0 1 min 2 mths

काठमाडाैं, २२ असार । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा ८ देखि १२ प्रतिशत वृद्धि हुनसक्ने विज्ञहरुले औल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने विज्ञहरुले औल्याएका हुन् ।

‘सन २०५० सम्ममा अहिलेको हिसावले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा ८ देखि १२ प्रतिशत मापनको मात्रामा वृद्धि हुनसक्छ,’ जलवायु परिवर्तनको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञ मञ्जित ढकालले भने, ‘अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन् २०५० सम्म पृथ्वीको तापक्रम थप १ दशमलव ३ डिग्री सेल्सियसदेखि १ दशमलव ८ डीग्री सेल्सियससम्म पुग्नसक्छ ।’ अहिलेसम्म पृथ्वीको र्आसम तापमान (औद्योगिकीकरण समयपछि) करिव १ डिग्री सेल्सियस तापक्रम वृद्धि भैरहेको उनले बताए । उनले भने, ‘यस्तै हुने हो भने पृथ्वीको तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियसले वृद्धी हुन सक्छ ।’

सन २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीमा सीमित राख्ने प्रतिवद्धता जनाएको छ । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपदका घटना जलवायु परिवर्तनको प्रभावले भएको स्वच्छ उर्जा नेपालमा आवद्ध जलवायु परिवर्तन विज्ञ ढकालले बताए । उनका अनुसार नेपालमा भएका सुख्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरुको मुख्य कारण नै जलवायु परिवर्तन हो । उनले नेपालमा ४५ वर्षको अवधिमा २ दशमलव ५ डिग्री सेल्सियस अधिकतम तापक्रम वृद्धि भएको बताए । न्यूनतम् तापक्रम भने न्यूनमात्रामा वृद्धि भएको उनले बताए ।

‘हिमाली क्षेत्रको तापक्रम विश्वको सरदर वृद्धि भन्दा उच्च दरमा बढिरहेको छ । यो तापक्रम वृद्धिको प्रभाव हिमनदीमा परेको विभिन्न अध्ययन तथा अनुसन्धानले प्रष्ट पारिसकेको छ,’ विज्ञ ढकालले भने । स्वच्छ उर्जा नेपालसंगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालले जलवायु परिवर्तनको असरले पारेको जोखिम न्यूनीकरणमा सरकारले राम्रा कामहरु पनि गरिरहेको बताए ।

उनले पूर्वसूचना प्रणाली जडान हुँदा मानवीय क्षती न्यून भएको औल्याए । नेपालजस्तो जटिल भौगोलिक बनावट भएको मुलुकले धेरै जोखिम व्यहोर्नुपरेको उनको बुझाइ छ । अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब ३ हजार २५२ हिमनदी र २ हजार ३२३ हिमतालहरु छन् भने धेरै जसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ जसमध्ये २० वटा हिमतालहरु जोखिममा रहेका छन् ।

विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदीहरु द्रूत गतिमा पग्लिँदै गइरहेका छन् । यसरी हिमालमा रहेको हिउँ छिटो छिटो पग्लिनाले हिमतालमा धेरै पानी जम्मा हुन जान्छ, यसैका कारण हिमतालको बाँधले पानी थेग्न नसकी हिमताल फुट्ने र तल्लो तटिय क्षेत्रमा ठूलो बाढी आउने खतरा हुन्छ । जसलाई अंग्रेजीमा ग्लफ -ग्लेसीयर लेक आउटव्रस्ट फ्लड) भनिन्छ । नेपालमा धेरैजसो पर्यटकहरु हिमाल आरोहण र हिमश्रृंखलाको दृश्यावलोकनका लागि आउने हुनाले आगामी दिनमा नेपालको पर्यटन क्षेत्र समेत प्रभावित हुने संभावना छ ।

हिमाली भेगमा तीव्र गतिमा हिउँ पग्लिँदै जाँदा स्थायी हिउँ क्षेत्रको अभाव भई ठूला नदीहरु पनि अन्य नदी जस्तै वर्षे नदी बन्ने सम्भावना छ । यसले गर्दा जल र स्थलको परिस्थितिकीय प्रणालीमा असर पुग्नुका साथसाथै खानेपानी तथा सिंचाईका लागि पनि पानीको अभाव हुनेछ । यसै कारण नदीमा पानीको बहाव कम भई जलविद्युत उत्पादनमा समेत प्रतिकुल असर पर्नुका साथै हिमताल विस्फोटबाट आउने बढीले जलबिद्युत आयोजनाहरुमा क्षति पुर्‍याउन सक्ने छ ।

जलवायु परिवर्तनका कारण जलवायु जन्य प्रकोपहरुको आवृति र असरमा वृद्धि भईरहेको छ । उच्च हिमाली भेगमा हिमनदी खुम्चने, हिमताल वृद्धि हुँदै जाने र हिमताल विष्फोट हुने खतरा, हिम पहिरो आदि मुख्य प्राकृतिक प्रकोप हुन् । मध्य पहाडी जलवायु परिवर्तन क्षेत्रमा भेल पहिरो, नदी तटमा बाढी आउने, भू-क्षय र असामान्य खडेरी जस्ता प्रकोपहरु बढ्दै छन् ।

यसैगरी खेत बस्ती डुबान, नदीको धार बदलिएर हुने बाढी, नदी तटीय क्षेत्रमा कटान र खडेरीले तराईलाई आक्रान्त पार्न सक्नेछन् । ‘बढ्दो तातोपनाको कारण विशेष गरेर झाडापखला र लामखुट्टे जातिबाट सर्ने मलेरिया, कालाजार, जापानिज ईन्सेफलाइटिस् जस्ता रोगमा वृद्धि हुनगई यसबाट हुने मृत्युदर बढ्दै गइरहेको छ,’ वातावरण पत्रकार राजेश घिमिरेले भने, ‘नेपालका तराई क्षेत्रहरु यो समस्याबाट बढी पिडित हुन सक्नेछन् । बाढी पहिरोका घटनाहरुको बेला शुद्ध पिउने पानीको अभावले धेरै मानिसहरु पानी-जन्य रोगबाट पिडित हुन सक्नेछन् ।’

जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय मञ्चको अनुसार सन् १८८० देखि २०१२ सम्ममा पृथ्वीको औसत तापक्रम ०.८५ डिग्री सेल्सियसले बढिसकेको छ र यो क्रम जारी छ । पृथ्वीको आर्टिक क्षेत्रको समुद्री वरफ प्रतिदसक ३ प्रतिशतले घटिरहेको छः यस्तै सन् १९०० देखि २०१९ को अन्त्यसम्मको समयावधिमा समुद्री सतह ०.१८ देखि ०.२ मिटरले बढेको छ ।

हिमाली क्षेत्रमा हिमनदीहरु धमाधम पग्लिँदैछन् र कतिपय हिमनदी लोप हुने अवस्थामा पुगेका छन् । विश्वमा पानी पर्ने तरिकामा व्यापक परिवर्तन आएको छ, आँधीहुरी र बढी गर्मी हुने घटना, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोप बढी दोहोरिन थालेका छन् । यी परिवर्तनहरुले कृषि उत्पादन, वनजंगल तथा वन्यजन्तुहरुलाई नराम्रो असर पारिरहेका छन् र समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पारिरहेको छ ।

कार्यक्रममा जानकारी गराइएअनुसार भविष्यमा जलवायु परिवर्तनको असर कति र कस्तो हुनेछ भन्ने कुरा मानवीय क्रियाकलापमा नै निर्भर रहनेछ । जस्तो कि वायुमण्डलमा हरितगृह ग्यासको मात्रामा कमी ल्याउन विकसित देशहरुले कस्तो भूमिका खेल्नेछन् । विश्वमा खनिज इन्धनको सट्टामा नविकरणीय उर्जाको प्रयोग कति छिटो र कुन अनुपातमा बढ्नेछ, लगायतका विभिन्न पक्षले भविष्यको जलवायु परिवर्तनको स्थिति निर्भर हुनेछ ।

वैज्ञानिकहरुले विगतका जलवायु अवयवहरु र भविष्यको परिदृष्यको आधारमा विभिन्न कम्प्युटर मोडलहरु प्रयोग गरेर भविष्यमा हुने जलवायु परिवर्तनको मात्राको अनुमान निकालेका छन् । जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय मञ्चको अनुसार हरितगृह ग्यास उत्सर्जन दरको मात्रा हेरी सन् २१०० भित्र पृथ्वीको औसत तापक्रममा ३ डिग्री सेल्सियस देखि ४ डिग्री सेल्सियस वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी नेपालको पनि औसत वार्षिक तापक्रम सन् २०३० सम्ममा १.४ डिग्री सेल्सियस, सन् २०६० सम्ममा २.८ डिग्री सेल्सियस वृद्धि हुने अनुमान गरिएको छ ।

आकाशे पानीमा भर पर्ने हाम्रो कृषि प्रणालीमा वर्षाको मात्रामा आउने उतारचढावले उत्पादन घट्न जानेछ । त्यसैगरी जलवायु र वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बालीे चक्रको सन्तुलनमा खलल पुग्न जान्छ । भूक्षय र बाढी पहिरोका कारण माटोको उर्वरा शक्ति घट्न गई कृषि उत्पादनमा ह्रास आउँछ । यसैगरी नयाँ खालका किटाणु तथा रोगव्याधि निस्किएर बालीनालीलाई क्षति गर्नेछ ।

परिवर्तित जलवायुमा आफ्नो र समुदायको जीवनयापन सहज र सुलभ बनाउन त्यही अनुसार गरिने विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु नै अनुकुलन हो । बाढीपहिरो नियन्त्रणका क्रियाकलाप सञ्चालन गर्ने र समुदायलाई वैकल्पिक जीविकोपार्जनका उपायहरूको खोजी गर्ने कामलाई अनुकुलनको अभ्यासको रुपमा लिनसकिन्छ । यस्तै जैविक विविधताको संरक्षणको साथसाथै बाली लगाउने ढाँचामा परिवर्तन गर्ने तथा परिवर्तित जलवायुसँग प्रतिरोध गर्न सक्ने बालीका जातहरूको विकास गर्ने अभ्यासलाई अनुकुलनको अभ्यास मान्न सकिन्छ ।

परिवर्तित जलवायुमा अनुकूलतापूर्वक बाँच्नका लागि स्थानीय व्यक्तिहरूले अवलम्बन गरेका कार्यको पहिचान गरी त्यसको विकास तथा आदानप्रदान गर्ने काम सरकारले गरिरहेको छ । स्वच्छ उर्जा नेपालले पनि अनुकूलनसंग सम्बन्धित विभिन्न कोषहरुलाई जोखिमपूणर् अवस्थामा रहेका समुदायसम्म पुर्‍याउन स्थानीय, क्षेत्रीय र राष्ट्रिय संयन्त्र र संस्थागत संरचनाको विकास गर्ने काममा पैरवी गरिरहेको छ ।

ऊर्जाका लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवम् कोइलाको प्रयोगमा कम गर्न सकिन्छ । नवीकरणीय ऊर्जा जस्तैः सौर्य ऊर्जा, जलविद्युत्, वायुशक्ति, बायो ग्यास, भू-ताप आदिको प्रवद्र्धन गरी उपयोग गरेमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिन्छ । बोटबिरुवाले वायुमण्डलमा भएको कार्बन डाइअक्साइड ग्यास सोस्ने हुनाले वनजङ्गलको संरक्षण गर्ने र नाङ्गो जमिनमा वृक्षारोपण गर्ने कामले अनुकुलनमा ठूलो मद्दत पुगिरहेको छ । 

स्वच्छ ऊर्जाद्वारा सञ्चालन गर्न सकिने उपकरण, सवारी साधनहरूको प्रयोगमा जोड दिनाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न सकिन्छ । सरकारले यस वर्षको बजेटमा पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राखेको छ । यसैगरी फोहरमैलाको पुनः नविकरण र पुनः प्रयोग गरी उचित व्यवस्थापन गर्ने कामले पनि जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *