0 1 min 2 mths
देवी काफ्ले

पुस महिनाको ठिहिरो जाडो।बाहिर जाडो र मनमा अनेक कल्पनाले उखरमाउलो गर्मी भएको थियो । म काठमाडौ थिएँ, बैनीहरु दाङ।उनीहरु उताबाट अाउने म काठमाडौबाट जाने, नारायणगढलाई भेट्ने प्वाइन्ट बनाइयो । हुन त म पोखरा नगएको नघुमेको थिईन तर पनि यो घुमाई विशेष हुनेवाला थियो ।

हिड्ने बेला फोन गरें अनिता र प्रतीक्षा दुबैजना दाङबाट हिंडिसकेका रहेछन् । म पनि बाटो लाग्ने तरखरमा थिएं अनिताको फोन अायो दिदी मिल्छ भने पोखरा नै जाने भनेर।मैले पनि अोके गरिहालें। म सिधै पोखरा पुगें । बैनीहरु राति दमौली बसे। भोलिपल्ट बिहान भिनाजु सहित दमौलीबाट उनीहरुलाइ अमरसिंह चोकमा भेटेपछि पहिलो गन्तव्य बन्यो बिन्दबासिनी मन्दिर । मेरो एउटा अचम्मको बानी मन्दिरभित्र पसेपछि देवतासंग वर माग्नै बिर्सन्छु । अनि मन्दिरमा देवताको मुर्ति अगाडि पैसा चढाउंदिन । यसकाे कारणा हाे, भगवानलाई पांच रुपियां घुस दियर मैले सट्टामा कति मांगु? के मागु? बैनी अनिताले मन प्रफुल्ल हुने गरी पुजा गरिन् । हामीले ढोगेर निस्क्यौं।

फेवातालमा डुंगा शयर । तस्वीरः नेवाःटाइम्स

दुईदिन पोखरा, भानु र बन्दिपुर घुमिसकेपछि अबको गन्तव्य थियो जनकपुर।मैले बन्दिपुर र भानुमा भयका अबिष्मरणीय घटना अर्को नियात्रामा लेख्ने छु। अहिले जाउं जनकपुरतिर ।

पोखरा छंदै भरत भिनाजुलाई भनेर जनकपुर जाने निर्णय गर्याैं । हामी दमौलीबाट चढ्ने निधो भयो।उत्सुकता अति नै थियो।दमौली भरत भिनाजुको क्वार्टरमा खाना खाएर राती साढे अाठ/नौ बजे पोखराबाट छुटेको जनकपुर रात्रीबसमा चढ्यौं। प्यासेन्जर खासै थियनन्। हाम्रो लागि अगाडि 2, 3, 4 नं सिट थियो।हामी तीन जना एकजना सिंगल नै बस्नुपर्यो।अनिता र प्रतीक्षा पछिल्लोमा म अघिल्लो सिटमा बस्यौं। संयोगबस मेरो साइडको सिट बुक नभयको रहेछ।

गाडिले अाफ्नो रफ्तार लियो । बाहिर हेरौं चकान्न अँध्यारो रात केही देखिन्न । निद्रा लाग्दैन। त्यसैबेला पछाडि एकजना प्यासेन्जरले ठुस्ठुस्ती रौसीको स्वाद मिसिएको सास फाल्दै सोधे तपाईंहरु कहाँ जान्छौ?

नबोल्न खोजेको, पटक्कै भएन । अनि मैले पनि प्याच्च भने दुई नं प्रदेश ।अनेक प्रश्न बर्षाउन थाले ती महाशयले। हामी पनि के कम तीन जना थियौं जवाफ दिईरह्यौं। नारायणगढ अाईपुगेर एकहुल प्यासेन्जर चढे सिट खाली देखेर ढसमसिदै बस्न अाउदै थिय । मैले खाली हैन मान्छे छ भनें। कण्डक्टरले पिर्लिक्क खाउंला जसरी मेरो मुखमा हेरका थिए । मैले पनि हांसेर दिदिबैनीलाई अप्ठेरो पार्छौ भाइ ह्या पछाडि बसिहाल्छन् नि भने पछि अब बसमै प्यासेन्जर नचढाउं कि दिदी भन्दै रिस मिसियको मीठो बोलिले झटारो हाने। दुईजना प्रदेश एकका, चारपाँच जना प्रदेश पांच र अरु सबै प्रदेश दुईका थिए । समय कटाउन डाटा लिंदा सबै हांसेर बसमा एककिसिमको रमाइलो वातावरण भएको थियो।

निद्रा लागेकै थिएन अाफ्नो साईडको सिट बचाउन हम्मे हम्मे पर्यो। उपाय खोज्न कान्छू भने मैले। अनिता र प्रतीक्षा दिदी छट्पटिइन अब भन्दै मारी हांसी राखेका। पछाडि फर्केर केटीहरुलाई गाली गर्छु भनेर टाउको के घुमाएकी थिएं महिला सिट लेखेको सिटमा त गजधुम्म परेर कुर्ता, मोदीकोट लगाएका एकजना अाठ नं प्रदेशका ब्यक्तित्व ढसक्क बसेका। मैले भने अरे यह तो महिला सिट हे क्यो बैठल्छे अाप? मैथिली बोल्छु भनेको झ्याप्प हिन्दी नै अगाडि अाएछ। अनि मेरा बथान बोल्न थाले- यता महिला भुईंमा बसिराछन् महिलासिटमा छोरामान्छे बैठल्छे। अनि त्यो मान्छेलाई रिस उठेछ क्यारे ए मलाइ बिहारी भन्ने? नागरिकता दिखाईदिम्? हामी नेपाली छे भनेर बम्कन थालिहाले। भनाभन हुँदाहुदै झगडै हुन्छ कि ? डर पनि लाग्यो । फेरि प्रतिक्षाले दिदी साईडको सिटमा अाउला के ! हो त दिदी माहोल शान्त पार्नुस नत्र संगैको सिटमा बेहोर्नु पर्ला!

तत्कालै जुक्ति निकाली हालें। अरे भाईसाब अाठ नं प्रदेश भनेको बिहार कहाँ हुनु  नि त्यो हामीले वडा नं पो भनेको नि। हामी पांच वडाका अाप हमार संधियारे अाठ नं वडाका । हम वडाको प्रदेश बोलछे भनें। बुझलछे? अो अो ऐसन बोलो ना !वो तो ठिक है भनिहाले।ढल्केवर कट्यो। अब निद्रा लाग्न थाल्यो। कण्डक्टरलाई कति बजे पुगिन्छ भनेर सोधेको चार बजे भन्यो। ए ठिकै होला भनेर निदाउने कोशिसमा थियौं।

ल बसपार्क अाईपुग्यो। ल ल अोर्लनुस। कण्डक्टरको तीखो अावाजले झसङ्ग बिउंझिएँ । बाहिर हेर्दा त चकमन्न अँध्यारो छ। अनिताले ला बल्ल तीन बजेको छ अब कहाँ बस्ने? भनिन्। गाडीको कण्डक्टर भाईलाई फेरि मस्का लाउनु पर्यो। हेर भाइ हामी नयाँ हो यहाँ केही थाहा छैन यतिबेला यस्तो चिसो, डम्माडम्मी कुइरो छ अब दिदीहरुलाई बस्ने बन्दोबस्त नगरी तिमी उम्कन पाउदैनौं भनेर उसको पिछा लाग्यौं।

बसपार्क नजिकैको होटलमा गयौं।कण्डक्टर भाइ अब हाम्रो भाइ बनेको थियो। उसले पनि दिदीहरुलाई बस्ने ब्यावस्था गरेरै छाड्छु भनेर होटलको गेट हल्लायो, फोन गर्यो तर उठेनन्।फेरि चिच्याउनु सिवाय उपाय थियन। मजाले चेनल गेट हर्ल्याङहुर्लुङ हल्लाईदियम्। बल्ल उठेर कौन हो भन्दै १८/२० बर्षको केटा अायो, बेसरी मुख च्यात्दै।

बिचराको निद्रा खलबलियछ क्यारे। जाडो उस्तै। कोठा छैन भनेर कनकन गरिराथ्यो । निकै करजोर गरेपछि एउटा सानो कोठा छ दुई बेडको भन्यो। उसले अोके नभन्दै हामी हुन्छहुन्छ भन्दै गेटबाट छिरिहाल्यौ।

हामीलाई जसरी पनि जाडो छल्नु र उज्यालो हुदासम्मको अाश्रय चाहिएको। केटाले कपालका लट्टा मिलाउदै भन्यो, रुम त छ तर अोढ्ने छैन। दिमाग खुब फास्ट चल्यो त्यै केटाहरु सिंढीमुनि सुतेको रहेछ। त्यहा रातो ब्ल्याङ्केट देखिहालें । अनि मैले पनि अोके अाेके भन्दै ब्ल्याङ्केट तानेर सिढी चढियो।

कोठा देखाए पछि भाईले ल अब म जान्छु दिदी बिहान उठेर मन्दिर जानुहोला भन्दै मिठोसंग बिदाई भयो। लट्टे चाहिँ अब हम का अोढल्छी भनेर भुनभुनाउदै थियो । हामी ढ्यापढुप ढोका बन्द गरेर तीन दिदीबैनी बिस्तरामा गर्यामगुर्लुम। ढाड दुखेर मर्नु भाथ्यो।ब्याङ्केट यति बास्नादार थियो बरु त्यो भन्दा बाक्ला लुगा लगाएर सुते भलो हुने देखियो। बिचरा त्यो केटालाई फेरि लैजा भन्न पनि झ्याउ लाग्यो। थाकेको निदाईएछ बेसरी एक्कासी बिहान साढे छ बजे बिउंझेर नुहाउने तरखर भयो। अनिता नुहाउन लागिन प्रतीक्षा र म चिया लिन गयौं। ढुसी परेको तुषारो खसेको जनकपुरे जाडो अाफै अनुमान लगाउन सक्नुहुन्छ। एउटा घुम्तीमा मैथिले भाईले चिया खुब चलाएर पकाएको रहेछ। तीन कप चिया लिएर रुममा गयौं। चिया यति मीठो रहेछ कि धितै मरेन। पण्डित्नी बजैले नुहाईहालिन । हामीले नुहाएपछि फेरि चिया खान मन लाग्यो। यसपाली अनिता र म गयौं। भाइ बरु पांच रुपियाँ ज्यादा लेउ हमको चाय गिलास भरके देउ भनेको मुर्छै परेर हांस्यो। गिलास भरेर लग्यौं। अाज पनि त्यो चियाजस्तो स्वादिलो चिया खान समय मिलेको छैन।

लेखिका र सहयात्री

अब पूजाको लागि हामी रामजानकी मन्दिर लाग्यौं। हाम्रो अास्थाको धरोहर, नेपालभारतको पारिवारिक नाता जोडाउने जनक पुत्री सीताप्रति शिर झुकाएर नमन गर्यौं। त्यतिबेला भावनात्मक रुपमा हामी मिथिलादेखि अयोध्यापुरीसम्म पुग्याैं । सदियौंदेखि अाफ्नो नाम र काम पुस्तापुस्ता हस्तान्तरण गर्न सफल भएकी एक सफल नारी जसले अाफ्ना कामलाई नै एउटा संस्कृति बनाईदिइन्। त्यो माटोलाई पटक पटक ढोग्न मन लाग्यो जसले सीताजस्ती छोरी जन्मायो। अाज पनि हामी उनलाई अादर्श नारीको रुपमा देवताको रुपमा पुजा गर्छौं। धन्य हो मिथिला। जसले भगवान रामको देशमा मात्रै नभएर श्रीलंकामा समेत पुजिने कृति बनाइन् । उनै नाारीको देशका नारी हामी गर्वले छाती सागरजस्तै चौडा भयो। त्यहाँ बसेर त्यहाँको संस्कृति परम्पराबारे बुझ्ने ईच्छा त धेरै थियो समय कम थियो। रानी बृषभानुदेवीलाई पनि एकपल्ट नतमस्तक भएर ढोग चढायौं । उनैले सितारामलाई अाज पनि मिथिलामा गद्दीसिन बनाएकी छन्, मन्दिरको निर्माण गरेर।

पुजा सकेर बाहिर फोटो टन्नै खिचेपछि हामी गंगासागर, धनुषासागर र रामसागरको पवित्र जलले स्नान गर्यौं। बिवाहमण्डप पनि गयौं।रामसिताको बैबाहिक झझल्कोले रमायौं। अब हामी फर्किनुपर्ने भयो । फेरि जनकपुरको एककप चिया नखाई कसरी फर्कनु? रामानन्द चोक पुगेर चिया पनि खायौं । नारायणगढ अाउने बस अायो । हामी फेरि रमाइला मिठा अबिष्मरणिय याद बोकेर फिर्यौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *