3 1 min 1 mth

चेपाङ समुदायको ग्रामिण पर्यटन अध्ययन भ्रमण
गएको वर्षको अन्तिममा (२०७७ चैत्र २८देखि ३० गतेसम्म) महिना राक्सिराङ गाउँ पालिकाका एक सयजना भन्दा बढी चेपाङ समुदाय नवलपरासीको अमलटारी मध्यवर्ती सामुदाियक हाेमस्टे तथा पिप्रहर सामुदाियक हाेमस्टे ग्राम, रजहर भ्रमणमा गए । ठूलो बसको दुई बस अनि अरु थुप्रै गाडिमा चेपाङहरु अमलटारी तथा पिप्रहर पुगेका थिए । त्यहाँ पुग्ने आम चेपाङमात्र नभएर राक्सिराङ गाउँपालिका, मकवानपुर जिल्लाका अधिकांश पदाधिकारी अनि कर्मचारी पनि थिए । उनीहरु सबै मिलेर त्यहाँ जानुको उद्देश्य कुनै वैठक गर्नभन्दा पनि अमलटारी तथा पिप्रहर होमस्टे कसरी चलेको रहेछ भनेर सम्पूर्ण रुपमा अध्ययन गर्नु थियो ।

कार्यक्रमको संयोजन गरेको थियो, जनवकालत मञ्च, नाफानले । नाफानले राक्सिराङ गाउँपालिकाको ४ वटा वडा (६,७,८र ९) मा चेपाङ समुदायको सामाजिक, आर्थिक अवस्था परिवर्तनका लागि काम गर्दै आएको छ । यस कार्यक्रमका परिकल्पनाकार तथा नाफानका सल्लाहकार भोला भट्टराइ चेपाङ समुदायको सामाजिक आर्थिक अवस्था परिवर्तनका लागि थुप्रै खाले कार्यक्रम लगिएकोमा ग्रामिण पर्यटन महत्वपूर्ण हुने बताउँछन् ।

पछिल्लो समय ग्रामिण पर्यटन प्रवद्र्धनमा होमस्टेले अहं भूमिका निर्वाह गरेको छ । यही क्रममा आमलटारी गाउँ देशविदेशमा परिचित हुन पुगेको छ । आफ्नै भाषा, भेषभुषा, संस्कृति भएका थारु जातिले आमलटारीले आफूलाई चिनाएका मात्र छैनन्, स्थानीयहरुको आयस्रोत, सामाजिक व्यवस्थालाई पनि दरिलो बनाएका छन् ।

साँझ अायाेजना भएकाे थारू सांस्कृतिक कार्यक्रम ।

अमलटारीमा होमस्टे चलाएका मध्ये एक हुन् हस्तबहादुर थारु मगर । उनको श्रीमती हिराकुमारी महतो गरी तीन जनाको सुखी परिवार छ । उनको १९ वर्षिय एक छोरा छन्, टिकाराम महतो । उनी एनिमल साइन्सका विद्यार्थी हुन् ।सात वर्षअघि होमस्टे शुरुवात गर्नुअघि उनीहरुको परिवार सुखी थिएन । श्रीमान श्रीमती ज्याला मजदुरी गर्थे, परिवार धान्न गाहो थियो । तर अहिले उनीहरुको जीवन फेरिएको छ । परिवारका सबै सदस्य आ आफ्ना जिम्मेवारीमा छन् । हस्तबहादुर खेती किसानी, पाहुुनाका लागि गर्नु पर्ने काम गरेर उब्रेको समयमा टेम्पो चलाएर थप आयआर्जन गर्छन ।

छोरा टिकाराम विहान हुने वित्तिकै तीन वटा भैंसीले दिएको दुध पुर्‍याउन स्कुटरमा जान्छन् । दिउँसो पढ्न जान्छन् भने बेलुकी पर्यटक पाहुनाको लागि भान्छादेखि सांस्कृतिक केन्द्रमा समेत सघाउन भ्याउँछन् । उनी पछि वैदेशिक रोजगारमा जान आवश्यक देख्दैनन् ।भन्छन्, ‘गर्ने हो भने गाउँमैं जत्ति पनि काम छ, यही परिवारसँगै बसेर कमाउन सकिन्छ ।’

यस्तै भैंसीको दुध दुहुुन विहान ४ बजेदेखि खट्ने हिरा कुमारीको दिनचर्या पनि कुनै क्षण फुर्सदको हुन्न । आआफ्नो क्षेत्रमा मिहेनत गर्दै खट्ने यी तीन जनाको परिवारले साँझ पाहुँनालाई देखाउँने साँस्कृतिक कार्यक्रममा आफ्नो आफ्नो भूमिकाअनुसार नाच्ने गाउँने गरेर झण्डै राति ११ बजे काम भ्याएपछि बल्ल आराम गर्ने मौका पाउँछन् ।पाहुनाको लागि खानामा सामान्य नेपाली खाना तथा परम्परागत खाना खुवाइन्छ । अर्डर भए विदेशी खाना पनि पकाउन जान्ने महतो परिवारले हामीलाई भने ब्रेकफास्टमा परम्परागत ‘चिच्चा’ (वफाएर पकाएको अनदि चामलको भात) थारु स्वादका तरकारी अचार खुवाएकी थिइन् । यस्तै साँझको खानामा भात र गुन्द्रुकको तरकारी विशेष खाँदै गर्दा उनीहरुलाई साँझको सांस्कृतिक कार्यक्रमा जान ढिला भइसकेको थियो । भनिन्, तपाइहरू अलि छिटाे खाइदिनुस् न है, सांस्कृतिक कार्यक्रममा जान ढीलाे हुन्छ ।

साँझकाे काम सिध्याएर सांस्कृतिक कार्यक्रममा स्थानीय ।

घरको बनिबुतो सिध्याएर अमलटारी होमस्टे संचालन गर्ने परिवार साँझ ९ बजेपछि सांस्कृतिक भवन पुग्ने गर्दछन् । सम्पूणर् सामुहिक नृत्यमध्ये एकमा त हस्तबहादुर बाजा बजाउने श्रीमती र छोरा नाच्ने गरेका थिए । पाहुना भएको दिन व्यस्त हुने सबै अमलटारीबासीका दिनचर्या करीव करीव एकै हुन्छ । हस्त बहादुरले आफ्नो आर्थिक अवस्था सुधार ल्याउन टेप्पो, भैसी, कुखुरा त पालेका छन् नै यसमा अरू थप गर्ने सोच बनाएका छन् । यो सबैलाई सम्भव बनायो, आफ्नो जातिय संस्कृति अनि प्रकृति संरक्षणप्रतिको सबै गाउँलेको चेत तथा सहकार्य गर्ने जागरुकताले ।

विदेशीले चिन्ने अमलटारी
अमलटारीवासी थारु परिवारको पहिलो प्राथमिकता गाउँमा आउँने ,आफ्नो घरमा आउँने पाहुना बनेको छ । अमलटारी होमस्टेका निर्देशक धनिराम थारुका अनुसार पहिला अमलटारीलाई पारी गाउँकाले चिन्दैनथे भने अहिले देशविदेशले चिन्छन् । अमलटारीका बासीले आफ्नो गाउँबासीको संस्कृति तथा प्रकृतिको संरक्षणको प्रतिफलबाट नै अहिलेको अवस्थामा पुग्न सम्भव भएको हो । गाउँ पर्यटन तथा होमस्टेको लागि उदाहरणीय बनेको अमलटारी थारु जातिको संस्कृति प्रवद्र्धन गर्दै स्थानीयको आर्थिक, सामाजिक तथा विकासको दृष्टिबाट पनि अगाडि बढेकोछ । धनिराम भन्छन्- ‘हामी जनजातिसँग धेरै संस्कृति छ । हाम्रो संस्कृति र प्रकृतिलाई जोड्ने हो भने पर्यटन सम्भव छ । सात वर्षको अन्तरालमा अमलटारी वासीमा चौगुना फरक भइसक्यो । पहिला बोल्न नसक्ने दिदीबहिनीहरु अब्बल व्यवसायी भएका छन् ।’


पहिलेको अस्तव्यस्त अमलटारी अहिले चिटिक्क परेको देखिन्छ । गाउँ पुग्यो भन्ने जनाउने ठुलो द्वार छ । घरहरुलाई नम्बरिङ गरिएको छ । बाटो पक्की अनि सफा छ । सम्पूणर् पर्यटकलाई भेला गरेर सांस्कृतिक कार्यक्रम गर्न, मिटिङ गर्न तथा रमाइलो गर्नका लागि सांस्कृतिक भवन छ । विभिन्न जनावरको आकृति सहितको पार्क बनाइएको छ । गाउँमा पर्यटन सहकारी छ । पुरै गाउँको पर्यटनका लागि व्यवस्थापन समिति छ, सबै घरको हिसाव किताव समितिले नै गर्छ, राख्छ । पाहुना कसैकोमा हुुने कसैकोमा नभएर आय कम बढी हुन सक्छ तर व्यवस्थापनले सकेसम्म बराबर गर्ने कोशिस गर्छ ।

पार्कमा रमाउँदै पर्यटक ।

पर्यटनबाट भएको, आएको ९० प्रतिशत आम्दानी घरवालाले पाउँछ भने १० प्रतिशत रकम समितिले लिन्छ । सो रकम समितिले २ प्रतिशत प्रकृति संरक्षणमा, २ प्रतिशत सामाजिक विकासमा, १ प्रतिशत शिक्षामा, १ प्रतिशत स्वास्थ्यको लागि र ६ प्रतिशत रकम समितिको व्यवस्थापन तथा अन्य क्षेत्रमा खर्च हुने गर्छ । ग्रामिण पर्यटनको संरचनागत विकासको लागि अफिस व्यवस्थापन समिति, सुरक्षा समिति, स्वास्थ्य समिति, फोहर व्यवस्थापन समिति, अनुगमन समिति प्राकृतिक संरक्षण समिति, सामाजिक विकास समिति, सांस्कृतिक समिति आदिको व्यवस्था गरिएको छ । यी समितिहरुले सबै घरमा पाहुना राख्ने ठाउँको एक रुपताको व्यवस्थापनलगायतका काम गर्ने गर्दछन् । पाहुन बस्ने कोठालाई थारुमय बनाइएको छ । गत वर्षको लकडाउनमा सबैले पाहुना बस्ने कोठालाई निंगालोको चोयाले कलात्मक बनाउने मौकाको रुपमा प्रयोग गरे ।
यी सबै ग्रामिण पर्यटनका कुरालाई राक्सिराङबासी चेपाङ समुदायले पाहुना बनेर महसुस गरे, पाहुनालाई कसरी व्यवाहार गर्ने, सेवा सुविधा दिने भन्ने कुरालाई सिके, मनन गरे ।


संग्रहालयमा पुगेको चेपाङ संस्कार र संस्कृति घर फर्केला ?
माथि उल्लेख गरिएका ग्रामिण पर्यटनको भित्रैबाट महसुस गरेर राक्सिराङका चेपाङ समुदायले अवलोकन गरे । उनीहरुलाई पनि लाग्यो, चेपाङ समुदायको पनि त आफ्नै परम्परागत भाषा, भेषभुषा, हस्तकला, चिउरी संस्कृति छ, प्राकृतिक संस्कृति छ, हामी पनि गर्न सक्छौं -ग्रामिण पर्यटन ।


चेपाङ युवतीहरूकाे पछाडि लाेपाेन्मुख चिउरीकाे रूख ।

तर चेपाङ समुदायले सोचेजस्तो सहज भने छैन, उनीहरुको चाहना पूरा हुन । कारण हो, थोरै चेपाङले मात्र आफ्नो भाषालाई अंगिकार गरेका छन् भने धेरैले नेपाली भाषा नै बोल्ने गरेका छन् । धर्म परिवर्तनले गर्दा अधिकांश चेपाङ जातिको उनीहरुको संस्कृतिसँग अपनत्व नै छैन अहिले । २०२४ सालदेखि (उल्लेखित सालपछिको फोटोहरु चेपाङ संग्रहालयमा संग्रहित छ) चेपाङ समुदायको शिक्षा स्वास्थ्यको विकासको लागि आएका विदेशीको सम्पर्कपछि स्थानीय चेपाङहरुले धर्म परिवर्तन गर्दा अधिकांश पछिल्लो दुई पुस्ता आफ्नो संस्कृतिमा रमाउँदैनन् । धर्म परिवर्तन गर्ने पुस्तालाई पनि आफ्नो संस्कृति नामेट भएकोमा पछुतो छैन । उनीहरु आफ्नो परिवारको सामाजिक विकास, शिक्षा तथा चेतना तथा आर्थिक अवस्थामा आएको परिवर्तनप्रति दंग छन् । उनीहरु राक्सिराङ गाउँपालिका परिसर, चैनपुरमा भएको संग्रहालयमा राखिएका आफ्ना सांस्कृतिक वस्तुबाट आफ्नो संस्कार, संस्कृति चिन्न वाध्य छन् । अर्थात् राक्सिराङ गाउँका चेपाङ जातिको संस्कृतिक कार्यक्रम गाउँपालिका परिसरमा हुन्छ, घरघरमा होइन ।

राक्सिराङ गाउँपालिकाको विभिन्न चेपाङ गाउँमध्येको एउटा गाउँ मैसिराङ हो । यो मैसिराङका ६५ घर परिवारमध्ये एक घरले मात्र धर्म परिवर्तन गरेन भने बाँकी सबैले आफ्नो परम्परागत संस्कार संस्कृतिलाई तिलाञ्जली दिएका छन् । मधुप्रसाद प्रजा एक्लै धर्म परिवर्तन नगर्ने अडानमा घर अगाडि मन्दिर राखेर बसेका छन् भने उनकी छोरी विनु चेपाङ चेपाङ संग्रहालयको संयोजकका रुपमा कार्यरत छिन् ( तल हेर्नुहोस्, संक्षिप्त कुराकानी)


राक्सिराङ गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष रामकृष्ण चेपाङका पिता पुर्खाहरुबाट धर्म परिवर्तनको थालनी भएपछि उनीलगायत उनी पछिको पुस्ताले आफ्नो संस्कृति व्यक्तिगत रुपमा अंगिकार गर्न सकेका छैनन् । यद्यपि उनी भन्छन्, ‘पितापुर्खाले अघि बढाएको संस्कृति मास्नु हुँदैन, संरक्षण गर्नुपर्छ भन्छन् ।’ यही संरक्षण गर्ने प्रयासस्वरुप मन्दिर संरक्षणका लागि एक लाख बजेट उपलब्ध गराएको अध्यक्ष चेपाङले बताए ।


राक्सिराङ गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष रामकृष्ण चेपाङ

चेपाङ संस्कृति संरक्षण सम्बन्धमा अध्यक्ष चेपाङको कथन छ, ‘ हामी चेपाङमा अहिले भाषा मात्र छ, लिपी छैन । नुवागी चाड गाउँपालिका परिसरमा संयुक्त रुपमा मनाइन्छ । घरघरमा मनाउन अधिकांश चेपाङले फलाक्न जान्दैनन् । झाँक्रीले फलाक्ने हो, हामीलाई आउँदैन । जसले जान्छ, उसले गर्ने न हो ।’

संस्कृति भनेको गाउँपालिका होइन घरघरमा जिवित हुनु पर्ने होइन र भन्ने प्रश्नमा उनको कथन छ, ‘पूजा गर्ने, फलाक्ने सबै काम गर्ने झाँक्री हो । हामीलाई गर्न आउँदैन भने गर्ने कुरा पनि आएन । मभन्दा अघिल्लो पुस्ताको केहीलाई आउँथ्यो । हजुरबुबा, ठूलो बुवा सबैलाई आउने तर मेरो बुबालाई ज्ञान भएन । चेपाङको झांक्रीको गुरु हुँदैन, सपनामा सिकाउने हो, त्यही अनुसार गर्ने हो ।’

पछिल्लो समय नेवार संस्कृति, थारु संस्कृति, गुरुङ संस्कृति पर्यटकका लागि आकर्षण गर्ने माध्यम बन्दै आएको छ । चेपाङ समुदायले पनि ग्रामिण पर्यटनका लागि अति आवश्यक पक्ष मानिएको सांस्कृतिक पुर्नजागरण ल्याउनै नसक्ने भने होइन, चाहना भएको खण्डमा ।संस्कार संस्कृतिलाई घरघरमा पुर्नजिवित गर्ने सवालमा स्थानीय मौन वस्न रुचाउँछन् । संस्कार, संस्कृति तथा प्रकृति ग्रामिण पर्यटनको मेरुदण्ड हुन् । यो अवस्थामा चेपाङ संस्कृति बुझ्न चेपाङ वस्ती जाने पर्यटकले संग्रहालय मात्र हेरेर फर्कने त पक्कै होइन होला । र, हुनु पनि हुँदैन ।


तरकारीमा आत्मनिर्भर
चेपाङका घैया, पिंडालु, गिठ्ठा, भ्याक्कुर, कोदो, चिउरी जस्तापरम्परागत खाद्यवस्तुको उत्पादन पनि आधुनिकताका कारण कम हुन थालेकोमा गाउँपालिका तथा नाफानको सहयोगमा थुपै्र विउविजन दिएर कृषि उत्पादन तथा व्यापारकै लागि पनि प्रोत्साहन दिन थालिएको छ । महिला समूह, सहकारी तथा तरकारी संकलन केन्द्र खोलेर चेपाङ समुदायले आफूले खपत गरेर बढी भएको सामग्री निर्यात समेत गर्न थालेको छ ।

काउली, बन्दा, लसुन, धनिया, मेथीजस्ता तरकारी पनि हुन्छ भन्ने थाहा नपाएका महिलाहरुले आफ्नो गाउँमा पानीको सुलभतासँगै तरकारी खेती गर्न सिकेर कतिपय आत्मनिर्भर भएका छन् भने कतिले विक्रिवितरण समेत गर्ने गरेका छन् । मैसिराङकी प्रमिला प्रजा भन्छिन्,‘ मेथीको साग र काउली पनि खाइन्छ भन्ने थाहा थिएन, कसरी रोप्ने भन्ने पनि थाहा थिएन तर अहिले तरकारीमा आत्मनिर्भर भएका छौं ।’ यस्तै आफ्नो खेतबारीमा तरकारी फल्न थालेपछि हौसिएकी ६० वर्षिया निमा प्रजा भन्छिन्,‘ मेथीको साग पनि खान हुने रहेछ, लसुन प्याज पनि रोप्नु हुने रहेछ, लसुनको त डाँठमा पनि लसुन फल्दो रहेछ ।’

परम्परागत रुपमा आफ्ना वरिपरि फलेको नदेखेका पुराना पुस्ताका लागि आफ्नो बारीमा तरकारी उमार्दा, आफैंले फलाउँदाको हर्ष बेग्लै छ । अनभिज्ञता र विष्मात जे जस्तो भए पनि उनीहरुले अन्न, तरकारी उब्जाउमा आत्मनिर्भर हुनु भनेको ग्रामिण पर्यटनका लागि अत्यावश्यकपूर्वाधारको एउटा पक्षको पूर्ति हुनु हो ।

सांसद सन्त चेपाङको प्रतिवद्धता
देवीटारकी कामना प्रजाको घरमा दुई वेड सहितको एउटा पाहुना कोठा पाहुनाको लागि सधै तयार हुन्छ । तर यो कुनै संगठित रुपमा नभई व्यक्तिगत प्रयासमा संचालन गरिएको होमस्टेको एउटा प्रारुप हो । आफ्नो घरलाई होमस्टेका रुपमा कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर हेर्नगएकी कामनाले सबै कुरा बुझिन तर पाहुनासँग पैसा कसरी लिने भनेर बुझ्न सकिनन् र कार्यक्रमको अन्तमा सोधिन् पनि । कामनासहित थुप्रै महिलाले आफ्नो गाउँलाई होमस्टे संचालन गर्न सकिने र गर्ने चाहना लिएर फर्किए ।

वागमती प्रदेशका सांसद सन्त चेपाङ

आमलटारी होमस्टे क्षेत्र अबलोकनका लागि गएका वागमती प्रदेशका सांसद सन्त चेपाङका अनुसार स्थलगत भ्रमणले आफ्नो गाउँमा तयारी गर्न सहज तुल्याएको छ । सांसद चेपाङकाअनुसार राक्सिराङ चेपाङवस्तीमा यही वर्षदेखि होमस्टे शुरु हुनेछ । होमस्टेका लागि निश्चित वस्ती पहिचान गर्ने काम हुँदैछ भने गाउँपालिकाले कार्ययोजना बनाएर अगाडि बढ्दैछ ।

राक्सिराङ गाउँपालिकाका अनुसार चार वटा वडामा होमस्टेको तालिम दिने योजना छ । हराउँदै गएको चिउरीको बोट र सोसँग जोडिएका संस्कृतिलाई निरन्तरता दिन तथा अन्य आर्थिक उपार्जनका लागि चिउरीका बोट फेरि रोप्न थालिएको छ । प्रकृति पूजक चेपाङ जातिको पहिरन, वाजागाजा, माछामार्ने बल्छी, कृषि औजार, गीत, संगीतलगायतका पहिचानका आधारहरु संरक्षण गर्न अध्ययन अनुसन्धानका कार्य गर्न ढीला भई सकेको अवस्थामा गाउँपालिकाको प्रयास एउटा पालुवा भने अवश्य हो ।
त्यसैले, अब चेपाङहरुलाई बुझ्न, हेर्न चाहनेको लागि राक्सिराङ गाउँपालिकामा छिट्टै सहज हुने भएको छ तर कसरी भन्ने कुरा व्यवहारिक रुपमा हेर्न भने बाँकी नै छ ।

हाेम स्टे किन ?

लाेपाेन्मुख कला, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा तथा जैविक विविधताकाे संरक्षण गर्दै तिनीहरूकाे राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रचारकाे लागि अान्तरिक पर्यटन गरिन्छ । यस्तै ग्रामिण भेगमा अाउने पाहुनालाइ खाना तथा अावासकाे व्यवस्थापन गर्न हाेम स्टेकाे अावश्यकता पर्दछ । न्यून पूँजीबाट स्थानीय उत्पादनलाइ बढावा दिंदै स्थानीय स्तरमा नै राेजगारीकाे अवसर सिर्जना गर्न, युवा जनशक्ति विदेश पलायन हुनबाट राेक्न तथा रित्तिंदै गरेकाे गाउँलाइ पुनर्स्थापित गर्न पनि ग्रामिणा पर्यटन जरूरी छ भने ग्रामिण पर्यटनलाइ जिवन्त तुल्याउन हाेम स्टे जरूरी हुन्छ । ग्रामिण पर्यटन र हाेम स्टेले गाउँमैं कमाउने र रमाउने वातावरण त हुन्छ नै साथै ग्रामिण पर्यटनकाे पूर्वाधरा विकास गर्दै सामाजिक विकास, सद्रभाव कायम गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हेर्दा सानाे देखिने यस्ता काम पयर्टनकाे राष्ट्रव्यापि प्रवर्दनमा अहं भूमिका हुने गर्दछ ।


चेपाङ जातिको संस्कृति प्रवर्दनमा लागेकी विनु

राक्सिराङ गाउँपालिका परिसरमा चेपाङ जातिको संस्कृति, भेषभुषा अरुलाई देखाउन, पछिसम्म जातिको पहिचान देशविदेशमा फैलाउनको लागि संग्रहालय स्थापना भएको छ । सो संग्रहालयमा २०६६ साल चैत्रदेखि संग्रहालय संयोजकका रुपमा कार्यरत छिन् मैंसिराङकी विनु चेपाङ । संग्रहालयमा संग्रहित केही थान फोटोबाट तत्कालीन अवस्था, भेषभुषा, बाजागाजा, जीवनयापनका औजार, हस्तकला आदिका बारेमा बुझ्न सकिन्छ । अहिले कोठामा अटेको संग्रहालयको लागि भवन बन्दैछ ।
उनै संग्रहालय संयोजक विनु चेपाङसँग चेपाङ र चेपाङ संग्रहालयको विषयवस्तुमा आधारित भएर गरिएको छोटो कुराकानीः

पछिल्लो समय चेपाङहरुको अवस्था कस्तो छ ?
यो म्युजियमबाट पनि हामी पहिला कस्तो थियौं भन्ने छर्लङ देख्न सकिन्छ । चेपाङहरु पिछडिएको, प्रकृतिप्रेमी जाति हो । आफ्नो ठाउँ छोडेर जान नसक्ने, लोभलालच नहुने तर पछिल्लो समय थोरै थोरै विकास त भएको छ । पेशागत रुपमा भन्नुपर्दा शिक्षण पेशा, अनमि, कृषि, व्यापार व्यवसाय, राजनीति, सेना हरेक क्षेत्रमा अगाडि बढ्दैछन् आजकाल । सांसदसम्म हुनुहुन्छ । मामाको छोरा मेजरसम्म हुनुभएको छ, खुशी लाग्छ ।


चेपाङहरुको संस्कृति संग्रहालय खोल्न किन जरुरी भयो ?

प्रजा जाति धेरै कृष्चियन हुनुभएको छ, २०२२साल तिर देखि नै हो । आफ्नो धर्म र पहिचान बिर्सिएका छन् । यो विकृति हो । पाष्टर भन्ने वित्तिकै विदेशी संस्थाहरुले सहयोग गरेको हुन्छ , त्यही पैसाको लोभमा यो ठाउँको सांस्कृतिक विनाश भयो ।
प्रजा जातिको आफ्नै संस्कृति, भाषा, भेषभुषा भएको जाति हो । पहिलाभन्दा विकास त भयो भौतिक दृष्टिकोणबाट । केहीले बच्चाहरुलाई आर्थिक सहयोग दिएर इन्जिनयरसम्म पनि बनाएका छन् तर धर्म र संस्कृतिमा असर परेकै हो । विकास भएको ठाउँमा विनाश पनि हुन्छ ।
मेरो माइति गाउँ (मैसिराङ)मा ६८ घर परिवारमा मेरो घरमा मेरो बुबाआमा मात्र हिन्दु बाँकी छ । मन्दिर पनि मेरो घरअगाडि एउटा मात्र बाँकी छ । पहिला हामीलाई पनि क्रिश्चियन धर्म अबलम्बन गर्न धेरै दवाव परेको थियो तर हामी गएनौं । गाउँलेले बुबा झाँक्री भएकोले गाउँलेलाई मार्छ होला भन्ने पनि भयो । धेरै दवाब र कुरा सहनुपर्‍यो । काकाहरु पनि क्रिश्चियन नै भएकोले हजुुरबुबा बित्दा पनि सबै काम बुबाले नै गर्नुभयो । एउटै बाबुको छोराछोरीले दुई धर्म अनुसार काजक्रिया गरे । बुबाले धर्म छोड्न चाहनुभएन ।


सबै क्रिश्चियन बन्नेतिर कसरी लागे, गाउँमा केही सामाजिक विकृति थियो ?
विकृति थिएन । क्रिश्चियनमा लाग्दा पैसा पाउने, सहयोग पाउने हुँदा गए । हाम्रो धर्ममा विकृति त छैन । पूजामा जाँड रक्सी चाहिं चाहिन्छ, अरु त खासै नराम्रो छ जस्तो लाग्दैन । जता पैसा पायो उतै ढल्केको हो, विदेशीसँगको सम्पर्कले अंग्रेजी भाषा जानेर कतिपयले फाइदा पनि लिइरहेका छन् । म महिला हुँ, ममा महिलामा हुनुपर्ने जस्तो गुण हुुनुपर्छ, चेपाङको परिचय दिनु पर्दा पनि चेपाङको आफ्नो संस्कृतिलाई नै अगाडि सार्ने हो । चेपाङ जातिको पहिचानको मामिलामा पैसाले नै विकृति ल्याएको हो ।


वस्तुगत संग्रहालयको संचालन त गर्नुभएको छ, चेपाङ समुदायमा छोरीलाई चिउरीको बोट दाइजो दिने संस्कृतिको अवस्था के छ, तपाईले लिनुभयो ?
म यो कुराको विरोध गरेरै भन्छु, रुख पनि कहिं दाइजो हुन्छ ? रुख पनि उचालेर लग्न मिल्छ ? यो संघ संस्थाको ठग्ने मेलो हो । चिउरी चाहिं लेकमा जता पनि पाइने चिज हो, म पनि चेपाङको चेली हो, म पनि कांगडाको हो, हाम्रोमा पनि चिउरी छ, मैले कहाँ लगें त ? कतिपय ठाउँमा गलत जानकारी पनि दिएको हुन्छ । हो, हाम्रो चिउरीसँग हाम्रो घनिष्ट सम्बन्ध हुन्छ । हामी चिउरीको तेल, रस फल खान्थ्यौं । तेल नहुँदा त्यसैको तेल खाने हो, मैले पनि खाएको छु । कपालमा पनि लगाएको थिएँ । साग, सिस्नो, भ्याकुर, चिउरीका विभिन्न उत्पादन बनाएर खाने हो । राउटे फिरन्ते हो भने हामी पनि जंगलको कुनाकन्दरामा दिन विताउने जाति हो तर हामी फिरन्ता भने होइनौं, हामी घर परिवारसंगै एकै ठाउँमा बस्छौं ।


व्यक्तिगत रुपमा तथा काम पनि चेपाङको संस्कृति संरक्षणमा लागिरहनु भएको छ, कस्तो महसुस हुन्छ ?
ठकुरी संग बिहे भएको मेरो । माथिल्लो जाति भनिएका मात्र किन माथि भन्ने जस्तो लाग्थ्यो मनमा । कुरा बुझ्दा चेपाङजस्तो सोझो नहुँदो रहेछ । कुनै ठाउँमा पुग्नुछ भने पुग्नै पर्छ, लडेर हुन्छ कि अरुलाई धेकेलेर हुन्छ कि गर्नै पर्ने हुदो रहेछ । संघर्ष धेरै गर्ने रहेछ । चेपाङ जाति चाहिं सिस्नो, गिठ्ठा जे छ, खायो बस्यो । सुनकोघोडा चढेर कहिं पुग्नु छैन । जे छ त्यसमैं सन्तुष्ट हुने प्रकृतिप्रेमी भएकै कारण पिछडिएका रहेछा्रैं । भोलि के होला ? भविष्यको लागि थुपार्नुपर्छ भन्ने छैन । यद्यपि हराउँदै गएको चेपाङ जातिको संस्कृति प्रवद्र्धनमा लाग्न पाएकोमा खुशी नै छु ।


संग्रहालय व्यवस्थापनमा चुनौति के छ ?
धेरै छन् । केही त छैन । सबै बनाउनु पर्ने नै छ । अगाडि बढ्न नसक्नुको कारण हामी एक आपसमा खुट्टा तानातान गर्छौं । एक जुट हुँदैनौं हामी । मलाई नै चेपाङ होइन भने, म किन चेपाङ होइन ? म चेपाङको चेली हो, भाषा संस्कृति आउँछ, थाहा छ । सांस्कृतिक विकासमा काम गरेकोमा सम्मान गर्नु पर्ने ठाउँमा उल्टो व्यवहार गरियो । यो म्युजियम मेरो मात्र होइन । यसको संरक्षण सम्वद्र्धन गर्दा न चेपाङ जातिको पहिचान पछिसम्म रहन्छ ।

3 thoughts on “पर्यटकलाई स्वागत गर्ने चेपाङ समुदायको चाह

  1. Thank you for publishing this new/article in your reputed online portal. This is very important to educate wider stakeholders to know the reality of the Chepang indigenous communities of Raksirang.

    1. संस्कृती समुदायको पहिचान हो, यसको संरक्षण र प्रवर्धन ले जिविकोपार्जन का अवशर हरुको खोजी गर्न सके मात्र आत्मनिर्भर हुन सकिन्छ ।

  2. संस्कृती समुदायको पहिचान हो, यसको संरक्षण र प्रवर्धन ले जिविकोपार्जन का अवशर हरुको खोजी गर्न सके मात्र आत्मनिर्भर हुन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *