1 1 min 2 mths

काठमाडौं, १६ साउन । अत्यधिक नेपाली महिलाले भोग्दै आएको पाठेघरको मुखको क्यान्सरको उपाचारसम्बन्धी कार्यक्रम राष्ट्रिय कार्यक्रम अन्तर्गत परेर पनि कार्यान्वयन हुन नसक्नु चुनौतिको रुपमा रहेको विज्ञहरुले बताएका छन् । प्राथमिक स्वास्थ्य सेवा केन्द्र, रेस्फेकद्वारा आयोजित ‘नेपालमा पाठेघरको मुखको क्यान्सरको निदान’ विषयक छलफल कार्यक्रममा उक्त कुरा बताइएको हो ।

रेस्फेकका अध्यक्ष शरद वन्तका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको निदानका लागि कार्यक्रम शुरु भएको २० वर्ष भईसक्दा पनि गति लिन सकेको तथा प्राथमिकतामा पर्न सकेको छैन । पछिल्लो समय हरेक समस्यालाई कोविडको छाता लगाउने गरिए पनि यसको वास्तविक कारण भने इच्छाशक्ति नहुनु नै हो ।

पेटको क्यान्सर, स्तन क्यान्सर जस्ता धेरै क्यान्सरका रोगलाई खोप लगाएर न्यूनिकरण गर्न सकिने खोप छैन तर उपलब्ध भएको पाठेघरको मुखको क्यान्सर रोक्न उपलब्ध खोपको सही प्रयोग नेपालले गर्न सकेको छैन, जबकी नेपाली महिलाहरु यस रोगबाट पीडित छन् । डा. वन्तको कथन छ, यस खोपलार्ई अभियानकै रुपमा अगाडि बढाउनु पर्छ । कोविड संक्रमणको अवस्था डर लाग्दो भए पनि अन्य स्वास्थ्य उपचारको लागि अत्यन्तै सतर्क भएर बढी भन्दा बढी उपयोग गरौं, महिलालाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनु पर्ने अर्को आवश्यकता हो । यसको लागि सरकारको कार्यनीति अगाडि राखेर रणनैतिक रुपमा हामी पनि अगाडि बढ्नुपर्छ ।

कार्यक्रममा सिभिल सर्भिस अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ डा. जितेन्द्र परियारले कोविडको कारण चुनौतिहरु थपिएको थपिएकै भएको र यसको अनिश्चितताका कारण अरु रोग उपचारको लागि कुरेर बस्न नहुने बताए । डा. परियारको कथन छ – कहिले नर्मल हुन्छ थाहा छैन । दैनिकीलाई सामान्य अवस्थामा ल्याउँदै कोविड मात्र होइन अरु विषयमा पनि उपचार र छलफल गर्न जरुरी छ ।
डा. परियारका अनुसार क्यान्सरको अवगुण भनेको एक ठाउँमा भएको घाउ अर्को अंगमा सर्न सक्छ, यो क्यान्सरको विशेषता पनि हो । अनियमित कोषको वृद्धि विकास नै क्यान्सर हो, त्यसैले जहाँ जाहाँ सेल हुन्छ त्यहाँ क्यान्सर हुन्छ । क्यान्सर शरीरको कुनै पनि भागमा हुन सक्छ । कोविड पश्चात सम्भावित क्यान्सर रोगीको स्क्रिनिङ हुन नसक्दा उनीहरुमा मानसिक तनाव बढ्दो छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार सन् २०००मा एक करोड क्यान्सर रोगी थियो भने एक दशकमा डबल भएको थियो । यस्तै अघिल्ला वर्षहरुमा हरेक वर्ष ६० लाख मानिस क्यान्सरले मर्ने गर्थे भने सन् २०२० मा एक करोड २० लाखको मृत्यु भएको थियो । डा. परियारका अनुसार विकसित देशमा क्यान्सरका रोगीको मृत्यु दर कम छ भने हाम्रो जस्तो अविकसित देशमा बढ्दै गएको छ । वार्षिक ६ लाख महिला पाठेघरको क्यान्सरबाट पीडित हुनेगरेको तथ्यांकले देखाउँछ । ८० प्रतिशत नयाँ केश विकसित देशबाट हुन्छ । प्रत्येक २ मिनेछमा एक महिला क्यान्सरबाट वित्ने गर्छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सर पहिलो समस्या हो । नेपालको परिप्रेक्ष्यमा महिलाहरुमा अरु क्यान्सर भन्दा पाठेघरको मुखको क्यान्सर बढी छ भने विश्वमा स्तन क्यान्सर बढी छ । अरु देशमा क्यान्सरसम्बन्धी जनचेतना तथा सचेतना बढी छ । विश्वकै महत्वपूणर् समस्या भएकोले सन् २०१८ देखि विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सरलाई महत्व दिएर अगाडि बढेको छ, निको पार्न सकिन्छ भनेर । नाइजेरिया र नेपालमा पाठेघरको स्वास्थ्य अवस्था ज्यादै नाजुक छ । दक्षिण यशियामा नेपालको तथ्य तथ्यांक ज्यादै दुःख लाग्दो छ । नेपालमा धेरै मृत्यु दर छ । सार्क मुलुकमा पाठेघरको मुखको क्यान्सरको कुरा गर्दा हामीले गर्नु पर्ने धेरै छ । विपी कोइराला अस्पतालको तथ्यांकअनुसार पाठेघरको क्यान्सरबाट पीडित महिलाहरु जम्मा क्यान्सरको विरामीमध्ये २२ दशमलव २० प्रतिशत छ भने स्तन क्यान्सरका महिला १४ प्रतिशत छ ।

डा. परियारका अनुसार पहिलो र देस्रो तहको पाठेघरको मुखको क्यान्सरको उपचार हुन सक्छ । तेस्रो र चौथो तहको भए पनि उपचार नहुने होइन । यसको लागि रेडियोथेरापी सेवा लिन सकिन्छ । छिप्पिएको अवस्थामा किमोथेरापी लिनुपर्छ । क्यान्सर भन्ने वित्तिकै डरलाग्दो रोगको रुपमा लिइन्छ तर एकतिहाई पाठेघरको क्यान्सर रोगको रोकथाम गर्न सकिन्छ, एक तिहाई उपचार गर्न सकिन्छ, थोरै उपचार गर्न गाह्रो भने हुन्छ । यो रोकथाम गर्न सकिन्छ ।

डा. परियारका अनुसार शुरुको अवस्थामा रहेको पाठेघरको क्यान्सरलाई स्क्रिनिङ गरेर हेरेर नै पहिचान गर्न सकिन्छ भने १२ देखि १५ वर्षका (नेपालमा पाइलटिङको लागि लिइएको उमेरसमूह) किशोरीहरु (यौन सम्पर्क नगरेको)लाई भ्याक्सिन दिएर पनि पाठेघरको क्यान्सर लाग्नबाट रोक्न सकिन्छ ।

बेलायतमा स्क्रिनिङ गरेपछि पाठेघरको क्यान्सरका रोगी महिला स्वाट्टै घटेको छ । सिंगापुरमा पनि घट्दो छ । नेपालमा पनि यही परिणामअनुसार सन् २००० देखि कार्ययोजना बनाएर अगाडि बढेको हो । सन् २०१४मा कास्की र चितवनमा किशोरीहरुलाई पाइलट अध्ययनको रुपमा सर्भारिक्स खोप दिइएको थियो । डा. परियारका अनुसार यो खोपले नेपालमा संभावना सकारात्मक छ भन्ने देखायो, त्यसैले सरकारले किशोरीहरुको लागि यो खोप आगामी वर्ष कार्यक्रम राख्छ । सर्भारिक्स खोपले पाठेघरको मुखमा हुने क्यान्सर निर्मूल पार्न ९० प्रतिशत लाई खोप, ७० प्रतिशतलाई स्क्रिनिङ गर्न पर्छ भनिएको छ । थाइल्याण्ड, आमा स्क्रिनिङको लागि जाँदा संगै गएकी छोरीहरुलाई खोप दिने गरियो । यसले गर्दा त्यहाँ पनि पाठेघरको मुखको क्यान्सर कम भयो । त्यसैले नेपालमा पनि सरकारले चुनौतिपूणर् माने पनि महिलाहरुलाई स्क्रिनिङको लागि प्रोत्साहन तथा किशोरीहरुलाई दिन प्रोत्साहन गर्नुपर्ने डा. परियार बताउँछन् ।

विश्वका सय भन्दा बढी मुलुकमा खोप भईसकेको अवस्थामा नेपालमा पाइलटिङ भएको छ । डा. परियारका अनुसार यही पाइलटिङको आधारमा विपि कोइराला अस्पताले तीन वटा जिल्ला (झापा, चितवन र रुपन्देही)मा खोप शुरुवात गर्दैछ । नेपाल सरकारले राष्ट्रिय खोप नीतिमा पारेर अगाडि बढ्ने तयारी गरेको छ । कोरोना र सर्भारिक्स भ्याक्सिनको कुरा गर्दा, दैनिकी सहज हुनुपर्छ, कोरोनाको कारण सर्भारिक्स भ्याक्सिन रोकिनु हुन्न । क्यान्सर उपचार गरेपछि, क्यासर हँदा कोविडको भ्याक्सिन लिन मिल्छ ।

स्क्रिनिङ क्याम्पलाई ब्यापक गर्नु पर्छ । महिलाको पाठेघरको मुखको क्यान्सर न्यूनिकरणको लागि स्क्रिनिङ क्याम्पले गर्दा पाठेघर समस्याबाट, क्यान्सरबाट पनि महिलाहरु लाभान्वित हुन सकेको पाइन्छ । यसैले व्यापक स्क्रिनिङको लागि स्थानीय तह नै लाग्नु पर्छ । केन्द्रीय सरकारले पनि गर्नुपर्छ ।

चिकित्सकहरुका अनुसार पाठेघरको मुखको क्यान्सर न्यूनिकरणका लागि दिइने भ्याक्सिन कोविडको भ्याक्सिन जस्तो अप्राप्य छैन । नीजिस्तरमा पनि आयातित छ, किनेर पनि लगाउन सकिन्छ । निःशुल्क दिनको लागि हरेक वर्ष स्थानीय सरकारलाई किशोरी कार्यक्रमअन्तर्गत राख्न सकिन्छ । पैसा तिरेर नै लगाउने हो भने अहिले एक डोजको चार हजार दुई सय पर्छ । यो भ्याक्सिन दुई डोज लगाउनु पर्छ । सरकारले धेरै खरिद गर्ने हो भने सस्तो पनि पर्नसक्ने चिकित्सकहरु बताउँछन् । यो भ्याक्सिन ९ देखि २६ वर्षसम्मका यौन सम्पर्क नभएका किशोरी तथा महिलाले लगाउँन सक्छन् ।

पाठेघरको मुखको क्यान्सर न्यूनिकरणका लागि दिइने दुईथरीको भ्याक्सिन नेपालमा प्रयोग भएको छ । कास्की र चितवनमा परिक्षण भएको सर्भारिक्स हो भने अष्ट्रेलियन सरकारको सहयोगमा एनएनसिटिआरले गर्डाशिल भ्याक्सिन दिंदै आएको छ, जुन नेपालमा सन् २००९ देखि नै प्रयोगमा छ । आगामी राष्ट्रिय खोप नीति अन्तर्गत सरकारले ल्याउन खोजेको भ्याक्सिन भने सर्भारिक्स नै हो ।

रेस्पफेकका कार्यकारी निर्देशक चन्द्रा किरण श्रेष्ठले पाठेघरको मुखको क्यान्सर न्यूनिकरणका लागि दिइने दुईथरीको भ्याक्सिनकाे बारेमा ब्यापक जनचेतना फैलाउनु पर्ने र साेका लागि सञ्जाल बनाएर अगाडि बढ्रने बताइन्र ।

One thought on “किन प्राथमिकतामा परेन पाठेघरको मुखको क्यान्सर विरूद्दकाे खाेप ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *