पनि पूूर्ण होइन । भक्तपुर र पनौतीमा ‘ताहामचा’ भनेर मृतकको नाममा बेग्लाबेग्लै लिङ्गो आकारमा बनाइएको खट निकाली नगर परिक्रमा गराइन्छ, जुन हात भएको र नभएको दुई प्रकारको हुन्छ ।

कीर्तिपुरमा मनाइने गाइजात्राकाे झाँकी जसलाइ धाकःलुइगु भनिन्छ । तस्वीरः बसन्त महर्जन

तर, कीर्तिपुर तथा पाँगामा मुकुन्डो सहित बेग्लै बोल र तालको नाच नाचिन्छ, जसलाई ‘धाकः लुइगु’ भनिए पनि ‘धेपाँधेधे’ नामबाट बढी चिनिन्छ । नाचमा सहभागीहरू बेग्लाबेग्लै भेषभूषामा तोकिएका वस्तु बोकेर बस्तीको निश्चित ठाउँमा नाच्ने गर्छन् । गाई तथा गोरुको भेषमा आउनेहरू पनि हुन्छन् ।

मृतकको नाममा ‘वसः घाकाः छ्वयेगु’ भनी एक व्यक्तिलाई मुकुण्डो सहित प्रशस्त लुगा लगाइदिएर पठाउने चलन पनि छ । छिमेकी बस्ती कीर्तिपुर र पाँगामा कतिपय प्रचलनमा समानता रहे पनि नाच्ने तरिका र बाजाको शैलीमा अन्तर हुन्छ । यसका साथै पाँगामा ‘धाकः लुइगु’ क्रममा नाच्ने ठाउँमा हिलाम्मे पारेर हेर्न आउनेहरूलाई छिटा पारिन्छ । कीर्तिपुरमा भने त्यसरी हिलो पारिंदैन ।

मृतकको घरबाट गाई निकालिनुलाई ‘थाचिनेगु’ भनिन्छ । यो प्रचलनमा प्रायः समानता पाइए पनि कीर्तिपुरमा भने अलि फरक छ । त्यहाँ मृतकको घरबाट मात्रै नभएर नयाँ घर बनाउँदा पनि एक जनालाई गाई बनाएर नगर घुमाइन्छ । तर नयाँ घर बनाउँदा पनि गाईको भेषमा नगर परिक्रमा गराउनुको कारण र गाईजात्रासँग यसको सम्बन्धबारे अध्ययन हुनसकेको छैन ।

धेरैजसो समाजमा मृत्युसँग सम्बन्धित विधि–व्यवहारमा जोड दिएको हुन्छ । काठमाडौंमा इन्द्रजात्राको वेला ‘उपाकू’ जाने भनेर प्राचीन नगरको सीमा क्षेत्रमा रहेका देवस्थलहरूमा बत्ती बालेर तथा धारणी पाठ गरेर परिक्रमा गर्ने चलन बौद्ध समाजमा छ ।
उपाकू जानेहरू गाईजात्रामा गाई बनेर घुुम्न नपर्ने मान्यता छ । कीर्तिपुरमा पूर्णिमाको राति कुनै चैत्य वा विहारबाट शुरू गरेर नगरभरिका सम्पूर्ण देवस्थलमा पूजा गरी नगर परिक्रमा गर्ने चलन छ । यसपछि भोलिपल्ट गाईजात्रामा सहभागी हुनुपर्छ ।

झ्वाट्ट हेर्दा गाईजात्रा हिन्दू धर्मसँग सम्बन्धित जस्तो देखिन्छ र यही अनुसार व्याख्या पनि गरिन्छ । तर विभिन्न ठाउँको गाईजात्राको अवलोकनपछि यो कुनै धर्मविशेषसँग सम्बन्धित नभई काठमाडौं उपत्यकाको नेवार समाजमा विकसित मौलिक सांस्कृतिक पर्व भन्ने निष्कर्षमा यो पंक्तिकार पुुगेको छ ।

यो पर्वको उल्लेख कुनै प्राचीन हिन्दू तथा बौद्ध धार्मिक ग्रन्थमा उल्लेख नहुनु, हिन्दू तथा बौद्ध नै भए पनि नेवार बाहेक अन्य समाजमा नपाइनु यो निष्कर्षका आधार हुन् ।

(पहिलाे पल्ट हिमाल खबरपत्रिकामा साउन, २०७६ मा प्रकाशित । मूल श्राेतमा पढ्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नु हाेला ।)

लेखकका बारेमा जानकारीका लागि basantamaharjan.com.np

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes