
नेवार समाजमा प्रचलित अनेकों संस्कृतिमध्ये एक गुँपुन्हि (क्वाति पुन्हि) श्रावण महिनाको जनै पूर्णिमाको दिन मनाइन्छ । यो चाड नौ दिनसम्म मनाइने भएको हुनाले यसलाई नेपाल भाषामा गुँपुन्हि भनिएका हो । गुँ को अर्थ नेपाल भाषामा नौ हुन्छ ।
यस्तै गरी नौ थरी गेडागुडी भिजाएर यसको तातो रस खाने दिन भएकोले पनि यस पर्वलाई क्वाति पुन्हि भनिएको हो । क्वातिको अर्थ नेपाल भाषामा तातो रस हुन्छ । क्वाति नेपाल भाषाको दुइवटा शब्द क्वा र ति मिलेर बनेको छ । क्वा भनेको तातो र ति भनेको रस भएको हुनाले विभिन्न गेडागुडीको मिश्रणको तातो रस भन्ने अर्थ लाग्दछ । सामान्य जनभाषामा नौ थरीका गेडागुडीको मिश्रणलाई क्वाति भनिए पनि यसमा धेरै थरीका गेडागुडीहरु मिसाइएका हुन्छन् । आजभोली नेवारहरुले मात्र नभई अन्य जातजातीका मानिसहरुले पनि यस पर्वलाई व्यवहारिकताको महशुसमा अपनाउन थालेको देखिन्छ । यो मौषममा बर्षाले गर्दा शरीरमा चिसो पसेको हुने हुनाले चिसोबाट बच्नको लागि क्वाति सबैले खाने गर्दछन् । क्वाति पुन्हि (गुं पुन्हि) नौ दिन सम्म मनाईने भएको हुनाले पनि यस चाडलाई गुं पुन्हि भनिएको हो किनभने नेपाल भाषामा गुं भनेको नौ संख्या भएको हुनाले गुंपुन्हि भनिएको हो ।

यसै अवसरमा काठमाडौ उपत्यकाको भित्री शहरको बाहाः बहिमा “बहि द्यः” दिपंकर बुद्धको मूर्ति एवं यससंग सम्बन्धित अरु मूर्तिहरु, सरसामानहरु पनि प्रर्दशनको लागि राखिन्छ । मध्यकालमा प्रर्दशनको लागि लामो समयसम्म राखिए पनि आजभोलि सुरक्षाको दृष्टिकोणबाट उपयुक्त वातावरण नभएको हुनाले चार दिन सम्म मात्र प्रर्दशनको लागि राखिन्छ ।
नेवारहरुको यस परम्परागत शैलीलाई संग्रहालयको शुरुवातको अवधारणा मान्न सकिन्छ । परम्परागत मूल्य मान्यता भएका वस्तुहरु संकलन गरी त्यसलाई सुरक्षित राखी पछिका पुस्ताका लागि ज्ञान शिक्षाका लागि प्रर्दशनमा राखिने कार्य नै संग्रहालय विज्ञान हो । आजभोलि संसारभर नै पुरातात्विक महत्वका सामग्रीहरु भावी पुस्ताका लागि संकलन, संरक्षण, प्रर्वधन र प्रर्दशनका लागि उपयुक्त र अवस्थामा राख्नु पर्दछ भन्ने मान्यतामा विश्वभर नै संग्रहालयहरुका स्थापना भइरहेका छन् ।
गुं पुन्हिको भोलि पल्ट गाईजात्रा पर्व मनाइन्छ । मृत आत्माको संझनामा मानिस वा गाईलाई श्रृगारेर जात्राका रुपमा शहरको भित्री भागमा यात्राको लागि लगिने कर्मलाई नेपाल भाषामा सापारु र त्यसका नेपाली अनुवाद गाईजात्रा हुन्छ । यो जात्रामा उक्त बर्ष परिवारमा मरेका आफन्तजनको नाममा मृतकको घरबाट यात्राको लागि जात्रामा सहभागी हुने गरिन्छ । जात्राको लागि गाईको प्रतिको रुपमा कसैले गाई नै वा कसैले मानिस वा वच्चा (वालक) लाई गाईको प्रतिकात्मक रुपमा सजाएर पठाउने गरिन्छ । यस कार्यका लागि विभिद सामग्रीहरुको प्रयोग गरिन्छ ।
यस जात्राको ऐतिहासिकतालाई साधारण तया राजा प्रताप मल्ल (वि.सं.१६९८–१७३१) को समयमा यिनका माहिला छोरा जय चक्रवर्तेन्द्र मल्ल महाराजाधिराज भएको चौथो दिनमा मृत्यु भएपछि पुत्रशोकले गर्दा यिनकी रानी अत्यन्त मर्माहित भएकी थिइन् । उनै रानीको चित्त बुझाउन शहरमा उनको छोरा मात्र दुनियामा मरेका होइनन्, दुनियामा धेरैका आफन्तहरुको मृत्यु भएका हुन्छन भनि देखाउन उक्त बर्ष मृत्यु भएका प्रत्यक घरबाट यस जात्रामा शहभागि हुन अनिवार्य गरि यस जात्राको परम्परा नै चलाइएको मानिन्छ । यस प्रकारका मान्यता रहे पनि यस परम्पराको शुरुवात धेरै पहिले देखि नै प्रचलनमा रहेको कुरा गोपालराज वंशालीमा उल्लेख गरिएको पाइन्छ ।
“सं. ५१३ फाल्गुण शुद्धि तृतीया वृहसपतिवार चा श्री धर्म देव ठाकुस विहा दिन…………सं ५०४ जेष्ठ शुद्धि १५” “ सुभ विवाह जुदं गुण लान झरेवोदे म्वाल्व ……सायत कोन्हु भ्वांपा नस भङव मुललन्न यो ढङ मुलखासा चोय” (हनुमान ढोका राजदरवार पौ १६२,गौतम बज्र बज्राचार्य )
यस्तै गरी तात्कालिन समय आजको जस्तो खुलस्त समाज नभएको हुनाले उक्त समयमा जनताले राजा र समाजको विषयमा कस्तो भावना राख्दथे भन्ने कुराको खुलासा यस दिनमा गरिन्थ्यो किनभने गाईजात्राको दिन देखि नौ दिन सम्म विभिन्न किसिमको व्यङ्गात्मक प्रहसनका लागि छुट गरिएको हुन्थ्यो ।
जात्रा देखाउनका लागि शहरको मुख्य भित्री भागका बाटाहरु र राजदरवारको परिसरमा राजा तथा शासक वर्गले यस जात्रामा देखाइएका प्रहसनहरुबाट जनताका चाहना र सामाजिक अवस्था वारे जानकारी प्राप्त गर्दथे र सुधारको मौका प्राप्त गर्दथे । यस प्रकारको जात्रा उपत्यकाको तीन वटा शहरमा निर्दिष्ट स्थानबाट शुरु भई राजदरवारको प्राङ्गणमा उपस्थित भई अनिवार्य देखाउनु पर्ने चलन रहेको कुरा विभिन्न वंशावलीहरुमा उल्लेख भएबाट बुक्ष्न सकिन्छ । यसरी दरवारको प्राङ्गणबाट जात्रा ल्याइएपछि उक्त बर्ष देशमा कति बच्चा (नावालक), कति केटाकेटी, आइमाई वा लोग्ने मानिस वा कति संख्यामा बृद्धको मृत्यु भयो भन्ने कुराको तथ्याङ्क पनि राख्ने गरिन्थ्यो ।
यस पर्व प्रजात्रान्तिक समाजमा सर्वसाधारण जनतालाई आफूलाई लागेका कुराहरु प्रत्यक्ष रुपमा अरुको सामू व्यक्त गर्ने माध्यम पनि हो । यसबाट देश समाजमा भएका त्रुटिहरु औल्याउने कार्य हुनुका साथै समाजमा चलेका विकृतिहरु उजागर भई त्यसलाई सुधार्ने मौका पनि प्राप्त हुने गरिन्थ्यो । त्यसैले गाइजात्रालाई प्रजातान्त्रिक समाजमा सर्वसाधरण जनतालाई आफूलाई लागेका कुराहरु प्रत्यक्ष्य रुपमा देश र जनतासामू व्यक्त गर्ने माध्यम पनि मानिन्छ । यसरी नेपालमा चलेको सांकृतिक पर्वले अन्तर्राष्ट्रिय जगतमा मौलिक हक र मानव अधिकारका प्रश्नहरु उठ्नु अघि नै नेपालमा प्रजातान्त्रिक परम्पराको विकास भइसकेको मान्न सकिन्छ ।