0 1 min 1 mth

काठमाडौंस्थित बसन्तपुरमा साउनको पहिलो हप्ताको कुनै दिन गणतन्त्र विरोधी समूहको एउटा सभाको आयोजना भएको थियो । संघीय गणतान्त्रिक नेपालको स्थापनामा चित्त नबुझेकाहरुबाट बेलाबेलामा यस प्रकृतिका सभासम्मेलन तथा ¥याली एवं प्रदर्शनी हुनु नौलो होइन । बसन्तपुरमा उक्त दिन सहभागी हुन आएका मध्येबाट एक व्यक्ति सोही सभाप्रति असन्तुष्टि पोख्दै आक्रोश पोखिरहेको ‘भिडियो क्लिप’ले गहन सन्देश दिइरहेको पाइयो । सभाको मन्चमा आसन ग्रहणमा कोही पनि नेवारलाई नराखिनु नै ती व्यक्तिको असन्तुष्टि थियो ।

नेपालका विभिन्न जातीय समुदायमा नेवार पनि एक हो । जनसंख्याको दृष्टिले थोरै किन नहोस्, तर हरेक क्षेत्रको विकासमा यसको सहभागिता देख्न पाइन्छ र कतिपय अवस्थामा यसले अग्रता पनि कायम गर्दछ । जनजाति सूचीमा नै रहेपनि आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ ले नेवार र थकाली दुई समुदायलाई उन्नत समूहअन्तर्गत राखिएको छ । नेपाल देशकै नामसँग जोडिएको, निरन्तर इतिहास भएको र प्रभावशाली नेवार समुदायको थातथलो मुख्यतः काठमाडौं उपत्यका हो । उपत्यकाबाहेक अन्य क्षेत्रमा पनि यसको बसोवास पाइन्छ र नेवारको उपस्थितिलाई उक्त क्षेत्रकै विकासको परिचायकमा मानिन्छ । गोरखाका राजा राम शाह (शासनकाल इ.सं. १६०६–१६३३) ले आफ्नो राज्यको वाणिज्यलगायत अन्य क्षेत्रको विकासका लागि उपत्यकाको एउटा राज्य पाटनसँग केही नेवार पठाइदिन अनुरोध गरेका थिए । यसपछि गोरखाले पनि विकासको गति पक्रेको मान्न सकिन्छ । सो राज्य विकास हुने क्रममा उनका उत्तराधिकारी पृथ्वीनारायाण शाहले वरिपरिका छिमेकी राज्यहरुमाथि आक्रमण गरी आधिपत्य जमाउने क्रममा विशाल भूक्षेत्रमा फैलिएको वर्तमान नेपाल राज्यको निर्माण भएको हो । यस राजवंशको राजातन्त्रको अन्त्य गरी संघीय गणतान्त्रिक नेपाल व्यवस्थाको स्थापना गरिएको हो ।

राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा कुनै समुदायविशेषको हात नभएर सबैको सहभागिता पाइन्छ । यसरी नै स्थापित गणतन्त्रको विारेध तथा राजतन्त्रको पुनर्स्थापनामा पनि सबै जाति, धर्म, लिंगको सहभागिता पाइन्छ । काठमाडौंमा भएको सभामा कुनै नेवार नेतालाई मञ्चमा आसिन नगराइएको भन्दै आक्रेस पोख्नु जायज कुरा हो । याे संभवतः आयोजनक वर्गको व्यवस्थापकीय कमजोरी, बेहोसी वा समावेशी सिद्धान्तप्रतिको उदासिनता हुनसक्छ । यसलाई आक्रोश व्यक्ति गर्ने व्यक्तिले समावेशीको सिद्धान्तप्रति सम्वेदनशील हुन सजग गराएको रुपमा लिनु पर्दछ ।

नेपालकाे जनसंख्यालगायतका कुराहरुमा कुनै पनि समुदाय विशेषको वर्चश्व छैन । यस अवस्थामा कसैको आधिपत्य वा हैहुकुम अन्यलाई स्वभावतः स्वीकार्य हुँदैन वा यसले असन्तुष्टि पैदा गर्दछ । मिलिजुली बसौं वा प्रतिस्पर्धा गरौं भन्ने भावनाले समाजमा शान्ति र अमनचयनको स्थापना गर्दछ । कसैसँग दबिएर बस्ने वा असन्तुष्टि र कुण्ठा पालेर बस्नुलाई मिलजुली बसेको मानिन्न । यो भनेको समानुपातिक सहभागिता तथा क्षमता र दक्षता अनुसारको उपस्थिति हो । यो नहुँदाको स्थितिमा विद्रोह हुने हो । यस्तो विद्रोहले धेरै खालको परिवर्तन ल्याउने गर्दछ । यस्तो परिवर्तनले नकारात्मक नतिजा ल्याउने खतरा प्रवल हुन्छ । यही भएर गणतन्त्रको स्थापनासँगै अपनाएको राज्य व्यवस्थाको संवैधानिक संरचनामा समावेशी चरित्रलाई अंगालेको छ । समावेशीको यो चरित्र जातिगत रुपमा मात्रै नभएर क्षेत्र र लिंगको आधारमा पनि हो । यो समावेशी सिद्धान्तलाई अपनाउनु वाध्यकारी पनि छ । तर आत्मसात नै गरिसकेको मान्न सकिने अवस्था भने छैन ।

राजतन्त्रकालमा समावेशीको सिद्धान्त निर्ममतापूर्वक लत्याइएको तीतो अनुभव छ । राजतन्त्रको अन्त्य हुनुको अनेकौं कारणमा एउटा यही असमावेशी चरित्र पनि हो । त्यही राजतन्त्र ब्युँताइन गरेको कार्यक्रममा सहभागीबाटै समावेशीको माग राख्दै आवाज उठ्नु अर्थपूर्ण छ । व्यक्तिगत स्तरमा नै भएको आक्रोस वा विद्रोह नै सही, तर अनुकरणीय छ । यस्तै विद्रोह जाति, लिंग, क्षेत्र आदिको आधारमा पनि अन्य नेपालीहरुबाट पनि निरन्तर रुपमा गर्दै रहनुपर्दछ ।

लाभको ठाउँमा दलित कोटामा ब्राह्मणको पहुँच पुग्नु एक खालको डकैती हो । दलित वर्ग हजारौं वर्षदेखि समाजमा सबै वर्गबाट दबाइएको र हरेक क्षेत्रमा पछाडि परेको ऐतिहासिक तथ्य हो । जाति व्यवस्था हिन्दू समाजको एउटा अवयव हो । शास्त्रीय मान्यताअनुसार ब्राह्मण सबैभन्दा उच्च वर्गमा पर्दछ भने शूद्र त्यसको विपरित सबैभन्दा तल्लो । शूद्रवर्गमा परेको समुदायले आजभोलि आफूलाई दलितको नामबाट पहिचान दिने गरेको पाइन्छ । विदेश भ्रमणको अवसरमा प्रश्न उठ्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट नेपालमा जानजाति भन्नै वर्ग नभएको भन्नु छैन भनेर सूर्यलाई हत्केलाले छोपेजस्तो विश्वको अगाडि हठात् झूठ बोलेको पनि एउटा दृष्टान्त हो । सार्वजनिक सभासमारोह तथा अन्य गतिविधिमा महिलाको अनुहार देखिएको आजभोलि मात्रै हो । संविधानतः महिलाको सहभागिता ३३ प्रतिशत हुनुपर्ने प्रावधानले पनि यसमा सजग गराइएको मान्नु पर्दछ ।

पुरुषको मात्रै अनुहार देख्दा ‘भाले नै भाले’ भनेर कटाक्ष गरेर सामाजिक संजालमा टिप्पणी तथा एकाध लेखिकाबाट लेख लेख्ने गरेको पाइन्छ । यसलाई समावेशी चरित्र कानूनतः स्थापना भइसक्दा पनि संस्कृतिका रुपमा विकास भइनसकेको भन्न सकिन्छ । यस अवस्थामा सार्वजनिक थलोमा नै समावेशीका लागि आवाज उठ्न वा विद्रोह नै हुनु नेपालको सन्दर्भमा नयाँ व्यवस्था स्थापनाको अभ्यास हो ।

गणतन्त्रविरुद्ध राजतन्त्रको पुनस्र्थापनामा लागेको समूह नै सही, त्यहाँ व्यक्ति विशेषले विद्रोह गर्नु पनि शुभारम्भ नै हो । बसन्तपुरमा आयोजित राजतन्त्रवादीहरुको सभामा सहभागी आक्रोस पोख्ने वा विद्रोह गर्ने ती व्यक्तिका अनुसार कार्यक्रम काठमाडौं, भक्तपुर र लतिलपुरसँग सम्बन्धित छ र यही क्षेत्रका नेवारहरुलाई सहभागी गराउनमा उनको विशेष भूमिका रहेछ । तर मञ्चमा यही समुदायका कुनै पनि अनुहारलाई सहभागी नगराइँदा अब राजतन्त्रको पुनस्र्थापना हुँदैन वा भइहालेपनि असमावेशी नै हुने खतरा देखेको हुनुपर्दछ ।

लेखकबारे थप जानकारीका लागि basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *