
कवि भानुभक्त आचार्यभन्दा धरान उपमहानगरपालिकाका मेयर हर्क राज साम्पाङ १६८ वर्षले कान्छा छन् । कवि आचार्यकाे जन्म सन् १८१४ मा भएकाे थियाे भने मेयर साम्पाङ सन् १९८२ मा जन्मेका हुन् । यी दुई बीच कम्तीमा पनि पाँच पुस्तान्तरणको फरक छ । बेग्लै विषय क्षेत्रका यी व्यक्तित्वहरू हुन् र सामाजिक, सांस्कृतिक, धार्मिकलगायत कुनै कुरामा पनि सामाञ्जस्यता छैन । तर काठमाडौंको सन्दर्भमा, विशेष गरी समयको अन्तरालमा आएको परिवर्तन र त्यसले पारेको प्रभावलाई तुलनात्मक रूपमा चर्चा गर्न यी दुई पात्र यहाँ उपयुक्त देखियो । यो तुलनाले काठमाडौंको चित्रण गर्न धेरै सघाउने पनि देखिन्छ ।
तनहुँको चुम्दीरम्घा गाउँमा जन्मेका भानुभक्तको बाल्यकाल उतै गाउँघरमा बित्यो । शिक्षादीक्षा पनि उतै पाए । सरकारी सेवामा लागेका कर्मचारी उनी बही बुझाउन पहिलो पल्ट काठमाडौं आउँदा उनले काठमाडौंलाई अत्यन्तै सुन्दर नगरका रूपमा पाए । काठमाडौंको वर्णन गर्दै कवि हृदयले यसलाई स्वर्गको अलकापुरीसँग तुलना गरे ।
तर खोटाङको गार्तम्छा (कपिलासगढी गाउँपालिका)मा जन्मे हुर्केर धरान उपमहानगरपालिकाको मेयर पदमा पदवहाली गरेर काठमाडौं आएका हर्क साम्पाङले भने काठमाडौंलाई अलकापुरीका रूपमा देख्न पाएनन् । काठमाडौंको रूप फेरिसकेको थियो । जताततै अस्तव्यस्त देखिन्छ । उनी काठमाडौं आएको बेला फोहर फाल्ने डम्पिङ साइटको विवादले फोहर उठ्न नसकेर ठाउँ ठाउँमा थुप्रिरहेको थियो । यसले दुर्गन्ध पनि फैलिएर बटुवाहरूलाई हैरान पारिराखेको थियो । हर्क साम्पाङ काठमाडौंमा आउनु र फोहरको यो समस्या हुनु काकताली होइन, काठमाडौंको यो नियमित समस्या हो । दशकौं अघिदेखि फोहरको राजनीति चल्दै आइरहेको छ । काठमाडौं देखेर दिक्क लाग्नु स्वाभाविक हो र यो दिकदारीलाई उनले सामाजिक संजालमा लेखिदिए ।
काठमाडौंको प्रशंसा गरेर अनेक शब्दश्रृङ्गार गर्नेहरूमा कवि भानुभक्त एक्लै थिएनन् । उनीअघि काठमाडौं आएका अनेकौं लेखक तथा विद्वानहरूले काठमाडौंको भरपूर मात्रामा गुणगान गरेका पाइन्छन् । यहाँको कलाकौशल तथा सुन्दरताको प्रशंसा सातौ शताब्दीमा चीनबाट आएका राजदूत वाङ हुयन्चेले जुन रूपमा गरेका पाइन्छ, यस्तै प्रशंसा सयौं वर्षपछि आएका अन्य पश्चिमा यात्रीहरूले पनि गरेको पाइन्छ । गोरखाका राजा पृथ्वीनारायण शाह नै पनि काठमाडौंको सुन्दरतादेखि मन्त्रमुग्ध भएका थिए र राज्य विस्तारको क्रममा उनले राजधानी नै काठमाडौंमा सारे । उनको भनिएको दिव्योपदेश ग्रन्थमा काठमाडौंको प्रशंसा मात्रै पाइँदेन, यसको संरक्षण र प्रवद्र्धन गर्ने उपायहरू पनि सुझाएका छन् । मनोरञ्जनका लागि बाहिरबाट नाच्न गाउनेहरू ल्याउनु नपर्ने, काठमाडौंकै राम्रो भएको र मनोरञ्जनका लागि काठमाडौंकै कलाकारहरूलाई प्रयोग गरे देशको धन बाहिर नजाने र भित्री कुरा पनि गोप्य नै रहने भनेका थिए । जमिनको उपयोग जमिनअनुसार गर्नुपर्दछ अर्थात् खेती लाग्ने जमिनमा बस्ती नबसाल्ने बस्ती बसिसकेको रहेछ भने पनि बस्ती अन्यत्र सारेर खेती लगाउने उपदेशले काठमाडौंको दीगो विकासलाई जोड दिएको पाइन्छ । भानुभक्तभन्दा पछि पनि काठमाडौं खासै बिग्रेको भन्न मिल्दैन तर २००७ सालपछि विस्तारै बिग्रन थालेर २०५० सालपछि भने द्रूतत्तर गतिमा नै बिग्रन थाल्यो ।
अवसरको खोजीमा रहेकाहरूका लागि काठमाडौं करीव दुई हजार वर्षअघिदेखि एक प्रकारले गन्तव्य रहँदै आएको कुरा अनेक ऐतिहासिक श्रोतबाट बुझिन्छ । काठमाडौंको विकास यहीँका रैथाने र अवसरको खोजीमा आएकाहरूको मेहनतबाट भएको हो । ती मेहनतीहरू कठमाडौंलाई यति माया गर्दथे कि, काठमाडौंलाई नै आत्मसात गरेर रैथाने नै भएर गए । आफ्नो गाउँ ठाउँ फर्केकाहरू पनि काठमाडौंको कला शिल्प तथा वैभवलाई साथमा लिएर गए । काठमाडौंकै रैथानेहरू पनि यताउता जाने क्रममा यहाँको कलाकौशल तथा वाणिज्य व्यापारलाई अन्यत्र फैलाए । इतिहासको यो सुन्दरतम् पक्षलाई निरन्तरता दिन नसक्नु नेपालको इतिहासमा एउटा ठुलै दुर्घटना हो ।
नेपालले विकास निर्माणका कामहरू सन्तुलित ढंगले गर्न नसक्दाको परिणाम हो, देशैभरबाट नेपालीहरू काठमाडौंमा ओइरिनु । नीति निर्माण तहमा पुग्नेहरू दूरदृष्टिका भएनन्, राजधानी काठमाडौंभन्दा बाहिर पनि नेपाल छ भन्ने कुरा बुझ्न सकेनन् वा बुझ्न चाहेनन् । यद्यपि नीति निर्माण तहमा पुगेकाहरू काठमाडौंबाहिरबाटै आएका हुन् । काठमाडौं पुगेर काठमाडौंमा नै भाँसिएकाहरूले आफ्नो गाउँठाउँलाई चटक्कै बिर्सिदिँदा विकास निर्माणका गतिविधिहरू काठमाडौं बाहिर हुनसकेन । सानो सानो कामका लागि पनि काठमाडौं नै धाउनु पर्ने भयो । शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय सबै क्षेत्रका लागि काठमाडौं पहिल्यैदेखि केन्द्र त थियो नै, यस्तै विकास आफ्नो ठाउँमा पनि हुनुपर्छ भन्नेभन्दा आफ्नो गाउँठाउँमा जस्तो सुकै भएपनि आफू काठमाडौंमै रमाउने र यहीँ भाँसिने सोच विकास हुन थाल्यो । तर काठमाडौंको वस्तुस्थितिलाई बुझ्न सकेन । जथाभावी कामकारवाही हुनथाल्दा अव्यवस्था सिर्जना हुनपुग्यो । यसले पहिल्यैदेखिको बनिबनाऊ प्रणालीमा पनि असर पर्न गयो ।
यी नीति निर्माणको तहमा पुगेकाहरूमा प्रमुख रूपमा दुई कमजोरी देखियो, पहिलो, काठमाडौं बाहेक आफ्नै गाउँठाउँको विकासमा पनि ध्यान नजानेहरूले अन्य दूरदराजको भूभागमा ध्यान दिने त कुरै भएर । दोस्रो, काठमाडौंलाई देख्ने आँखाले पनि काठमाडौंको स्थानियता, यहाँको मौलिकता तथा परम्परालाई पनि आत्मसात गर्न सकेनन् । काठमाडौंको रैथाने ज्ञान पूर्णतः उपेक्षित बन्न गयो ।
संघीय गणतन्त्रको स्थापनापछिकै कुरा गरौं, नेपालको जुनसुकै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएको जनप्रतिनिधि नै किन नहोस्, उसको ध्यान काठमाडौंको स्थानिय समस्यामा रहेको हुन्छ । स्थानिय समस्यमा नै अधिकांशको ध्यान जाँदा त्यसैको राजनीति हुनु पनि स्वाभाविक हो जसले गर्दा काठमाडौंकै विकास निर्माणका कामहरू प्रभावित हुन पुगेको छ । नेपाललाई सात प्रदेशमा बाँडेर नगर तथा गाउँ पालिकाहरूको व्यवस्था गरेपछि आआफ्नै ठाउँमा अवसरको सिर्जना हुन्छ र काठमाडौंमा बढेको अस्वाभाविक चाप घट्छ भन्ने मनसाय थियो तर असन्तुलित विकास र उचित व्यवस्थापनको कमीले गर्दा काठमाडौंको चाप घट्न सकेको छैन । अन्यत्र जनशक्तिको अभाव छ भने काठमाडौंमा प्रतिस्पर्धा बढी नै हुन्छ । यसरी नै काठमाडौंबाट विदेश पलायन हुने दर पनि बढ्दो छ ।
काठमाडौंको विकास निर्माणको काम पहिलाको तुलनामा बढेको त हो तर सन्तुलित र दीगो विकास भएन । कवि भानु्भक्तले अलकापुरी नगरी देखेको काठमाडौंलाई धरानका मेयर हर्क साम्पाङले नर्कतुल्य देख्नुले समग्रमा काठमाडौं उपत्यका विकासतिर नभएर विनाशतिर लम्किरहेको देखाउनु हो ।