0 2 mths

गुजुमुच्च परेको त्यो भुजुङ गाउँलाई घले गाउँबाट हेर्दा नजिकैजस्तो देखिन्छ, बीस पच्चीस मिनेटभन्दा बढीको बाटो नै होइन जस्तो, भ्रमित हुने खालको । तर हिँड्दै गर्दा थाहा हुन्छ– कस्सिएर घण्टौं हिड्दा पनि नपुगिने । नागवेली पर्दै भुजुङतिर लम्किरहेको त्यो पहाडी बाटोको केही केही भागमात्र छेउमा परेको घलेगाउँबाट देखिने रहेछ । नव आगन्तुकहरुलाई भुजुङ हेर्दै रहनु मात्र पर्छ, चेतन, अवचेतन र अर्ध चेतन सवै मस्तिष्कहरु रत्तिने खालको छ र त्यसको अंगालोमा बाँधिने इच्छाको पखेटा त्यसै त्यसै पलाउन थाल्छ ।

माल पाएर पनि चाल नपाएको आख्यानसँग ठ्याक्कै मिल्छ भुजुङ गाउँ । लमजुङको पश्चिमी गाविस, पूरै गाविस एउटै गाउँ । सदरमुकाम बेशी सहरबाट कस्सिएर हिड्दा पूरै एक दिन लाग्ने भुजुङ, गुरुङ जातिको सवैभन्दा ठूलो गाउँ पनि हो । गुरुङहरुको कला र वास्तुकला यहाँ देख्न पाइन्छ । गुरुङ जीवन र सभ्यता हेर्ने सानो झ्याल पनि हो, यो गाउँ । तर भुजु«ङलाई हेर्न आउनेहरु फाट्ट फुट्टमात्रै रहेको गुनासो भुजुङ्गेहरुको छ । विदेशी पर्यटकहरु कोही पोखराबाट पसगाउँ हुँदै भुजुङ पुग्छन् र घनपोखराको डाँडा काटेर मनाङतिर लाग्छन् । यसरी नै कोही बाग्लुङपानी भएर त कोही खुदी हुँदै नायू पुग्छन् र भुजुङ भएर माचोक, बेगनास ताल अथवा पोखरा, ताप्रिङ हुँदै सिकलेस पुग्छन् । सिकलेस पनि पर्यटककीय गाउँको रुपमा विकास भएको छ । महेन्द्र प्रकृति संरक्षण प्रोजेक्टले घान्द्रूकपछि यसको विकास गरेको थियो भने अव यो प्रोजेक्टले भुजुङमा २०५० सालदेखि हात हालेको छ ।

निकै वर्ष पहिले जनकवि धर्मराज थापा भुजुङ भ्रमणमा पुग्दा त्यहाँका अगुवा र रोस्यो तीर्थबहादुर गुरुङले आफ्नो बह यसरी पोखेका थिए–

चरी वास्यो चिरीविरी कण्ठै फुकाएर

कति बसौं भुजुङ्गेले दुःखै लुकाएर

घनपोखरा उक्लौं भने छेक्ने भीर छ

लेकै काटी जाउँँ भने अन्नपूर्ण शिर छ

भुजुङ्गेको कर्ममा नौलो भाग्यरेखा होला कि नहोला

मिदिम खोला खरानी चोला मनको मैलो धौं कि नधोला

तर अहिले त्यस्तो छैन । भुजुङ्गेहरुमा आशाको सुर्योदय भएको छ । पाँच छ वर्षअघि सम्म त्यहाँका गल्लीहरुमा दिसा गर्नेले बाटो हिड्ने मान्छेसँग पुछ्ने सिन्का माग्थे रे । भुजुङको उत्तिखेरको कुरा गर्नेहरुले कतिसम्म खसालेर भन्थे भने, भुजुङ छिर्ने सुंगुरहरु त्यहीं गुम्सिएर मर्थे रे । उत्तिखेरको फोहर, अव्यवस्था र अभावलाई अवको भुजुङसँग तुलना गर्दै हाँस्छन् स्वयं गाउँलेहरु र गाउँका बारेका चलेका कुराहरु अभिव्यक्ति सम्प्रेषणका लागि चुनिएका गतिला शव्दहरु भन्छन् । भुुजुङ क्षेत्रमा कार्यरत महेन्द्र प्रकृति संरक्षण प्रोजेक्ट (एक्याप) का कर्मचारी राम गुरुङ भन्छन् – ‘पहिले यो गाउँलाई बन्दा काउली संभवतः थाहा थिएन होला, हामीले पहिचान गराएका हौं । एक्यापकै एउटा स्थानिय कर्मचारी त्यसमा अझ थप्छन्– ‘पहिले पहिले यहाँ मुला मात्रै हुन्थ्यो, सुकेको गुन्दू्रक खान्थ्यौं ।’

गाउँ अव सफा छ । कुनै बाहिरियाले बाटोमा केही फालिदियो भने पनि गाउँलेले टिपेर त्यसलाई थान्को लगाइ दिन्छ । सफासुग्घरको वारेमा पनि राम गुरुङ भन्छन्– ‘शुरु शूरुमा हामी यहाँ आएर सफासुग्घर हुनु पर्ने कुरा ग¥यौं र उनीहरुको घरमा जाँदा देख्ला कि भनेर छिटोछिटो लुकाउँने गर्थे ।’ तर आजभोलि विहान भाले बास्ने बेलामा घरघरबाट आमाहरु निस्कन्छन् र दैलो बढार्छन् । हप्तामा दुई पल्ट सवै मिलेर गाउँको सरसफाई गर्छन् । हिजोजस्तो अव भालु मारेर पित्तको तस्कर पनि गरिंदैन । मृग र कालिजको सिकार पनि हुँदैन । बरु बाख्रालाई जस्तै मृगलाई देख्न पाइन्छ, जंगलमा । त्यस्तै कहिले काहीँ त बाटो छेक्ने गरी कालिज खेलिरहहेको हुन्छ कुखुराजस्तै । जंगलबाट स्थानिय वनस्पति लोप नहोस् भन्ने कुरामाा पनि त्यतिकै ध्यान दिइन्छ । पुवा (सिस्नु) बाट कपडा बनाउने चलन उहिले गुरुङ समाजमा थियो तर तयारी कपडा नै पाइने भएकोले पुवा नकाट्दा पुवा हराउने संभावना बढ्यो । उम्रेको पुवा काटेमा मात्रै त्यसमा पालुवा पलाउने त्यसको स्वभाव रहेछ । हाल प्रत्येक घरले पुवा ल्याउनै पर्ने नियम बनाएको गाविस अध्यक्ष नरबहादुर गुरुङ बताउँछन् ।

गाउँमा गुरुङ नाच नाचिन्छ । बूढा बूढी , तरुणा तरुणी सवै गुरुङ भाखामा गाउँछन् पनि । विशेष अवसरहरुमा घाटु नाच पनि निकालिन्छ । तर गुरुङ सभ्यताको  एउटा कडी रहेको रोदी भने बन्द भैसकेको छ । राति गीत गाउने, नाच्ने, विभिन्न व्यावहारिक कामकुरा सिक्ने र सिकाउने आदिका लागि रोधीं वा रोदी घर यो समाजमा प्रचलित थियो । तर अव त वरिपरि गाउँमा पनि रोदीको प्रचलन छैन । रोदीमा अभिभावक हुने लोग्ने मान्छे ‘रोस्यो’ पनि भएका तीर्थबहादुर गुरुङ भन्छन्– ‘सवैभन्दा पहिले रोदी बन्द गराउने मैं हुँ ।’ किन त ? उनी भन्छन्– ‘रोदी पहिलेको जस्तो रहेन । विकृति आयो । फेरि स्कूल क्याम्पस जानु नपर्ने बेलाको रोदीले बच्चाहरुको पढाईलेखाइमा राम्रो गरेन र बन्द गराइदिएँ ।’

सुजन होटेल खोलेर पर्यटकको प्रतीक्षामा रहेकी जुनू गुरुङ आशावादी छिन्– ‘अहिले विदेशी पर्यटकहरु कहाँ कहाँ बाट आउँछन्, ग्रूपमा हुन्छन्, टेन्ट हालेर बस्छन्, आफै ल्याउँछन्, खान्छन् र जान्छन्, हामीले केही गर्नु पर्दैन । घुम्न लायकको गाउँ भएको पनि कति नै भयो र ? यी, तपार्इंहरु अहिले आउनु भएको छ, यसरी नै भोलि बढ्दै जाला नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *