0 1 min 3 mths

न्युरोड, काठमाडौंस्थित नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयमा बौद्ध सम्पदास्थल सम्बन्धी एउटा डकुमेन्ट्री प्रदर्शन हुँदै थियो । त्यहाँ अचानक विवाद उठ्यो । विवादले चर्को रूप लियो । प्रश्न थियो, बुद्ध कहाँ जन्मेका हुन् ?

डकुमेन्ट्रीमा बुद्धको जन्म भारतको उत्तरी सीमामा भएको भनिएको थियो भने लुम्बिनी भनेर देखाएको दृश्य चाहिँ नेपालकै थियो । कुरा स्पष्ट थियो– भारतको उत्तरी सीमा भनेर कपिलवस्तुलाई भनिएको हो । प्राचीन कपिलवस्तु वर्तमान अवस्थामा नेपाल र भारत दुई देशमा विभाजित छ । दुवै देशमा विभाजित कपिलवस्तुलाई आआफ्नो भूभागको कपिलवस्तुलाई मात्रै ‘कपिलवस्तु’ भनेर दुबै देशका एक वर्ग दावी गर्दै आइरहेका छन् । फेरि नेपालमा अर्को वर्ग पनि छ, कपिलवस्तु र लुम्बिनी एकै हो भनेर बुझ्ने । अनि, जब भारतको पिप्रहवालाई कपिलवस्तु भनिन्छ, तिनीहरू बुद्धको जन्मस्थलमाथि भारतले दावी ग¥यो, नक्कली लुम्बिनीको निर्माण गर्दैछ वा झुठो प्रचार ग¥यो भन्दै सार्वजनिक रूपमा नै कुर्लन थाल्छन् । यसै विषयमा नेपाली पत्रकारिताले पनि थुप्रै शब्द खर्चिसकेको छ  । डकुमेन्ट्री प्रदर्शनका बेला पनि यही कुराको पुनरावृत्ति भएको थियो । आफ्नो बुझाइअनुसार आपत्ती जनाउने एक नेपाली युवती थिइन् ।

 पुस्तकालयका एक युवा कर्मचारीले पूर्व र पश्चिमको दिशा देखाएर ती युवतीलाई सोधे– उसो भए बुद्ध यता जन्मेका हुन् कि उता ? बुद्ध नेपालमा जन्मेका हुन् भनी दावी गर्ने ती युवतीलाई संभवतः लुम्बिनीको भौगोलिक अवस्थितिका सम्वन्धमा जानकारी नै रहेनछ । वा उनी लुम्बिनी पुगेकै थिइनन् । उनी नाजवाफ भइन्, जुरुक्क उठिन् र बाहिरिइन् ।

 बौद्धहरूका लागि लुम्बिनी एक संवेजनीय स्थल हो । बुद्ध स्वयंले पनि यो भनेर गएका छन् । यसै भएर बौद्धहरू लुम्बिनीलाई तीर्थस्थलकै रूपमा लिन्छन् र सकभर जीवनमा एकपल्ट पुग्नै पर्ने स्थलको रूपमा मान्यता छ । गैरबौद्धहरू पनि यसको पर्यटन गर्दछन् । यो बुद्धको जन्मस्थल त पक्कै हो, यसका अतिरिक्त यहाँ थुप्रै कुराहरू पनि हेर्न पाइन्छन् । विभिन्न समयमा भएका बौद्ध गतिविधिहरू हाल पुरातात्विक अवशेषका रूपमा रहेका छन् र यी कुराहरूकै कारण यो क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ ।

 लुम्बिनी क्षेत्रको भ्रमण गरिनसकेका वा भ्रमणका लागि त्यहाँ पुगेकाहरूले सामना गर्ने एउटा समस्या हो, त्यस स्थल सम्बन्धी जानकारीमूलक पुस्तकको अभाव । कहाँ के हेर्ने र के कुरा कुन विषयवस्तुसँग सम्बन्धित छन् भनेर थाहा नपाउँदा पर्यटकहरू रनभुल्लमा पर्छन् । मायादेवी मन्दिर र अशोक स्तम्भ दुइटा घुमेर फर्कनेहरू पनि पाइयो र तिनीहरूको प्रतिक्रिया हुन्थ्यो, लुम्बिनीमा के के न हेर्न पाइएला भनेर त्यहाँ गइयो, केही रहेनछ । यसरी नै, अनुमानको भरमा बुझ्ने तथा बुझाउँदा यस्तो पनि भनिएको पाइयो– यो बुद्धको दरवार (मायादेवी मन्दिर देखाएर) हो, यस पोखरीमा बुद्ध नुहाउँथे, यो रुखमुनि बुद्धले ६ वर्ष तपस्या गरेका हुन्, आदि इत्यादि । यस्तो गलत बुझाइ वा प्रसङ्गहरू एक दुई पल्टको होइन, वर्षौ वर्ष अघिदेखि मैंले प्रत्यक्ष देख्दै र सुन्दै आइरहेको छु । यस्ता केही गलत बुझाइहरू पत्रपत्रिका र समाचारहरूमा पनि कहिलेकाहीँ प्रकाशित हुने गर्दछ । यति मात्र होइन, लुम्बिनी घुमाउन लग्ने व्यवसायीहरूको ब्रोसियरमा पनि यस्तै यस्तै खालका गलत बुझाइहरू देख्न पाइन्छ । यस अर्थमा पर्यटक, पर्यटन उद्योग सम्बद्ध  व्यक्तिहरू, विद्यार्थी, पत्रकार तथा अन्य जिज्ञासुहरूका लागि लुम्बिनी सम्बन्धी सामान्य जानकारी दिने पुस्तकको आवश्यकता महसुस गरी यो पुस्तक लेखिएको हो ।

 ‘लुम्बिनी: ऐतिहासिक तथा पुरातात्विक अध्ययन पुस्तक लेख्दै गर्दा धेरैले मलाई लुम्बिनी सम्बन्धी जानकारी दिने पुस्तक एउटा लेखि दिन अनुरोध गरेका थिए । तर, मेरो ध्यान यतातिर जाँदै गएन । लुम्बिनी सम्बन्धी जानकारी माग्नेहरूलाई मैले आफ्नो त्यो  ‘लुम्बिनी: ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ नै दिंदै आइरहेको थिएँ । तर, यो पुस्तक लुम्बिनी क्षेत्र सम्वन्धी साङगोपाङ्गो अध्ययन थिएन । जन्मस्थल र त्यस वरिपरि  सीमित ठाउँका पुरातात्विक कुराहरूको मात्रै अध्ययन थियो । कतिपय कुराहरू छलफलका लागि छाडिएको थियो भने कतिपय छलफलमा आफू सहभागी भएको । एक प्रकारले यो प्राज्ञिक बहसको पुस्तक हो । सर्वसाधारण वा पर्यटकलाई ध्यानमा राखेर लेखिएकै थिएन र त्यसो हुँदा सबै वर्ग र क्षेत्रका लागि मेरो त्यो पुस्तक चासोको विषय हुन्न भन्ने कुरा स्पष्ट थियो । तर, यसै बीच लुम्बिनी क्षेत्रको साङ्गोपाङ्गो जानकारी दिने पुस्तक लेख्नका लागि दवाव पनि बढ्दै गयो । यस सम्बन्धी गलत बुझाइ र विभिन्न घटनाहरूले पनि त्यो अभाव पूर्तिका लागि प्रस्तुत पुस्तक लेखियो । यो पुस्तक लुम्बिनीमा पर्यटन गर्न चाहने कुनै एक्लो व्यक्तिका लागि मात्रै नभएर स्वयं टुरिष्ट गाइडहरूका लागि पनि सहायक हुनेछ । 

 ‘गन्तव्य लुम्बिनी’मा सामान्य जानकारी भनेर हल्काफुल्का कुराहरू मात्रै राखिएको छैन । इतिहास, संस्कृति तथा बुद्ध, बुद्ध धर्म र बौद्ध सम्पदा स्थल सम्वन्धी जिज्ञासुलाई उपयोगी होस् भन्ने कुरामा ध्यान पु¥याइएको छ । स्थापित कतिपय गलत बुझाइको खण्डन तत्तत् ठाउँमा नै गरिएको छ । लुम्बिनी क्षेत्रको थप अध्ययन गर्दै गरेका कारण ती क्षेत्रहरूका बारेमा बेग्लै तथ्य र धारणा आफूमा हुनु स्वाभाविक हो, तर सामान्य जस्तै प्रचारप्रसार र स्थापित भइ सकेका कुराहरूलाई ज्युँको त्युँ प्रस्तुत नगरी आफूलाई लागेको कुरा राखेको छु, जुन ढिलोचाँडो स्थापित हुनै पर्छ । 

लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *