0 1 min 1 mth

अरुण र तमोर दुई नदीको संगमस्थल नजिकै रहेको ‘खुवालुङ’ अहिले चर्चाको विषय भइरहेको छ । भौतिक आँखाले हेर्दा त्यहाँ ढुंगा मात्रै देखिन्छ तर स्थानीय किराँत समुदायका लागि यो ढुंगा मात्रै नभएर आस्था, विश्वास तथा संस्कृति र संस्कारसँग सम्बन्धित सम्पदा हो । यसअनुसार किराँत समुदायले प्रतिक्रिया जनाउनुलाई अन्यथा लिनु हुँदैन । उनीहरू यसलाई आफ्नो इतिहाससँग पनि सम्बन्धित गरेर यो समुदाय बुझ्दछन् । तर तत्कालीन प्रम खड्गप्रसाद ओलीले यसलाई फुटालेर हटाउने र मोटरबोट चलाउने घोषणा गत वर्ष ८ फागुनमा विराटनगरमा आयोजित एक सभामा गरे । प्रम ओलीले ढुंगाका सम्बन्धमा जसै यो अभिव्यक्ति दिए, त्यस क्षेत्रका आदिवासीका रुपमा रहेका किराँत समुदायको तीब्र विरोध तथा आक्रोसका अभिव्यक्तिहरू सुरु भइहाल्यो ।


कुनै पनि व्यापार व्यवसायसँग सम्बन्धित ब्रान्ड तथा लोगोको कति महत्व हुन्छ भन्ने कुरा यसको रजिष्ट्रेसन तथा दुरुपयोगमा कानूनी उपचार अन्तर्राष्ट्रिय स्तरमा नै हुने गरेबाट बुझिन्छ । अमूक विचारधारा, धर्म, संघसंस्था, राष्ट्र र राष्ट्रियतालगायतले पनि आफ्नो चिन्हका रुपमा छुटुाछुट्टै रंग, वस्तु, पशुपंक्षी वा अनेक प्रतीकहरूलाई निर्दिष्ट गरिएको हुन्छ । प्राचीनकालदेखि विभिन्न जातीय समुदायले आफूलाई चिनाउनका लागि विभिन्न पशुपंक्षीलाई निर्दिष्ट गरेको पाइन्छ र ती आकृतिको धारण गरेर पनि हिड्छन् जसलाई ‘टोटम’ भनिन्छ । टोटमलाई आफ्नो आस्था वा प्रतिष्ठासँग सम्बन्धित गरेर जीवन दर्शन बनाइएको पनि पाइन्छ । यसअनुसार यी कुराहरूमा आस्था र विश्वास बढ्नुका साथै आफ्नो इतिहास पनि यसैसँग सम्बन्धित गरेर बुझनुलाई स्वाभाविक मान्न सकिन्छ । ‘खुवालुङ’ पनि एउटा त्यस्तै अर्थ बोक्ने ढुंगा हो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा सबैभन्दा महत्वपूणर् वस्तु बुद्ध जन्मस्थल भनेर चिनाउनका लागि राखिएको एउटा सानो ढुंगा हो जसलाई ‘मार्कर स्टोन’ नाम दिइएको छ । सन् १९९३-९६ को उत्खनन्का क्रममा प्राप्त यो ढुंगाको पृष्ठभूमि ऐतिहासिक घटनासँग सम्बन्धित हुनाका साथै रोचक पनि छ । बुद्धको जन्मस्थल भनेर मात्रै उनका अनुयायीहरूलाई चित्त नबुझेर अलि यता र अलि उता पनि नभएर यही हो भनेर जनाउनका लागि सो ढुंगा अन्यत्रबाटै भएपनि ल्याएर राखिएको हो । संकेतका रुपमा रहेको यही ढुंगामा पनि अनुयायीको श्रद्धा बसिसकेको थियो । मौर्यसम्राट अशोकले उक्त ढुंगाको सुरक्षाका लागि चारैतिर पर्खाल बनाइदिए । पुरातात्विक विज्ञानअनुसार अध्ययन गर्दा लुम्बिनीमा भएगरेका सम्पूणर् पुरातात्विक गतिविधिहरू यही मार्कर स्टोनलाई केन्द्रविन्द्रमा राखेर गरेको पाइन्छ । सम्राट अशोकले लुम्बिनीमा राखेको स्तम्भ लेखमा अंकित ‘हिदबुधेजाति सक्यमुनिति’ वाक्यांशको भरमा सन् १८९६ मा बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान गर्न सकिएको हो भने सोही अभिलेखमा रहेको अर्को वाक्यांश ‘सिलाविगडभीचा’ ले मार्कर स्टोनलाई संकेत गर्दछ जुन उत्खननको क्रममा प्राप्त भयो । पुरातात्विक प्रमाणका दृष्टिले पनि अत्यन्तै महत्व राख्ने यो मार्कर स्टोनको सुरक्षामा ठुलै लगानी भइरहेको छ ।
खुवालुङलाई फगत ढुंगा मात्र देख्ने आँखाले बुद्धजन्मस्थल लुम्बिनीको मार्कर स्टोनलाई पनि एउटा सानो ढुंगाभन्दा बाहेक अरु देख्न सक्दैन । यसरी नै शिवको प्रतीकका रुपमा रहेका पशुपतिनाथ मन्दिरलगायतका शिवलिङगहरूमा पनि ढुंगा मात्रै देख्नुमा आश्चर्य मान्नु पर्दैन । अन्यत्रका मठमन्दिर तथा विहार र गुम्बामा सजाइएका विभिन्न मूर्तिलाई पनि ढुंगा वा धातुविशेषका रुपमा मात्रै देख्नु कोरा भौतिकवादीको दृष्टिकोण हुन्छ । ‘खुवालुङ’लाई फोड्ने अभिव्यक्ति दिएका प्रम ओली विशुद्ध भौतिकवादी होइनन् भ्रन्ने कुरा उनका धार्मिक गतिविधि तथा अभिव्यक्तिहरूले स्पष्ट पार्दछ । कसैलाई काखा र कसैलाई पाखा गर्ने पूर्व प्रमको यो प्रवृत्ति सामाजिक सद्भाव खलबल्याउने, पक्षपातपूणर् नीति झल्काउने र धार्मिक असहिष्णुता बढाउने खालको छ ।
राणा कालमा वल्लो किराँत, माझ किराँत र पल्लो किराँत भनेर भौगोलिक रुपमा विभाजित किराँत प्रदेशमा प्राचीनकालदेखि अनेक नामका किराँत समुदायको बसोवास रहेको पाइन्छ । यी समुदायहरू यस क्षेत्रमा विस्तारविस्तारै प्रवेश गरेको साक्षी वा दृष्टान्तका रुपमा ‘खुवालुङ’ रहेको मानिन्छ । ‘खुवालुङ’को स्पष्ट उल्लेख रहेको ‘मुन्धुम’ सम्पदाका अध्येता भोगीराज लाम्लिङका अनुसार किराँतीका पुर्खा खुवालुङ क्षेत्रबाट बाँडिएका हुन् । उनीहरू यतातर्फ आउने बेला खुवालुङ बन्द थियो र विभिन्न समूहले खुवालुङलाई भिन्नाभिन्नै भोगबलि चढाएर प्रवेश पाएका थिए । खुवालुङबाट प्रवेश गरी तमोर पछ्याउनेहरू अहिले लिम्बूका रुपमा चिनिन्छन् भने अरुण पछ्याउनेहरू याम्फू, लोहरूङ, मेवाहाङ राई हुन् । यसरी नै दूधकोसी पछ्याउनेहरू तिलुङ, चाम्लिङ, बाम्बुले, जेरोङ, बाहिङ वा बायुङ, बान्तवा, साम्पाङ, दुमी, कोयी वा कोयू, कुलुङ, खालिङ, नाछिरिङ, थुलुङ राई भनेर चिनिन्छन् । सुनकोसी पछ्याउन समूह अहिले कोँइच (सुनुवार), जिरेल, सुरेल, हायू, थामी भनेर चिनिन्छन् ।
निश्चित आस्था र बिश्वास समुदाय विशेषसँग सम्बन्धित हुन्छन् र वाह्य जगतको सरोकारको विषय नहुन पनि सक्छ । यी विषयवस्तु आफूले नबुझेको वा आफूअनुकुल नभएको भन्दै नानाथरीको टिकाटिप्पणी साँस्कृतिक अतिक्रमण हो । यी कुरा तार्किक वा विज्ञानसम्मत नहुनपनि सक्छ यतिकै भरमा त्यसलाई नकार्ने वा खारेज गर्ने दृढताले द्वेष र द्वन्द्वको सिर्जना गर्दछ । यसले बहुआयामिक रुपमा दीर्घकालिन असर पार्ने गर्दछ । सांस्कृतिक विषयवस्तुलाई हेर्ने दृष्टिकोण गलत भयो भने ठुलो क्षति हुने कुरामा सम्वेदनशील हुनु नितान्त जरुरी छ ।
बेलका नगरपालिका (उदयपुर)का मेयर दुर्गाकुमार थापाका अनुसार खुवालुङ फुटाउने योजना नगारपालिको प्रस्तावअनुसार अघि बढेको ढ्ंगा फुटाउनका लागि प्रदेश १ सरकारले बजेट विनियोजनसमेत गरिसकेको छ र यस प्रोजेक्टलाई प्रदेश सरकार आफैले हेर्नेछ । जल यातायात सुचारु गर्नका लागि यस्तो योजना प्रस्ताव गरिएको हो । सांस्कृतिक कुराकोभन्दा हजारौं गुण बढी विकासको हुने गरेको मेयर थापाको भनाइअनुसार पर्यटन, र्‍याफ्टिङ र सामान ढुवानीका लागि ढुंगा फुटाउनु परेको हो ।
सुनसरीको चतराबाट बराह क्षेत्र हुँदै भोजपुरको हतुवागढी गाउँपालिकाको कोप्चेसम्म हाल जेटबोट सञ्चालन भइरहेको छ । यस जल यातायातका कारण त्यस क्षेत्रका वासिन्दालाई आवतजावत गर्न सहज भएको छ । पूर्वको सामाजिक, साँस्कृतिक तथा प्राकृतिक दृष्य वाह्य जगतलाई देखाएर आन्तरिक तथा वाह्य पर्यटनको विकास गर्नका लागि जल यातायात भरपर्दो माध्यम हुनेमा सन्देह छैन । गएको १९ मार्च मात्रै सिम्लेबाट जेटबोट चढेर म चतरा पुगेको थिएँ । जल यातायातको विकासमा कसैको दुई मत पाइनँ तर यसका लागि खुवालुङ फुटाल्नै पर्ने ‘राजहठ’ मा असन्तुष्टि र आक्रोस पाइयो ।
‘खुवालुङ’ नदीभित्रको ढुंगा मात्रै नभएर साँस्कृतिक सम्पदा पनि हो । यस ढुंगाको पछाडि ठृुलो जनसमुदायको आस्था र विश्वास अडेको पक्षलाई बिर्सन हुँदैन । यसलाई फुटाल्दा किराँत समुदायमा त्यही असर पर्छ जस्तो असर लुम्बिनीको ‘मार्कर स्टोन’मा क्षति पुर्‍याउँदा विश्वभरका बौद्ध समुदायमा पर्दछ । यही कुरा अन्य साँस्कृतिक सम्पदाका सन्दर्भमा पनि लागू हुन्छ । यो कुरालाई राज्यले गम्भीर भएर हेर्नु पर्दछ । ढुंगा फुटाल्नुको विकल्पमा पनि चिन्तन गर्न सकिन्छ । यातायात संचालनको समय यस स्थलमा विशेष ध्यान दिई विस्तारै चलाउने वा नदीको बाटोका लागि किनारमा केही कटानी गर्न सकिन्छ ।
जीवित समुदाय आफैले आफ्नो आस्था र विश्वासबारे प्रश्न गर्नु बेग्लै कुरा हो । तर, अन्य पक्षले यी कुराहरूमाथि हठात् गरिने हस्तक्षेपले उल्टो कट्टरपना ल्याउने र अनावश्यक रुपमा साम्प्रदायिक भावनाको विकास गर्ने कुरामा राज्यले ध्यान दिनु पर्दछ । विकासको नाममा ‘खुवालुङ’ फुटाउने र साम्प्रदायिक भावनाको विकास गर्ने काम नगर्नु राज्यको लागि हितकर हुन्छ ।

लेखकबारे थप जानकारीका लागि basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *