0 1 min 2 mths

राणा शासन कालको बन्द समाजमा पनि महिलाले पढ्न र मतदानको अधिकार पाउनु पर्छ भनेर नागरिक आन्दोलनमा सकृय सहभागी भई महिलालाई पढ्न व्यवस्था मिलाउन सफल राजनीतिक नेतृ साहना प्रधान महिलाको समान हक र स्वतन्त्रताका लागि निरन्तर रुपमा लागिन्, आफ्नो शरीरले भ्याएसम्म । राणाकालदेखि गणतन्त्रको नेपालसम्म पनि राजनीतिमा सक्रिय सहभागिता रहेपनि पछिल्लो समय विरामी भएर थलिए पछि भने उनको राजनीतिक जीवनमा ब्रेक लाग्यो। राजनीतिमैं जीवन व्यतित गर्ने राजनीतिक नेतृ हुन्, सहाना ।

२००४ सालमा तत्कालीन राणा शासक पद्म शमशेरको विरोधमा लागेको आरोपमा १५ दिन हिरासतमा परेकी सहाना प्रधान नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट अध्यक्ष भई राष्ट्रिय स्तरको पार्टीको अध्यक्ष हुने प्रथम महिलाको कोटीमा पर्छिन् ।

नेपालमा जन्मेर बर्मामा हुर्किएकी उनी बर्मा नपुगेको भए यो स्थितिमा आफू नपुग्ने सहानाको अनुभव थियो । बर्मामा आप्रवासी जीवन बिताउने धेरै नेपालीहरुमध्ये उनको परिवार पनि थियो । व्यापार व्यवसायका लागि बर्मा गएको उनको परिवार बर्मामै हुँदा दोस्रो विश्वयुद्ध भएको थियो । दोस्रो विश्वयुद्धलाई सहानाले प्रत्यक्ष देखेकी थिइन्, भोगेकी थिइन् । युद्धका क्रममा धेरै नेपालीहरु स्वदेश फर्के । सोही समयमा उनको परिवार पनि अढाई महिना हिंडेर नेपाल आईपुग्यो । युद्धको विभत्स दृश्यहरु हेर्दै, विभिन्न समस्यासँग जुझ्दै उनी काठमाडौं आइन्, बुबा, दिदी र अन्य परिवारजनसँग ।

नेपाल फर्केर आफ्नो बुबाको पुख्र्यौली घर असनमा बस्न थालेकी सहाना र दिदी साधनालाई छोरी मानिसले पढ्नु हुँदैन भनेर विद्यालय समेत पठाएनन्, उनीहरुको शिक्षाको विजारोपण बर्मामैं भइसकेकोले शिक्षाप्रतिको चाह निरन्तर थियो । चार वर्षसम्म स्कूल जानबाट वञ्चित भए पनि खाने मुखलाई जुंगाले छेक्दैन भने झैं उनीहरुले किताबलाई सुकुलमुनि लुकाएर  हुन्छ कि समय मिलाएर बाहिर पढ्न गएर हुन्छ, पढेरै छाडे । पछिल्लो समय त अध्ययनको लागि परिवारको सहयोगमा भारत समेत पुगिन् ।

तत्कालीन समयमा महिलाप्रति गरिने विभेदपूणर् व्यवहार तथा सामाजिक सोंचका विरुद्ध विस्तारै विद्रोहको भावना उनमा जाग्यो । देशमा प्रजातन्त्र ल्याउनुपर्ने धारणा दिमागमा बस्न थालेपछि उनी सकृय रुपमा राजनीतिमा लाग्न थालिन् । परिणामस्वरुप २००४ सालमा भएको सत्याग्रहमा उनको सक्रिय सहभागिता रहेको थियो ।

सहानाका साथै तत्कालीन अवस्थामा सक्रिय साधना, स्नेहलता, कामाक्षादेवी, श्रीमाया, कनकलता, जस्ता जुझारु महिलाले शिक्षाका लागि गरेको आन्दोलनले महिलालाई पठन पाठन गराउन दरबार हाई स्कूलमा बिहानको समयमा व्यवस्था गर्न राणा साशकहरु बाध्य भए । राजनीतिमा महिला सहभागितालाई व्यापक रुपमा बढाउनु पर्ने मान्यता राख्ने उनी जबसम्म राजनीतिमा महिलाको संख्या बढ्न सक्तैन तबसम्म नीति निणर्य तहमा उनीहरुको पहुँच कमै मात्र रहन्छ भन्ने विचार राख्थिन् ।

विद्रोही, भावुक, सहज स्वभावकी साहना प्रधानले एक दशक भन्दा बढी समयसम्म काठमाडौंंको पद्म कन्या कलेजमा २०१९ सालदेखि २०३० सालसम्म प्राध्यापन पनि गर्दै परिवारलाई धान्ने, राजनीतिक श्रीमान पुष्पलाललाई सहयोग गर्नुका साथै राजनीतिक पार्टीका विभिन्न कार्यक्रममा सहभागी  हुने काम गरिन् । यसै गरी २००७ सालदेखि २०१२ सालसम्म कन्या मन्दिर र सीताराम हाई स्कूलमा अध्यापन गरिन् भने २०१३ देखि २०१८ सम्म प्राथमिक शिक्षक प्रशिक्षणमा प्रशिक्षकको रुपमा रहिन् ।

यस्तै २०३० पछि त्रिभुवन विश्व विद्यालयमा प्रध्यापनको कार्य गर्दै आएकी सहानालाई २०३२ सालमा विद्यार्थी आन्दोलनलाई सहयोग गरेको आरोप लगाएर त्रिविविको प्राध्यापन पेशाबाट हटाइयोे । भने उता (भारतमा) रहेका श्रीमान पुष्पलालको अस्वस्थताले गर्दा उनको पीएचडी गर्ने धोको पुरा हुन पाएन ।

पति पुष्पलाल श्रेष्ठको सँगतले उनलाई समाजवादी नारी आन्दोलनका पक्षमा वकालत गर्न थप प्रेरणा मिलेको थियो । आन्दोलनका क्रममा थुप्रै महिलापुरुष सँगसंगै लाग्दा महिला पुरुष समान हो भन्ने भावनाको विकास पनि त्यहि बेला भएको थियो । यति मात्र होइन, उनको जीवनको महत्वपूणर् व्यक्तित्व मध्ये हजुर आमा (सानु नानी) पनि एक थिइन् । हजुरआमाबाट सुनेको लोरी (बालगीत) बाटै उनमा पढ्ने भावना जागेको थियो । घर र समाजमा कसैले छोरी मान्छे भएर पढ्न जान लाज लाग्दैन ? पात गाँसेर, बत्ती काँतेर पो बस्तु पर्छ भन्दा त्यसको जवाफमा उनको हजुरआमाले उनीहरुलाई पातगाँसेर, बत्ती कातेर बस्नु पर्दैन, उनीहरुकै पढाइले पुग्छ भन्ने जवाफ दिएको उनको सम्झनामा सदा रह्यो ।  हजुरआमाको त्यो प्रोत्साहनयुक्त विचारबाट महिलाले पनि पुरुष सरह समान अवसर पाउनुपर्छ भन्ने चेतना उनमा आएको थियो ।

राणा शासनपछि महिला नेतृ कामाक्षा देवीको नेतृत्वमा गठित अखिल नेपाल महिला संघमा उनी पनि सामेल थिइन् । तत्कालीन अवस्थामा महिला संघ विभक्त भएर मंगलादेवी खेमामा महिला संघ नै रह्यो भने अखिलन नेपाल महिला संघको नेतृत्व कामाक्षाले गरेकी थिइन् । पुष्पलाल श्रेष्ठको देहान्त पछि उनी नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष बनिन् । पछि नेकपा (साहना प्रधान) र नेकपा (मनमोहन) एकिकरण भई एकिकृत माक्र्सवाद बन्यो । त्यसपछि नेकपा (माक्र्सवादी) र नेकपा (माले) एकीकरण भई आजको नेकपा (एमाले) अस्तित्वमा आएको हो ।

सहाना एमाले समर्थित अखिल नेपाल महिला संघको अध्यक्ष पनि बनिन् । २००९ सालमा सल्लाहकार सभाको विरोध गर्दा उनी चारमहिना जेलमा थुनिइन् । यतिमात्र होइन उनले आफ्नो राजनीतिक जीवनको क्रममा २०३६ सालमा पञ्चायत विरुद्ध पनि प्रचार प्रसार गर्न पछि परिनन् । त्यस बेला पनि उनी धेरै पटक जेल परिन् । २०४६ सालको जन आन्दोलनमा आठ वटा वामपन्थी पार्टीहरुको संयुक्त मोर्चाको अध्यक्ष पनि उनी नै थिइन् र प्रजातन्त्र पुनस्र्थापनापश्चात् गठित अन्तरिम मन्त्री मण्डलमा प्रधानमन्त्री पछिको दोश्रो स्थानमा उनी उद्योग तथा वाणिज्य मन्त्री भइन् ।

प्रजातन्त्र पुनस्र्थापना पछिको पहिलो आमचुनावमा उनी नेपाल भरमै सबैभन्दा बढी मत प्राप्त गरी काठमाडौंं क्षेत्र नं. ४ बाट निर्वाचित भइन् भने त्यसपछिको आम चुनावमा पनि उनी विजयी भइन् । नेकपा एमालेको नेपालगञ्जमा सम्पन्न छैठौं अधिवेशनको समयमा पार्टी फुटेपछि उनी नेकपा मालेको अध्यक्ष भइन् । तर पार्टी एकतापछि उनी नेकपा एमालेको स्थायी समितिको एक बरिष्ठ सदस्य छिन् ।

उनले नारी मुक्ति र राजनीतिमा महिला सहभागिता बढाउनको निम्ति आफ्नो पार्टीभित्र निरन्तर रुपमा आवाज उठाइरहिन् । हुन त उनी नेपाली महिला मध्ये शीर्ष स्थानमा पुग्ने नेतृ हुन् तर उनी आफूलाई महिला नेतृ भन्दा पनि एक राजनीतिक नेतृ भन्न नै रुचाउँथिन् ।

नेपालको बामपन्थी तथा लोकतान्त्रिक आन्दोलनकी अग्रणी स्व. सहाना प्रधानको आज ९४औं जन्मजयन्ती दिवस हो । महिला सुरक्षा दवाब समूहद्वारा आयोजित एक कार्यक्रममा उनका छोरा उमेश लाल श्रेष्ठले आज गुनासो गरे- तपाईहरुको लागि उहाँ सहना प्रधान होला, मेरी त आमा हुनुहु्न्थ्यो । आमाको स्वाभाव फरक खालको राजनीति गर्ने थियाे । देशकाे लागि जति ठूलो संघर्ष गरे पनि पार्टीले न आमा सहानालाई सम्झ्यो, न बुबा पुष्पलाललाई सम्झ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *