
वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ जुन ५ तारिखदेखि विश्व वातावरण दिवस मनाउन थालिएको हो । विश्व वातावरण दिवसको यसपालिको नारा भने प्लास्टिकजन्य प्रदूषण निर्मूल गराैं, वातावरणमैत्री विकल्पकाे उपयेग गराैं भन्ने रहेको छ । नेपालमा दैनिक उत्पादन हुने फोहोरमा १६ प्रतिशत प्लास्टिकजन्य पदार्थ हुन्छ । जसको अर्थ दैनिक करिब ३ टन प्लास्टिक फोहोर उत्सर्जन भइरहेको देखिन्छ । भने विश्वभरिमा हरेक वर्ष चार सय बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ ।
नेपालमा भने यसरी उत्सर्जित प्लास्टिकको ठूलो हिस्सा वातावरणमा थुप्रिएको पाइन्छ भने केही मात्रामा ल्यान्डफिल गरिन्छ । प्रयोग गरिएका प्लास्टिकमध्ये जम्मा ९ प्रतिशत मात्र पुनः प्रयोगका लागि प्रशोधन हुन्छ । आजको समयमा प्लास्टिक प्रदुषण वातावरणका लागि गम्भीर संकट बनेको छ र आगामी दिनमा यो अझ भयावह बन्दै जाने संकेत देखिन्छ । प्लास्टिक प्रदुषणका धेरै कारणहरु छन् र यसको नकरात्मक प्रभाव पनि धेरै नै छ । प्लास्टिकलाई चिसो पानीले कुनै असर गर्दैन। खाल्डोभित्र परेर माटोले पुरिएको प्लास्टिक धेरै वर्षसम्म जस्ताको तस्तै रहन्छ । माटोमा हुने सुक्ष्म जीवले प्लास्टिकलाई आक्रमण गर्दैन त्यसैले प्लास्टिक कुहिँदैन ।
सरकारको योजना तथा नेपाल सरकारले पनि २०८०–८ १ को नीति तथा कानुनमा तर्जुमा गरी स्वदेशी कागजको झोला उत्पादन तथा प्रयोगलाई अभियानको रुपमा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी प्लास्टिक र प्लास्टिक जन्य बस्तुको अनियन्त्रित प्रयोगले प्रदुषण बढाएको भन्दै सरकारले आर्थिक वर्ष २०८०– ८१ को बजेट वक्तव्यमार्फत प्लास्टिकको सट्टा कागज वा कपडाको झोलाको प्रयोगलाई प्रोत्साहन गर्न, वातावरण संरक्षण लागि प्रवर्दनात्मक कार्यक्रम संचालन गरी वजेटमा निर्देश गरेको छ । हुन त यसअघि वर्ष २०७८– ८९ को वजेट वक्तव्यमा ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोला उत्पादन आयात बिक्री र प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने घोषणा गर्यो ।
यो घोषणा पटक पटक भएपनि यस्ता झोला प्रतिबन्धको निर्णय कार्यान्वयन भने भएको पाईएन । अहिले पनि बजारमा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला छ्याप्छ्याप्ती उपलब्ध छन्। प्लास्टिक झोला नियन्त्रणमा विगतका प्रयासलाई हेर्ने हो भने छोटो समयमा नै यसको प्रयोग अत्याधिक रुपमा प्रयोग भएको र यसवाट वातावरण तथा मानव स्वास्थ्यमा हुने असरलाई मध्यनजर गर्दै यसको अनावश्यक प्रयोगलाई विभिन्न समयमा प्रतिबन्ध लगाउने निर्णय भएतापनि उक्त कार्यक्रम पूर्ण रुपमा सफल हुन सकेन ।
पर्यावरणीय दृष्टिकोणले विश्वलाई नै चुनौती दिइरहेको प्लास्टिक महामारीले नेपालको जैविक विविधतामा पनि ठूलो हानि पु¥याइरहेको छ । यसबीचमा नेपाल सरकारद्वारा प्लास्टिक नियन्त्रणसम्बन्धी कार्यक्रम घोषित हुनु राम्रो पक्ष हो तर यसको कार्यान्वयनमा ठूलो चुनौती देखिन्छ । प्लास्टिक वातावरणीय प्रदूषणको सबै भन्दा ठूलो चुनौतीका रूपमा छ । पोलिमिरेज रियाक्सनमार्फत उत्पादन गरिने प्लास्टिकजन्य वस्तु काठ र कागज जस्तो केही वर्षपछि कुहिएर नासिँदैन, बरु सयौँ वर्षसम्म यथास्थितिमा रहन्छ । माटोमा पुरिएका प्लास्टिकका बोतलहरूलाई प्राकृतिक जीवाणुले नास्न नसक्ने भएकाले दशकौँसम्म पनि उस्तै हुन्छन । प्लास्टिक झोला टुक्रिएर माइक्रो प्लास्टिकमा रुपान्तरित हुँदा वातावरण प्रदुषण हुने गर्दछ । त्यसगरी प्लास्टिकका झोलामा जलचर अल्झेर जलचरको मृत्युको कारक वन्ने गरेको छ ।
प्लास्टिकका झोला टुक्रिएर हरित गृह ग्यास उत्सर्जन हुन्छ भने प्लास्टिकका झोलाला बाल्दा वायुमण्डलमा बिषालु ग्यास उत्सर्जित हुन्छ । त्यसैगरी प्लास्टिकका झोलामा कुहिने फोहोर हालेर फाल्दा पनि यस्ता फोहर कुहिएर वातावरणमा मिसिन जान नपाउँदा फोहर व्यबस्थापनमा समस्या हुने गर्दछ। प्लास्टिकका सामाग्री जताततै फाल्दा हावासंगै उडेर ठाउँ ठाउँमा फोहर जम्मा हुनुको साथै पानीको मुहानमा जम्मा हुन गई पानि व्यबस्थापनमा समस्या आउने गर्दछ। दिनको सुरुवातदेखि राति सुत्ने समयसम्म हामीले कुनै न कुनै रुपमा प्लास्टिकको प्रयोग गरेका हुन्छौ । प्लास्टिक नियन्त्रण होस भनेर अरुलाई अर्ति उपदेश दिने तर पानी खाएर वोतल वाटोमा फ्यात्त फाल्ने, तरकारी प्लास्टिकको झोलामा नदिएसम्म नलिने हाम्रा आनीबानी नै बनेको छ । प्याकेटका खानेकुरा खाएर होस वा अन्य सामग्री प्रयोग गरेर होस जहाँतहीं फ्याक्न हाम्रा हात सजिलै अघि सर्छन । प्लास्टिक जहा फाले पनि यसले गर्ने फोहोर नै हो । पानीमा फाले पानि, फोहर जमिनमा फ्याके जमिनलाइ दुर्गन्धित पार्दछ।
आगो बाल्दा झन् खतरनाक धुवा निस्कन्छ । प्लास्टिकको धुवाँ वातवरणीय रूपले समेत निकै खतरनाक हुन्छ । प्लास्टिकले सुन्दर वस्तीहरुलाई दिनानुदिन कुरुप बनाउदै छ । विश्वको शिखर सगरमाथामा समेत प्लास्टिकजन्य फोहरले असर पर्न थालिसकेको छ। विश्वभर प्लास्टिककको प्रयोग यतिधेरै बढेको छ यकिन गर्न पनि हामीलाई मुस्कील पर्दछ । हामीले फाल्ने फोहोरको प्रमुख हिस्सा प्लास्टिक नै हो । यो फोहोर कता जान्छ होला भनेर हामी कसैलाई सोच्ने फुर्सद छैन । प्लाष्टिक प्रदुषणले हाम्रो वातावरणलाई तीव्र गतिमा हानि पुर्याईरहेको छ । प्लास्टिकजन्य पदार्थबाट निस्कने फोहोरको विसर्जन निकै कठिन छ र यसले पृथ्वीको प्रदुषणमा पनि ठुलो योगदान पुर्याउदछ जसको कारण यो विश्वव्यापी चिन्ताको विषय बनेको छ ।
प्लास्टिकको झोला, भाँडाकुडा र फर्निचरको बढ्दाे प्रयाेगका कारण प्लास्टिकजन्य फोहोरमा उलेख्य बढेको छ, जसले प्लास्टिक प्रदुषणजस्ता गम्भीर समस्या सिर्जना गरेको छ । प्लास्टिकको सहज व्यवस्थापन भनेको प्लास्टिकजन्य उत्पादनलाई जम्मा गरी पुनः प्रयोगका लागि रिसाइकल गर्नु नै हो। प्लास्टिक जम्मा गरी उच्च तापक्रममा पगालेर पुनः प्रयोगमा ल्याउनु सबै भन्दा सजिलो उपाय हो। तर दूषित पदार्थ रहेको प्लास्टिकका सामग्री रिसाइकल गर्दा अझ ठूलो स्वास्थ्य समस्या आउन सक्छ। प्लास्टिक प्रदुषण रोक्नको लागि सवैभन्दा महत्वपुर्ण कदम भनेको प्लास्टिकको प्रयोग नै नगर्नु हो।
आजको विश्वको अहम चुनौती भनेको पृथ्वीको रक्षा नै हो। पृथ्वीको सुरक्षामा नै मानव लगायत प्राणी वनस्पति जगतको अस्तित्व र भविष्य गाँसिएको छ। पृथ्वीको सुरक्षा र मानव जातिको सुखको लागि वातावरण संरक्षण तथा ब्यबस्थापन गर्न हरेक राष्ट्रको दायित्व हो । प्लास्टिकको झोला र प्लास्टिकबाट बनेका अन्य वस्तुहरुको प्रयोग रोक्न सजिलै सकिंदैन भने कम्तिमा तिनीहरुलाई फ्याक्नु अघि धेरै पटक पुनः प्रयोग गर्न सकिन्छ । ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादनमा कडाइका साथ रोक लगाउने हो भने केही हदसम्म प्लास्टिक प्रदूषण नियन्त्रण गर्न सकिन्छ ।