0 1 min 3 mths

शेरबहादुर नकर्मीले जीवनका बयासी वसन्त देखेका छन् र थुप्रै तीतामीठा अनुभवहरु पनि जीवनको धागोमा उनेका छन् । जीवनको यस अन्तिम कालमा आएर एउटा सा-है तीतो अनुभव गर्नु परेकोमा भने खिन्न छन् । उनको गुनासो हो आफ्नो ‘जंक्व’ हुन नसक्नु । नेवार समुदायमा सतहत्तर वर्ष, सात महिना र सातौं दिनको वयोवृद्ध उमेरमा पहिलो ‘जंक्व’ (भीमरथारोहण) गरिन्छ जुन महत्वपूर्ण संस्कारको रुपमा मानिन्छ । उनी यसै समुदायका एक सदस्य हुन् ।

जंक्व किन नभएको त ? प्रश्न खस्न नपाउँदै चाउरी परेको अनुहार अझ खुम्चाउँदै र हात पनि पल्टाउँदै सुस्केरा हाल्ने सूरमा भन्छन्– ‘खोई कल्ले गर्दिने ?’

उनको सोधाइसँगै एउटा व्यङ्ग्यपूर्ण हाँसो पनि निस्कन्छ ।

जंक्व गर्ने उमेर पुगेकाको जंक्व संस्कार सम्पन्न गर्न सन्तानहरु आफै पनि उत्साहित हुन्छन् । यो संस्कार सम्पन्न गर्न पाएकोमा उनीहरु गौरवान्वित पनि हुन्छन् । दिनहीन अवस्थामा र आफ्नो कोही नहुनेको बाहेक प्रायःको जंक्व गरिन्छ । शेरबहादुरको त्यस्तो अवस्था छैन । उनको जंक्व हुन नसक्नुको कारण रहेछ, त्यो सांस्कृतिक विधि सम्पन्न गर्न आवश्यक पुरोहितकै गाउँमा अभाव हुनु । नेवार समुदायभित्र पनि विभिन्न उपसम्प्रदायहरु विभिन्न सांस्कृतिक दायित्वसँग सम्वन्धित गराइएको हुन्छ र सोही अनुसार नेवार समाज जीवन्त हुँदै आइरहेको छ । त्यो गाउँमा नकर्मी थरका नेवारहरुमात्रै रहेछन् र त्यसैभएर टोलको नाम नै नकर्मी टोल राखिएको छ । एउटै परिवार मात्रै हुनाका कारण पनि यो समस्या भएको छ । उहिले बाहिरबाट गुभाजु ल्याएर भएपनि जंक्व गथ्र्याैं तर यहाँसम्म टाढा छ भनेर आजभोलि आउन मान्दैनन् । आफैले मात्रै गर्न सकिने विधि व्यवहार भने चलाइराखेका छौं’– सत्तरी वर्षीया वृद्धा फूलमाया नकर्मी थप जानकारी दिन्छिन् । अबको केही वर्षपछि आफ्नो पनि जंक्व गर्ने बेला आउने तर शेरबहादुरकै नियति भोग्नु पर्नेमा उनी पनि खिन्न छिन् ।

नकर्मी टोल सिन्धुपाल्चोक जिल्लाको नवलपुर गाविस अन्तर्गत पर्दछ । काठमाडौंबाट विहान छुटेको सार्वजनिक यातायात साँझसम्ममा पुगिसक्छ । अरनिको राजमार्ग हुँदै सदरमुकाम चौतारा र चौताराबाट केही घन्टाको यात्रापछि नवलपुर पुगिन्छ । तर काठमाडौं र नवलपुरको परम्परागत पैदल मार्ग भने सुन्दरीजलबाट साँखु हुँद अगाडि बढ्ने बाटो हो । नवलपुर काठमाडौंबाट ल्हासा जाने प्राचीन बाटो हो र यस बाटो र बाटोको छेउछाउमा निकै वर्षअघिदेखि बस्दै आएका नेवार वस्तीहरु प्रसस्तै देख्न पाइन्छ ।

दुईदेखि चार तल्लासम्मका घरहरु दुवैतिर लहरै बनाएर गाउँठाउँको विकास गर्ने प्रवृत्ति नेवार समुदायको पहिचान नै भन्दा हुन्छ । नकर्मी टोलमा पनि यही प्रवृत्ति विद्यमान छ । काठमाडौंका परम्परागत नेवार बसोबासहरु हेरिसकेका जोकोही पनि नकर्मी टोल पुग्ने हो भने काठमाडौंकै कुनै वस्तीमा रहेको अनुभव गर्छन् । नकर्मीहरुको परम्परागत शिल्प वा पेशा फलामसँग सम्वन्धित भएपनि हाल कोही पनि यसमा संलग्न छैनन् । बरु यो पेशा अन्य जातिको कामी समुदायलाई विष्टि प्रथामा दिएका छन् । यिनीहरु हाल खेती किसानी गर्छन् र खेती किसानीको तौरतरिकाहरु सबै काठमाडौंसँग नै मिल्दाजुल्दा छन् ।

तिब्बतसँग नेपालको युद्ध भएका बेला आवश्यक हतियार बनाउन काठमाडौंबाट नवलपुरमा ल्याएको र युद्धपछि राज्यले आफूहरुलाई यहीं बस्ने बन्दोबस्त मिलाइदिएको बताउँछन् तर ऐतिहासिक तथ्यहरुले उक्त घटनाभन्दा निकै पुरानो इतिहास भएको पुष्टि गर्दछ । गोरखाका राजा पृथ्वीनारायण शाह आफ्नो राज्य विस्तार गर्दै पटक पटकको नवलपुरको आक्रमणमा विफल भएपछि त्यहाँस्थित भीमसेन देवताको भाकल गर्दा बल्ल नवलपुर विजय भएको थियो । यसै सन्दर्भमा उनले भीमसेनको नाममा १२ मुरी धान आउने एउटा गुठी बनाई त्यसको नाउमा जग्गा पनि हालिदिएका थिए, जुन यद्यपि संचालनमा नै रहेको छ ।
गाउँमा अझै पनि विद्यालय स्थापना भइसकेको छैन । छिमेकी गाउँमा विद्यालय आएपछि यहाँका केटाकेटीहरुमा औपचारिक अध्ययन हुन थालको थियो । हालसम्म यस गाउँमा चार जना महिला र चार जना पुरुषले मात्र एसएलसी परीक्षा उत्तीर्ण गरेका छन् भने कलेज जानेको संख्यामा चार जना महिला र तीन जना मात्रै पुरुष रहेका छन् ।

यस क्षेत्रमा औपचारिक घरको घरमूली पुरुष नै हुने भएपनि ढुकुटीको ताल्चा भने महिलाको हातमा हुने गर्दछ । देशकाल र परिस्थिति अनुसार चल्नु पर्ने भएका कारण हाल यस समाजमा अन्तर्जातीय विवाहलाई निषेध नै त गरिएको छैन तर पूजाआजामा भने आफ्नै जातको चाहिने कुरामा अझै पनि जोड दिन्छन् । उनीहरुका अनुसार विजातिका बुहारीलाई पूजाआजामा चलाउन मिल्दैन । किन त ? जवाफ दिन्छन्– ‘आफ्नो परम्परा र संस्कृति त जोगाउनु प¥यो नि ।’

एकतीस बर्षिय युवा हिमाल नकर्मी भन्छन्– एउटा संस्कार हराउनु बूढी मर्नु होइन, काम पल्कनु हो त्यसैले यहाँ जंक्वलगायतका संस्कारहरुलाई पुनः चलाउनु पर्छ र हामी त्यसको प्रयत्नमा छौं ।’

लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *