0 1 min 2 mths

सारनाथ म्यूजियमको घुमाइले धीत मरेकै थिएन, समय तालिकाअनुसार हिड्नु पर्दा मन नलागी नलागी निस्कनु प¥यो । थकथक लागि रहेको थियो । म्यूजियमको त्यो घुमाई न पहिलो पल्ट हो न त अन्तिम नै बन्ने वाला छ । सारनाथ म्यूजियमबाट बाहिरिनुको कारण थियो, त्यसपछि वनारस सयर गर्ने योजना । वनारस पनि मेरो पहिलो होइन, पहिला पनि मज्जाले घुमिसकेको, घर आगनमा जस्तै । तर पनि किन किन वनारस भनेपछि नजानिंदो पाराले पुलकित हुन्छु, मलाई असाध्यै मन पर्छ । मीरा नायरको ‘वाटर’  र वनारससम्बन्धी अन्य चलचित्र तथा डकुमेन्ट्री हेर्दै गर्दा पनि पटक पटक त्यस्तै पुलकित हुन्छु । सम्झनाका तरंगहरू तरंगिन्छन् । अब फेरि त्यही ठाउँमा जाँदैछु, एक्लै होइन, यस पटक परिवार तथा साथीहरूसँग ।

सारनाथ म्यूजियमको प्रवेशद्वारमैं अटो टेम्पोहरू रोकिएको थियो । वनारस जान मिलायौं । बाटोमा जाँदै गर्दा अटो चालकले सोधे, तपाईहरू कहाँ जानु हुन्छ ? जिस्किन मन लाग्यो र जिस्किएँ, ‘ल, कहाँ जान भनेर ल्याउनु भएको ? कहाँ  जाने हो तपाईलाई नै थाहा छ अब ।’’ अटोवाला बेस्कन हाँस्यो र आफ्नो सोधाइमा संशोधन गरे– कहाँ कहाँ घुम्नु हुन्छ भनेर सोधेको नि ।’’

त्यो दिनको बाँकी पूरै समय वनारसमा नै बिताउने  र सारनाथ फर्कने योजना थियो । सारनाथ फर्कनुको कारण हो, हाम्रो वासस्थान यहीं थियो । अटोवालाले सुझाव दियो, गंगामा बोटिङ गर्नुस्, रमाइलो हुन्छ ।’’

वनारस जाने, बोटिङ नगर्ने ? योजना त पहिल्यै देखिको हो तर बोलें, हेरौंला ।

अटोवाला फेरि बोल्यो, मलाई भन्नुस्, म मिलाइ दिन्छु, सस्तैमा । यहाँ ठग्नेहरूको कम्ती छैनन्, ।’

सोधें ‘‘एक जनाको कतिमा मिलाउछौं ?’’

उसले भन्यो, ‘‘म पचास रूपैयाँमा मिलाइ दिन्छु, ठग्नेहरूले त सय ढेढ सय माग्छ घण्टाको ।’’

हाँसो उठ्यो, तर केही भनिंन, बरु मनमनै भनें– ‘तँ मोरा पनि त कम्तीको ठग होइन नि ।’

पहिला पहिला घण्टाको पाँच रूपैयामा गंगा सयर हुन्थ्यो । अब भाउ त पक्कै बढ्यो तर कति भनेर मात्रै थाहा नभएको । अटो ड्राइभरको सहयोग लिने कुनै सोच नै थिएन । हामी आफ्नो व्यवस्था आफै गछौं भनेर वनारस घाटतिर लाग्यौं ।

जहाँसम्म अटो जान्छ त्यहाँसम्म अटोबाट गई बाँकी हिड्न थाल्यौं । भीड अचाक्ली नै थियो । आइतवार परेको थियो, अरु बेलामा भन्दा यो भीड कम्ती नै हो । हिड्ने बाटो हो कि गुड्ने, खुट्याउन पनि गा¥हो । एउटै बाटोमा हिड्ने पनि गुड्ने पनि । सबैलाई हतार–हतार । हिड्नेहरूले गुड्नेहरूलाई असाध्यै अप्ठ्यारो पार्ने ।  हर्न बजाउँदै एउटाले बाटो पाएर छिचोल्यो भने त्यसको पछाडि अर्को पनि पछाडि पछाडि बाटो बनाएर हुँइकी हाल्ने । एवं प्रकारले हिड्ने र गुड्नेको समन्वय भइरहेको छ । न हिड्नेले गुड्नेलाई गाली गर्छ न गुड्नेले हिड्नेलाई । पहिलाभन्दा ठुल्ठुला  घर बनिसकेका रहेछन्, बन्ने क्रममा पनि छन् । वनारसको बयान र सचित्र पुस्तक मात्रै देखेको छोरा प्रत्यक्ष त्यहीं हिड्दै गर्दा अचम्ममा परेको थियो, नहोस् पनि किन ? आफू पनि अचम्मै भइरहेको थिएँ ।

गल्लीहरू छिचोल्दै घाटहरूसम्म पुग्यौ । घाटको दृष्य सँधै उस्तै हो । राजा हरिश्चन्द यहाँ मुर्दा पोल्न बसेको बेलाको वर्णन जस्तो छ अहिले पनि त्यस्तै । गंगाको किनारमा पुग्दा त्यहाँ पहिल्यै साथीहरू पुगिसकेका रहेछन् । त्यति मात्रै कहाँ हो र ? एउटा डुंगा पनि मिलाइसकेको, हाम्रो समूह मात्रै बस्ने, अरुलाई नराख्ने । पैसा पनि सस्तै । भाग लगाउँदा एक जनाको भागमा १५ रूपैँया मात्रै । डुंगा चढ्यौं । एउटा पत्रिकामा मेरो बारेमा लेखिएको थियो, ¥याफ्टीङ गर्न औधी रमाउने बसन्त डुंगा चढ्न सा¥है डराउँछन् भनेर । फेवातालमा डुंगा खियाउँदा त्यो पत्रिकाको पत्रकार साथी सँगै थियो, र त्यस्तो टिप्पणी गरेका हुन् । लेखिएको कुरा साँच्चै ठिक हो । यस पाली मात्रै होइन, पहिला पनि गंगामा डुंगा चढ्दा डराएको थिएँ । नडराउने अरुलाई हेरेर मन सम्हालेर बसें । कोही चल्यो कि म आँत्तिन्छु । यो मेरो आफ्नै कमजोरी पनि होला ।

एक घन्टा समयको लागि डुंगा मिलाएको थियो । डुंगा बिस्तारै गंगाको बीच तिर लाग्यो र पूर्वतिर फक्र्यो । घाटहरूको चलहपहललाई अलि टाढाबाट हेर्नुको मज्जा अलि बेग्लै हुँदो रहेछ । लहरै उभिएका विभिन्न कालखण्डका मन्दिर घाटहरू हेर्दै गयौं । सानो डुंगामा बसेर एउटा केटा हामीतिर हान्निएर आयो । ऊ आफू मात्रै होइन, थुप्रै पंक्षीहरू प्नि उडाउँदै ल्याइराखेको थियो । झोलामा केही खानेकुरा आकाशमा फाल्थ्यो र पंक्षीहरू त्यो टिपेर खान्थे । पानीमा खसे पनि पंक्षीहरूकै मुखमा । एकै क्षणमा हाम्रो वरिपरि ती पंक्षीहरू उड्न थाल्यो । वास्तवमा पंक्षीहरूको खानेकुरा हामीलाई बेच्न आएको रहेछ, किनेर खुवाओस् भने ।

बनारसस्थित नेपाली मन्दिर । तस्वीरः नेवाःटाइम्स

जाने क्रममा ललिताघाट देखियो । त्यसको माथि नै पर्दछ नेपाली मन्दिर । नेपाली महारानी ललितत्रिपुरासुन्दरीले बनाएको हुनाले घाटको नाम ललिताघाट  रह््यो भने त्यही बेला दुई तल्लाको छाने शैलीको शिव मन्दिर पनि बनाइएको थियो । पशुपति मन्दिर पनि भनिन्छ यसलाई । छुट्टै पहिचान बोकेको यो मन्दिरमा दिनहुँ पूजापाठ पनि हुन्छ । त्यससंगै नै एउटा धर्मशाला पनि रहेको छ । त्यहाँ रानी त्रिपुरासुन्दरीको मूर्ति पनि स्थापना गरिएको छ भनिन्छ तर अहिलेसम्म देख्न पाएको छैन । हामी साथीमध्ये धेरैलाई थाहा नै रहेनछ कि त्यहाँ नेपाली मन्दिर पनि छ भन्ने । नेपाली मन्दिर भनेर देखाउँदा कतिले पत्याएनन् पनि । हाम्रो समूहमा धेरै जसो काठमाडौं उपत्यकाकाहरू नै बढी, यस्तो शैलीको मन्दिर त काठमाडौंमा जताततै देखिन्छन्, स्वाभाविक नै लाग्छन्, साथीहरूले त्यही अनुरूप त्यहाँ पनि स्वाभाविक मानेका हुन सक्छन् र बनारसमा नेपाली महारानीले बनाएको, नेपालकै स्वामित्वमा रहेको कुरालाई पत्याउन गा¥हो नै माने ।

मणिकर्णिका घाटमा थुप्रै शब दाह गरिंदै थियो । धुँवा पनि  मन्डराइरहेको थियो । यहाँ आएर मर्न पाए र अन्तिम संस्कार पनि यहीं गर्न पाए मोक्ष प्राप्त हुने हिन्दू मान्यता वा विश्वास अनुसार जीवनको उत्तराद्र्धमा काशीवास गर्न आउनेहरू थुप्रै हुन्छन् । यहाँ यस्ता मात्रै नभएर वरिपरि नजिक गाउँ सहरमा मृत्यु भएकाहरूको अन्तिम दाहसंस्कार गर्न यहीं ल्याएर गरिन्छन् । मरणासन्न अवस्थामा ल्याइएकाहरू घिटघिट  भइरहेको, अन्तिम श्वास फेर्दै गरेको, औपचारिक पूजासंगै दागबत्ती र दागबत्तीपछि मूढा बाले जसरी मृत शरीर जलाइन्छ । ती दृष्यहरू चुपचाप हेर्दै गर्दा वैराग्यता उत्पन्न हुन्छ । उहिले उहिले त ती दृष्यहरूको नजिकबाटै फोटो खिच्न दिइन्थ्यो तर अहिले भने डुंगाबाट पनि खिच्न नपाइने रहेछ ।  कथंकदाचित फोटो खिचेको देख्यो कि तुरुन्तै डुंगा चढेर आई क्यामेरा खोस्ने हुँदा फोटो नखिच्न बारम्बार हाम्रा डुंगा चालकहरूले चेतावनी दिंदै रहे । तसर्थ घाटतिर क्यामेरा सोझ्याउन पनि नपाइने ।

केही पर पुगेपछि डुंगा फर्काउन थाले । घाट र मन्दिरको लहर त बाँकी नै थियो । भनें, राजघाटतिर जाउँ न । राजघाट तिर जान एक घन्टाको समयले नपुग्ने रहेछ । गंगाको बीचमा आलटाल गर्दै समय बिताइदिने र थप पैसा माग्ने कुरामा पनि म सचेत थिएँ । उनीहरूले भनेको थिए, राजघाट जाने भए समय थप्न । पर्दैन भन्यौं । त्यस्तै मान्छे प¥यो भने खल्तीको पैसा रित्याइ दिन्छन् भन्ने त यहाँ कहावत नै छ । हामीलाई डुंगा शयर मात्रै गर्नु थिएन, बजार घुम्नु पनि थियो । किनमेल गर्नु पनि थियो । एकघन्टा भित्र फर्काइदिन भन्यौं र फर्कायो पनि ।

विश्वासको कुरा हो, त्यहाँ पुगेपछि आफ्ना मृतकहरूको नाममा बत्ती बालेर गंगामा बगाउनेहरू पनि उत्तिकै छन् । हाम्रै समूहले पनि गरे । गंगााको पानी पवित्र हुन्छ, जलको रूपमा घरमा लानु पर्छ भनेर डुंगा चढ्दा चढ्दै थुप्रैले तन्किएर बोतल भरे । कसैले तन्किएर गंगाको पानी भर्न भ्याए भने कतिले सकेनन् । यस्तै रीतिरिवाजमा केही बेर अलमलियौं पनि ।

एक दिनमा घुमेर सकिने वनारस कहाँ हो र ? यो बेला धेरै हेर्ने वा घुम्ने आकांक्षा पनि थिएन । यतिसम्म कि, विश्वनाथ मन्दिर पनि पुगिनँ । डुंगा सयर पछि किनमेलमा सबैको ध्यान गयो । सबैको  ध्यान साडी किन्ने थियो तर आइतवारको प्रभाव त्यहाँ पनि प¥यो । कतिले किने, कत्तिले हेरे मात्रै । केही पुस्तक किन्ने धोको थियो, पूस्तक पसलहरू त झन् ठ्याम्मै बन्द । एक ठाउँमा एउटा सानो स्टेशनरी पसल देखें, बच्चाहरूको खेलौना र स्कूल कितावहरू भmुन्ड्याइराखेको । इतिहासको किताव पाइन्छ ? एउटा युवक भित्र गयो र भारतीय इतिहास सम्बन्धी एउटा पुस्तक लिएर आयो । यस्तै खालको अरु पनि ल्याउ भने, भित्र खोतलखातल  पारेर ल्याए । अरु पनि ल्याउनु भनें, ल्याए । त्यो पसलमा नबिक्ने भएर भित्रै थन्क्याएको होला तर मेरा लागि त्यो गतिलो किनमेल हो ।

फर्कने बेलासम्ममा अँध्यारो भइसकेको थियो । एउटा अटो लिएर सारनाथतिर सोझियौं । तर एक ठाउँमा पुगेपछि ट्राफिक जाम भएर रोकिनु प¥यो । बाहिर निस्केर यस्सो हेरेको त हेरिनसक्नु  जाम, पछाडि पनि उस्तै भइसकेको । पर्खेर बस्नु बाहेक अर्को उपाय रहेन । झण्डै एक घण्टापछि ड्राइभरले एउटा बाटो लियो । अलि अगाडि बढेपछि थाहा भयो, अगाडि बाटो बन्दै गरेको छ, बाटो बन्द । ठुल्ठुला बत्ती  बालेर भए पनि रातोदिन काम गरिहरेको थियो । कहिं बाटो बन्द, कहीं जाम । बाटो खोज्दै, फर्कदै र अगाडि बढ्दै गर्दा कहाँ पुग्यो कहाँ भन्न पनि नसकिने अवस्थामा प¥यौं । सहरलाई नयाँ रूप दिन त्यहाँ धेरै कुरा भत्काइँदै रहेछ । भित्रभित्रै छिर्दै गर्दा बत्ती नै नभएको वा भएर पनि लोड सेडिङको समयमा परेर हो, ठम्याउन सकिनँ । अटोवाला बडो मेहनतले अगाडि बढ्दै हो वा पछि फर्कदै भनेर पनि बुझ्न सकेनौं । कता लग्यो लग्यो । घरिघरि सोध्दै गरें । उसले सोध्यो– कहाँ जाने ? सारनाथमा पुगिसकेको रहेछ । चाइनिज टेम्पलमा पु¥याइदिन भनें तर उसलाई चाइनिज टेम्पल थाहा रहेनछ । सारनाथको मूलबाटो ड्राइभरले पु¥याएपछि ढुक्क भयौं र चाइनिज टेम्पल उसलाई चिनायौं ।

चाइनिज टेम्पलमा पुगेपछि सकुशल आइपुगेको महसुस भयो । भाडा तिर्ने बेलामा अटोवालासँग जिस्किन मन लाग्यो र भनें– तिमीलाई बाटो देखाउने हामीले, हामीले नै पैसा तिर्ने ? बरु तिमीले पो हामीलाई तिर्न पर्ने । केटो सोझो रहेछ, हाँस्यो मात्रै । बडो मेहनत गरेर ल्याइपु¥याएको हुँदा थप पैसा माग्ला र दिनु पर्ला भन्ने सोचाइ पहिलै बनाइसकेको थिएँ । काठमाडौंमा त यस्तो बेलामा नै हो बढीभन्दा बढी पैसा अँठ्याउँने । अटो चढ्ने बेलामा जति मोल गरिएको थियो, त्यत्तिकै पैसा लियो र ऊ गयो ।

लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *