0 1 min 2 mths
कर्णबहादुर राेकाय
rokayakarna@gmail.com

मस्टो कर्नाली प्रदेशकै प्रशिद्ध देवताको नाम हो । यो देवता यहाँको सामाजिक जनजीवनमा देवास्वामी, कुलस्वामी र क्षेत्रस्वामीको पदग्रहण गरेर बसेकाले नै यसका अनेकौं नाम, राम र काम छन् ।

कर्नाली प्रदेशमा मस्टोको गाथा र व्यथालाई सँगाल्ने हो भने अनकौं शोधग्रन्थ बन्ने भए पनि यहाँ त कर्नाली सन्दर्भमा हुम्लाको प्रसंगलाई सामान्य जानकारीका लागि प्रस्तुत गरिएको छ । साथै सामाजिक, साँस्कृतिक र प्राकृतिक जनजीवनमा मस्टो स्तर, स्थान, रुप र व्यापकतालाई छोटो चर्चा पनि गरिनेछ । खश जातिको विश्वव्यापी साँस्कृतिक, सामाजिक परिवेश तथा स्याङसुङ, ख्युङलुङ सभ्यता एवम् मानस कैलासको प्रमुखद्वार, उत्तरदक्षिण राजमार्गको ब्यापारिक थलो र सामाजिक गढलाई छिचोल्दा मस्टो र मस्टोइतरका देवदेवीका धामीडाङग्री र पुजारीका अनेकौं क्रियाकलापहरुलाई नियाल्दा धामी प्रथा र लामाप्रथाको एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । यसमा पनि धामीवादले कर्नाली क्षेत्रलाई वैदिक र मौलिक धार्मिक न्यायतिर जेलेको छ ।

यसैले पनि स्थानीय बौद्ध धर्म र आदिम हिन्दु धर्मको दैवीक न्याय प्रक्रियालाई सेतो बोन र कालो बोेनको रुपमा पाउन सक्छौं । मस्टो क्षेत्रिय र राष्ट्रिय भूगोललाई नाघेर अन्तर्राष्ट्रिय भूगोलमा समेत परिभाषित, परिचालित र परिलक्षित भएको कथ्य र तथ्यले प्रमाणित गरेको छ । यो प्रदेशका खण्डहर, जर्जर र उराठलाग्दा काख र पाखाहरुमा यसका अवशेषहरू पाउँछौं । यसैले पनि यहाँका यी गर्खा, पाखा, दरा, खोला, बीस, पट्टी, कोट, रजवार, गढी, पातीहाल्न र सेराहरूको गरिमामयी स्थान रहेको छ ।

यसैले नेपालका खश जातिले कुलस्वामी ग्रहण गरेको मस्टो देवदेवीका परिवारहरूलाई जात, जाति, ठाउँ र अवस्था हेरी सत्व र रज गुण, कालो बोन र सेतो बोन, धामीपन्थी र बोनपन्थी, माच्र्योैक्ती ल्हा र काट्रच्यौेक्ती ल्हा, सुर र असुर, काल र अकाल, शीर र पाउ, दुध र रगत, छाकाल र बास्हारा, योग र वियोगको समपूरक, परिपूरक र अर्थपूरक मान्दै अन्तिम आस्थाको केन्द्र बिन्दुको रुपमा पूजीत छ । यसको मुलस्थान च्छोमाफाम अर्थात् मानसरोवर ताल र च्छोलाका अर्थात् लंकारी तालको अद्भूत शक्तिभित्रको प्रज्ज्वलित प्रवाह भएर शदियौंदेखि दैविक न्यायालयको एक निर्विकल्पको भाव, संस्कार र वादको रुपमा माप्चाको काप्चा काप्चामा बगिरहेको छ । यो नै हुम्लीहरूको आत्म शुद्धताको रक्तसञ्चार हो ।

मस्टो देवता प्राचीनकाल, वैदिकयुगदेखि वर्तमानसम्म विभिन्न नाम, रुप र औतारमा औतारिएर आएको पूर्व प्राचिन देवता मानिन्छ । यसका बारेमा वेद, उपनिषद्, पुराण, संहिता, स्मृतिग्रन्थ, लोकांश र लोककथनहरूका अनेकौं संख्यामा विभक्त भएको पाइन्छ । यसलाई समष्टिगत रुपमा मुख्यतः बाह्रभाइ मस्टो, नौदुर्गा भवानी, सोह्रमाला, छवीगंगा, तीनबीस सुमैजी र बाह्रबीस सानभान भन्ने कुराले मान्यता पाएको छ । त्यसैले पनि मस्टो कुलस्वामी, मुलस्वामी, देवस्वामी, क्षेत्रस्वामी र वर्णस्वामी भएकैले देवाधिदेव महादेव कै विस्तारित र विस्थापित अंश र हंस मानिन्छ ।

यसरी प्राचीनदेखि अर्वाचीनसम्म पनि खश, मारुल्ले, कल्याल, रावत, राउटे, तमु, थर, थपाल्या, ब्याँसी, जाड सबै कर्नालीवासीहरूको जनजीवनमा मस्टोको अथाह अथाह व्यापकता, चञ्चलता र गहिराइका आयामहरूले जीवन जगत् चलाएमान बनाएको छ । त्यसैले हुम्लामा राजाको ऐनभन्दा खोलाको चैन ठूलो, मुखालाको राजा निमुखाको देउता, देवपुरी हुम्लो ब्रहम्पुरी जुम्लो, बाह्रभाइ मैठो घरबारीमा बइतो जस्तो झर्रा लोकोक्तिले सामाजिक जनजीवनमा प्रभावकारी भूमिका खेलेको छ । यसकारण पनि मस्टो कर्नालीको आदिमपरक देवता हो । यो यहाँको देवता मात्रै नभएर एक ज्योतिषी हो । एक लामा हो । एक ज्ञानी हो । एक आम्ची हो । एक वैजी हो । एक डाक्टर हो । एक पुरोहित हो र हो न्यायिककर्ता । यहाँको दैविक इजालस सरकारी अदालतभन्दा प्रगतिशील छ । निडर छ । छिटो छरितो छ । स्मार्ट छ । निमुखाको पक्षमा छ । करीब तीन हजार वर्ष पुरानो यात्रामा छ ।

यसरी भौगोलिक अक्षांस र देशान्तरका रेखाहरूका गतिशील कम्पन कम्पन र धड्कन धड्कनमा मस्टोका गाथा छ, यो वनडालीमा छ, मनडालीमा छ, धनडालीमा छ, तनडालीमा छ र कर्मडालीमा पनि यसको जीवांसमा छ, त्यान्द्रोमा छ, मान्द्रोमा छ, आन्द्रोमा छ र छ यहाँका लहरामा छ, पहरा छ र छ छहरामा पनि । इतिहास छ, भूगोल छ, गणित छ, ज्योतिष छ, हर्षा छ, वर्षा छ, न्होरा छ, बोन छ, री छ, च्छो छ, ल्हा छ, हिन्दु छ, बुद्ध छ, तोन्बा छ, इन्दु छ, अग्नि छ, इन्द्र छ, मरुत् छ, सिन्धु छ, सतलज छ, काङतीेसे छ, गंगा छ, ब्रह्मापुत्र छ र मस्टो छ । यी सबैका अधिपती हुन् हिमालयको अन्तर्गर्भमा बिराजमान हुने शिव । यसैले त कर्नालीको मस्टोका अवतारहरूमा ब्रह्मा, विष्णु र महेश्वरको अंश रहे पनि तीन चौथाई अंश शिव शक्तिको छ । यसैले पनि कर्नालीको मस्टोको मूल कैलास क्षेत्र र यसका आदिम गुरु शिवलाई मानिएकोले पनि शैब सम्प्रदायको एक अंश हो मस्टो ।

जीवनका अवयवहरू झै‌ सिङ, पुच्छर, जीउ, आँखा, कान र नाक हाम्रा यी कर्मेन्द्रीय र ज्ञानेन्द्रीयहरूमा मस्टोको आस्था छ । बाह्रभाइ मस्टो नौदुर्गा भवानी, सोह्रमाला, सोह्रपैकेला, बेताल, झाँक्री, सानभान, सुमैजी, पैकेला, पीत्त र म्वीँया आदि गाथा, कथा र व्यथाको पैत्रिक, मातृक तथा भातृक नातागोता, इस्टमित्र र मीतमीतेरी अनेकौं पारिवारिक मण्डल, मण्डप तथा कुण्डल जस्ता सम्बन्ध रहेका छन् । यसैले पनि दुधभोगी देवताको सम्बन्ध च्छोमाफामसँग र रक्तभोगी देवताको सम्बन्ध च्छोलासँग रहेको छ । जहाँ दुधभोगी देवता हुन्छ । त्यहाँ स्त्री र पुरुष, जोड र घटाऊ, सानो र ठूलो, यता र उता, तल र माथि, एक्स र वाई जस्ता सम्पदारूमा जेलिएको, रुमलिएको र आस्थिएको छ ।

हजारौं वर्ष पुरानो र उन्नत स्याङसुङ सभ्यताको चिनारी ख्युङलुङको राजकीय र भोटको आत्मीय धर्म बोनको प्रतीक सीमाला बनेको छ । यही भूभागमा अवस्थित विश्वको रहस्मय पर्वत, अतिउच्चत्तम् आस्थाको महान सागर काङरिन्पोच्छे, काङतिसे, कैलास, कविलास, माउन्ट कैलास, खाङतिस नै हिन्दु, बौद्ध, जैन र बोन चार धर्मको समेत अलौकिक शक्ति र भक्तिको स्रोत मानिन्छ । यी सबै धर्मको आदि स्रोत भएकोले आर्य, अनार्य, द्रवीड, हुण, तार्तार, तमु, राउटे, जाड र ब्याँसी विभिन्न जातजातिका देवाधिदेव महादेवकै अनेकौं रुपहरूमध्ये रुद्र, मरुत् मारुद्, महाइष्टाय, मस्त हुँदै मस्टो भएको लौकिक कथ्य र शास्त्रीय तथ्य हाम्रा अगाडि दैनिक न्यायको साक्षी सत्य बनेको जीवित स्वरुप धामी हो । यसैले पनि कानमा कुन्डल, घाँटीमा नागको प्रतीक स्वरुप रुद्राक्षको माला, हिउँको पर्याय सेतो बक्खु र लट्ठाको उपमा स्वरुप केश राशीहरू भिरेको दैवीक न्यायको प्रतीक धामीले शदियौं न्याय दिने काम गरेको छ ।

यो खश जातिसँग प्रवाह भएको मस्टो साकार सन्देशभित्रको निराकार देवता हो मस्टो । योे अनेकौं सान्दर्भिक, शाब्दिक र प्रासाङ्गिक नाममा आएका माथि उल्लेखित शब्द बहारहरु मरुत्, मस्टपा, मस्टो, मैठो, मस्त, माइथो र महाइस्टाय आदिको संश्लेषित तथा विश्लेषित रुपमा व्युत्पत्तिमुलक नाम भएको भए छ । यसको सर्वव्यापकता, सर्वशुलभता र सर्वमान्यता नै कर्नाली प्रदेशको साँस्कृतिक गरिमा हो, महिमा हो र अरुणिमा पनि हो । यसैले पनि मस्टोको धरातलमा मस्टोवाद आजको खोजीको नयाँ, नौलो र नबीन विषयवस्तु हो ।

वेद, उपनिषद्, पुराण, संहिता, स्मृति, यात्रा वृतान्त, सनदपत्र आदि विभिन्न ऐतिहासिक प्रमाणको सन्दुसलाई खोलेर चिहाउँदा मस्टो संख्यात्मक गणना कतै १२, कतै २१, कतै ३६, कतै ४९, कतै ७२, कतै ८४, कतै १०० र कतै १२१ र कतै १८१ देखिए पनि मुल संख्या भने १२ लाई आधार मानेर मस्टो पारिवारिक धरातललाई खोजी गर्न आवश्यक देखिन्छ । अनि मात्र मस्टो र मस्टोइतरका देवदेवीहरुको नौला नौला कथ्यहरु र तथ्यहरु पmेला पर्ने छन् तर कसले खोजी गरिदिने यो एक प्रश्नवाचक कुरा रहेको छ ।

यसैले पनि मस्टो कर्नालीको व्यक्ति, ध्वाङ, दग्डा, बाडा, पट्टी, गाउँ, मौजा, दरा, खोला, थपालो, प्रगन्ना, गर्खा, गढी, रजवार, सेरा, कोट, दुर्ग, विषय, थर्पु, रजस्थल, मण्डल र मण्डप आदि स्थाननामको सानो ठूलो भूभागीय वृत्तको आवृत्तीभित्रका डिग्री, गे्रड र रेडियनका चल र अचल, चर र अचर जस्ता साँस्कृतिक, सामाजिक, प्रशासनिक, पुरातात्विक, मानवशास्त्रीय र समाजस्त्रीय क्षेत्रमा नाम, काम र राम सबै व्यक्ति, जाति, स्थान र प्राकृतिक विशेषताहरुसँग अन्तरसम्बन्धित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *