भोटेकोशी बाढी: भएभरको पीडा यही जिन्दगीमा
नुवाकोट, भदौ २० । तिब्बतबाट रसुवा हुँदै गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको खोजी, उत्खनन, बाँचेकाहरूको उद्दार, राहत वितरण, विभिन्न सहयोग कार्य चल्दै आएको छ । बाढीले अत्यधिक प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङ भए पनि सम्पूर्ण देश तथा विदेशीको केन्द्रविन्दु भोटेकोशी बाढीको सेरोफेरोमा नै अडेको छ । बाढी पीडितहरूले भएभरको पीडा यही जिन्दगीमा भोग्नु परेको महसुस गरेका छन् ।
भोटेकोशी तथा त्रिशुलीको बाढीको उत्पत्ति क्षेत्र, चीनको रसुवागढीदेखि नदीको अन्त हुने भारतको गंगासम्म पनि बाढीको कहर बगेको छ, कहरसँगै मानव शरीर बगेको छ, मृत रुपमा । उत्पत्तिस्थल ल्हेन्दे नदीदेखि सात मिनेटमा रसुवा पुगेको तथा प्रतिघण्टा १५० किमीको बेगमा उर्लिएको भनिएको बाढीले वरिपरिका मानववस्ती, खेती गरिएका खेतबारी तहसनहस बनाउन एक मिनेट पनि लगाएन । प्रतिफलमा बाढीले छोएका अधिकांश घरहरू बगायो, क्षतविक्षत बनायो, घरसँगै दौडिन–भाग्न नसकेका सबैलाई सोहोरेर लिएर गयो । मानव वस्ती भएका गाउँ, ठाउँ अहिले उजाड भएका छन्, भयावह देखिन थालेका छन् । मानवीय अधिकांश संरचनाहरूलाई माटोले छपक्कै छोपेर मैदान बनाएको छ, मानौं त्यहाँ केही थिएन ।

तर ती मैदानमा देखिएका जमिनभित्र धेरै कुरा, मानव तथा जीवजन्तु पुरिएका छन् भन्ने कुराको पुष्ट्याईं कुकुरहरूले ठाउँठाउँमा सुंघेर बसेको दृश्य तथा टाउको दुखाउने दुर्गन्धले पनि गर्दछ । नुवाकोटको ढुंगे, देवीघाट, बट्टारको सोलार प्यानल भएको जलविद्युत आयोजना क्षेत्रमा भदौ १५देखि १७ गतेसम्म गरिएको भ्रमणका क्रममा यस्ता दृश्यहरू धेरै देखिए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई, नुवाकोटको भवन, ढुंगेमा खुट्टा खोच्याउँदै आएको एउटा कुकुरले माथिबाट केही नदेखिने जमिनमा सुँघेर बस्यो, जमिन मुनी केही भएको भेउ पाएर नै हुनुपर्छ । यस्ता दृश्य देवीघाटमा पनि देखियो ।
भाटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या आज भदौ २० गते १ हजार ३४४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ २० गते दिनको १२ बजेसम्मको खोज, उद्धार तथा राहत अपडेटअनुसार बाढी प्रभावित विभिन्न जिल्लामा गरी उक्त संख्यामा मानवीय क्षति भएको हो । हालसम्म सनाखत भई बुझिलिएको शवको संख्या ९६ हो । यो संख्या कहाँको, कतिमा गएर टुंगो लाग्छ थाहा छैन । तथ्यांकअनुसार प्रत्यक्ष प्रभावित जनसंख्या ३२ हजार ९ सय ६३ रहेको छ भने सम्पर्कविहीन भएकाको संख्या करीव ५ हजार रहेको प्राधिकारणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रका नदी किनारका बस्ती त उजाडिए नै, नदी किनार माथिका सुरक्षित वस्तीका वासिन्दा पनि यतिखेर निकै तनावमा छन्, केही पो भइहाल्छ कि भन्ने डरले उनीहरू अधिकांशले घर पसल बन्द गरेर अन्यत्र नै लागेका छन् भने कतिपयले आफ्ना छोराछोरी, बृद्धबृद्धालाई काठमाडौं तथा अन्य सुरक्षित मानिएका ठाउँमा पठाएका छन् । खुलेका सीमित होटलहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा राहत दिन आउने, विभिन्न गैरसरकारी संघसंस्था, अन्तर्राष्ट्रिय गैससका व्यक्तिहरू, विपद पर्यटक, संचारकर्मीहरूको भीडलाई ओत दिएको छ । बास नपाउँदा हाम्रो समूह पनि बट्टारबाट १८ किलोमिटर टाढा शिवपुरीको सिमाना छहरेमा गएर बास बस्नु परेको थियो । यद्यपि टाढा जानु परेको भन्दा पनि साँझ बट्टारमा पानी परेको र बजारको नदी किनारमा बस्न नपरेकोमा सबै खुशी थिए । राति ढुक्कले सुत्न पाइने भयो भन्ने सन्तोष सबैमा थियो ।
बास बस्ने क्रममा थाहा भयो ती होटल संचालकका १४ जना आफन्त बेपत्ता छन् । होटलमा हामीलाई सहयोग गर्ने किशोरीले भनिन्, ‘मेरा मामा माईजुको परिवार १४ जना अनि ढुंगेको मोटरसाईकल वर्कशपमा काम गर्ने धेरै जना बेपत्ता छन् । मामाका छोराछोरी अमेरिका गएको तीन महिना मात्र भएकोले बेपत्ता भएको कुरा भनिएको छैन । भरखर मात्र गएकोले उनीहरू आउँन पनि मिल्दैन, मोबाइल हराएकोले सम्पर्क हुन नसकेको भनेर अल्मल्याएको छु ।’ शुरुमा उनले सामाजिक सञ्जालमा परिवार वेपत्ता भएको कुरा राखेकी थिइन् तर परिवारका अन्य सदस्यले नगर्न भनेपछि उनले हटाइन् र मलाई पनि नाम नराख्न, फोटो नखिच्न आग्रह गरिन् ।
त्रिशुलीको किनारमा रहेको देवीघाट जलविद्युत केन्द्रको माथितिर पर्ने बट्टार, हावाघरमा बस्दै आएकी अस्मिता ओझाले ढलानको नयाँ घर बनेको छ । तर उनले बाढीले फेरि पनि केही गरि पो हाल्छ कि भन्ने डरले आफ्ना छोराछोरी र आमालाई सुरक्षित हुने गरी अर्कैैतिर स्थानान्तरण गरेकी छन्, श्रीमान वैदेशिक रोजगारीमा छन् ।
खाल्टे, रसुवा घर भएकी १३ वर्षीया विनामाया तामाङ र उनको सात वर्षीय भाई स्कूल जान हिंडेकाले बाटैबाट भागेर उनीहरूले ज्यान जोगाए तर घरमा रहेका उनको आमाबुबा र भाईबहिनी गरी चार जना हराए । नुवाकोटको एउटा होल्डिङ सेन्टरमा बस्दै आएकी विना भन्छिन्, ‘माथि डाँडामा पुगेर एक जना दाईको फोन मागेर मम्मी ड्याडीलाई फोन गरेको फोन नै लागेन, अहिलेसम्म खबर छैन । भाईलाई फुपुले काठमाडौं लग्नुभएको छ, म यहाँ छु ।’ खाल्टेका अधिकांश घर मैदानमा परिणत भएको र बाँच्न सफल अन्य छिमेकी पनि उनीसँगै होल्डिङ सेन्टरमा भएकोले गर्दा पनि उनले आफ्ना अभिभावक र भाईबहिनी अब यो दुनियामा छैनन् भनेर मानेकी छिन् । उनलाई भेट्न काठमाडौंमा भएकी फुपु दुई पटक आइन् ।
गुपचुप होल्डिङ सेन्टर
बाढीमा परेर घर गुमाएकाहरूका लागि सरकार तथा स्थानीयले तयार गरेको आश्रयस्थल दोस्रो घर हो । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार भदौ २० गते उद्धार गरिएका तथा प्रभावितमध्ये हाल ४ हजार ६२७ जना ३७ वटा होल्डिङ सेन्टरमा रहेका छन् । हिजोको तथ्यांकमा नुवाकोटमा ३ हजार १८१, धादिङमा १९९, रसुवामा १,१४१ र काठमाडौंमा ३८७ जना रहेका थिए । यी तथ्यांकहरू दैनिक रुपमा घटबढ हुने गरेका छन् ।
नुवाकोटमा रहेका १९ होल्डिङ सेन्टरहरूमध्ये कतिपय होल्डिङ सेन्टरहरूमा बाढी पीडितहरू आफै भात भान्छा गर्न, तरकारी केलाउन अग्रसर हुन्छन्, पकाउँछन् खान्छन् । कतिपय होल्डिङ सेन्टरलाई निकै रहस्यमय बनाउने प्रयास गरिएको पाइन्छ । भदौ १५, १६ र १७ गते अवलोकन गरिएको बट्टारका विभिन्न होल्डिङ सेन्टरहरूमध्ये करुणा केयरद्वारा संचालित तेक्वान्दो कभर्ड हल र तामाङ प्लाजा होल्डिङ सेन्टर बाह्य अनुगमनका लागि आएकाहरूका लागि धेरै नै अनुदार रहेको पाइयो ।
एउटै हलमा महिला पुरुष, बालबालिका सबैलाई खाँदेर राखेको हप्ता दिन बित्दा नुहाउने, लुगा परिवर्तन गर्ने ठाउँ समेत नभएको देखिन्छ । बाढी गएको पाँचौ दिन तथा भदौ १५ गते म त्यहाँ पुग्दा महिलाहरूको लागि लुगा फेर्नको लागि एउटा टेन्टको व्यवस्था गर्नु पर्यो भन्ने महिला अधिकारकर्मीहरूको गुनासोमा उक्त होल्डिङका धनराज घिमिरेले, ‘हिजो मन्त्री आउँदा पनि भनें, अब मैले प्रधानमन्त्री बालेन शाहलाई मात्र भन्न बाँकी छ’ भन्ने ओठे जवाफ फर्काए । कभर्ड हल बाहिर ठूलो चौर छ, तामाङ प्लाजा होल्डिङ सेन्टर बाहिर पनि प्रशस्त ठाउँ छ एउटा टेन्ट गाड्नका लागि, तर महिलाको लुगा परिवर्तनका लागि तत्परता देखाएको पाइएन ।
होल्डिङ सेन्टरभित्र जान खोज्नेलाई जान नदिने, भित्र हेर्न नै नदिने, भित्र किन हेरेको भनेर हकार्ने, कुनै पनि जानकारी लिन खोज्दा सेन्टरका बाढी पीडितहरू बोल्न नमान्ने, बोल्न तयार नै भए पनि किन बोलेको भन्दै हकार्न आउँनेजस्ता अत्यन्त सशंकित व्यवहार देख्न सकिन्थ्यो । ती होल्डिङ सेन्टरमा भ्रमण गरेका अधिकांशको टिप्पणी हुन्थ्यो– होल्डिङ सेन्टरको व्यवहार त्यति सकारात्मक हुन सकेन ।
हलबाहिर बसेर बाढी पीडितहरूलाई स्वास्थ्य जाँच गरिरहेको फोटो तथा भिडियो खिच्दा समेत स्वास्थ्य कर्मीहरूले किन खिचेको भन्दै विरोध गरेका थिए । सामाजिक सञ्जालमा छरपष्ट तथा सञ्चार माध्यम अनि सामाजिक सञ्जालबाट नै विश्वव्यापी भएको यो भोटेकोशी बाढीले निम्त्याएको कहरलाई सबैले हेरे, बुझे, अझै के भयो, के हुँदैछ भन्ने उत्सुकता त्यहाँ पुग्न नसकेका मानिसमा छ । यो उत्सुकतालाई मेटाउने काम आम सञ्चारमाध्यमको हो ।
भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी, बालबालिका, परिवार गुमाएका तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरू आश्रय लिइरहेका छन् ।
विपद्को वास्तविकता सार्वजनिक गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व हो । पीडितको गोपनीयता, सुरक्षा, मर्यादा र मानसिक संवेदनशीलताको सम्मान गर्नु पत्रकारिताको अझ महत्वपूर्ण जिम्मेवारी हो । उनीहरू उचित संरक्षण पाए नपाएको जानकारी सार्वजनिक गर्नु पनि पत्रकारिताको कर्म हो ।
सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले नै १९ गते ‘भोटेकोशी विपद् : जिम्मेवार पत्रकारिताका लागि आग्रह’ गर्दैै सम्बन्धित निकायसँग समन्वयबिना होल्डिङ सेन्टरमा प्रवेश नगर्न, बालबालिका तथा अन्य संवेदनशील व्यक्तिको पहिचान खुल्ने तस्वीर वा विवरण सहमतिबिना नलिन/सार्वजनिक नगर्न र उद्धार तथा राहत व्यवस्थामा अवरोध नपुग्ने गरी रिपोर्टिङ गर्न सञ्चारकर्मी साथीहरूलाई आग्रह गरेका छन् ।
उता, श्री विदुर पितृमोक्षधाम(क्रियापुत्री) कल्याणकारी संस्थाद्वारा विदुर नपा–२ मा चारवटा घरमा संचालित होल्डिङ सेन्टरहरूमा भने महिला पुरुष छुट्टाछुट्टै कोठामा, किशोरीहरूको लागि छुट्टै व्यवस्था गरिएको पाइयो । म्याट्रेसमाथि डसना तथा सिरकको व्यवस्था हुनुका साथै कतिपय कोठामा खाटको पनि व्यवस्था थियो भने टेलिभिजनसहितको कोठामा बसेका किशोरीहरूले वाईफाई नहुँदा टेलिभिजन हेर्न नपाएको गुनासो गरे । किशोरीहरूले आफूले शेम्पु नपाउँदा नुहाउँनलाई समस्या भएको, पानीको अभावमा नुहाउँन जाँदा पनि घण्टौं कुर्न परेको गुनासो गरे । बाढीका कारण तादि खोलाको पानीको स्रोत काटिंदा श्री विदुर पितृमोक्षधाम(क्रियापुत्री) कल्याणकारी संस्था मुन्तिर हरेको मूलको ढुंगेधारोमा सयौंले नुहाउने तथा धुने काम गर्नुपर्ने हुँदा धरै समय लाग्ने गरेको होल्डिङ सेन्टरका अध्यक्ष दिपक तिमिल्सिनाले बताए ।

विभिन्न राहत वितरकहरूबाट पाइने लुगा, खानेकुरा, साबुनजस्ता राहत संकलन गरेर झोलामा राख्नु उनीहरूको अहिलेको दिनचर्या हो । श्री विदुर पितृमोक्षधाम(क्रियापुत्री) कल्याणकारी संस्थाका अध्यक्ष दिपक तिमल्सिनाकाअनुसार बाढी पीडितलाई दिनमा दुई पटक खाना तथा खाजाको व्यवस्था गरिएको छ । यस केन्द्रमा एक सय वर्ष नाघेका वृद्धदेखि दुई वर्षका बालकसम्म बस्दै आएका छन् । यद्यपि म जाँदा ती बालक ज्वरो आएर सुतेर बसेका थिए भने उनका बुबा पानी पट्टी लगाउँदै गरेका थिए । सेन्टरमा आएका चिकित्सकबाट दिइएको औषधि खुवाउँदै गरेको उनले बताए । बालककी आमा आशिका तामाङका अनुसार रसुवा गाउँमा घर भएका उनीहरू बेत्रावती बस्दै आएका थिए । तर बसेको घर बगेपछि, त्यहाँ रहेको होल्डिङ सेन्टरमा बस्ने व्यवस्था राम्रो नभएपछि एक दिन हिंडेर नुवाकोट पुगेका थिए ।
कतिपय बट्टारमैं घर भएर पनि कुनै प्रभावविना होल्डिङ सेन्टरमा आएर खाने, खाने बस्ने समेत गरेको पाइयो । यस्तै, बाहिरबाट आएका काम गरेर बस्नेहरू पनि थुप्रै भएको अवस्थामा आफ्नो क्षेत्रको लाईमात्र हेर्न सकिने र बाहिरबाट आएकाहरू होल्डिङ सेन्टरबाट निस्केर जान भनिएको पनि गुनासो थियो ।
यस होल्डिङ सेन्टरमा पाँच जनाले व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन् भने प्रत्येक घरमा बस्नेहरूको निगरानी, अपडेट गर्ने जिम्मेवारी दिइएको एक व्यवस्थापक सुनिल श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार वितरणका लागि ल्याइएको लुगाहरू उमेर अनुसार चार चरणमा (भदौ १६ गतेसम्ममा) वितरण गरिसकिएको छ । लगाएको लुगामा होल्डिङ सेन्टरमा आएका बाढी पीडितहरूले त्यहाँ आएपछि लुगा फेर्ने गरी लुगा पाएकोमा सन्तोष व्यक्त गरे ।
राहतका कुरा
राहत वितरणका लागि देश विदेशबाट सामाग्री आएको आयै छ । यद्यपि कृष्णभीर लगायत विभिन्न ठाउँमा बाटो विग्रिएपछि केही राहत ल्याउँने कार्य प्रभावित भएको फोनमा बताएका थिए । एकद्वार प्रणालीको नाममा केन्द्रीकृत गरिएको राहत अब स्थानीय रुपमा वितरण गरिने निर्णय भएको छ । यसले होल्डिङ सेन्टरबाहेकमा बस्ने पीडितहरूलाई पनि पुर्याउन सहज हुने देखिन्छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ल्याइएका राहत बढी भयो भन्ने गरिन्छ तर वास्तममा त्यो व्यवस्थापनको अभाव हो । अर्को व्यवस्थापन नभएसम्मका लागि होल्डिङ सेन्टरमा बसेका तथा बाहिर बसेर पनि पीडित बन्न पुगेकाको लागि तत्कालका लागि त्यो राहत नै सर्वोत्कृष्ठ उपाय हो । र, सरकारले समयक्रममा व्यवस्थित व्यवस्थापन गर्नुपर्ने हुन्छ । बट्टार बजारको बाटो बाटोमा विभिन्न संघसंस्थाहरूले बाढी पीडित, राहत उद्दारमा खट्नेहरूका लागि निःशुल्क खानेकुरा पानीको व्यवस्था गरिएको छ ।
युनिसेफ, सेभ द चिल्ड्रेन, फेयर मेड, वर्ल्ड भिजन, प्लान इन्टरनेशनल जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले दीर्घकालीन योजना बनाएर अगाडि बढेको बताए । नुवाकोट जिल्ला प्रशासन कार्यालयमा अन्तर्राष्ट्रिय गैससहरूसँगको समन्वय बैठकमा जानकारी गराइएअनुसार युनिसेफले दीर्घकालीन योजना बनाएर अभिभावक गुमाएका ५० जना बालबालिकाका लागि बालमैत्री स्पेस, टेन्ट, पोषणका सामग्री, स्वास्थ्य सम्बन्धी सामाग्रीको सहयोग तयारी गरेको छ । युनिसेफसँग ५० हजार परिवारका लागि पुग्ने सामग्री संग्रहित छ ।

यस्तै, स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फेयर मेडले तत्कालका लागि बाढी पीडितहरूलाई स्वास्थ्य सामग्री वितरण गर्ने र दीर्घकालीन रुपमा काम गर्ने लक्ष्य रहेको संस्थाका नेपाल प्रतिनिधि आपत्कालीन प्रतिकार्य संयोजक केशवदत्त भट्टले जानकारी दिए । देशका ११ वटा जिल्लामा काम गर्दै आएको संस्थाले भोटेकोशी बाढीबाट विस्थापित भएका पीडितहरूका लागि स्वास्थ्य राहत कार्यक्रम संचालन गरेको छ । आपत्कालीन प्रतिकार्य संयोजक केशवदत्त भट्टका अनुसार सिन्धुपाल्चोकको आत्मनिर्भर केन्द्रमार्फत संस्थाले रसुवा, नुवाकोट र धादिङमा काम गर्ने भएको छ । तत्कालका लागि स्वास्थ्य सामग्री, खानेकुरा तथा सरसफाईका क्षेत्रमा काम गर्ने लक्ष्य राखेको संस्थाले जनाएको छ । होल्डिङ सेन्टरका धेरै महिलाहरूको एउटै गुनासो हुन्थ्यो– बाहिर लगाउँने लुगा त धेरैले ल्याउँछन् तर भित्र लगाउँने पेन्टी तथा ब्रा नहुँदा पनि समस्या नै हुँदो रहेछ ।
निलो जस्ताले छाएको धराप घर
नुवाकोट विदुरको ढुंगेमा बाढीको उच्च कहर देख्न सकिन्छ । नुवाकोट विदुर पुग्ने अधिकांश यहाँ पुगेर बाढीले बगाएर अजंग स्वरुप ग्रहण गरेका घरहरूको फोटो खिच्न जाने गर्दछन्, त्रिशुली नदीको किनारमै पुगेर भिडियो बनाउने चाहनाले अगाडि बढ्छन् । पटक पटकको बाढी, बाढीले सोहोरेर छोडेको हिलो माटो, दलदले माटो हुँदै खोलासम्म पुग्न खोज्नेहरू माटोमा गाडिने त छ नै कृषि विकास बैंकको दायाँतिर तथा जेलको घर तथा बाटोसँगै रहेको एउटा जस्ताले छाएको घरमा टेकेर सबै जाने गर्दछन् । यदि सो घरमा भार बढी भएको खण्डमा तथा घरको छाना भाँचिएको वा पर्खाल भत्किएको खण्डमा त्यहाँ अर्को दुर्घटना हुन सक्ने देखिन्छ । बाटोको सतहमा नै पर्ने र बाटोबाट कुनै बार पनि नभएकोले गर्दा त्यहाँ स्थानीय प्रशासनले बारको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
देवीघाटको दुर्गति तथा दुर्गन्ध
देवीघाटको वृद्धाश्रममा रहेका बृद्धबृद्धाहरू बाढीको चपेटामा परेको तथा उनीहरूको उद्दार गर्दाका दृश्य अति कारुणिक थियो । त्यो दृश्य देख्दा लागेको थियो, बृद्धबृद्धालाई त समयमा उद्दार गर्नुपर्थ्यो नि । तर त्यो ठाउँमा गएपछि बुझियो, अनुमान नै गर्न नसकिने ठाउँमा बाढी पसेको रहेछ । वृद्धाश्रमभन्दा निक्कै टाढा रहेको त्रिशुली नदिको बाढीले पानी घुमेर आएर पोखरीजस्तै बनाउँदै बृद्धाश्रमलाई पनि लपेटेको रहेछ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तल्लो पिपलटार, नुवाकोटको होल्डिङ सेन्टरमा बस्दै आएकी बृद्धा शारदा गजुरेलको घर बगायो । देवीघाटकी शारदा छोराले दुबइमा काम गरेर कमाएको पैसाले बनाएको घर पानीमा दियो बगेसरी भएर घर बगेकोमा भावविव्हल हुँदै भनिन्– ‘छोराको जीवन भरको कमाई सकियो, अब कसरी बनाउँने ?’ बाढी आउँदा उनी परिवारको लागि सुख माग्न मन्दिर गएकी थिइन् । तर मन्दिरबाट फर्केर त्रिशुली पुल तर्न लाग्दा ‘वारीको वारी पारीको पारी भने सुरक्षाकर्मीले’ । त्यही दिन काठमाडौं बस्ने बुहारीले फोन गरेको गरेइ गरेको रहेछ तर उनले फोन नबोकेको कारण खबरबाट विमुख भइन् ।
होल्डिङ सेन्टरमा सँगै बसेका ‘छिमेकीले तपाईको घर खोलामा दियो बगाएको जसरी घर बगायो, अलिकति पनि विग्रिएन’ भन्दा निकै पीडा भएको सुनाउँदै भनिन्, ‘भए भरको पीडा यही जिन्दगीमा भोग्नु पर्यो । भगवानले पनि हेरेनन् । दुःखको दिन बिर्साइदिउन् । छोराले २० वर्ष लगाएर कमाएको एक झड्कामा गयो ।’ बाढीले सर्वस्व गुमाएपछि खानपिन नै बन्द गरेकी शारदाले छोराबुहारीलाई थप पीडा दिन भएन भन्ने महसुस गरेर १६ गते पछिमात्र खाना खान थालेको बताईन् । आफूले पाएको पीडा सबैले थाहा पाउनुपर्छ भनेर बोल्न तम्सिएकी शारदाले आफ्नो व्यथा सुनाउनेक्रममा पटक पटक भक्कानिएकी थिइन् ।

देवीघाटमा कुनै घर सग्ला छैनन् । झण्डै दुई तल्लासम्म डुबाएको घरहरू पूरै हिलो माटो, लेदोले पुरिएका छन् । पिल्लर भएका घरहरू पनि कुनै लडाएको, कुनै पर्खाल भत्काएर ह्वाङगै भएको अवस्थामा थिए । शटरहरू बांगिएको–बगाएको, सामानहरू बगाएको अवस्थामा देखिन्थे ।
देवीघाटमैं भेटिएका शिक्षक रामशरण रिमाल भदौ १६ गते आफ्नो सामान लिन आएका थिए । दोस्रो तल्लामा तीन वटा कोठा भाडा लिएर बसेका रिमालको धेरै सामानहरू हिलाम्य थिए । सुकेको हिलो टक्टक्याउँदै सामानहरू ट्याक्सीमा राख्दै गरेका रामशरणले बट्टार बजारमा भाडामा कोठा लिएको र उतै सामान लैजान लागेको बताए । उनले आफूले विद्यालयका ४० जना बालबालिकाको उद्दार गरेको पनि बताए ।
देवीघाटमैं भेटिएकी एक महिलाले आफ्ना दाजुको घर हेर्न आएको तर त्यहाँ फैलिएको दुर्गन्धले घरमा पस्नै नसकेको बताइन् । बट्टार बस्ने ती महिलाकाअनुसार वैदेशिक रोजगारमा रहेका उनका दाजुले उक्त घर केही समय अगाडि मात्र खरिद गरेका थिए, खरिद गरेपछि घर प्रवेश गर्न नै पाएका थिएनन् ।
बाढीले निम्त्याएको वितण्डापछि दोस्रो, तेस्रो तल्लामा रहेका तथा काम लाग्ने आफ्ना सामान समेट्न आएका अधिकांशले अब उक्त ठाउँमा बस्न सम्भव नभएको, उपाय पनि केही नदेखेको बताए ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment