
विश्व वातावरण दिवस भनौं वा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, उही उही समयमा पर्न आउँछ । २२ मे का दिन अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइन्छ भने त्यसको लगत्तै ५ जुनमा विश्व वातावरण दिवस पर्दछ । वातावरण भनौं वा जैविक विविधता, प्राविधिक रूपमा केही फरक परेपनि सारमा एउटै कुरा हो । आजभोलि यो विश्व संस्कृति बनेको छ । सन् १९७४ देखि विश्व वातावरण दिवस मनाउन थालेको हो । रमाइलो र खुसीको कुरा त के हो भने, वातावरणीय शिक्षालाई आत्मसात गर्ने ‘सिति नखः’ नामको चाड नेपालको नेवार सभ्यतामा हजारौं वर्षदेखि प्रचलित छ । चन्द्रमानको पात्रअनुसार हरेक ज्येष्ठ शुक्ल षष्ठीका दिन पर्ने यो पर्वलाई सिथि नखः पनि भनिन्छ ।

सिति वा सिथि, सही शब्द कुन हो ? ‘षष्ठी’ को दिनमा पर्ने चाड भएर षष्ठी भनिएको र त्यही शब्द अपभ्रंश हुँदै सिथि बनेको भनाई पनि पाइन्छ । षष्ठी नामका तिथि वर्षभरमा चौबीस वटा आउँछ र षष्ठीको दिन पर्वविशेष वा बेग्लाबेग्लै सन्दर्भहरू जोडिएका हुन्छन् । तर कसैलाई सिथि भनिँदैन । रह्यो सिति शब्द, सितिको ति शब्दले स्पष्ट रूपमा पानीको अर्थबोध गर्दछ । अहिले छलफल गर्न लागेको चाडको सोझो सम्बन्ध पनि पानीसँग नै छ । शब्दको यो भेदलाई भाषा वैज्ञानिकहरूकै जिम्मामा छाडेर अब संस्कृति र वातावरण विषयमा छलफल गर्दा धेरै रोचक कुराहरू प्रकाशमा आउने हुन्छ ।
नेवार सभ्यतामा वर्षैभरि मनाइने चाडपर्वहरू प्रायः मौसमसँग सम्बन्धित हुन्छन् । सिति नखःको समय प्रायः आकास बादलले ढाकिएको हुन्छ । वातावरणले वर्षा यामको संकेत दिन्छ । अबको केही समयपछि नै खेतमा रोपाईको काम सुरु हुन्छ । काठमाडौं उपत्यकाको कृषि कर्म मूलतः वर्षाको पानीमा निर्भर हुन्छ । आकासबाट बर्सिने पानीलाई सही समयमा सदुपयोग गर्न पाएन भने रोपाइँ छुट्ने हुन्छ । यही भएर अरु जम्मै कुरालाई थान्को लगाएरै पनि रोपाइँमा ध्यान दिन यहाँको जनजीवन वाध्य हुन्छन् । पानीका श्रोतहरू वर्षाको बेला प्रभावित हुन्छन् । ती श्रोतहरूको रेखदेख तथा मर्मत गर्नु आवश्यक हुन्छ । अथवा यस्तो भन्न सकिन्छ, वर्षाको बेला आइपर्ने वाध्यतालाई व्यवस्थापन गर्ने कामको औपचारिक दिन सिति नखः हो । आजभोलि कृषिकर्म नगर्ने नेवार पनि यो दिनलाई परम्परागत सांस्कृतिक पर्वका रूपमा अनिवार्य रूपमा मनाउँदै आइरहेको पाइन्छ ।
सिति नखः मनाउनका लागि नेवारको घरमा विहानैदेखि विशेष रूपमा सरसफाईको काम हुन्छ । नुहाईधुवाई सकाए पूजा सामग्रीको जोरजाम सुरु हुन्छ । घरको कोही एक जना सदस्य पूजा सामग्री लिएर मन्दिर जान्छन् र पूजा गरेर फर्कन्छन् । घरका अन्य सदस्यलाई टिका तथा प्रसाद दिने गरिन्छ । साथै, यस दिन घरमा विशेष खालका भोजनहरू पाक्दछ । सिति नखःलाई ‘वः’ खाने पर्वको रूपमा पनि चिनिन्छ । यस दिन विभिन्न प्रकारका वः बन्ने गर्द । सामान्यतः मासको पिठोबाट वः बनाइन्छ भने यस दिन कःसूलगायत अन्य गेडागुडीको पनि बेग्लाबेग्लै वः बन्दछ । मासको वःलाई मायवः भनेजस्तै कःसूको वःलाई कःसूवः भनिन्छ । पाँच छ थरीका वःहरू बन्दछ । यसरी नै मार्पालगायतका मिष्ठान्नहरू पनि तयार हुन्छन् । यस्तो खान्गीले शरीरलाई पौष्टिक आहार त दिन्छ नै, रोपाइँको बेला चाहिने शारीरिक बल पनि प्रदान गर्द छ।
यो दिन व्यक्तिगत रूपमा आफ्नो घरआँगत तथा अन्य क्षेत्रको सरसफाईको काम गरिन्छ भने, टोल छिमेकका सबै दाजुभाई मिलेर सामूहिक रूपमा पानीको श्रोतका रूपमा रहेका इनार, पोखरी, ढुंगे धारा तथा पानीको मूल स्थलको सरसफाइ तथा मर्मत कार्यमा लाग्ने हुन्छन् । इनारको सफाई गर्ने कार्य अलि जटिल हुन्छ । इनारभित्र धेरै समय बस्नु हुँदैन । भित्र ग्याँस जमेर बसेको हुन्छ र मान्छेलाई बेहोस बनाइ दिनसक्छ । यही भएर बलियो बाँगो मान्छेलाई भित्र पठाइन्छ भने उसको सुरक्षाका लागि अरु बलिया मान्छेहरूलाई तयारी अवस्थामा राखिन्छ । इनारभित्र जानेले लेदोलगायतका कुराहरू भाँडामो भर्ने र अन्यले त्यसलाई छिटोछिटो तानेर निकाल्ने गरिन्छ । पोखरीको सफाई पनि आवश्यक मात्रामा गरिन्छ । यसरी सफाई गरेपछि पानी निकाल्नु हुँदैन, केही समय यत्तिकै रहन दिनु पर्दछ भन्नुको तात्पर्य पानीको सतह मिल्न दिनु हो । यसपछि यी श्रोतहरूमा फोहर गर्नु हुँदैन, यहाँ वास गर्ने नाग रिसाउँछ भन्ने मान्यता पनि पाइन्छ । विशेषतः इनार तथा मूलको सरसफाईको काम गर्नुलाई सांस्कृतिक कर्मका रूपमा लिइन्छ ।
खेतसम्म जाने बाटो तथा अन्य कुराहरूको सरसफाईको काम पनि सम्पन्न गरिन्छ । यी जम्मै चाँजोपाजोको तात्पर्य रोपाइँको बेला हुने अस्तव्यस्त जीवनमा पनि स्वच्छ र सफा वातावरण बनाइनु हो । जसले गर्दा स्वास्थ्यस्थितिलाई प्रभावित हुन दिँदैन ।
कुमार कार्तिकेयको पूजा गर्नु नै सिति नखः हो भन्ने बुझाई पनि पाइन्छ । तर यो पूजा काठमाडौंको जैसीदेवल टोलमा सीमित छ । कार्तिकेयका सम्बन्धमा पूर्णतः अनभिज्ञ वा सरोकार नभएका पनि सिति नखः मनाइरहेका हुन्छन् । शिव–पार्वतीका ज्येष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइने पर्व सिति नखःकै दिनमा परेको मात्रै हो, यही सिति नखः होइन भनेर बुझ्नु पर्दछ । कुमार कार्तिकेय र सिति नखः बीच तात्विक समानता पाइँदैन ।
१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । वातावरणको क्षेत्रका चिन्तक तथा अभियन्ताहरूका लागि यो ज्यादै महत्वपूर्ण कुरा थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो । त्यहीअनुसार विश्व वातावरण दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो । त्यसपछिका दिनहरूमा पनि वातावरणसँग सम्बन्धित अनेक गतिविधिहरू हुन थालेको पाइन्छ ।
नेपालको नेवार समाजमा प्रचलित सिति नखःका सम्बन्धमा विश्व परिचित हुँदो हो, यसैलाई एउटा दिवस बनाएर विश्वव्यापी गर्ने थियो । वातावरणीय सरसफाईको महत्व नेवार समाजले हजारौं वर्षअघि नै बुझिसकेको र त्यसलाई संस्थागत गर्न सांस्कृतिक पर्वको रूपमा विकास गरेको बुझ्न सकिन्छ । विश्वले मनाउन थालेको वातावरण दिवसलाई आत्मसात गर्ने सिति नखःका बारेमा विश्वलाई बुझाउन अझै पनि सकिन्छ । र ज्ञानका मामिलामा नेपाल पछि छैन भनेर विश्वलाई देखाउन पाउनु नेपालीका लागि गौरवको कुरा हो ।
आधुनिक परिवेशको सहरी क्षेत्रमा रोपाइँको काम कमै मात्र हुनेभएपनि सिति नखःलाई सरसफाइसँग नै सम्बन्धित गरेर मनाउने चलन कायम नै छ । मुख्य सहरी क्षेत्रका पुराना वस्तीहरूमा रहेका इनार तथा धारा क्षेत्रमा स्थानिय युवाहरू यो दिन सरसफाईमा जुट्छन् । साँस्कृतिक मर्म र सरसफाईको कर्मलाई नवआगन्तुक जनसमुदायले बुझिदिनु पर्दछ ।
काठमाडौंमा खुल्ला र खाली जमिन एकातर्फ कम हुँदै गइरहेको छ भने अर्कोतर्फ घरै–घरले भरिँदैछ । खुला ठाउँमा पनि सडक र सिमेन्टेको प्रयोगबाट निर्माण संरचनाहरू बन्दैछन् । यसले वर्षा याममा जतिसुकै पानी परेता पनि वरपर जमीनमा सोसिएर जान नपाउँदा पानी रिचार्ज हुन पाएन । यसले गर्दा धेरै जसो पानीका मुहानहरू सुक्दै गएका छन् । काठमाडौंको लागि यो नयाँ चुनौती हो । जमीन सुक्खा पर्नु भनेको कालान्तरमा जमीन भासिनु हो । यो समस्याको समाधान गर्ने शिक्षा सिति नखःको मर्ममा निहित छ । यस अर्थमा सिति नखः अझै सान्दर्भिक छ । यसले विश्वलाई नै बचाउने सन्देश पनि दिन्छ ।
लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np