0 1 min 2 mths

कोविड १९ को पहिलो तथा दोस्रो संक्रमणका क्रममा विरामीहरुलाई उपचारका लागि आयुर्वेद क्षेत्रबाट अहं रुपमा खटेका चिकित्सकमध्ये एक महत्वपूर्ण पात्र हुन्, डा. रामअधार यादव । राष्ट्रिय आयुर्वेद रिसर्च तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा. रामअधार यादवले कोविड संक्रमण व्यापक भइरहेको बेलामा पनि कोही कोविड संक्रमित विरामीले अस्पताल भर्ना हुनुपर्ने छ भनेर खबर गरे राति नै एम्बुलेन्स पठाउँथे । घरमैं बसेर उपचार गर्ने वातावरण छैन भन्नेको लागि जसरी पनि अस्पतालमा बेडको व्यवस्थापन गरे । घरमैं बसेर आयुर्वेदिक औषधि खाएर उपचार गर्छु भन्नेलाई मोबाइलमैं औषधिको लिष्ट पठाए । आयुर्वेदिक औषधि खान नसक्नेका लागि एलोपेथिक औषधि प्रेस्क्राइब गरे । आफू अति नै व्यस्त भएको अवस्थामा फोन उठाउन नसके पछि आफै कलब्याक गर्थे, कसरी सहयोग गरौं भनेर । यसरी फोन तथा अस्पतालमा सेवा दिन यी चिकित्सकले कुनै नाता हेरेनन्, चिनजान खोजेनन् । फोनमैं मात्र झण्डै दुई हजारलाई सेवा दिएको चिकित्सक डा. यादब बताउँछन् ।

यादवले अहिलेसम्म यस क्षेत्रमा गरेको मिहेनत, लगानीको प्रतिफल पाएको महसुस गरेका छन् । कार्यकारी निर्देशक डा. रामआधार यादव, राष्ट्रिय आयुर्वेद रिसर्च तथा तालिम केन्द्रमा विगत दुई वर्षदेखि कार्यरत छन् तर आयुर्वेद क्षेत्रमा लामो अनुभव छ । कोविड विरामीको उपचारका लागि दिन रात खटेका डा. रामसँग झण्डै एकघण्टा कुरा गरेपछि उनको अन्तस्करणबाट एउटा वाक्य निस्कियो, ‘‘आयुर्वेदलाई प्रमाणित गर्ने कोविडकाल सुनौलो मौका बन्यो, हामीले प्रमाणित गरेर देखायौं ।’’
प्रस्तुत छ, उनै आयुर्वेद चिकित्सक डा. रामअधार यादवसंग सम्पादक अमिका राजथलाबाट गरिएको कुराकानीः


आयुर्वेद चिकित्सा सेवामा कसरी लाग्नुभयो ?
आइएस्सी पढ्दा स्वास्थ्य क्षेत्रको केही विषयगत ज्ञान लिइयो । चिकित्सा क्षेत्रमा पहिलादेखि नै इन्ट्रेष्ट थियो । त्यसपछि भारत सरकारको तर्फबाट दिइने छात्रवृत्तिको लागि आवेदन गरियो । धेरै उत्साहित हुँदै पढ्दा समाजमा पैसा कमाउने भन्दा पनि सेवा भावले काम गर्नुपर्छ भन्ने कुरा मनन गरियो । रोगीलाई निरोगी बनाउँन पाउँदा निकै खुशी लाग्छ, त्यो सन्तुष्टि नै हरेक पाइला अगाडि बढ्ने प्रेरणाको स्रोत बनेको छ ।

नेपालीहरुको विश्वास आयुर्वेदिक औषधिमा कम पाइन्छ तर कोविड संक्रमणका क्रममा धेरै विरामीहरु आयुर्वेदिक उपचारतिर पनि लागे । यहाँको अनुभव कस्तो रह्यो ?
यस्ता महामारी अहिलेमात्र होइन, हाम्रो इतिहासमा समय समयमा विभिन्न खालका महामारी फैलिएको पाइन्छ । सामान्य रोगको मात्र होइन, विभिन्न महामारीको उपचार पनि आयुर्वेदमा पहिलदेखि सफलतापूर्वक व्यवस्थापन गर्ने गरिएको थियो । महामारीलाई संस्कृतमा जनपदोध्वंश भनिन्छ । पछिल्ला दिनमा आयुर्वेदको प्रयोग कम हुन थाल्यो । सामान्य रोगमा पनि एलोपेथिक औषधि प्रयोग गर्न थालेपछि मानिसमा हुनुपर्ने जतिको रोग प्रतिरोधात्मक क्षमता भएन । शुरुदेखि नै प्राकृतिक चीजको प्रयोग गर्दा त्यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ ।

राष्ट्रिय आयुर्वेद रिसर्च तथा तालिम केन्द्र, कीर्तिपुर

महामारी कालमा सरकारले राष्ट्रिय आयुर्वेद रिसर्च तथा तालिम केन्द्रलाई कोविड संक्रमित विरामी व्यवस्थापनको जिम्मा दियो । हामीले ठूलै कोविड अस्पताल र आइसोलेशन संचालन गर्‍यौं । उपचारका क्रममा हामीले विरामीको लागि ९९ प्रतिशत आयुर्वेदिक औषधिको प्रयोग गर्‍यौं । त्यो औषधिको प्रयोगले विरामीहरु छिटै नै निको भएर गए । सबैभन्दा खुशी लाग्ने कुरा के भने यहाँ मृत्युदर पनि एकदमै नै कम थियो । हुनत यहाँ सिरियस केस आएन भन्ने होला तर यहाँ मोडरेट खालका केश पनि आएका थिए । तिनलाई पनि हामीले अक्सिजन दिएर आयुर्वेदिक औषधिकै सहायतामा उपचार गर्‍यौं । आयुर्वेदिक औषधिको प्रयोगले अक्सिजको आवश्यकता पनि कम पर्‍यो । अक्सिजन थेरापीमा अलि सिरियस भएका विरामी पनि छिटै निको भए ।

कोविड महामारी हाम्रो तथा आयुर्वेद क्षेत्रको लागि चुनौतिका साथसाथै ठूलो अवसर पनि थियो । नेपाली समाजले बिर्सिएको आयुर्वेदिक औषधिले फेरि हाम्रो समाजलाई आयुर्वेदतिर नै फर्काएको छ । म के भन्न चाहन्छु भने- इमर्जेन्सीबाहेक अरु अवस्थामा आयुर्वेदिक औषधि प्रयोग गर्ने हो भने शरीरलाई नकारात्मक प्रभाव पार्दैन । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ, आफूलाई स्वस्थ तुल्याउँन सहज हुन्छ र अरु रोग निको तुल्याउन पनि सजिलो हुन्छ । यही मान्यताले हामीले कोविड संक्रमणको पहिलो र दोस्रो वेभमा सफलतापूर्वक उपचार गर्‍यौं, अहिले पनि लागिरहेका छौं ।

दोस्रो वेभमा यहाँ उपचार गराउन आउँने कोविड संक्रमित बिरामी कम भएको हो ?
होइन, दोस्रो वेभमा पनि अस्पताल प्याक नै थियो । बरु, पहिलाभन्दा बढी थियो । बिरामी बढेअनुसार देशमा उपचार केन्द्र पनि बढे । हामीले अक्सिजन थेरापी दिएर इमर्जेन्सी विरामीको पनि उपचार तथा व्यवस्थापन गर्‍यौं । इमर्जेन्सीमा ३५ वेडको क्षमता छ । हामीकहाँ हाई डिपेन्डेन्सी युनिट पनि छ, हाइफ्लो अक्सिजन पनि दिन सकिन्छ । हामीले मोडरेट विरामीको उपचार गर्‍यौं तर सिभियर नै आए अलि गाह्रो पर्छ । त्यसैले हामी सर्वसाधारणलाई के आग्रह गर्दछौं भने यदि तपाईमा कोविडसँग सम्बन्धित कुनै लक्षण छ भने तुरुन्तै आयुर्वेदिक औषधिको प्रयोग गर्नुस् । घरमा पाइने जडिबुटी प्रयोग गर्नुस्, गार्गल गर्नुस्, यसले पनि केही मात्रामा संक्रमणलाई कम गर्छ, अति सिकिस्त हुनबाट, मृत्युकै मुखमा पुग्नबाट रोक्छ ।

तत्कालीन अवस्थामा पूर्व प्रम केपी ओलीबाट भनिएका बेसार र अम्बाको पातलाई निकै उडाउने काम भयो । त्यसरी उडाउन जरुरी थियो ?
उहाँको इन्टेन्सन खराब थिएन । कोविडको प्रारम्भिक चरणमा हो भने बेसार पानी, अम्बाको पातले गार्गल गर्दा भाइरल लोड घटाउँछ नै । तर सिभियर केशलाई बेसार पानीले उपचार गर्न सकिंदैन । घरमा पाईने समग्र जडिबुटीको प्रयोग गर्ने हो भने नराम्रो हुँदैन । हामी सबैलाई थाहा छ, अरु देशको भन्दा हाम्रोमा कोविड संक्रमितको मृत्युदर कम छ । अहिले धेरै नेपाली सचेत छन्, लकडाउनका बेला पनि धेरैले घरमैं भएका जडिबुटीको काँडा बनाएर खाने, जडिबुटी खाने गरेकोले पनि पश्चिमा देशमा जस्तो धेरै मृत्यु नेपालमा भएन ।

कोविडपछि नेपालीहरुको आयुर्वेदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको पाउनु भएको छ ?
पक्कै पनि, सकारात्मक परिवर्तन भएको छ ।

परिवर्तन भएको छ भन्ने कुराको आधार के ? आयुर्वेदिक औषधिको विक्री तथा उत्पादन नै बढेको हो ?
उत्पादनको कुरा गर्ने हो भने हाम्रो देशमा आयुर्वेदिक औषधिको उत्पादनमा लगानी भएन । जति भएको छ, सरकारी तवरमा मात्र भएको छ । उद्योगी, व्यवसायीले जुन तवरमा आयुर्वेदिक औषधिको उत्पादनमा लाग्नुपथ्र्यो, त्यो भएन । तर विरामी उपचारका लागि आउने, औषधि खरिद गर्ने अनुपात बढेबाट पनि सकारात्क परिवर्तन भएको भन्न सक्छौं ।

उत्पादन नहुुनुको कारण के हो ?
यसमा एक्कैचोटी अरुमा जस्तो धेरै फाइदा नहोला । धेरै फाइदा नभएकै कारण होला, व्यवापारिक रुपमा गर्ने गरी यहाँ उत्पादन नै छैन । यहाँ उत्पादन नभएकै कारण हामीले विदेशबाट आयात गर्न परिरहेको छ । यो क्षेत्रमा व्यवसायीले लगानी गर्ने हो भने हामी आयुर्वेद क्षेत्रमा आत्मनिर्भर हुन सक्छौं । यदि व्यावसायिक उत्पादन हुने हो भने यसले देशको अर्थतन्त्रलाई नै सबल पार्न सक्छ । वातावरणलाई संरक्षण गर्नका साथै आम मानिसलाई सुलभ स्वास्थ्ययुक्त जीवन दिन सक्छ । जडीबुटी उत्पादन तथा प्रशोधनले गर्दा यी तीन किसिमले हामीलाई फाइदा हुन्छ ।

कतिपय ठाउँका किसानले थोरै थोरै उत्पादन गरे पनि उद्योगसम्म पुर्‍याउन नसक्दा खेर गइरहेको छ । पर्याप्त उत्पादन हुन सकेको छैन । आयुर्वेदिक औषधि विदेशबाट आयात गर्नुपरेको छ, जबकि कतिपय आयर्वेदिक कच्चा पदार्थ नेपालबाटै विदेशमा निर्यात हुन्छ ।

विदेशी आयुर्वेदिक उत्पादनको व्यापारीकरण पर्याप्त छ नेपालमैं पनि तर नेपालमा त्यो खालको सोच किन नभएको होला ?
यसमा राजनीतिक तथा आर्थिक पक्षले भूमिका निर्वाह गर्छ । हामीजस्तो संस्थाले गर्न चाहेर पनि बजेट नभएपछि गर्न सकिन्न । भारतमा पतञ्जलीले विश्वव्यापी आयुर्वेदिक तथा अन्य उत्पादनहरु फैलाउन सक्छ भने नेपालले पनि गर्नै नसक्ने चाहिं होइन । हाम्रै जस्तो सरकारी निकायमा पनि राजनीतिकरण नहुने हो भने धेरै हुन सक्छ । आयुर्वेद औषधिका उत्पादक उद्योग तथा सरकारी निकायमा क्षमतावान जनशक्ति जाने र सरकारी निकायबाट समय समयमा अनुगमन गर्ने हो भने पनि राम्रो हुन सक्छ ।

पछिल्लो कोविडको समयमा आयुर्वेद औषधिले पारेको सकारात्मक प्रभावको बारेमा उद्यमी तथा सरकारी निकायसँग छलफल हुन्छ ?
हुन्छ । अहिले त लगानीको लागि उत्सुकता देखाउन थालेका छन् । सरकारी नीति अनुसार सरकारले आयुर्वेद क्षेत्रको संरक्षण, संवर्धन, प्रचार विकास गर्नुपर्छ भने पनि बजेट व्यवस्थापन राम्रो भएको छैन । आयुर्वेदमा सरकारको लगानी कम छ । भौतिक सुविधामा केही लगानी भयो तर मानवीय संसाधनको कमी छ, यसैले गर्दा पनि उद्योग क्षेत्र फस्टाइरहेको छैन ।

जडिबुटीसम्बन्धी किसानलाई पनि तालिम दिएर, सहुलियत ऋण तथा बजार व्यवस्थापनसम्बन्धी तालिम दिएर प्रोत्साहन गरिनुु पर्छ । मुख्य समस्या उत्पादित जडिबुटीको बजारिकरणको व्यवस्था पनि छैन हामी कहाँ । यसले गर्दा थोरै भएका किसानहरु पनि निरुत्साहित छन् । यहाँका उद्यमीहरु डाइक्रेक्ट किसानसमक्ष जानुपर्छ । मैले फेरि दोहोर्‍याएँ- जडिबुटीको उत्पादनले अर्थतन्त्रको साथसाथै हाम्रो शरीर तथा नेपाली समाजलाई नै स्वस्थ तुल्याउँछ भने वातावरणलाई पनि स्वच्छ राख्ने हुनाले हामीले जडिबुटीमा लगानी गर्नुपर्छ । हाम्रो देशमा भएको जग्गा मध्य ८० प्रतिशत जग्गामा अन्नपातको खेती र २० प्रतिशत मात्र जडिबुटीको खेती गर्ने हो भने पनि किसान र देशले धेरै फाइदा पाउन सक्छ ।

डा. रामअधार यादव, कायर्कारी निर्देशक, राष्ट्रिय आयुर्वेद रिसर्च तथा तालिम केन्द्र

उद्योग वाणिज्य महासंघको सकृयतामा केही वर्ष अघि निश्चित ठाउँमा एकै खाले कृषि उत्पादन गर्ने प्रकृयालाई अगाडि बढाएको थियो । त्यो प्रकृया अन्तर्गत जडिबुटी उत्पादनसम्बन्धी संरचनागत रुपमा काम भएको छ कि छैन ?
वास्तवमा संस्थागत रुपमा समन्वय नै छैन । सबै आ-आफ्नै ढंगले अगाडि बढेकोले एकीकृत धारणा नै छैन तर उद्यमी तथा व्यवसायीसँग छलफल गर्ने हाम्रो योजना छ । यो योजना अनुसार अगाडि बढ्दा त्यहाँ उद्यमी, व्यवसायी, किसान सबै एकै ठाउँमा होस् । हाम्रो देशमा पनि सिक्किम तथा अन्य देशमा जस्तो एकीकृत रुपमा जडिबुटी उत्पादन गर्न सकिन्छ, नसकिने होइन । वास्तवमा भारत वा अन्य देशबाट ल्याईदै गरेका कतिपय कन्ज्युमर प्रडक्ट तथा आयुर्वेदिक औषधि, ती नेपालमैं उत्पादन गरेर विदेशमा पनि निर्यात गर्न सक्छौं । यसमा उद्यमीहरुको अहं भूमिका हुन्छ ।

नेपालमा संस्थागत रुपमा आर्युवेदको तथा परम्परागत सीपको पठन पाठनको अवस्था के छ ?
आर्युवेदको तथा परम्परागत सीपको पठन पाठन हुन्छ, भइरहेको छ । तर विज्ञ जनशक्ति उत्पादन ज्यादै कम छ । देशमा आयुर्वेदका पाँच वटा कलेजबाट स्नातक तहका जनशक्ति उत्पादन भइरहेको छ । सिटिइभिटीले तालिम दिएर चलेको संस्थाहरु पनि धेरै छ । वार्षिक लगभग दुईसय जना जनशक्तिको उत्पादन हुन्छ होला । भारत र अन्य देशबाट पनि पढेर आउँछन् ।

नेपालमा आयुर्वेद पढ्नेहरुको लागि जबमार्केट नभएको हो ?
जब मार्केट त छ । ७७ वटै जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भएकोले सरकारी तथा प्राइभेट रुपमा पनि काम गर्न सक्छन् । अब सरकारको तर्फबाट उनीहरुको विकासको लागि बाटो खोलिदिनुपर्छ । एलोपेथिक जत्तिको स्वास्थ्य केन्द्र र अस्पतालको संरचना आयुर्वेदमा छैन । यदि सरकारले प्रत्येक जिल्लामा आयुर्वेद अस्पतालको पनि व्यवस्था गर्ने हो भने रोजगारको समस्या पर्दैन, उपचार पद्दती पनि सहज हुन्छ । अहिलेसम्म त उत्पादित जनशक्ति खपत भइरहेको छ तर आउने दिनको लागि सरकारले यस तर्फ ध्यान दिनु पर्छ ।

एलोपेथिक चिकित्सकमा जस्तो आयुर्वेदमा आकर्षण नहुनुको कारणमा कमाई धेरै नहुने, सम्मान नहुनेजस्ता पक्षलाई लिन सक्छौं ?
कमाई धेरै हुने-नहुने, त्यस्तो सोच्नु हुँदैन । यो चिकित्सक पेशा सेवा हो के । आयुर्वेदमा मात्र होइन, एलोपेथिकमा पनि धेरै पैसा कमाउँछु भनेर सोच्नु हुँदैन, यो सेवामूलक काम हो । आम्दानीको कुरा तपसिलको कुरा हो, कुनै क्षेत्रमा मिहेनत गरेर काम गर्‍यो भने आम्दानी त भइहाल्छ ।

राष्ट्रिय आयुर्वेद रिसर्च तथा तालिम केन्द्र कीर्तिपुरको आयुर्वेद अस्पतालबाट कति कोविड विरामी लाभान्वित भए होला ?
अहिलेसम्म त तीन हजार भन्दा बढी भए, पहिलो र दोस्रो चरणको विरामी गरेर । हामीले सबै कुरा निःशुल्क उपचार गर्‍यौं । यहाँबाट उपलब्ध हुने हरेक कुरा तथा खानेकुरा, बस्ने, औषधि सबै नै निःशुल्क हुन्छ । यो सरकारी अध्ययन केन्द्र भएकोले हामीलाई चाहिने बजेट व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नै हुन्छ । थोरै मेडिकल इक्युपमेन्टमा गैरसरकारी संस्थाहरुले पनि सहयोग गर्नुहुन्छ । नेपालमा सबैभन्दा सस्तो उपचार गरिरहेका छौं ।

कोविड हुँदा उपचारमा लाखौं खर्च गर्नेहरु पनि छन् त ।
प्राइभेट अस्पतालहरुले लाखौं लिएकै छन्, लाखौं खर्च पनि गरेका छन् तर हाम्रोमा एक पैसा पनि लाग्दैन ।

कोविड संक्रमण भएर डराउँदै आएका विरामी पनि यो अस्पतालमा आएपछि ‘अब बाँचिन्छ भन्ने’ महसुस भएको अनुभव सुनाउँथे ।
पक्कै नै । हाम्रो अस्पतालको क्षमता दुईसय प्लस छ । विरामीको उच्च मनोवल कायम गर्न, स्ट्रेस फ्री वातावरण दिन्छौं- राम्रो व्यवस्थापन छ हाम्रो । सबै कुरा निःशुल्क अनि मनोपरामर्शले पनि यहाँ आएपछि विरामीहरु चाँडै निको हुन्छ भन्ने महसुस गर्न थाल्छन् ।

पोष्ट कोभिडका विरामी कस्तो लक्षण र समस्या लिएर आउँछन् ?
पोष्ट कोविडका विरामीमा मल्टीसिस्टम इम्फ्लामेटरी डिस्अर्डर देखिएको छ । खोकी लाग्ने, कान दुख्ने, पेट दुख्ने, थकाई धेरै लाग्ने, स्वाँस्वाँ आउँने, भित्रसम्म हड्डी दुख्ने, कमजोरी हुने, हातखुट्टा झम्झमाउने जस्ता समस्या लिएर आउँछन् । समस्याअनुसारको फेरि उपचार गराउँनु पर्छ । यस्ता समस्या समयक्रममा आहारविहारपछि हराएर जान्छ, धेरै चिन्ता लिनु हुँदैन ।

यो क्षेत्रमा चुनौतीहरु के के छन् ?
सबैभन्दा ठूलो चुनौति यो क्षेत्रका चिकित्सकलाई एलोपेथिक चिकित्सकले गन्दैनन्, विभेद छ । चिकित्सा पेशाको अर्को कमजोरी भनेको एकले अर्कोलाई सिकाउन चाहँदैन । धेरै रिलेशन डेभलप गर्नुपर्छ उनीहरुसँग । हामी आयुर्वेदका चिकित्सकलाई पनि एलोपेथिक चिकित्सकको ज्ञान हुनु त्यत्तिकै आवश्यक छ, लिने गरेका छौं । विरामी आउँदा एलोपेथिककै इन्भेष्टिगेशन लिएर आउँछन्, त्यो थाहा पाउँनै पर्‍यो । इमर्जेन्सीमा आउने विरामीको लागि एलोपेथिककै पद्दती अपनाउन पर्ने हुन्छ । आयुर्वेदमा पनि एलोपेथिक र आयुर्वेद दुवै पद्दतीको एकीकृत रुपमा उपचार गरिन्छ आजकल । दुवै विषय पढ्न, थाहा पाउँनु पर्ने भएकोले दोब्बर मिहेनत अनि चुनौती छ आयुर्वेद चिकित्सकलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *