जेठ ९, काठमाडौं।
बिहानैदेखि काठमाडौंमा धुम्मिएकाे माैसमले आजकाे दिन घमाइलाे नहुने देखाएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनअनुसार देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसले आज दिउँसो देशको पहाडी भू-भागहरूमा आँशिकदेखि सामान्य बदली गर्ने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
यस्तै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएकाे छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
महाशाखाले भाेलि पनि दिउँसो देशको पहाडी भू-भागहरूमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने जनाएकाे छ ।
जलवायुविद् धरमराज उप्रेतीकाअनुसार सक्रिय पश्चिम वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले भाेलिदेखि सुदुर पश्चिमबाट सुरू भै देशभर नै दुई दिन हावाहुरी, चट्याङ, असिना पानीको सम्भावना उच्च रहेको छ । यसले देशको पश्चिम भागमा बढी असर गर्नेछ ।
भारत मौसम विभागले राजस्थानदेखि उत्तराखन्डसम्म जेठ १०-११ गतेको लागि अरेन्ज अलर्ट जारी गरिसकेको छ भने केहि भागमा पहेलो अलर्ट जारी गरेको छ। उप्रेतीका अनुसार अरेन्ज अलर्ट भनेको मध्यम किसिमको सावधानी हो भने पहेलो हल्का वा सुरुको अवस्था हो । तिब्र गतिको हावाहुरी को सम्भावना भएको हुँदा सुदूर पश्चिम्, कर्णाली र लुम्बिनी प्रदेशका बासिन्दाले सावधानी आवश्यक छ ।