0 2 mths
ममता बज्राचार्य

बर्षको एक पल्ट विदा मनाउने योजना हाम्रो परिवारको बन्छ । कहिले स्वदेश, कहिले विदेश । यही क्रममा जोमसोम, पूनहिल, धान्द्रूक, अन्नपूर्ण बेस क्याम्प पुगियो । अबको पालो रारा थियो । तर त्यही बर्ष महाभुकम्पले सबै योजना सखाप भयो । रारा पुग्ने र त्यसको सुन्दरता नियाल्ने सपना ममा थियो र रहिरहयो । यो साल जसरी पनि रारा जाने भएँ । म जाने भएँ, मसंग को को आउने ? मेसेज पठाएँ सबैलाई । २१ जनाको समूह बन्यो । सानो नानीदेखि लिएर ७४ बर्षको बुवा समेत । प्रायः दशैंको टिका थापेर भोलि पल्ट निस्केजस्तै यस पालि पनि आश्विन १५ गते विहान रारा जान निस्कने भयौं ।

लामो यात्रा, ठुलै समूह । गाडी, होटेल आदिको व्यवस्था आफैले गर्न सम्भव थिएन । ट्राभल एजेन्सीलाई जिम्मा दिइयो । तिन वटा जिपमा तिन दिन लगाएर मुगु जान तयार भयौ । बिहान छ बजे नै गाडि कुरेर बस्यौं । तर….., पहिलो गाँसमा नै ढुंगा परेजस्तो दिमागै खराब । एउटा जिप ब्रिग्रिएर वर्क शपमा थन्किएको र बनाउन समय लाग्ने भएकोले एउटा समूह भोलि मात्र हिड्न सल्लाह दियो ।

एजेन्सीलाई सरापेर आफै एउटा जिपको वन्दोबस्त गर्याैं ।

रारामा डुंगा शयर । तस्वीरः लेखिका

काठमाडौंबाट गाडी गुड्दा एघार बजिसकेको थियो । बेलुकी सुर्खेत पुग्नु थियो तर कोहलपूर पुग्दा नै रातको एक बजिसक्यो । भोक र थकानले हैरान । एकाइस जनालाई कोठा पाउन समस्या भयो, त्यो पनि रातको समयमा । छ बटा कोठामा २१ जना अटायौं । ‘अरु नभएनि सुत्न त पाइयो’ जस्तो भयो । भोलि पल्टको गन्तव्य भयो– मान्म । तराईको सिधा बाटो नेपालकै राम्रो हो कि जस्तो लाग्यो । बर्दिया हँुदै मान्मसम्म पूग्दाको बाटो राम्रो मान्नु पर्छ । भेरी कर्णाली नदी कति स्वच्छ र सफा, मनै रमाउने । वरीपरीको स्वस्थ वातावरण हेर्दा गर्व नै लाग्ने । तेस्रो दिन ८८ कि.मि. गाडिमा चढेर बल्ल मुगु पुग्ने । तेस्रो दिनको यात्रा कठिन थियो कच्ची बाटो दिन भरी जसो गाडीमै बस्नुपर्ने । बाटोमा साना झरना खोला, ती माथि नयाँ बन्दै गरेका पूलहरु थिए । कालिकोटदेखि मान्मसम्ममा साना चिटिक्क छाना छाएका बस्तीहरु, घर माथि घर चाङ पारेकाजस्ता पुराना वस्तीहरु अन्त देखेको थिएन । काठमा आकृतिहरु कूदेका साना पुलहरु, कुनैमा राजा बीरेन्द्र र रानी ऐश्वर्यको जस्तो छवि देखिने कुनैमा अर्कै आकर्षक आकृतिहरु । बाटोमा भीर तल बगेका स्वच्छ खोला, पहाड, हावाको दिशाले गर्दा एकातिर फर्केका रुखहरु कति राम्रो । सानो केटाकेटी हुँदा ड्रइङ बनाउदाको जस्तो चिटिक्क । भीरको डरलाग्दो बाटो भएर राति ७ बजे हामी पूग्यौ, गाडी छाडेर अझै दुई घण्टा हिड्नु थियो ।

बाटो अँध्यारो भइसकेको थियो । आमा बुबालाई उकालोओरालो बाटो हिड्न गाह्रो भयो । पर होटेलको बत्ती देखिन्छ तर जति हिडे पनि नपुग्ने । चन्द्रमाको उज्यालोमा राराको दर्शन भयो । यही समय दिनको भए राराको पहिलो झलक कति राम्रो देखिन्थ्थो । वरिपरिको जंगल कति हराभरा रमाइलो हुन्थ्यो । दिनमै पूग्न सकिएन अफसोच भयो । होटलको बाटो आउँदा रारा निकुन्जका आर्मीले रोकेर आजै मात्र दुई तीन सय मानिस त्यता पुगेको र होटलको व्यवस्था गरेको भएमात्र त्यहाँसम्म जानू, नभए फर्किनू भने । हाम्रो होटेल बूकिङ थियो । बाटोमा वास नपाएर फर्केएकाहरु पनि भेट्यौं । पीर लाग्यो । यति धेरै मानिस आएका रहेछन्, कोठा पाउने हो कि होइन ? एजेन्ट पनि उही त हो । व्यवस्था पनि भरपर्दाे थिएन । आर्मीले बाटोमा भालू लाग्ने र समूहमा बिस्तारै अनि चूपचाप हिड्नु पर्ने भन्यो । अर्को पीर थपियो । बल्ल होटेल पुगियो । मेला लागेझै मानिस थिए । हामी तिन छक्क पयौ । आगो तापी गीत गाउदै रमाइरहेका त्यस्तै दुई सय जति मानिस । हाम्रा लागि चार वटा कोठा राखेको रहेछ, बल्ल ढुक्क भइयो ।
विहान र राति निकै चिसो, दुई डिग्री । तर, दिउसो गर्मी । चिसो र भोकले हामी गल्नुसम्म गलिसकेका थियौ । खासगरी आमा र बुबा । आमालाई आगोको धूंवा र भोकले गाहो भयो सुगर लो भएको शंका भयो । ग्रूपमा डाक्टर पनि हुनुहुन्थ्थो र केही सजिलो भयो । हाम्री डाक्टर बहिनीले त्यहिँ अरु पनि एक दुई बिरामी हेर्न भ्याइन् । त्यहाँ जम्मा दुई वटा साना होटल झण्डै दुई सय मानिसलाई खाना खुवाउँदा रातको बाह« बज्यो । यति धेरै मानिसको व्यवस्था यो भन्दा पहिले गरिएको थिएन कि, होटललाई पनि खाना र बस्न दिन हम्मेहम्मे परेको देखियो । अर्को रात खानाको लागि लाम लाग्दा बेग्लै खालको अनुभूति पनि भयो । भोकले चूर भइसकेकाहरु लाम बस्दै गर्दा तछडमछाड पनि भयो र झण्डै झगडा पनि प¥यो । शरणार्थी शिविर वा यस्तै यस्तै ठाउँहरुकौ दृष्य समाचारमा मात्र देख्थ्यौं यस्ता दृष्यहरु, अब त्यस्तै ठाउँमा पुगेको जस्तो पो अनुभूति भयो । आर्मी आफै अगाडि आएर झगडा मिलाउन र खाना खुवाउन आइपुग्नु प¥यो ।

दशैंमा घुम्ने संस्कार धेरै नेपालीमा बस्न थालेको रहेछ । नेपालीबाहेक अरु नागरिक बिरलै देखियो । कोही आफ्नै गाडि र मोटरसाइकलमा आएका त कोही एजेन्सीमार्फत आएका, सबै नेपाली । रारा पुग्न गाह्रो छ भन्ने सुनेको थिएँ । लामो यात्रा, बेला न कुबेलाको जे जस्तो भएपनि खानुपर्ने खाना र थकान । त्यही रहेछ गाह्रो ।

चौथो दिन बिहानको रारा दर्शन गरियो । दूरसम्म फैलिएकी, जंगलको बिचमा सजिएकी नेपालकै ठूलो ताल रारा । मेरो सपनाकी अप्सरा, कति सङ्लो र स्वच्छ । रारालाई यति नै सङ्लो र स्वच्छ राख्न आउँदा बर्षमा गाह्रो पर्ने देखिन्छ । धेरै पाहुना घुम्न आउने भएपछि वातावरणमा असर पर्छ । आफ्नो ठाउँ आफ्नो घरजस्तो मानेर फोहर जहाँ तहाँ नफाली व्यवस्थित गरे मात्र यस्ता गन्तव्यहरु पछिसम्म घुम्नलायक र राम्रो रहनेछ ।

बर्षौ पछि रहरहरु पूरा गरियो । बोटिङ गर्याैं। फोटो खिच्यौं । ताल वरिपरि घुम्यौं । निख्खर निलो रारालाई घण्टौंसम्म नियाल्यौं । मूरमा पिकसम्म हाइकिङ जान भने समय मिलेन । भोलि पल्ट बिहानै राराबाट हिड्यौ । अघिल्लो दिन रातमा हिडेको जंगल कति राम्रो रहेछ । छिटै फर्किनु परेकोजस्तो भयो । अर्को पल्ट आउदा ‘बाइ एयर’ आउने र ‘मूरमा पिक’मा बसेर रारा नियाल्ने सोच बनाएँ । अब पछिको यात्रा योजना दशैं तिहारको बिदामा भन्दा चैत्र बैशाखको बिचमा बनाउनु पर्ने देखियो । मानिसको हूल र हैरानी धेरै कम हुन्छ त्यति बेला ।

राराबाट फर्किदा जुम्लामा बस्यांै । जुम्ला सोचेको भन्दा धेरै बिकसित पायौं । राम्रो सडक, राम्रा घर, अनि बजार । जुम्लाको स्याउ, रातो चामल, दाल, ओखर आदि कोसेली लियौ । जति गाह्रोसाह्रो भएपनि पहिला आफ्नै देश घुम्नु पर्छ, यही रमाइलो छ । फर्किदा एक दिन पोखरा पनि बस्यौं । अधिल्ला बर्षहरुमा जस्तो फेवा राम्रो लागेन, जथाभावी फोहर गरिँदा फेवाको पानीमा फिंज आएको हरियो, पहेलो थियो । राराको सम्झना आयो । त्यहाँको स्वच्छ पानी र निकुन्जका आर्मीले गरेको संरक्षण राम्रो लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *