0 1 min 3 mths

नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणासँगै ‘नयाँ नेपाल’ निर्माणको प्रसंग उठेको छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि वषौर्ंैअघिदेखि संघर्ष गरिरहेका जनताको चाहना स्वयंमा नयाँ नेपालको स्थापना हो । सैद्धान्तिक रूपमा नयाँ नेपालको स्थापना भए पनि व्यावहारिक रूपमा यसले मूर्तरूप लिन सकिरहेको छैन । अतः त्यस्ता थुप्रै मुद्दामाथि छलफल गर्नुपर्छ, जसले नयाँ नेपाललाई मूर्तरूप दिनेछन् । संविधान निर्माणको अभ्यास एउटा त्यही प्रयास हो भने अरू पनि थुप्रै मुद्दा छन् जसमाथि छलफल गर्नुपर्छ । त्यस्ता मुद्दामध्ये एक हो, राजधानीको स्थानान्तरण । अब राजधानीलाई नै अन्त सार्ने अर्थात् नयाँ राजधानीको स्थापना किन नगर्ने त ?

राजधानी अन्यत्रै सार्ने विषयमा बेलाबखत चर्चा हुने गर्छ, जुन गम्भीरतापूर्वक अगाडि बढेको छैन । काठमाडौं उपत्यकासँग मायामोह भएकाहरू राजधानी सारियो भने काठमाडौं उपत्यकालाई क्षति पुग्छ भन्ने धारणा राख्छन् । यसको विपरीत काठमाडौं उपत्यका वा उपत्यकावासीप्रति रोष प्रकट गर्नुपर्‍यो भने पनि राजधानीलाई अन्यत्रै सार्नुपर्ने घुर्की देखाउने पनि छन् । यी दुवै अतिवादी दृष्टिकोण काठमाडौं उपत्यकाको इतिहास, संस्कृति र सभ्यतासम्वन्धी ज्ञानको कमीको नतिजा हो । तर पनि राजधानी अन्यत्र सार्नु त पर्छ नै ।

अन्य भूभागभन्दा काठमाडौं उपत्यका हजारौँ वर्षदेखि अनेकौँ दृष्टिले विकसित, सम्पन्न र बेग्लै पहिचानयुक्त सभ्यताको केन्द्र रहँदै आएको छ । सैन्यदृष्टिले कमजोर भएको वेला वरिपरिका राज्यले यहाँ पटक-पटक आक्रमण र लुटपाट गरेका विवरण शिलालेख र गोपालराजवंशावलीमा उल्लेख छ । तिनै लुटपाटमा संलग्न राज्य पनि आफूलाई संकट पर्दा आश्रय खोज्दै यहीँ आउँथे । पटक-पटक आक्रमण गर्ने र लुटपाट मच्चाउने तिरहुत राज्यले गयासुद्दीन तुगलकको आक्रमणलाई थेग्न नसकेपछि राजा, राजपरिवार तथा अन्यले यहाँ शरण लिएका थिए । मध्यकालमा मात्रै होइन, प्राचीनकालदेखि नै यो उपत्यका शरणार्थीका लागि उपयुक्त स्थल थियो । व्यापार-व्यवसायलगायत विभिन्न उद्देश्यले यहाँ पस्नेहरू पस्यापस्यै हुने गर्छन्, जुन प्रक्रिया आज पनि चालू छ । जो जति बाहिरबाट पसे सबैले आ-आपना ज्ञान र सीप पनि सँगै लिएर आए, जसबाट यहाँको विकासमा पर्याप्त योगदान पुग्यो । र, तिनीहरू स्थानीयकरण हुँदै गए, ‘एसिमिलेसन’को प्रक्रियाबाट । यसैले काठमाडौं उपत्यकालाई ‘मेल्टिङ पट’ पनि भन्ने गरिन्छ ।

समय सधँै उस्तै रहँदैन । बाहिरबाट मान्छे काठमाडौं पस्ने मात्रै गर्ने, तर अन्यत्र नलाग्ने गर्नाले स्थिति फेरिएको छ । यहाँ जनसंख्याको चाप बढ्दो छ र आधारभूत आवश्यकता अपर्याप्त भएको छ । खाद्य सामग्रीको आयात, मेलम्चीको कुराइ र फोहोर फाल्ने समस्या त्यसकै संकेत हुन् । । यी यावत् तथ्यले अब काठमाडौं उपत्यका थप बोझ बोक्न असमर्थ भएको देखाएका छन् । यस्ता समस्या हल गर्न पहिल्यै कार्ययोजना लागू गर्नुपथ्र्याे, जसको अभावमा उपत्यकाले आपनो पहिचानै गुमाउनुपर्ने भय छाएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा कोलकाताबाट सारिएको थियो भने पाकिस्तानको राजधानी पनि पहिलेदेखि इस्लामावाद थिएन । राजधानी सार्दा विकासमा क्षति हुन्छ भन्नु गलत रहेछ भन्ने कुराका दृष्टान्त यी राजधानी हुन् । संसारभरका सहर राजधानीको कृपाविना नै विकसित भएका हुन् । काठमाडौं पनि आफैँमा विकसित बस्ती हो, यसको विकासका लागि राजधानी भइराख्नुपर्दैन । कला-संस्कृतिले सम्पन्न कतिपय मन्दिर र भवन राजधानी भएकै कारण यसले गुमाउनुपरेको छ । ती गुमाइएका र बाँकी रहेका सम्पदा सिंगो मानवजातिकै गौरव हो, जसलाई जोगाउनु आवश्यक छ । यही गौरवले थेग्न सक्छ काठमाडौंलाई । संयुक्त राष्ट्रसंघको युनेस्कोले काठमाडौं उपत्यकालाई राजधानी भएर विश्वसम्पदा सूचीमा हालेको होइन, यहाँका इतिहास, कला, संस्कृति हेरेर सूचीकृत गरेको हो ।

अहिले ती सम्पदा युनेस्कोको मापदण्डअनुरूप संरक्षण नभएकोमा चित्त दुखाउनुपरेको छ । त्यसको एउटै कारण हो, राजधानी भएकै कारण काठमाडौं ती बेफाइदा भोगिरहन विवश हुनु । तसर्थ पनि राजधानी अन्यत्र सारी काठमाडौं उपत्यकालाई नेपालकै संरक्षित क्षेत्रका रूप दिइनुपर्छ । नयाँ नेपालमा पुरानो इतिहास पनि जोगिने र नयाँ राजधानीसँगै नयाँ इतिहास पनि निर्माण हुने वातावरण बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *