
जैविक विविधता संरक्षणमा सबैको ध्यानाकर्षण गर्न हरेक वर्ष मे २२ मा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउने गरिन्छ ।
नेपालमा सन १९९४ को २१ फेब्रुवरीदेखि जैविक विविधता महासन्धि लागू भएको हो । यस महासन्धिले लिएका तीन सिद्धान्त ‘जैविक विविधता जोगाऔँ, यसको महत्व बुझौँ र दीगो उपयोग गरौं भन्ने रहेका छन ।
नेपालको सन्दर्भमा कुनै पनि विकास निर्माणको काम सुरु गर्नु पहिले त्यसबाट स्थानीय वातावरणमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने र संरक्षित क्षेत्रबाट प्राप्त हुने आम्दानी स्थानीय समुदायको सामुदायिक विकासका लागि खर्च गर्न पाउने कानुनी व्यवस्था जैविक विविधता महासन्धिका देन हुन ।
यस महासन्धिले जैविक विविधताका स्रोतमाथि सम्बन्धित राष्ट्रको सार्वभौम अधिकार रहने सुनिश्चित गरेको थियो । तर नेपालमा जैविक विविधताका दृष्टिकोणले सम्पन्न देश भएपनि यहाँ पाइने जैविक विविधताको अभिलेख तयार पारिएको छैन भने यस्तो अभिलेखलाई पञ्जीकरण गर्ने ऐन, नियमहरू हालसम्म पनि बनेका छैनन् ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
सन १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा संयुक्त राष्ट्र संघीय जैविक विविधता महासन्धि पारित भएयता जैविक विविधताको संरक्षण, समुचित उपयोग तथा यसबाट प्राप्त लाभको बाँडफाँटसम्बन्धि मुद्दामाथि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा विशेष महत्वकासाथ छलफल हुँदै आएको पाइन्छ । यसै सन्दर्भमा सन् २००२ देखि जैविक विविधता संरक्षणमा सम्बन्धित सबै सरोकारवालाको उच्च एवं सक्रिय सहभागिताका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष मे २२ का दिन अन्तर्राष्ट्रिय जैविक विविधता दिवस संसारभर मनाइँदै आएको हो ।
जैविक विविधतासम्बन्धि महासन्धिको सचिवालयले जैविक विविधता दिवस २०२३ को नारा “सम्झौताहरूको अनुमोदनदेखि कदमहरूसम्म’’ भन्ने छ ।
जैविक विविधता नेपालको प्रमुख प्राकृतिक स्रोत हो । यसले देशको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र पारिस्थिकीय प्रणालीमा प्रत्यक्ष र अप्रत्यक्ष योगदान पु¥याइरहेको छ । नेपालमा जैविक विविधता संरक्षण तथा व्यवस्थापनमा स्थानीय समुदायहरु र सामुदायिक वन कार्यक्रमको महत्वपूर्ण योगदान रहिआएको छ । वन जङगलको विनासले वनस्पति तथा जीवजन्तुको बासस्थानमा ह्रास आई नेपालको जैविक विविधता सङ्कटपूर्ण अवस्थामा जान लागेको छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन् ।
जैविक विविधता शब्दलाई विभिन्न व्यक्तिले विभिन्न तरिकाले अर्थ लगाएको पाइन्छ । जैविक विविधता भन्नाले जीवित वनस्पति, जिवजन्तु, जीवाणु र तिनीहरूबाट उत्पादित वस्तु जो मानवीय उपयोग जस्तैः खाद्यान्न, घाँस, इन्धन, मल, पोषकतत्व, औषधि आदि पर्दछन् । यी स्रोत जैविक वस्तु भएको र यिनीहरूबाट विभिन्न विशिष्ट रासायनिक पदार्थहरू जस्तैः औषधि,रङ तथा वंशाणु सामग्रीहरू उत्पादन गर्न सकिन्छ ।
विश्वमा जनसंख्या वृद्धि, भौतिक विकास तथा विभिन्न कारणले जैविक प्राणी तथा वनस्पतिको संख्यामा दिनानुदिन ह्रास हुने क्रम बढदो छ । तसर्थ मानवीय हित र प्रत्येक जीवजन्तु तथा वनस्पतिको सह–अस्तित्वलाई कायम राख्न यस्ता प्रजातिलाई लोप हुनबाट बचाउन आवश्यक छ ।
मानिस स्वभावले नै विविधता मन पराउँछ । चाहे जेसुकै कुरामा होस्, उसलाई नयाँ–नयाँ साथी, ठाउँ, घर अनि खाना मनपर्छ । नयाँ कुराहरू गर्न रुचाउँछ ।
हिन्दु धर्मावलम्बीले बनस्पति तथा फलमध्ये वर, बेल, रुद्राक्ष र अशोकलाई भगवान शिव मान्दछन् । पीपल र बाबियोलाई भगवान विष्णु, शमी र दुबोलाई गणेश, तुलसी र अमलालाई लक्ष्मी, कुश र पलाँसलाई ब्रह्मा अनि खयरलाई अग्निका रूपमा स्विकारेको देखिन्छ । त्यसै गरी किराँत जातिलाई त पूर्ण रूपमै भूमि तथा जैविक विविधता पुजारीकै रूपमा लिएको पाइन्छ । भगवान गौतम बुद्धले बुद्धत्व प्राप्ति गरेको तथा जन्म पनि वृक्षकै वरिपरि घुमेको छ । त्यसैगरी कुरान तथा बाइबल समेतले वन, बनस्पति तथा जैविक विविधताप्रति आस्था राख्दछन् ।
जैविक विविधता (वायोलोजिकल डाइभर्सिटी तथा वायोडाइभर्सिटी) भन्ने शब्द सन् १९८० को दशकको अन्त्यतिर प्रयोगमा ल्याइएको भएपनि मानव जातिको जैविक विविधतासँगको अन्तरक्रिया नयाँ भने होइन । जैविक विविधता भन्नाले यस पृथ्वीमा रहेका सम्पूर्ण प्राणी, वनस्पति, सुक्ष्मजीव र तिनीहरूका बीचमा रहेका विविधतालाई जनाउँछ । यसै गरी जीवजन्तुका बासस्थानमा हुने पर्यावरणीय फरकलाई पनि जैविक विविधता भन्ने बुझिन्छ । जैविक विविधतासम्बन्धि महासन्धि (१९९२) ले जैविक विविधताका ३ वटा महत्वपूर्ण अवयव हुने कुरा उल्लेख गरेको छ, १.आनुवंशिक विविधता (जेनेटिक डाइभर्सिटी), २. प्रजाती विविधता (स्पेसिस डाइभर्सिटी) र ३. पारिस्थितिक प्रणाली विविधता (इकोसिस्टम डाइभर्सिटी) । जैविक विविधता कृषि, वन र सिमसार क्षेत्र जैविक विविधताका भण्डार हुन । त्यहाँ पाइने जीवजन्तु, वनस्पतिका प्रजाति र तिनमा पाइने भिन्नता जैविक विविधता हो ।
सन १९९२ मा सम्पन्न पृथ्वी शिखर सम्मेलनपछि जैविक विविधता शब्दले व्यापकता पाएको पाइन्छ । जैविक विविधतालाई थुप्रै तहमा व्याख्या गर्न सकिए पनि प्रजाति विविधता नै यसको सबैभन्दा व्यवहारिक, सजिलो, सर्वत्र स्वीकारिएको र उपयोगी तथ्य हो । साल, आँप, चिलाउने धान, मकै, गोलभेडा आदि बनस्पतिका फरक फरक प्रजातिहरू हुन् भने बिरालो, भालु, गैंडा, हात्ती, बाघ, स्याल जनावरका फरक–फरक प्रजातिहरू हुन् । उदाहरणको लागि, नेपाल, इन्डोनेसिया र अफ्रिकामा पाइने गैडा फरक–फरक प्रजाति हुन्। संसारमा अहिले गैंडाका पाँचवटा प्रजातिहरू छन् । त्यस्तै नेपालको पहाडी भेगमा पाइने सल्ला (खोटे सल्ला) र लेक तथा उच्च पहाडमा पाइने सल्ला (रानी सल्ला), सल्लाका फरक–फरक प्रजातिहरू हुन् । नेपालमा फुलफुल्ने वनस्पतिका लगभग सात हजार जति प्रजातिहरू पाइन्छन् । त्यसैगरी, आठ सय ६० भन्दाबढी प्रजातिका चराहरु पाइन्छन् । वैज्ञानिकहरुले अहिले संसारभरिमा लगभग २० लाख जति प्रजातिहरू (प्राणी, वनस्पति र सुक्ष्म जीव समेत गरी) पहिचानगरि व्याख्या गरिसकेका छन् । संसारभरि जम्मा कति प्रजाति छन् भन्ने यकिन भन्न कठिन छ, तर ३० लाख देखि १ करोडसम्म प्रजातिहरू हुन सक्ने अनुमान गरिएको छ ।
नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य रहेको र तीमध्ये २ सय प्रजातिको खेति गरिँदै आएको तथ्यांक छ । विश्व अर्थव्यवस्थाको ४० प्रतिशत र न्यून आय भएका मुलुकका जनताको ८० प्रतिशत आवश्यकताहरू जैविक विविधताबाटै प्राप्तहुने गरेका छन् ।
जैविक विविधतामा मानिसले पुर्याएका असरहरू
जैविक विविधतामा मानिसले पुर्याएका असर विगत १० हजार वर्ष पहिलेदेखि नै देखिन थालिएको हो तर लामो समयसम्ममा नव गतिविधिको असर हाल जस्तो त्यति उल्लेख्य र व्यापक थिएन । मानिसका क्रियाकलापले गर्दा पछिल्ला दुई–तीन सय वर्षमा पृथ्वीमा उल्लेख्य असर परेको तथ्यहरू हाम्रा सामु प्रसस्तै छन् । बढ्दो जनसंख्याको आवश्यकता पूर्ति गर्नको लागि कृषिको विस्तार र औद्योगिकरण ब्यापक रुपमा बढ्दै गयो र पछिल्लो समयमा सघन कृषि प्रणालीको सुरुवात भयो । कृषि, चरन क्षेत्र र उद्योगको बिस्तारका क्रममा संसारभरि नै वन फडानी तिव्र भयो । प्राकृतिक वासस्थान परिवर्तन गरी कृषि भूमिको बिस्तार गरियो । कृषि र चरणको लागि प्राकृतिक बासस्थान नास गर्ने क्रम धेरै अघिदेखि क्रमिक रुपमा चले पनि पछिल्लो तीन शताब्दिमा यो तिव्र गतिमा बढ्यो । अहिले पृथ्वीको सतहको लगभग ५० प्रतिशतभन्दा बढी प्राकृतिक भू–भागमा नवजन्य क्रियाकलापद्वारा कृषि, आवास, उद्योग र चरनको क्षेत्रका लागि रुपान्तरित गरिएको छ । ७५ प्रतिशत भू–भागमा कुनै न कुनै रुपमा मानिसको प्रभाव परिसकेको छ ।
प्राकृतिक बासस्थानको नास, जंगलको फडानी, वातावरण प्रदुषण, जलवायु परिवर्तन लगायतले जैविक विविधतामा प्रत्यक्ष असर पर्न गई, प्रजातिहरूलोप हुने क्रम बढ्यो । प्रजाति लोप हुनुमा बासस्थान परिवर्तन, वनजंगल फडानी र श्रोतको अत्याधिक दोहन प्रमुख कारणहरू हुन् । त्यसबाहेक मानिसले जानीजानी वा अनजानमैं एक ठाउँबाट अर्को ठाउँमा पु¥याएका प्रजातिहरू मिचाहा बनेर निस्कनु पनि एउटा अर्को महत्वपूर्ण कारण हो ।
प्रत्येक परम्परासँग कुनै न कुनै रूपमा जैविक विविधता गाँसिएको देखिन्छ । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी प्रयोग, परम्परागत ज्ञान, सीप तथा प्रविधिको अहिले पनि उत्तिकै महत्व छ । जस्तो, चेपाङ जातिको चिउरीको रूखसँग परम्परागत साइनो छ भने कुलुङ राईको अल्लोसँग । नेपालको जनगणना २०६८ अनुसार देशमा रहेका एक सय २५ जातजातिहरूमध्ये अधिकांशको कुनै न कुनै बनस्पतीय साइनो पाइन्छ । यी परम्परागत संस्कृति तथा सीपले नेपालको जैविक विविधता संरक्षणमा उल्लेखनीय टेवा पु¥याएको छ ।
जलवायु परिवर्तन र जैविक विविधताको विनाश
जलवायु परिवर्तन र जैविक विविधताको विनाश हाम्रो पुस्ताको सबैभन्दा ठुलो र जल्दोबल्दो वातावरणीय समस्या हो । यी दुई समस्याहरूले सामान्य असर मात्र पर्ने नभई यस धर्तीमा मानव जातिको अस्तित्वसमेत जोखिममा पार्न सक्ने भएको हुनाले यी समस्याहरु विश्वव्यापी बहस र सरोकारका विषयहरु बनेका छन् । पृथ्वीको लगभग साढे ४ अर्ब वर्षको लामो इतिहासमा जलवायु परिवर्तन र जैविक विविधताको विनाश र प्रजातिहरू लोप प्राकृतिक रुपमा नै भएका वैज्ञानिक तथ्यहरु छन् । तर, अहिले देखिएका समस्याहरू मानव सिर्जित हुन् । हाम्रा क्रियाकलापहरू नै मूल रुपमा जिम्मेवार छन् भन्ने कुरामा अब दुईमत छैन ।
नेपालले जैविक विविधताले भरिएको देशको रूपमा बाहिर परिचय बनाएको भएपनि यसलाई जोगाउन निक्कै चुनौतीहरू बेहोर्नु परेको छ ।
जैविक विविधता संरक्षणमा हाम्रो भूमिका
जैविक विविधता संरक्षणमा नागरिक सहभागिताको अहं भूमिका हुन्छ । यस्तो सहभागिताको लागि संरक्षण शिक्षाको ठुलो भूमिका हुन्छ । जैविक विविधताको महत्व र यसको संरक्षणका चुनौती, हाम्रा कृयाकलापले प्रकृतिमा पर्ने सकारात्मक र नकारात्मक असर र विभिन्न श्रोतहरूको अवस्थाको बारेमा सबैमा जानकारी हुनु आवश्यक छ । स्थानीय सरकारले औपचारिक र अनौपचारिक शिक्षाको व्यवस्था गर्न सक्दछ । अध्ययनबाट प्राप्त नतिजा र विज्ञहरुको सुझावको आधारमा यस्तो शिक्षाको पाठ्यक्रम विकास गर्न सकिन्छ । आम सञ्चारका माध्यम र सामाजिक सञ्जालहरू पनि यस्तो शिक्षा प्रसारण गर्ने माध्यम हुन सक्दछन् ।
जैविक विविधता संरक्षणमा सरकारको भूमिका
सर्वप्रथम स्थानीय सरकारले आफ्नो क्षेत्र भित्रको जैविक विविधताको अवस्था, तिनको चुनौती र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण क्षेत्रहरू के के हुन् र कहाँ–कहाँ छन् भनी पहिचान गरी अभिलेख तयार पार्न पर्दछ । स्थानीय स्तरमा कुन–कुन प्रजाति र प्राकृतिक श्रोत के कसरी उपयोग भएका छन् भन्ने बारेमा पनि तथ्यहरू एकीकृत पारिनु पर्दछ । यी सबै कार्यहरू स्थानीय सरकारले गर्न सक्दछ ।
स्थानीय सरकारले जैविक विविधता संरक्षणको लागि नीतिगत व्यवस्था गर्न सक्दछ । यसरी कानुन, नीतिनियम र रणनीति बनाउँदा संवैधानिक व्यवस्थाअनुसार गर्नुपर्दछ । संरक्षण कार्यको प्रोत्साहन र दण्ड सजायँको पनि व्यवस्था गर्न सक्दछ ।
स्थानीय सरकारको क्षेत्र भित्रको प्राकृतिक श्रोत एवम् जैविक विविधताको संरक्षण र उपयोगको नीतिनियम र कार्ययोजना बनाई लागू गर्नसक्ने अधिकार स्थानीय सरकारमा रहेको छ । तसर्थ, स्थानीय सरकारले आफ्ना संयन्त्र प्रयोग गर्दै, अन्य साझेदार र सरोकारवालासँग मिलेर योजना कार्यन्वयन गर्नुपर्दछ ।
स्थानीय निकाय भित्रैका सरोकारवालाहरूको बीचमा सहकार्य, छिमेकी स्थानीय सरकारहरू बीचको सहकार्य, स्थानीय सरकारको प्रदेश र संघीय सरकारसँगको सहकार्य र स्थानीय सरकारको अन्य सरोकारवाला अनुसन्धान र संरक्षणमुखी संस्थासँग सहकार्य गर्नुपर्दछ ।
स्थानीय सरकारले जैविक विविधतासँग सम्बन्धित अध्ययनमा सहयोगी भूमिका खेल्नुपर्छ । साथै अध्ययन अनुसन्धानको लागि श्रोत जुटाउन भूमिका खेल्नु पर्दछ । स्वतन्त्र अध्ययन गर्ने संस्था र विज्ञहरुलाई सहयोग र प्रबद्र्धन गर्नुपर्दछ ।
स्थानीय सरकारले आफ्नो क्षेत्र भित्रको जैविक विविधता र तिनको संरक्षण र उपयोगमा भएका कार्यहरूको नियमित अनुगमन गर्नुपर्दछ । यस्तो अनुगमन कुनै प्रजातिदेखि लिएर समग्र वातावरणीय सेवा समेतको हुन सक्दछ । श्रोतको दोहन, चोरी सिकारी, बासस्थान विनास, मिचाहा प्रजातिको फैलावट आदिको अनुगमन पनि महत्वपूर्ण हुन्छ ।
जैविक विविधता संरक्षणमा नागरिक सहभागिताको अहं भूमिका हुन्छ । यस्तो सहभागिताको लागि संरक्षण शिक्षाको ठुलो भूमिका हुन्छ । जैविक विविधताको महत्व र यसको संरक्षणका चुनौती, हाम्रा कार्यले प्रकृतिमा पर्ने सकारात्मक र नकारात्मक असर र विभिन्न श्रोतहरूको अवस्थाको बारेमा सबैमा जानकारी हुनु आवश्यक छ ।
पृथ्वीका सम्पूर्ण जातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जे–जति महत्व छ त्योभन्दा बढी पर्यावरण तथा जैविक विविधताको संरक्षण पनि अपरिहार्य छ ।
मानवसिर्जित क्रियाकलाप अनि जलवायु परिवर्तनको असरले जैविक विविधतामा नराम्रो प्रभाव परिहरेको छ भने अर्कोतिर जैविक विविधताको संरक्षणले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने काम पनि गर्छ ।
विश्वमा बढ्दै गएको पर्यावरणीय विनाशले पृथ्वीमा नै ल्याएको नकारात्मक परिणाम तथा संकेतहरूले गर्दा आजको विश्वका हरेक देशमा पर्यावरणलाई महत्व दिन आवश्यक छ ।