0 2 mths

काठमाडाैं, २२ असार । मानव सभ्यताको इतिहास तथा नेपालकै पनि सामाजिक विकासका क्रममा प्राकृतिक चिकित्सा पद्धति अग्रणी स्थानमा आउँछ । तर, पछिल्लो समय हराउँदै गएको प्राकृतिक चिकित्सा पद्धति संरचनागत रुपमा फेरि अगाडि बढ्ने कोशिसमा आज असार २० गते नेपालले प्राकृतिक चिकित्सा दिवस मनाउँदैछ ।

परम्परागत रुपमा भिटामिन डिको क्याप्सुल खाने होइन, घाम तापिन्थ्यो । पसिना निकालेर मोटोपन घटाउने, माटो स्नान गरेर छालासम्बन्धी रोग निको पार्ने आदि गरिन्थ्यो ।आधुनिक चिकित्सा पद्दतीको शुरुवातसँगै प्राकृतिक तथा आयुर्वेद चिकित्सा विस्तारै छायाँमा पर्दै गएकोमा पछिल्लो समयमा नेपालमा पनि यो चिकित्सा पद्दतिले संस्थागत रुपमा विस्तारित हुन थालेको छ ।

कोविड–१९ संक्रमणको वास्तविक उपचारका लागि औषधि नभएको अवस्थामा धेरैले प्राकृतिक चिकित्सा तथा आयुर्वेदबाटै उपचार होला कि भन्ने अपेक्षा गरे । त्यसमाथि पनि कोविड संक्रमण भइसकेकाहरु पनि सकेसम्म नकारात्मक असर नगरोस् भनेर प्राकृतिक चिकित्सा र आयुर्वेद उपचार तिर गएको पाइन्छ । सामुदायिक प्राकृतिक चिकित्सालय, नवलपुरका चिकित्सक डा. विनोद पौडेलका अनुुुसार उहाँको चिकित्सालयमा कुनै पनि संक्रमितको मृत्यु विना ७८५ जना संक्रमण मुक्त उपचार गरेर गए । चिकित्सालयमा शुरुका दिनमा निकै हतोत्साहित तुल्याउनेहरु नै उपचार गराउन आउँन थालेको र एलोपेथिक डाक्टरहरु पनि नेचुरोपेथी उपचारमा आउँन थालेका छन् । उहाँ भन्नुहुन्छ– एलोपेथिक डाक्टरहरु नै कतिपय रोगको उपचारका लागि प्राकृतिक चिकित्सालयमा आउन थालेका छन्, १० वर्षमा जुन किसिमको परिवर्तन आयो, खुशी नै छौं ।

चिकित्सालयले गत वर्ष कोविड संक्रमण शुरु भएपछि ३०० शैय्याको अस्पताललाई जिल्ला सामुदायिक अस्पतालका रुपमा काम गर्न शुरु गरेको थियो ।

औषधिविना, चिरफार नगरी, वैज्ञानिक तथ्यका आधारमा तथा परम्परागत रुपमा पञ्चतत्व तथा पञ्चमहाभूत( पृथ्वी, जल, तेज, बायु, आकास)को सहायताले गरिने उपचार पद्दतिलाई प्राकृतिक चिकित्साको रुपमा लिइएको छ । रोगको लक्षणको भन्दा कारणको उपचार गर्नुपर्ने मान्यताअनुसार वातावरण फोहर बनाएर झिंगा मार्दै बस्नु भन्दा वातावरणलाई सफा गर्नुपर्ने प्राकृतिक चिकित्सकहरु बताउँछन् । प्राकृतिक उपचार पद्दतिलाई एउटा पूर्ण उपचार पद्दतिका रुपमा अपनाइएको पाइन्छ ।

डा. जनक बस्नेतकाअनुसार कोविड संक्रमण पछि ३० भन्दा बढी लक्षणहरु देखिएको छ । पोष्ट कोविड विभिन्न अंगमा हुने स्वास्थ्य समस्या, निको हुन समय लाग्ने, उपचारका क्रममा प्रयोग गरिएका औषधिको नकारात्मक असर (साइड इफेक्ट), आइसियु तथा भेन्टिलेटरको प्रयोग पछि देखिने समस्या, स्ट्रोकपछि हुने प्यारालाइसिसजस्ता रोगले सताउने गरेको डा. बस्नेत बताउँछन् ।

स्वास्थ्य समस्यासम्बन्धी अधिकांश पक्षलाई आफ्नो शरीरलाई मेन्टेन गरेर पनि उपचार गर्न सकिने डा. जनक सुझाउँछन् । घँुडा दुख्दा– शरीरको तौल घटाउने, खुट्टाको मांशपेशीलाई दरिलो बनाउने तथा रक्तसंचार हुने खालको शारीरिक अभ्यास गर्ने, घुँडाको चिल्लो पदार्थ बढाउने पौष्टिक खानेकुरा खाएर निको पार्न सकिने डा. जनकको तर्क छ । अर्थात, प्राकृतिक चिकित्साबाट नै अधिकांश पोष्ट कोविड लक्षणहरुको उपचार गर्न सकिने र गर्दै आएको उनी बताउँछन् । प्राकृतिक चिकित्सा अन्तर्गत उपचार गर्दा– रोग अनुसारको खाद्यान्न विधि, योग, जल उपचार, मसाज, अकुपंचर तथा मानसिक तनावका कारण भएको रोगलाई मानसिक परामर्श दिएर उपचार गर्ने गरिन्छ ।

प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलका प्राकृतिक चिकित्सालाई पनि मूलधारको चिकित्सा पद्दतीका रुपमा लिइनुपर्छ । यसलाई सिमान्तकृत रुपमा उपेक्षाको भावमा लिइनुहुँदैन । नेपालमा २०३६ सालदेखि प्राकृतिक चिकित्साको बारेमा चर्चा परिचर्चाका साथै तत्कालीन सरकारले अनुदान दिएर प्रोत्साहित गर्न थाल्यो । २०५८ सालमा स्वास्थ्य मन्त्रालयभित्र एउटा योग तथा चिकित्सा समिति बन्यो । यो समितिले २०५९ असार २०गते प्राकृतिक चिकित्सालाई मूलप्रवाहको चिकित्सा पद्दतिको मान्यता दियो । प्राकृतिक चिकित्साले पहिलो पटक कानुनी पहिचान पायो र यही दिनको सम्मानमा विश्वमैं नेपालले पहिलो पटक प्राकृतिक चिकित्सा दिवस मनाउन थाल्यो ।

डा. पोखरेलका अनुसार प्राकृतिक चिकित्सालार्इ देशव्यापी रुपमा अगाडि बढाउने संकल्प लिइएको छ । कोरोनाको दोस्रो लहरमा झन् बढी संक्रमितमा समस्या देखिएको कारण पोष्ट कोविड लक्षणका लागि अनौपचारिक सेवा मात्र नभई आधुनिक रुपमा प्रतिस्थापनसहित देशका प्रमुख सहरहरुबाट प्राकृतिक चिकित्सा सुचारु छ ।
प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रका अध्यक्ष तथा जनस्वास्थ्यविद डा. शरद वन्तका अनुसार कुनै पनि चिकित्सा पद्दति (एलोपेथिक, आयुर्वेद तथा प्राकृतिक) परिपूर्ण नभएको अवस्थामा विविध प्रणालीलाई समग्र रुपमा अगाडि बढाइनुपर्छ । कुनै पनि ज्ञान कालजयी नहुने, हिजो राम्रो भनिएको औषधि नराम्रो पनि सावित भएको उदाहरण दिंदै डा. वन्तले जानकारी गराए– चीनले पनि आफ्नो परम्परागत चिकित्सा पद्दतिमा संशोधन गरेको छ, पहिला अत्यधिक धातु प्रयोग हुँदै आएकोमा संशोधन गरेको छ । ‘नविनतम ज्ञानको खोजी सबै चिकित्सकीय पद्दतीमा हुनु पर्ने र प्राकृतिक चिकित्सा प्रणाली पनि विज्ञान भएकोले यसलाई अनुमान, अन्धविश्वासमा होइन स्थापित तथ्यको आधारमा फराकिलो बनाउँदै मजबुत बनाउनुपर्छ ’डा. वन्तको कथन छ ।

प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रद्वारा आयोजित जुम कार्यक्रममा बोल्दै डा. वन्तले प्राकृतिक चिकित्सा प्रणाली मानव सेवाका लागि हुनु पर्ने, यसमा हुनसक्ने अत्यधिक व्यापारिकरण रोक्न सचेत र चनाखो हुन आव्हान गर्नुभयो ।मसाज, योग तथा यससँग प्रयोग हुने वस्तुहरु सबैमा व्यापारिकण हुँदै आएको अवस्थामा प्राकृतिक चिकित्सा पद्धतीलाई व्यापारिकणमुक्त पार्नु चुनौतिपूर्ण भने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *