1 1 min 2 mths

अधिवक्ता विष्णु वस्याल विगत २७ वर्षदेखि कानुन र न्यायको क्षेत्रका लगातार काम गर्दे आउनु भएको छ । विशेष गरी महिला र मानव अधिकारको क्षेत्रमा उहाँ लामो समयदेखि कार्यरत हुनुहुन्छ । उहाँको थुप्रै कानुनसम्वन्धी लेखहरु पनि जर्नल तथा पत्रपत्रिकामा प्रकाशित छन् । अधिवक्ता विष्णु वस्याल त्रिभुवन विश्वविद्धयालय, नेपाल ल क्यापसमा उपप्राध्यापक समेत हुनुहुन्छ । उहाँले नेवाः टाइम्समार्फत विभिन्न कानुनी समस्या तथा जिज्ञासामा कानुनी परामर्श दिंदै हुनुहुन्छ । -सम्पादक

घरेलु हिंसा भनेको के हो ?

घरेलु सम्बन्ध भएको एक ब्यक्तिले अर्को ब्यक्तिलाई दिने शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातनालाई घरेलु हिंसा भनिन्छ ।

घरेलु सम्वन्ध भन्नाले कस्तो सम्वन्धलाई भन्न खोजिएको हो ?

घरेलु सम्वन्ध भनेको बंशज, विवाह, धर्मपुत्र धर्मपुत्री भएको, संयुक्त परिवार, आश्रित, कामदारको रुपमा एकै परिवारमा बसेका ब्यक्ति, संगै वसेका जोडि, अंश लिई वा नलिई भिन्न बसेका पति वा पत्नीबीच भएको सम्वन्धलाई घरेलु सम्वन्ध भनेर भन्न खोजिएको हो ।

घरेलु हिंसा भनेको त पति र पत्नी विच भएको हिंसा होइन र ?

घरेलु हिंसा भनेको पति र पत्नी भित्र भएको हिंसा मात्र होइन । घरेलु हिंसा त वावु छोरा, आमा छोरा, दिदि बहिनी, दिदी दाजु, दाजु भाई, ससुरा बुहारी, सासु बुहारी, विवाह नगरि संगै वसेका अविवाहित जोडी, घरमा घरायसी काम गर्न सहयोगीको रुपमा बसेको कुनै पनि ब्यक्ति , एका सगोलको परिवारमा बसेका परिवारका अन्य सदस्य काका काकी, फुपु भदा आदि सबै पर्दछ । घरेलु हिंसा परिवारका जुनसुकै सदस्यबीच हुने हिंसा हो । तर समाजमा परिवारका सदस्यमा महिलाहरू माथि बढि हिंसा हुने भएको हुनाले घरेलु हिंसालाई महिलाविरुद्ध हुने हिंसा भनिएको हो ।

शारीरिक र मानसिक हिंसा भन्नेको कस्तो हिंसा हो  ?

कुटपिट गर्ने, गैर कानुनी थुनामा राख्ने, शारीरिक चोट पुर्‍याउन तेजाव वा यस्तै प्रकारका अन्य पदार्थ पोली, डामी, दली, घसी, जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरुप पारिदिने वा यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्यलाई शारीरिक हिंसा भनिन्छ ।

मानसिक हिंसा भन्नाले शारीरिक यातनाको डरधाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गाली गलौज गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, वैचारिक, धार्मिक वा साँस्कृतिक तथा प्रथा परम्पराका आधारमा गरिने भेदभाव गर्ने, रुप रंग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्ने, मानसिक सन्तुलन गुमाउने आत्महत्या गर्न दुरुत्साहन दिने वा आत्महत्या गर्न परिस्थिति खडा गर्नेसम्म र सो शब्दले मानसिक वा भावनात्मक चोट पुग्न सक्ने वा अन्य कुनै कार्यलाई मानसिक हिंसा भनिन्छ ।

अंश नदिने, खान लाउन नदिने, रोजगारीको गर्न नदिने हिंसा कस्तो हिंसा भित्र पर्दछ ?

यस्ता अंश नदिने, खान लाउन नदिनेजस्ता हिंसालाई  आर्थिक हिंसा भनेर भनिन्छ । यस हिंसा भित्र सगोल वा नीजि सम्पतिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्राेत साधन पहुँच वा प्रयोगमा बञ्चित गर्ने कार्य सम्झनु पर्दछ । सो शव्दले महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउन दवाव दिने वा दाइजो नल्याएको कारणबाट घृणा, हेला वा तिरस्कार समेतलाई जनाउँछ ।

घरेलु हिंसाको उजुरी कहाँ र कति दिन भित्र दिन सकिन्छ ?

यदि तपाईँमाथि कुनै घरेलु हिंसा भएको छ भने तपाई वसोवास गरेको स्थानको सवैभन्दा नजिकको प्रहरी कार्यालय, स्थानिय निकाय (नगरपालिका वा गाउँ पालिका), राष्ट्रिय महिला आयोग र अदालत जहाँ तपाँईलाई उजुरी दिन सजिलो हुन्छ, त्यहीँ दिनु पर्दछ ।  घरेलु हिंसा भएको ९० दिन भित्र उजुरी दिनु पर्दछ ।

घरेलु हिंसाबाट पीडित भएको व्यक्ति कानूनले कस्तो अधिकारहरु उपलव्ध गराएको छ ?

घरेलु हिंसाबाट यदि कुनै व्यक्ति पीडित भएर, यदि पीडितले आफनो मुद्दा लड्नको लागि कानुन व्यव्सायी राख्न नसकेमा त्यस्ता पीडितको लागि राज्यले निःशुल्क कानुनी सहायता प्रदान गर्नेछ । यस्तै, पीडितले चाहेमा निजको मुद्दाको सुनुवाईमा (बन्द इजलासमा) पक्षले चाहेको व्यक्ति मात्र इजलासमा प्रवेश गर्न पाउँछ । पीडितको औषधि उपचारमा लाग्ने सम्पूर्ण खर्च पीडकले व्यहोर्नु पर्दछ ।

घरेलु हिंसाबाट पीडितभएका पीडितले कसवाट क्षतिपूर्ति पाउँदछन् ?

पीडित व्यक्तिलाई घरेलु हिंसाको प्रकृति, मात्रा, पीडितलाई पुगेको पीडा र पीडक तथा पीडितको आर्थिक तथा सामाजिक हैसियतलाई समेत विचार गरी अदालतले पीडकबाट मनासिव माफिकको क्षतिपूर्ति दिलाईदिन्छ ।

घरेलु हिंसामा पीडकलाई कति सजायँ हुन्छ ?

कसैले घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई रू.३ हजारदेखि रू. २५ हजारसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजायँ हुन सक्दछ । तेजाव वा अन्य कुनै पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराई वा अनुहार कुरुप गरेमा प्रचलिन कानुन वमोजम हुन्छ ।

घरेलु हिंसाको उद्योग गरेमाः घरेलु हिंसाको उद्योग, दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसुरदारलाई हुने सजायँको आधा सजायँ हुन्छ ।

पटके पीडकको हकमाः एकपटक घरेलु हिंसाको कसुरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर गरेमा पटकै पिच्छे दोब्बर सजायँ हुन्छ ।

सार्वजनिक पदमा कार्यरत व्यक्तिले हिंसा गरेमाः सार्वजनिक जवाफदेहीको पदमा वहाल रहेको कुनै व्यक्तिले आफनो पत्नी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालक वा गर्भवती महिलाविरुद्ध यस ऐन बमोजिम कसुर गरेमा निजलाई थप १० प्रतिशत सजायँ हुन्छ ।

One thought on “तपाईं घरेलु हिंसाबाट पीडित हुनुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *