0 1 min 2 mths

अधिवक्ता विष्णु बस्याल विगत २७ वर्षदेखि कानुन र न्यायको क्षेत्रका लगातार काम गर्दे आउनु भएको छ । विशेष गरी महिला र मानव अधिकारको क्षेत्रमा उहाँ लामो समयदेखि कार्यरत हुनुहुन्छ । उहाँको थुप्रै कानुनसम्वन्धी लेखहरु पनि जर्नल तथा पत्रपत्रिकामा प्रकाशित छन् । अधिवक्ता विष्णु वस्याल त्रिभुवन विश्वविद्धयालय, नेपाल ल क्यापसमा उपप्राध्यापकसमेत हुनुहुन्छ । उहाँले नेवाः टाइम्समार्फत् विभिन्न कानुनी समस्या तथा जिज्ञासामा कानुनी परामर्श दिंदै हुनुहुन्छ । -सम्पादक

विवाह भनेको के हो ? नेपालको कानूनले विवाहलाई कसरी परिभाषित गरेको छ ?

सामान्य अर्थमा विवाह भन्नाले महिला र पुरुषबीच पति पत्नीको सम्वन्ध स्थापित हुने प्रकृया नै विवाह हो । कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कोलाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिन्छ ।

विवाह गर्दा अपनाउनु पर्ने कानूनी शर्तहरु के के हुन् ?

विवाह गर्दा अपनाउनु पर्ने कानूनी शर्तअन्तर्गत विवाह गर्ने पक्ष महिला र पुरुष दुवैको स्वतन्त्र मञ्जुरी आवश्यक हुन्छ । स्वतन्त्र मन्जुरी विना गरेको विवाहले कानूनी मान्यता पाउँन सक्दैन । त्यस्तै गरी विवाह गर्दा महिला र पुरुषको उमेर २० वर्ष पूरा भएको हुनुपर्दछ । २० वर्षभन्दा कम उमेरमा विवाह भएमा त्यस्तो विवाहले कानूनी मान्यता पाउँदैन । त्यस्तै, विवाह गर्दा आफ्नो हाडनाता सम्वन्धभित्र विवाह गर्नु हुँदैन । विवाह गर्दा महिला र पुरुष दुबै अविवाहित वा एकल हुनुपर्दछ । विवाह गर्ने समयमा अन्य कसैसंग वैवाहिक सम्वन्धमा बाँधिएको हुनुहुँदैन । यस्तैगरी, विवाह गर्दा लेनदेन वा कुनै पैसाको माग गर्नु हुदैन ।

कस्तो प्रकारको विवाहलाई कानूनले मान्यता दिएको हुन्छ ?

सामाजिक परम्पराअनुसार गरिने विवाह, जसलाई हामी आमा बुवा र परिवारको अन्य सदस्यहरुले केटा पक्ष वा केटी पक्षको घरमा गई मागी एक अर्कोलाई स्वीकार गरे पश्चात आफनो चलन चल्ती अनुसार परिवारका सदस्य र अन्य इष्टभित्रको उपस्थितिमा गरिने विवाहलाई हामी कानूनी भाषामा सामाजिक परम्परा अनुसार भएको विवाह भनेर भन्दछौ । त्यस्तै, कुनै महिला र पुरुषले स्वयंले एक एक अर्कोलाई मनपराई गरिने विवाह जसलाई हामी प्रेम विवाह भन्दछौ । यस्तै, कानूनी प्रक्रिया पुर्‍याई महिला र पुरुष दुवै पक्षले अदातलमा निवेदन दिई गरिने विवाहलाई दर्ता विवाह भनिन्छ । यी माथिका सवै प्रकारका विवाहलाई कानूनले कानूनी मान्यता दिएको हुन्छ । तर यसरी विवाह गर्दा कानूनले विवाह गर्दा तोकेका शर्तहरुको भने पालना गर्नु पर्दछ ।

कुनै महिला र पुरुषले विवाह नगरी बच्चा जन्माएमा विवाह हुन्छ कि हुदैन ?

कुनै महिला र पुरुषको शारीरिक सम्वन्धबाट कुनै सन्तान जन्मेको प्रमाणित भएमा त्यस्तो विवाहलाई पनि कानूनले कानूनी मान्यता दिन्छ तर विवाह गर्ने दुवै पक्षले कानूनी शर्तको पालना गर्नु पर्दछ ।  विवाह गर्ने पक्ष दुवै अविवाहित हुनुपर्दछ । 

हाडनाताभित्र भएको विवाह भन्नाले के बुझिन्छ ? कानूनी प्रावधान के छ ?

कसैले आफ्नो परम्पराअनुसार चलिआएको अवस्थाबाहेक हाडनाता करणीमा सजाँय हुने नातामा विवाह गर्न वा गराउनु हुँदैन । हाडनाता करणीमा सजायँ हुने नाताभित्र महिला र पुरुषवीच विवाह भएको रहेछ भने यस्तो विवाह स्वतः बदर हुन्छ । कानूनी रुपमा यस्तो विवाह दण्डनीय विवाह मानिन्छ । हाडनातामा विवाह भएको रहेछ भने पति पत्नीलाई छुटाई दिनु पर्दछ । हाडनातामा विवाह गराउनेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयासम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ । हाडनातामा विवाह भएमा भए गरेको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।

झुक्याई वा ढाँटी, छली विवाह गर्नु हुदैन भनेको के हो ? यसभित्र के के पर्दछ ?

विवाह गर्ने पक्ष महिला वा पुरुष कसैले पनि कसैलाई झुक्काई, ढाँटी वा छली विवाह गर्नु हुँदैन । यदि कसैले विवाह गर्दा आफुलाई (महिला वा पुरुष) एच.आई.भी वा हेपाटाइटिस बी रहेको वा यस्तै कुनै निको नहुने कडा रोग लुकाएर कसैसंग पनि विवाह गर्नु र गराउनु हुँदैन । यस्तै, कुनै यौनाङ्ग नभएको, नपुंसक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेको अवस्थामा सो कुरा लुकाई कसैले कसैसित विवाह गर्नु हुँदैन । कुनै महिला वा पुरुष पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएको, होस ठेगाना नरहेको, विवाह भैसकेको, गर्भवती भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजायँ पाएको व्यक्तिले ढाँटेर कसैलाई पनि विवाह गर्नु हुँदैन । यदि झुक्काएर गरेको रहेछ भने गराउने व्यक्तिबाट पीडितले मनासिव क्षतिपूर्ति दावी गर्न सक्नेछ ।

बाल विवाह भनेको के हो ? यसमा के कति सजायँ हुन्छ ?

कानूनले तोकेको उमेरभन्दा कम उमेरमा विवाह गर्नुलाई बाल विवाह भनिन्छ । बाल विवाहलाई कानूनले दण्डनीय विवाह अन्तर्गत राखेको छ । विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । २० वर्ष उमेर पूरा नभई गरेको विवाहले कानूनी मान्यता पाउन सक्दैन । यस प्रकारको विवाहलाई शून्य विवाह वा दण्डनीय विवाह भनिन्छ । बाल विवाह भएको ठहरिएमा तीन वर्षसम्म तथा तीस हजारसम्म जरिवाना हुन्छ ।

वहुविवाह भनेको के हो ? बहुविवाहमा कति सजायँको व्यवस्था गरिएको छ ?

एकै समयमा कुनै व्यक्ति एकभन्दा बढी पत्नी भएको अवस्थालाई वहुविवाह भनिन्छ । आधुनिक कानूनी व्यवस्थामा वहुविवाहलाई गैरकानूनी अपराधको रूपमा परिभाषा गरिएको छ । मुलुकी अपराध सहिंताअनुसार कुनै पुरुषले घरमा पत्नी हुँदाहुदै अथवा वैवाहिक सम्वन्ध कायम गरेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन र कुनै पनि महिलाले कुनै पुरुष विवाहित हो भन्ने जानी जानी त्यस्तो पुरुषसंग  विवाह गर्नु हुँदैन, विवाह गरेमा एक वर्षदेखि ५ वर्षसम्म कैद, दश हजार रुपैयादेखि पचास हजार रुपैयासम्म जरिवानाको व्यवस्था गरेको छ । यस्तो विवाहलाई कानूनले शून्य विवाह मानि स्वतः वदर हुने विवाह भित्र राखेको छ । यसरी विवाह स्वतः वदर भएपछि पति पत्नी वीचको कुनै सम्वन्ध, अधिकार र दायित्व रहँदैन । केवल कानूनको आखाँमा दुवै व्यक्ति अपराधी मानिन्छन् । 

विवाहमा लेनदेन गर्नु नहुने भनेको के हो ? विवाह गर्दा लेनदेन गरेमा के कति सजाँयको व्यवस्था छ ?

विवाह गर्दा केटा वा केटि कुनै पनि पक्षले लेनदेन गरि विवाह गर्नु हुँदैन । लेनदेन गरी गरेको विवाहलाई कानूनले अपराध मानेको छ । विवाहको समयमा केटा पक्ष वा केटी पक्षले आफनो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाहमा दुलहा वा दुलहीका तर्फवाट कुनै किसिमको चल, अचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन । यसको सजायँमा तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ ।

बदर गराउन सकिने विवाह भन्नाले के बुझिन्छ ? विवाह बदर गराउन कहाँ जानु पर्दछ ?

बदर गराउन सकिने विवाह भन्नाले विवाह शुरुमा वैध भएता पनि वैवाहिक सम्वन्धमा बाँधिएका पति वा पत्नीले विवाहपश्चात विवाह मन्जुर नगरेमा विवाह बदर गराउन सक्दछन् तर पति वा पत्नीले सोहि विवाहलाई स्वीकार गरि बस्न पनि सक्छन् । विवाह मन्जुर नगर्ने पक्षले कानून बमोजिम कानुनले तोकिदिएको आधारमा अदातलमा उजुर गरी विवाहलाई बदर गराउन सक्दछ । अदालतको आदेशबाट मात्र विवाह बदर गराउन सकिन्छ । विवाहसम्वन्धी कानूनले नै महिला वा पुरुषले एक अर्कालाई झुक्याई विवाह गर्न नहुने र झुक्याई विवाह गराएको रहेछ भने विवाह बदर गराउन सक्ने र मर्का पर्ने पक्षले झुक्याउने पक्षबाट मनासिब क्षतिपूर्तिको समेत दावी गर्न सक्ने कानूनी व्यवस्था गरेको छ । कुनै पनि महिला वा पुरुषमा निम्न बमोजिमको अवस्था विद्यमान रहेछ र सो बारेमा एक अर्कोलाई जानकारी नदिई झुक्याई विवाह गरेको रहेछ भने त्यस्तो विवाह बदर गराउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *