0 1 min 2 mths

मारातिका (हलेसी)लाई गन्तव्य बनाएर हुँइकिएको हाम्रो गाडी ढ्याक्क रोक्दा बेलुकाको सात बजिसकेको थियो। बौद्ध जगतले मारातिका भन्ने ठाउँ हलेसी नामले बढी प्रचार पाएको छ। यही ठाउँलाइ किराँत समुदाय हाेलैसू भन्छन् । बिहान ६ बजे काठमाडौंबाट भक्तपुर, धुलिखेल, नेपालथोक, खुर्कोट, घुर्मी, ओखलढुँगा, जयरामघाट हुँदै गन्तव्य पुग्दा गाडीले दुइ सय २५ किलोमिटर नापिसकेको थियो।

मारातिका बाैद्धजनका लागि बाैद्ध तीर्थस्थल हाे । हिन्दूहरू पनि यसलाइ अास्थाकाे थलाेकाे रूपमा लिइ हलेसीधाम भन्छन् । प्राकृितक रूपमा भन्नु पर्दा ठुलासाना गरी धेरै गुफा भएकाे थलाे हाे । याे खोटाङ जिल्लामा अवस्थित छ ।

पहिल्यै तय भएको थियो, पुगेको दिन पुग्ने मात्रै हो, अरु केही गर्न भ्याइँदैन । भाेलिपल्ट सबेरै उठेर गुफामा जाने र काठमाडौं फिर्ता आउने । बेलुका पुगेपछि खाना खायौं । अब के गर्ने ? सुतिहाल्ने बेला त भएको छैन । त्यति बेलासम्म गुफा खुल्छ भन्ने थाहा पाएपछि उत्तिखेरै गुफा छिर्न हतारियौं ।  त्यहाँ एउटा मात्रै गुफा होइन, धेरै छन् । पहिले आउँछ, हलेश्वर महादेव गुफा, ६७ मिटर गहिरो खाल्डोमा । एउटा प्राकृतिक ठाडो ढुंगा छ, त्यसैलाई हिन्दू धर्मावलम्बीहरू शिवलिंग भनेर पूजा गर्छन् । र, मुख्य गुफा यसैलाई मानिन्छ ।

मुख्य गुफा त बन्द रहेछ । यसलाई दायाँ पारेर अलि पर ओरालो झरेपछि अर्को गुफा आउँछ । ढोकैमा सानो बसाहाको मूर्ति राखेर बसाहा गुफा नाम दिइएको । हलेश्वर महादेव गुफाकै पछाडि पर्दो रहेछ यो । दुबै गुफा एउटै पर्वतको गर्भभित्र रहेको र यसलाई बौद्धमार्गीले अवलोकितेश्वर पर्वत नाम दिएका छन् । यसको अघिल्तिर बज्रपाणी र उत्तरतिरको मज्जुश्री पर्वत । हामी पुग्दा बसाहा गुफा बन्द गर्न ताल्चा मार्ने बेला भएको थियो । हुँदैन भन्दाभन्दै एकै छिनमा फर्किहाल्छौं भनि भित्र पस्यौं र फक्र्यौं । 

बौद्धधर्म प्रचार गर्न आठौं शताब्दीमा आचार्य पद्मसंभव तिब्बत जानुअघि काठमाडौं बसाइका क्रममा विभिन्न ठाउँमा साधना गरेका थिए । यसै क्रममा उनले मारातिकामा आफ्नो शक्ति मान्दर्वासहित अमितायु साधना गरेर सिद्धि प्राप्त गरेका थिए । तिब्बतमा बौद्ध धर्म सातौ शताब्दीमै पुगिसकेको भए पनि स्थायित्व लिन सकिरहेको थिएन, बोन धर्मका बाधा अडचन कायमै थियो । ती जम्मै अडचन पन्छाउने तथा दरिलोसँग बौद्ध धर्म स्थापना गरेका कारण गुरु रिम्पोचे भनी उनलाई तिब्बतीहरू मानसम्मान दिन्छन् । गुरुले सिद्धि प्राप्त गरेको ठाउँ भएर त्यतिबेलादेखि तिब्बतीका लागि मारातिका पनि तीर्थस्थल बन्यो । बौद्धहरू यहाँ विशेषतः ध्यानकै लागि आउँछन् । 

मारातिका गुफामा प्वाल परेकाे छानाे । भनिन्छ, असूरलाइ हराएर अाचार्यले गुफामा छानाे फाेडेर निस्केकाे प्वाल यही हाे । तस्वीरः बसन्त महर्जन

भाेलिपल्ट बिहान निद्रा खुल्दा अलि पर मन्दिरबाट घण्टीको आवाज आइरहेको थियो । आवाजैले हिन्दू वातावरण दिइरहेको थियो । पलङ्मै थिएँ, कोठाको अर्को कुनामा रहेको खाट हेर्छु, रित्तिसकेको छ । राति सुत्नुअघि नै भनेको, उठाएर बस्दिन, निद्रा खुल्नासाथ उठेर जान्छु, ध्यान बस्छु ।

हलेश्वर गुफा प्रवेश गर्नेहरूको लाइन लम्बिएर बाटैसम्म पुगिसकेको थियो । प्रांगणमा मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा र गणेश मन्दिर छ । सबैको हातहातमा पूजा सामग्री थियो । तर ढोका खुलिसकेको थिएन । त्यता अलमलिएर बसेनौं, सरासर खुड्किला ओर्लेर बसाहा गुफातर्फ लाग्यौं । त्यहाँ पनि ढोका खुलिसकेको रहेनछ । ढोका नखुलेर के भयो र ? दश बाह्र जना जति साधक ढोकाबाहिरै ध्यान गरिरहेका थिए । ध्यानीहरूलाई बाधा पुग्ला भन्ने भयले अरुहरू चुपचाप बसिरहे पनि त्यसमा धार्मिक भावना नै देख्न पाइन्छ । 

मेरो ‘रुम पार्टनर’ पनि ध्यानमै देखें । प्रवेशद्वारबाट छिर्न १० रुपैयाँको टिकट काट्नु पर्दो रहेछ, त्यो दिन प्रवेश पाउनेमा पहिलो मै परेँ ।

गुफाभित्र छिर्दै खुडकिला चढेर माथिल्लो तल्लामा पनि उक्लियौं । बाहिर अँध्यारै भए पनि भित्र भने बिजुली बालिएको छ । शान्त वातावरण । एकातिर गुफाको बनौट र आकृतिले आश्चर्यचकित थियौं भने अर्कोतिर आचार्य पद्मसंभवसँग सम्बन्धित स्थल भएर  श्रद्धाले नतमस्तक भयाैं । ध्यानमा बस्न त्यहाँ ओछ्याउने कुरा ओछ्यायौं र अनुकुलता हेरी बस्यौं । भित्र छिर्नेहरू सबै ध्यानमा बस्ने होइन, कोही हेरेर मात्रै फर्कने रहेछन् । हामी र अरु गरी ध्यानमा बस्न थाल्दा त्यस्तै बीस पच्चीस जना जति होला । थपिने र उठ्ने क्रम हुँदै गर्यो । तर, पछि थपिन आउनेको संख्या बढ्दै गयो ।

आचार्य पद्मसंभव र मान्दर्वा ध्यानमा बसेको त हलेश्वर गुफा भनिनै उतै हो । त्यस गुफालाई बौद्धहरू शान्तिद्वार भन्छन् । त्यहाँ ध्यान गरेर बस्दा साधनामा अवरोध पुर्याउनेलाई दमन गरेको ठाउँलाई अहिले यही बसाहा गुफा भन्दारहेछन् । हामीलाई आचार्यकै सम्मुखमा ध्यान गरिरहेको महसूस भयो ।

तस्वीरः बसन्त महर्जन
मारातिकाभित्र पापद्वार र धर्मद्वार भनिने ठाउँमा भक्तजन । तस्वीरः बसन्त महर्जन

हिन्दू मिथकअनुसार उहिल्यै भस्मासुर राक्षसले कठोर तपस्या गरी खुशी पारेका महादेवसँग जसको टाउकोमा हात हालुँ उसको भस्म होस् भनी वर मागेका थिए रे । महादेवले पनि साेचविचार नै नगरी वर दिएछन् रे । वर पाएपछि महादेवकै टाउकोमा हात हाल्न भष्मासुर उद्दत भएछन् । त्यसपछि महादेव अाफ्नाे बचावटका लागि भागेर यस गुफातिर लुक्न आए । हिन्दूका लागि पनि यो तीर्थस्थल भयो । किरात समुदायको मिथकसँग पनि यो सम्बन्धित छ । किरात मिथकअनुसार राजा हालेसुङको नामबाट हलेसी बनेको हो ।

केही बेरपछि गुफा प्रवेश गर्नेहरूको हल्ला टाढैबाट सुनिन थाल्यो । हलेश्वर गुफामा पूजा सिध्याएर यता आएकाहरू भनेर बुझ्न गा¥हो भएन । उनीहरूसँगै गुन्जिएको आवाजभित्र ‘जय शम्भो !’ विशेष रुपमा प्रतिध्वनित भइरहेको थियो ।

यताको गुफामा त्यस्तो पूजा गर्ने वा हेर्ने खासै छैन, गुफाको भूबनोट बाहेक । यति बेलासम्ममा हामी पनि ध्यानबाट उठ्ने बेला भइसकेको थियो । हामी जहाँनेर ध्यान गरिबसेका थियौं, यसैको ठिक्क माथि एउटा भ्वाङ् रहेछ, आकाशको तारासमेत देखिने । उज्यालिन थालेपछि प्रष्टसँगै देख्यौं । गुरु रिम्पोछेले साधनामा बाधा हाल्नेलाई दमन गरी यही प्वाल पारेर बाहिर निस्केका थिए रे। बाहिर निस्कन बाटो हुँदाहुँदँ यस्तो प्वाल बनाएर किन बस्नु प¥यो र ? प्रश्न छ । भित्तामा रहेका आकृतिहरूलाई पद्मसंभव र महादेवसँग जोडेर कथिने कुराहरूको कमी छैन । ती कुराहरू तिनै जानून्।

गुफाबाहिर निस्केर पूर्वको बाटो हुँदै उक्लियौं । हलेश्वर गुफाको ढोकैमा पुग्दो रहेछ । हुलमूल र होहल्ला उत्तिकै थियो । मान्छे र घण्टको आवाजले धार्मिक वातावरण दिइरहेको । भित्र छिर्नेको लाइन अझै सकिएको थिएन । छेउ लागेर हेरेर बस्यौं । एकातर्फ महादेवको पूजा गर्नेको चहलपहल भने अर्को कुनामा बौद्ध भिक्षुहरू शान्तसँग सूत्रपाठ गरिरहेका । 

भित्र छिर्न जुत्ता फुकालेर लाइनमा बस्नै पर्ने रहेछ । लाइनमा सहभागी भई प्रवेश ग¥यौं । फूल अछेता र अबिरले भुइँ भिजेको थियो भने त्यसमा टेक्नेको पाइताला रातै हुन्थ्यो । गुफाको भूबनोट पनि आश्चर्य लाग्दो रहेछ । अझ यतातिर स–साना अरु गुफा पनि हुँदारहेछन । तीनलाई धर्मद्वार, पापद्वार के के जातिको नाउँ दिएको पाइयो । त्यस्तै गरी ढुंगाका विभिन्न आकृतिलाई पनि गणेश, कुमार, पार्वती आदि नाम दिइएका छन् र भक्तजन पूजा गर्छन ।

मन्जुश्री डाँडा जहाँ छाम बस्ने गरिन्छ । तस्वीरः बसन्त महर्जन

गुफाबाट निस्केर हामी बजार पुग्यौं । बजारको उत्तर लुङदारले ढपक्कै ढाकिएको मन्जुश्री पर्वत देख्यौं। कसैले भन्यो, त्यहाँ पनि हेर्ने छ । के होला ? कसैले भन्यो, छाम बस्ने ठाउँ । पहाड उक्लियौं । र, तेर्सो तेर्सो तर साँघुरो बाटो आउँदो रहेछ । लुङ्ताहरूको बीचबाट गएको त्यो बाटोले अर्को गुफा सामुन्ने पु¥याइदियो । ठाउँ निकै साँघुरो । अलि कच्चा खालको भ¥याङ ठड्याएको छ, त्यही चढेर माथि जानु पर्ने। सीमित मान्छेमात्र चढ्न सकिने । कोही ओर्लंदै छन् भने अरु चढ्न नसकिने ।

तस्वीरः बसन्त महर्जन

माथि एउटा सानो गुफा भनौं वा कोठा छ, त्यसमा गुरु पद्मसंभवको एउटा मूर्ति राखिएको छ, त्यत्ति । स्थानिय यसलाई छाम बस्ने ठाउँ भन्छन् । गुचमुच्चिएर बस्ने हो भने मुस्किलले पाँच जनाभन्दा बढी अटिन्न । त्यहाँबाट दायाँतिर एउटा अर्को प्वाल रहेछ । घिस्रिएर मात्र छिर्न सकिने । के रहेछ हेरौं भनेर अलिकति घिस्रिएको त बाहिरको उज्यालो देखें । त्यहाँ एक जना मान्छे ध्यान बस्न पुग्ने ठाउँ पनि रहेछ र ध्यान गरिरहेकाे एक जनालाइ देखें । ती ध्यानी अरू हाेइनन्, हाम्रै समूहकाे एक सदस्य रहेछन् ।

मारातिकामा आउने जानेहरूको क्रम दिनभर चल्दो रहेछ । हामी छिटोछिटो होटल फक्र्यौं र चियानास्ता गयौं । ढिलो गर्नुको अर्थ फर्कन पनि ढिलैं हुने निश्चित थियो । विहान ९ बजेतिर हाम्राे गाडी काठमाडाैंलाइ लक्ष्य गरी फर्क्याे ।  

लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *